एभरेष्ट दैनिक

जथाभावी पोष्टर–पम्प्लेट टास्ने १६ जनाबाट ७३ हजार असुल

सर्लाही, वैशाख २७ । काठमाडौं महानगरले शहरी सुन्दरता बिगार्ने उद्देश्यले विभिन्न स्थानमा राखिएका ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने १६ जनाबाट बैसाख महिनाको हालसम्म ७३ हजार रुपैयाँ जरिवाना असुल गरेको छ। केही समयदेखि नै कामपाले जथाभावी पोस्टर–पम्प्लेट नटाँस्नका लागि आग्रह गरेपनि अटेर गरी टाँस्नेलाई कारबाही गरिरहेको छ। शिक्षण संस्था, इन्स्टिच्युट, सीपमूलक तथा व्यावसायिक तालीम दिने संस्था र वैदेशिक अध्ययनमा पठाउने संस्थाले यसप्रकारको प्रचार सामग्री वितरण गर्ने गरेको पाइएको छ। महानगरको वातावरण विभागका अधिकारी र नगर प्रहरीको टोलीले अहिले नियमितरुपमा अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। अनुगमनका क्रममा प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार, बानेश्वरलगायतका क्षेत्रबाट १६ जना पक्राउ परेका हुन्। ढकालका अनुसार अहिले एसइई परीक्षा दिएर बसेका विद्यार्थी भाइबहिनीलाई मध्यनजर गर्दै अत्यधिकरुपमा पोस्टर पम्प्लेट बाँड्ने काम भइरहेको छ। टाँसिरहेका र टाँस्ने तयारीमा रहेका सबैलाई पक्राउ गरेर सम्झाउने तथा कारबाहीस्वरुप जरिवाना रकम असुल गरिएको नगर प्रहरीले जनाएको छ। रकम असूलीपछि सबैलाई रिहाइ गरिसकिएको छ। यस्तो कार्य गर्नेबाट कामपाले ५ सय देखि १ लाख रुपैयाँसम्म असुल गर्ने गरेको छ। रासस