एभरेष्ट दैनिक

सात वर्षपछि देउवा पार्टीका ४२ विभाग गठन गर्दै, किन भयो ढिलाइ ?

काठमाडौं, जेठ ३१ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभाग गठनको तयारी थालेका छन् । सभापति भएको २७ महिनापछि उनले पार्टीका ४२ विभाग गठन गर्न लागेका हुन् । ५ देखि ७ असारसम्म जिल्ला सभापतिको भेला भएलगत्तै विभाग गठन गर्ने मनस्थिति बनाएका देउवाले रामचन्द्र पौडेललगायत नेताहरूसँग परामर्श गरिरहेका छन् । १२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले विभाग गठन गरे पनि आफूहरूसँग सल्लाह नगरी संयोजक तोकेको भन्दै तत्कालीन देउवा पक्षले राजीनामा दिएका थिए । त्यसपछि विभागले काम गर्न सकेको थिएन । तर, १३औँ महाधिवेशनबाट आफैँ सभापति बनेपछि पनि २७ महिनासम्म देउवाले विभाग गठन गरेनन् । अब भने देउवा ढिलाइ गर्ने मनस्थितिमा नरहेको पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। विभागमा कतिले काम पाउँछन् ? हरेक विभागमा एक संयोजक र २० सदस्य चयन हुन्छन् । विभागीय संयोजक केन्द्रीय सदस्यमध्येबाट हुने भए पनि विभागमा क्रियाशील सदस्यमध्येबाटै बनाउन पाइन्छ । ४२ विभाग गठन हुँदा जिल्ला, क्षेत्र, गाउँ र नगरसम्मका नेता कार्यकर्ताले अवसर पाउँछन् । विभाग हेरफेर गर्न र सदस्य बढाउन दबाब कांग्रेसमा वर्षौंअघि नामकरण गरिएका केही विभागका नाम फेर्न र सदस्य थप्नसमेत दबाब बढेको छ । पार्टीमा सदस्य थपिने क्रम बढदो रहेको, नेता कार्यकर्ता धेरैलाई जिम्मेवारी दिनुपर्ने दबाब भएकाले विभागमा सदस्य थपेर ५० सम्म पुर्‍याउन कतिपयले आवाज उठाएका हुन् । विभागमा संयोजक मात्रै भएकामा उपसंयोजक, सचिव थप्ने र सदस्यता बढाउँदा पार्टीको झन् तल्लो तहसम्म सक्रियता बढ्ने तर्क केन्द्रीय सदस्य श्याम घिमिरेको छ । देउवाले भने– अब रोक्दिनँ सभापति देउवाले पौडेल पक्षसँग पनि नाम मागेको भन्दै अब कुनै पनि हालतमा विभाग गठन नरोकिने बताएका छन् । ‘सभापतिले विभाग गठनका लागि परामर्श गरिरहेको बताउनुभएको छ,’ देउवालाई भेटेपछि एक केन्द्रीय सदस्यले भने, ‘पौडेल पक्षसँग नाम मागेको छु, सहमतिबाटै गर्नुपर्छ भन्नेमा छु, अब जिल्ला सभापतिको भेलापछि कुनै हालतमा विभाग गठन रोक्दिनँ भन्नुभएको छ ।’ नयाँ पत्रिकामा खबर छ ।