एभरेष्ट दैनिक

रुनुहोस् मदन दाइ, पीडाको पोखरी सुक्ने गरी…

मदनकृष्ण दाइ रुनुभयो । यशोदा भाउजूको मृत्युमा उहाँ भक्कानो छोडेर रोएको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चित भयो । उक्त तस्बिरमा विभिन्न खालका प्रतिक्रिया आए । धेरैले भने— हँसाउने मान्छे पनि रुँदा रहेछन् । हो, हँसाउने मानिसहरू नै रुन्छन् । किनभने उनीहरूलाई थाहा हुन्छ, हाँसो र आँसुको मूल्य । आँसुले पीडा कम गर्छ । मन हलुका हुन्छ । मरेर जानेप्रति प्रेमभाव बढ्छ । मनको भारी हलुका हुन्छ । आँसु विशेष परिस्थितिमा मात्र खस्छ । सानातिना घटनामा आँसु झर्दैन । त्यसैले मदन दाइको आँसुले त्यस्तै विशेष अर्थ राखेको छ । रुनु शारीरिक एवं मानसिक स्वास्थ्यका लागि लाभदायक छ । दमित भावनालाई फाल्न अत्यन्तै जरुरी छ । विभिन्न खालका मानसिक तनाव रिलिज नगर्दा मनसँगै शरीरमा पनि विकार जम्मा हुन पुग्छ । ती विकारले सिंगो शरीर र जीवनलाई नै सिकार बनाउँछ । त्यसैले रोदन बलिया मानिसहरूको सेल्फ मेडिकेसन हो । बलिया मानिस मात्र रुन सक्छन् । कमजोर मानिस त चाहेर पनि रुन सक्दैनन् । बालबालिकाहरूले के भन्लान्, दौंतरीले कसो भन्लान्, गाउँलेहरूले खिसी गर्ने हुन् कि समाजले ट्युरी गर्ने हो कि भनेर कमजोर मानिस रुन सक्दैनन् । बलिया मानिस मात्र खुलेर हाँस्न सक्छन्, सार्वजनिक रूपमा रुन सक्छन् । मदन दाइको आँसुको बहुआयामिक अर्थ छ । उहाँको आँसु पत्नीप्रेमको नदी हो । आगामी एक्लो जीवनको खहरे हो । विछोडको पोखरी हो । मृत्यु बोधको खोल्सो हो । मुटुमाथि ढुङ्गा राखी बाँच्नुपर्ने बाध्यताको महासागर हो । त्यसैले रुनुहोस् मदन दाइ, दिल खोलेर रुनुहोस् । विगतका सम्पूर्ण पीडा पोखेर खोला बनाइदिनुहोस् । आगतका त्रासहरू मेटाएर खोल्सामा बगाइदिनुहोस् । वर्तमानका दु:खहरू पोखेर रोदनको पोखरी सुख्खा बनाइदिनुहोस् । आँसुको मुहान सुकाएपछि मात्र सत्यबोधको उर्वर भूमि तयार हुन्छ । यो घडीमा म यशोदा भाउजूलाई पनि सम्झन चाहन्छु । यशोदा भाउजू, तपाईं भौतिक रूपमा हामीबीच रहनु भएन † प्रकृतिमा विलिन भएको तपाईंको भौतिक शरीरलाई हार्दिक श्रद्धाञ्जली । शोकसन्तप्त मदन दाइसहित सपरिवारमा समवेदना † अस्तित्वमा समाहित भाउजूको आत्माले शान्ति प्राप्त गरोस् । हाम्री गुरुपत्नी हुनुको नाताले मात्र होइन, एउटा उत्प्रेरक नारीका नाताले तपाईंलाई हामी कहिल्यै बिर्सने छैनौं । तपाईंको ऊर्जा स्वरूप चेतना जहाँ भए पनि आनन्दमा रहोस् । तपाईं मदनकृष्णकी राधा मात्र हुनुहुन्नथ्यो, आदर्श परिवारकी आमा पनि हुनुहुन्थ्यो । – तपाईंले अन्ध विश्वासले जकडिएको तत्कालीन नेपाली समाजमा पनि अन्तरजातीय वैवाहिक जीवनलाई सहज र सफल बनाउनुभयो । – तपाईं आफूले घर–परिवारको जिम्मा लिएर देशलाई मदनकृष्ण श्रेष्ठजस्ता महान् व्यक्ति दिनुभयो । – क्यान्सरजस्तो ज्यानमारा रोगसँग लामो समयसम्म लडेर यही रोगसँग जुधिरहेकाहरूलाई बाँच्न प्रयास गर्ने उत्प्रेरणा दिइरहनुभयो । अन्त्यमा, मदन दाइ, तपाईं आफैँ रोगसँग लडिरहनुभएको छ । त्यसमाथि पत्नीवियोगको पीडा थपिँदा तपाईं र तपाईंको परिवार कस्तो अवस्थाबाट गुज्रिरहेको छ, हामी अनुभव गर्न सक्छौं, तर मृत्यु जीवनको अन्त्य होइन, अर्को महाजीवनको सुरुवात हो ! यो तत्वलाई बोध गरेर आफूलाई बलियो बनाउनुहोला । हामी सधैं तपाईंको अभिभावकत्वको अपेक्षा गर्दछौं । तपाईंको सक्रियता, निरन्तरता एवं आत्मविश्वास नै यशोदा भाउजूको आत्मालाई शान्ति प्रदान गर्ने सही उपाय हो । सबैको मंगल होस्, सधैंको मंगल होस् । ॐ शान्ति ! शान्ति ! शान्ति ! साप्ताहिकबाट