एभरेष्ट दैनिक

अबको बैठकबाट सम्पूर्ण कुरा टुङ्गिएर घोषणा मिति तय गरिन्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उहाँले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गर्नुभयो । उहाँले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताउनुभयो । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उहाँले भन्नुभयो, “पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।” मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उहाँले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रष्ट्याउनुभयो । नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने उहाँले बताउनुभयो । जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उहाँले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गर्नुभयो । छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट सरकारले ल्याउने भन्दै उहाँले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताउनुभयो । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका दाहालले तत्काल केही रकम पठाएर २६ वटा जिल्लाका सडक कालोपत्रे गर्ने तयारी भइरहेको पनि बताउनुभयो । त्यसलाई महानगरबाट सिफारिस भइसकेको दाहालले बताउनुभयो । अध्यक्ष दाहालका आफ्नै सालो (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आज नेकपा माओवादी केन्द्र १४ नं वडा कमिटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।