एभरेष्ट दैनिक

इजरायली सेनाको स्थल अपरेसनका क्रममा मारिए इजरायली मन्त्रीका छोरा

काठमाडौं । इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट उत्तरी गाजामा मारिएका छन् । इजरायली रक्षा बलले बिहीबार सो घोषणा गरेको हो । गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक गलको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । उनका बुवा सन् २०१५ फेब्रुअरीदेखि २०१९ जनवरीसम्म इजरायली रक्षा बल (आईडीएफ) को जनरल स्टाफ प्रमुख थिए । उनले चार दशकसम्म इजरायली सेनामा सेवा गरे । अक्टोबर ७ मा हमासले गरेको हमलापछि उनी युद्धकालको इजरायली मन्त्रिपरिषद्‌मा बिनाविभागीयमन्त्रीका रूपमा सामेल छन् । गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आईडीएफ सैनिक मारिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गल मेइरको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।