एभरेष्ट दैनिक

मेलम्चीको ‘ब्रेक थ्रु’पछि मन्त्री बीना मगरले भनिन – दसैंअघि काठमाडौंमा पानी अाउँछ

काठमाडौं, चैत २८ । मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको पनि ‘ब्रेक थ्रु’ भएको छ । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्थुम खन्डमा ब्रेक थ्रु भएको हो । योसँगै २६ किलोमिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको खानेपानीमन्त्री बीना मगरले बताइन् । अब ‘हेडवक्र्स’को मुख्य संरचना, ‘भेन्ट साफ्ट’ तथा सुरुङको ‘फाइनल फिनिसिङ’ बाँकी रहेपनि केही महिनाभित्रै ती काम पनि सम्पन्न हुने उनको भनाइ थियो । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ तीन खन्डमा विभाजन गरिएको थियो । सन् २०१० को जुन महिनादेखि खन्न थालिएको सुरुङमध्ये यसअघि दुईओटा खन्डको ब्रेक थ्रु भइसकेको छ । मन्त्री मगरले आगामी दसैंअघि नै काठमाडौंमा मेलम्ची आइसक्ने दाबी पनि गरिन् ।