सीमा विवाद समाधान नभएसम्म दुई देशबीचको सम्बन्ध दिगो र गहिरो हुन सक्दैन: अध्यक्ष प्रचण्ड
१२ भदौ, २०८२
सीमा विवाद नसुल्झिए भारतसँगको मित्रता गहिरो बन्न सक्दैनः अध्यक्ष प्रचण्ड विराटनगर — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको सीमा विवाद समाधान नभएसम्म दुई देशबीचको सम्बन्ध दिगो र गहिरो हुन नसक्ने ठोकुवा गरेका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानीमा उनले यो मुद्दा लामो समयदेखि अल्झिएको र यसलाई वार्तामार्फत टुंग्याउनुपर्नेमा जोड दिए। आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो विषयमा खुलेर छलफल गरेको र मोदीले पनि वार्ताको टेबलमा बसेर समाधान खोज्ने वचन दिएको उनले स्मरण गरे। “भारतसँगको मित्रतालाई बलियो र दीर्घकालीन बनाउन सीमा विवादलाई वार्ताको माध्यमबाट हल गर्नैपर्छ। सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ,” प्रचण्डले भने, मैले भारत भ्रमणका बेला यो विषय गम्भीरतापूर्वक उठाएको र मोदीजीले पनि पहिलोपटक वार्ताबाट सीमा विवाद हल गर्ने कुरा गर्नुभएको थियो । पूर्वराष्ट्रपतिहरूको राजनीतिक पुनरागमन स्वाभाविक प्रचण्डले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिहरूले सक्रिय राजनीतिमा फर्किनु अस्वाभाविक नभएको बताए। विश्वभर यस्ता उदाहरणहरू रहेको र नेपालको संविधान वा कानुनले पनि यसमा कुनै रोक नलगाएको उनको भनाइ छ। विशेषतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा सक्रिय हुने प्रयासबारे उनले भने, “उहाँलाई केपी ओलीले नै पार्टीमा स्वागत गरेर सदस्यता दिनुभएको हो, चीन भ्रमणमा पनि पठाउनुभएको हो। उहाँहरूको आन्तरिक कुरामा म बोल्न चाहन्न, तर उहाँको राजनीतिमा फर्कने कदम कुनै पनि हिसाबले गलत होइन।” प्रचण्डले आफूले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा फर्काएपछि भण्डारीलाई पनि एमालेमा पुनरागमन गर्न बाटो खुलेको उल्लेख गरे। प्रचण्डले एमाले–कांग्रेस गठबन्धन सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै जनतामा निराशा छाएको बताए। समाजवादी मोर्चामार्फत वाम एकताको सम्भावनाबारे छलफल भइरहेको उनले खुलासा गरे। “हामी वाम एकताको पक्षमा छौँ र यसका लागि गम्भीर छलफलमा जुटेका छौँ,” उनले भने।

