साङ्घाई सहयोग संगठनले शान्ति र स्थिरतामा बढ्दो भूमिका खेलेको छ : चिनियाँ राष्ट्रपति सी
१६ भदौ, २०८२
तियानजिन । चिनियाँ राष्ट्रपति सी चिनफिङले साङ्घाई सहयोग संगठनले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न तथा साझा विकासलाई प्रवर्द्धन गर्न बढ्दो जिम्मेवारी वहन गरिरहेको बताएका छन्। राष्ट्रपति सीले आइतबार उत्तरी चीनको तियानजिनस्थित मेइजियाङ सम्मेलन तथा प्रदर्शनी केन्द्रमा आयोजित स्वागत भोजमा उक्त कुरा बताएका हुन्। उनले आफ्नी पत्नी पेङ लियुआनसहित शिखरसम्मेलनमा आएका अन्तर्राष्ट्रिय अतिथिहरूलाई स्वागत गरेका थिए। प्राचीनकालदेखि बेइजिङ प्रवेशद्वारका रूपमा चिनिने तियानजिन खुलेपन र समावेशिताको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति सीले भने, “बेइजिङ-तियानजिन-हेबेइ समन्वित विकास रणनीति कार्यान्वयनमार्फत तियानजिनले चाइनिज मोडर्नाइजेसनमा नयाँ अध्याय लेखेको छ। यसपटकको शिखरसम्मेलनले हाम्रो संगठनको दिगो विकासमा नयाँ ऊर्जा भर्नेछ।” सन् २००१ मा शाङ्घाईमा स्थापना भएको SCO हाल १० पूर्ण सदस्य राष्ट्र, २ पर्यवेक्षक देश र १४ संवाद साझेदारसहित विश्व जनसंख्याको आधाभन्दा बढी र विश्व अर्थतन्त्रको चौथाई हिस्सा प्रतिनिधित्व गर्ने अन्तर-क्षेत्रीय संगठन बनेको छ। राष्ट्रपति सीका अनुसार, स्थापनादेखि नै SCO ले “शाङ्घाई स्पिरिट” अन्तर्गत आपसी विश्वास, लाभ, समानता, परामर्श, विविधताको सम्मान र साझा विकासलाई आधार बनाएर काम गर्दै आएको छ। यसमार्फत एकता र आपसी विश्वास सुदृढ गर्नुका साथै व्यावहारिक सहकार्यलाई गहिर्याएको र अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको उनले बताए। विश्वमा बढ्दो अस्थिरता, अनिश्चितता र अप्रत्याशितताबीच SCO ले अझ ठूलो जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिती आएको उनको भनाइ थियो। यस वर्षको तियानजिन शिखरसम्मेलनले साझा सहमति निर्माण, सहकार्यमा नयाँ ऊर्जा थप्ने र आगामी दशकको रणनीति तय गर्ने महत्वपूर्ण कार्यभार बोकेको उनले बताए। समिटमा संगठनको दीर्घकालीन विकास रणनीतिसहित महत्वपूर्ण कागजातहरू पारित हुने अपेक्षा गरिएको छ। साथै चीनले SCO को उच्च गुणस्तरीय विकास र बहुआयामिक सहकार्यलाई समर्थन गर्ने नयाँ कदमहरू सार्वजनिक गर्ने राष्ट्रपति सीले संकेत गरेका छन्। आफ्नो स्वागत भाषणमा उनले भने, “सबै पक्षको सामूहिक प्रयासबाट यो शिखरसम्मेलन सफल हुनेछ र SCO ले अझ ठूलो भूमिका खेल्दै विश्व दक्षिणको शक्ति एकत्रित गर्नेछ, सदस्य राष्ट्रबीचको एकता बलियो बनाउनेछ र मानव प्रगतिमा योगदान पुर्‍याउनेछ।” टोस्ट प्रस्तुत गर्दै राष्ट्रपति सीले चिनियाँ भनाइ उद्धृत गर्दै भने, “सयौं डुङ्गा दौड्ने प्रतिस्पर्धामा जो सबैभन्दा जोरले खियाउँछ, ऊ नै अघि बढ्छ। आउनुहोस्, हामी ‘शाङ्घाई स्पिरिट’लाई अँगाली तियानजिनबाट नयाँ यात्रातर्फ अघि बढौँ।” भोजपश्चात राष्ट्रपति सी र पेङ लियुआनले अतिथिहरूसँगै विविध सभ्यताहरूको आपसी सिकाइ र सांस्कृतिक एकताको सौन्दर्य प्रस्तुत गर्ने सांस्कृतिक कार्यक्रम अवलोकन गरेका थिए।

