एभरेष्ट दैनिक

भक्तपुरको बिस्केट जात्रामा मध्यरातमा भैरबको रथ अलपत्र, ढल्यो रथको गजुर

भक्तपुर, चैत २८ । भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको मध्यरातमा अलपत्र छाडिएपछि स्थानीयवासीले आफैँ तानेर वुधवार दिउँसो गःहिटी पुऱ्याएका छन् । जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुऱ्याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको थियो । स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलका अनुसार विगतमा यसरी जनशक्ति अभाव भए पनि सुरक्षाकर्मीले रथ तानेर भए पनि गःहिटी पुऱ्याउने परम्परा थियो । यस वर्ष भने जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीलाई रथ तान्न नदिएको र आज युवा क्लबको नेतृत्वमा तौमढीका स्थानीयवासीले रथ तानेर गःहिटी पुऱ्याएको धौभडेलको भनाइ छ । राति नै रथलाई गःहिटी पुऱ्याउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने शुरुमै दुई दिन रथ तानिएको छ । रथ तान्ने क्रममा तीन तले प्यागोडा शैलीको रथको गजुर भाँचिएको छ भने रथको छानोसमेत बिग्रिएको छ । तार व्यवस्थापन नहुँदा रथ गःहिटी पुऱ्याएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो । रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य आजैबाट शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। उनी भन्छन्, “रथको गजुर भाँचिएको छ, रथको छानो पनि बिग्रिएको छ, रथको मर्मत आजैबाट गरेर ३० गतेसम्मलाई रथ तयार बनाउँछौ ।” आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पुऱ्याएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुन: गःहिटीबाट भैरब र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।