एभरेष्ट दैनिक

ठुलो दुर्घटनाबाट बच्न सफल भयो मालिन्दो एयर

काठमाडौं । बिहीबार राति १०ः०७ मा मालिन्दो एयरको जहाज टेक अफ गर्ने क्रममा अनियन्त्रित भएर रनवे को ट्रयाक छोड्दै घाँसे मैदानमा पुगेपछि ठुलो दुर्घटनाको जोखिममा परेको थियो । १३९ जना यात्रु रहेको जहाज ठुलो दुर्घटना हुनुअघि पाइलट र क्रु मेम्बरले नियन्त्रित गर्न सफल भएपछि ठुलो दुर्घटना हुनबाट जोगिएको थियो । उक्त बोइङ ७३७–९०० इआर जहाज चिप्लीएपछि तत्कालै यात्रुहरु र क्रु मेम्बरहरुको तत्कालै उद्धार गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । मलेशियाको बजेट एयरलायन्स मालिन्दोले क्वालालुम्पुरबाट काठमाडौंको लागि दैनिक दुई उडान भर्दै आएको छ । सो घटनापछि विमानस्थल बन्द भर्इ त्यसपछिका ल्याण्डीङ र टेक अफ प्रभावित भएको छ । डोमेस्टीक फ्लाइटहरु शुक्रबार बिहान ९ बजेदेखि चलेपनि अन्तर्राष्ट्रिय तर्फ १२ बजेपछि मात्रै चल्ने जानकारी आएको छ । हाल उक्त जहाजलाई सकुशल पार्किङ लटमा ल्याउनको लागि सुरक्षा फौज र एयरपोर्ट कर्मचारी परिचालन भएका छन् । गत फाल्गुण २८ मा युएस बांग्ला एयरको जहाज काठमाडौंमा ल्याण्डीङ गर्ने क्रममा दुर्घटना हुँदा ५१ जनको मृत्यु भएको थियो । के कारणले गर्दा विमान दुर्घटनाको जोखिम बढिरहेको छ ? दुर्घटनाको जोखिमको हिसाबले हवाइ यात्रा सबैभन्दा कम जोखिम भएको सवारी माध्यममा पर्छ । प्रयोग गर्न खर्चिलो भएपनि सहज र छिटो यात्रा हुनाले पनि हवाइ यात्रा प्रख्यात छ । तरपनी विभिन्न समयमा हुने दुर्घटना तथा दुर्घटनाको नजिक पुग्नाले यात्रुहरुमा हवाइ यात्राले बढि डर पैदा गर्ने गरेको छ । करिब डेढ महिना अघि दुर्घटना भएको युएस बांग्ला जहाज र हिजो दुर्घटनाको जोखिममा परेको मालिन्दो एयर दुबैमा एउटा समानता छ । दुबै बजेट एयरलायन्स हुन् । बजेट एयरलायन्सको एक मात्र उद्देश्य सस्तोमा जहाज उडाउने, बढि भन्दा बढि यात्रु ओसार्ने र नाफालाई अधिकतम बनाउने । यि उद्देश्यलाई पुर्ति गर्ने क्रममा यस्ता एयरलायन्सले यात्रुको सुविधामा खासै चासो दिंदैनन् तर भाडा चाहिं अन्य एयरलायन्सको तुलनामा सस्तो पर्छ । फाल्गुण २८ मा दुर्घटना भएको युएस बांग्ला एयरलायन्सको पुरानो जहाज हुनु, ककपिटमा पालना गर्नुपर्ने नियम पालन नगर्नु र थकित पाइलट भएको निष्कर्ष निस्केको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमानुसार एउटा पाइलटले मासिक ९० देखि १०० घण्टा मात्र उडान गर्न पाउँछ । यसमा हुने हेल चक्रयाइँ पनि यस्ता घटनाको कारक हुन सक्छ । त्यस्तैगरी सस्तो जहाज खरिद गर्ने बहानामा १५ वर्ष वा सो भन्दा बढि पुराना जहाज खरिद गर्ने गरेको कारण पनि यस्ता जहाजमा तत्काल समस्या आउने गरेको भेटिएको छ । युएस बांग्लाको उक्त जहाज १७ वर्ष पुरानो थियो र सो एयरलायन्सको त्यस जहाजको चौथो खरिदकर्ता पनि थियो । सबै बजेट एयरलायन्समा यस्तो समस्या भएको देखिंदैन । एयर अरेबिया र फ्लाइ दुबई जस्ता बजेट एयरलायन्स सस्तो र भरपर्दो सेवाको लागी प्रख्यात छन् । भारतको एयर इन्डीगोले समयमै फ्लाइट उडाउन (इन टाइम फ्लाइट) मा अब्बल भई उपाधि नै पाइरहेको छ । यद्यपी कतिपय एयरलायन्सले नाफालाई प्रमुख बनाउने नेपाल जस्तो पहाडी भेगभएको क्षेत्रमा आवश्यक सतर्कता नअपनाउनाले यात्रुहरु यस्ता दुर्घटनाको जोखिम बढेको यस क्षेत्रका विश्लेषकहरु बताउँछन् ।