सरकारमाथि प्रश्न: रेडकर्नर नोटिस भएका जिबीका जेठान कसरी आए अमेरिकाबाट पोखरा ?

सरकारमाथि प्रश्न: रेडकर्नर नोटिस भएका जिबीका जेठान कसरी आए अमेरिकाबाट पोखरा ?

काठमाडौं । सहकारी ठगीका मुख्य योजनाकार जिबी राईका जेठान तथा सूर्यदर्शन बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर बोम्जन अमेरिकाबाट नेपाल फर्किएर धरौटीमा रिहा भएपछि यो घटनाले रहस्यमय मोड लिएको छ। 

रेडकर्नर नोटिस जारी भएका र फरार सूचीमा रहेका बोम्जनले कास्की जिल्ला अदालतमा आत्मसमर्पण गरेपछि सोही दिन १० लाख धरौटीमा रिहा भएका छन्। सहकारी पीडितहरूले यो घटनामा नेपाल सरकारको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन्। 

अन्तर्राष्ट्रिय स्तरमा खोजीमा रहेका व्यक्ति नेपाल प्रवेश गर्दा विमानस्थलमा पक्राउ नपर्नु र अदालतबाट तत्काल धरौटीमा रिहा हुनुले उच्चस्तरीय संरक्षणको आशंका उब्जाएको छ।

सहकारीका एक पीडितले भने, 'सरकारको प्रत्यक्ष संलग्नता नभएसम्म यो सम्भव नहुने कुरा हो । एउटा रेडकर्नर नोटिस जारी भएको व्यक्ति अमेरिकाबाट एकाएक नेपाल आउँछ । पोखरा पुग्छ र त्यहीँ दिन नै अदालतबाट धरौटीमा रिहा भएपछि मात्र सबैलाई जानकारी हुन्छ । सरकारी वकिल कार्यालयले पनि बहस गर्दैन । यो सरकारको मिलेमतोमा भएको कुरा सहजै अनुमान लगाउन सकिन्छ ।' 

ज्ञानबहादुर बोम्जन सहकारीका संस्थापक अध्यक्ष !

सूर्यदर्शन सहकारी ठगी प्रकरण नेपालको सहकारी क्षेत्रमा भएको सबैभन्दा ठूलो घोटालामध्ये एक हो। पोखरामा रहेको यो सहकारीबाट १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको आरोप छ। यो प्रकरणमा ५० जनाभन्दा बढी व्यक्ति आरोपी छन्, जसमध्ये ३१ जनालाई ठगी, १९ जनालाई संगठित अपराध र ५ जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको छ। 

मुख्य आरोपी गीतेन्द्रबाबु राई (जीबी राई) अझै फरार छन्, जसलाई सहकारी ठगीको मुख्य योजनाकार मानिन्छ। ज्ञानबहादुर बोम्जन यो सहकारीका संस्थापक अध्यक्ष थिए। उनीमाथि सहकारी अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ व्यक्तिगत रूपमा हिनामिना गरेको आरोप छ। यो प्रकरणमा उनी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा फरार थिए। 

इन्टरपोलले उनको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो र उनको राहदानी पनि ब्लक गरिएको थियो। बोम्जन २०७१ सालदेखि अमेरिकामा बस्दै आएका थिए। अदालतमा उनले आफू आमा बिरामी भएकाले नेपाल फर्किएको बयान दिएका छन्। 

बोम्जन अमेरिकाबाट कसरी नेपाल प्रवेश गरे भन्ने विषय अझै स्पष्ट भएको छैन। प्रहरीका अनुसार, रेडकर्नर नोटिस र राहदानी ब्लक भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रवेश गरेका भए उनी तत्काल पक्राउ पर्नुपर्ने थियो। तर, प्रहरीलाई उनको आगमनबारे कुनै जानकारी थिएन। उनी पोखरा पुगेर अदालतमा आत्मसमर्पण गरेपछि मात्र प्रहरीलाई थाहा भयो। 

स्थलमार्गबाट नेपाल प्रवेश गरेको आशंका

प्रहरीले उनी भारत हुँदै स्थलमार्गबाट नेपाल प्रवेश गरेको आशंका गरेको छ। सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले रेडकर्नर नोटिस जारी भएको व्यक्ति विमानस्थलमा पक्राउ नपरी कसरी पोखरा आए भनेर सरकारलाई प्रश्न गरेका छन् । उनी भन्छन्, 'अध्यागमन र प्रहरीको मिलेमतो हुनुपर्छ । सरकारको पनि मिलेमतो नभए यो कसरी सम्भव भयो ?' 
 
आइतबार बोम्जनले कास्की जिल्ला अदालतमा आत्मसमर्पण गरे। न्यायाधीश शंकरबहादुर राईको इजलासले उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो। अदालतमा उनलाई १८ वटा प्रश्न सोधिएको थियो, जसमध्ये तीनवटाको जवाफमा उनले अमेरिकामा रहेको र आमा बिरामी भएकाले फर्किएको बताएका थिए।

पीडितहरूले यो फैसलाप्रति आपत्ति जनाएका छन्। उनीहरूका अनुसार, 'अदालतको आदेशमा नेपाल सरकारको तर्फबाट सहायक जिल्ला वकिल सुजला पौडेल उपस्थित भएको उल्लेख छ, तर सरकारी वकिल कार्यालयलाई यसबारे औपचारिक जानकारी थिएन।' 

अर्का पीडित भिमप्रसाद चापागाइँले मुख्य आरोपीका आफन्तलाई सेटिङमा छाडिएको आरोप लगाए । पीडितहरुले सरकारको मिलेमतोबिना यो सम्भव नभएको भन्दै पोखरामा प्रदर्शन पनि गरेका छन् । पीडितहरूले न्याय परिषद् र सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। 

आजका लागि विदेशी मुद्राको विनियमदर : कुन घट्यो, कुन बढ्यो ?

काठमाडौं — नेपाल राष्ट्र बैंकले शनिबार (मंसिर ६, २०८२ / नोभेम्बर २२, २०२५) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर यस प्रकार रहेको छ: अमेरिकी डलर (USD): खरिद १४२.८८, बिक्री १४३.४८ युरोपियन युरो (EUR): खरिद १६४.६१, बिक्री १६५.३० बेलायती पाउन्ड स्टर्लिङ (GBP): खरिद १८६.६१, बिक्री १८७.३९ अस्ट्रेलियन डलर (AUD): खरिद ९१.९९, बिक्री ९२.३८ क्यानेडियन डलर (CAD): खरिद १०१.४०, बिक्री १०१.८२ जापानी येन १० (JPY): खरिद ९.११, बिक्री ९.१५ चिनियाँ युआन (CNY): खरिद २०.०९, बिक्री २०.१८ साउदी रियाल (SAR): खरिद ३८.१०, बिक्री ३८.२६ कतारी रियाल (QAR): खरिद ३९.२०, बिक्री ३९.३६ युएई दिराम (AED): खरिद ३८.९०, बिक्री ३९.०६ कुवेती दिनार (KWD): खरिद ४६५.०१, बिक्री ४६६.९७ बहराइन दिनार (BHD): खरिद ३७८.९९, बिक्री ३८०.५८ भारतीय रुपैयाँ (ICR) १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ रुपैयाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो दरलाई आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले आफैंले थोरै फरक दर कायम गर्न सक्ने जनाएको छ।

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर तीन दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ । प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल गार्हस्थ्य उत्पादनमा सात दशमलव शून्य तीन प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको छ । बृहत् औद्योगिक वर्गीकरणअनुसार प्रादेशिक कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी ३४ दशमलव ७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको र सबैभन्दा कम शून्य दशमलव १३ प्रतिशत योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ ।  आव २०८०/८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान अग्रस्थान (३३ प्रतिशत) र प्रशासनिक तथा सहयोगी क्षेत्रको योगदान अन्तिम स्थान (शून्य दशमलव १३ प्रतिशत) मा हुने संशोधित अनुमान गरिएको थियो । त्यसैगरी, आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार चार खर्ब ३० अर्ब र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव ३२ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव ७१ प्रतिशत रहने अनुमान गरिएको छ । आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर दुई दशमलव आठ दुई दशमलव आठ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर दुई प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर दुई दशमलव नौ प्रतिशत रहने अनुमान गरेको छ । समीक्षा वर्षमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र दुई दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । यस्ता बालीको उत्पादन दुई दशमलव ७७ प्रतिशतले बढेको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी तेलहन र आलुको उत्पादन क्रमशः १८ दशमलव ८९ प्रतिशत र १६ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा सबैभन्दा बढी ७७ दशमलव ८८ प्रतिशतले ह्रास आएको छ । पशुजन्य उत्पादनअन्तर्गत माछा उत्पादन १० दशमलव ३६ प्रतिशत, मासु शून्य दशमलव ७९ प्रतिशत, ऊन उत्पादन तीन दशमलव २७ र अण्डा एक दशमलव ७६ प्रतिशतले बढेको छ । प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १० दशमलव १४ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ ।  विसं २०८२ असारमसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३ दशमलव ४१ प्रतिशतले ह्रास भई रु १५ अर्ब ९६ करोड ४२ लाख पुगेको छ । प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४ दशमलव ४७ प्रतिशत छ । समष्टिगत रूपमा मागमा आएको गिरावटले सम्पूर्ण औद्योगिक वस्तुको उत्पादनमा ह्रास आएको देखिन्छ । समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १६ दशमलव ९७ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । सो क्षेत्रमा प्रवाह भएको कर्जा २०८१ असार मसान्तको तुलनामा चार दशमलव ३७ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ७२ करोड तीन लाख पुगेको छ । उक्त आवमा नमुनाका रूपमा छनोट गरिएका १० होटलको औसत अकुपेन्सी ३६ दशमलव ४० प्रतिशत रहेको छ । यस्तै, घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ३७ दशमलव ५० प्रतिशतले बढेको छ भने रजिस्ट्रेसन राजस्व ३७ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १६ दशमलव ३० प्रतिशतले बढेको छ । यस्तै, कर्जा प्रवाह दुई दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, यातायात साधनको दर्ता सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको ७२ दशमलव ८८ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ७५ दशमलव ६६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६६ दशमलव ४७ प्रतिशत खर्च भएको छ । 

ग्लोबल आइएमई बैंकले आठ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको १९औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै आठ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र पाँच अर्ब सात करोड रुपैयाँ करपछिको खुद नाफा आर्जन गरेको जनाएको छ । साधारण सभामा अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति तथा नियमको पूर्ण पालना गर्दै सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।  उनका अनुसार बैंकले आफ्नो व्यावसायिक रणनीतिअनुसार नयाँ व्यावसायिक क्षेत्रको सन्तुलित विस्तार गर्दै जाने योजना पनि अघि सारेको छ । ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट अनेक विधामा सम्मानित हुँदै आएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक इएसजी नेपाल २०२४, र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ । देशका सबै ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर, र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । बैंकले रेमिट्यान्स सेवामार्फत विश्वभरका नेपालीलाई सहज र भरपर्दो आर्थिक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

साढे ६२ लाखमा १० बैंकको कर्जा गुणस्तर परीक्षण हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ । शुक्रबार गरिएको सम्झौताअनुसार कम्पनीलाई ६२ लाख ५४ हजार ११२ रुपैयाँमा परीक्षणको जिम्मेवारी दिइएको छ । कम्पनीले पाँच महिनाभित्र परीक्षण सकाउनुपर्नेछ । सम्झौता बमोजिम ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया बैंकको कर्जा गुणस्तर परीक्षण हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधाअन्तर्गत १० ठूला वाणिज्य बैंकको कर्जा परीक्षण गर्नुपर्ने शर्त राखेको थियो । त्यसअनुसार राष्ट्र बैंकले दोस्रोपटक आह्वान गरेको टेन्डर प्रक्रियाबाट आर्थिक र प्राविधिक दुवै पक्षमा योग्य ठहरिँदै हउलादार कम्पनी चयन भएको हो । राष्ट्र बैंकका अनुसार छानिएका कम्पनीले १०० मा ७१.३४ अंकको कुल वेटेड स्कोर हासिल गरेको छ ।

लोकप्रिय