नेकपाको पोलिटब्युरो बैठक आजदेखि: माओवादी केन्द्रसँगको पार्टी एकतामा छलफल हुने
१९ भदौ, २०८२
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो बैठक आज बस्दै छ। कपिलवस्तुको शिवगढीस्थित नेकपाको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने यो बैठकमा स्थायी समिति बैठकले तय गरेका एजेन्डाहरूमा छलफल हुनेछ। बैठकको मुख्य एजेन्डा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँगको पार्टी एकता र समग्र बाम एकताको विषय रहने बताइएको छ। स्थायी समिति बैठकले माओवादी केन्द्रसँग तत्काल एकता गर्ने र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकीकरणलाई अगाडि बढाउने नीति अख्तियार गरेको थियो। सोही नीतिअनुसार पोलिटब्युरो बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रस्तुत गरेको समसामयिक प्रस्तावमाथि गहन छलफल हुने अपेक्षा गरिएको छ। पार्टी एकताको विषयमा माओवादी केन्द्रले पनि तत्काल एकता गर्ने निर्णय गरेको सन्दर्भमा यो बैठक महत्त्वपूर्ण मानिएको छ। एक स्थायी समिति सदस्यले एभरेस्ट दैनिकलाई दिएको जानकारीअनुसार, पोलिटब्युरो बैठकपछि बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि ठोस प्रस्ताव र जिम्मेवारीहरू तय गर्नेछ। “हाम्रो स्थायी समिति बैठकले माओवादी केन्द्रसँगको एकतालाई प्राथमिकता दिँदै समग्र क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूको एकीकरणमा जोड दिएको छ। यो बैठकले त्यसलाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ,” ती सदस्यले भने। यो बैठकले नेकपाको आगामी रणनीति र बाम एकताको प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ। पार्टी एकताले नेपालको वामपन्थी आन्दोलनलाई नयाँ दिशा प्रदान गर्ने विश्वास नेतृत्वले व्यक्त गरेको छ।
वैश्विक व्यवस्थाको पुनःसंरचना
१९ भदौ, २०८२
आजको मौसम, यी क्षेत्रमा हुने मनसुन सक्रिय
१९ भदौ, २०८२

