एभरेष्ट दैनिक

बनाएर नसकिदै भासियो मुग्लिङ नारायणगढ सडक

चितवन, असार २१। उत्तोरउन्नतिका काम अन्तिम चरणमा पुगेको बेला नारायणगढ–मुग्लिङ सडकखण्डको बनाइसकेको सडक भासिएको छ । बिएलए एससीसी ज्वाइन्ट भेन्चरले निर्माण गरेको आँपटारी दासढुंगा सडक खण्डको भतेरी जंगलमा सडक भासिएको हो । आँपटारीबाट करिब साढे ६ किलोमिटरको दुरीमा रहेको भतेरीको जंगलमा करिब एक सय मिटर सडक भासिएको छ । उक्त सडकको किनारमा तीन फिटसम्म भासिएको छ भने सडक किनारबाट करिब चार मिटर चौडासम्म सडक चर्किएको छ । चर्किएको सडकलाई निर्माण कम्पनीले सिमेन्ट लगाएर टाल्ने प्रयास गरेको भएपनि सडक भासिएको हो । सडक निर्माण सम्पन्न नहुँदै सडक भासिन थालेपछि यसको गुणस्तरको बारेमा प्रश्न उठाइएको छ । निर्माण कम्पनीले सडक हस्तान्तरण गरेको एक वर्षसम्म सडकमा कुनैपनि क्षति भएमा त्यसको मर्मत सम्भार गर्नुपर्ने नारायणगढ मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । भासिएको सडकको अवस्था हेरेर निर्माण कम्पनीलाई तुरुन्त सडक मर्मत गर्न लगाइने खनालको भनाइ छ । तर सडक विस्तारका क्रममा पहाड हलिएकाले पछिल्लो समय लगातार पहिरो जादाँ यात्रुहरु घण्टौ जाममा बस्न बाध्य छन् । कमसल निर्माण सामग्री र उचित तरीकाले सडक विस्तारको काम नहुँदा बनाएर नसकिदै सडक भासिने र चर्किने थालेको बताइन्छ ।