एभरेष्ट दैनिक

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।  प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम गरेको प्रस्तावको पक्षमा सांसदले मत दिए।  आजको प्रतिनिधिसभा बैठकमा २६८ जना सांसद उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डले पक्षमा १५७ मत प्राप्त गरे भने ११० सांसदहरुले विपक्षमा मत हाले। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वास पाउन बहुमतका लागि १३८ मत आवश्यक थियो ।प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेबाट ७५, माओवादी केन्द्रबाट ३२, रास्वपाबाट २१, जसपाबाट १२, एकीकृत समाजवादीबाट १०, नाउपाबाट ४, आजपाबाट १ र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले समेत विश्वासको मत दिए ।नेकपा एमालेका सांसद वसन्त नेम्वाङ भने स्वास्थ्यमा समस्या भएका कारण उपस्थित हुन सकेनन् । विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र राष्ट्रिय जनमोर्चा रहे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे । उनले कुनै पक्षमा मतदान गरेनन् ।