एभरेष्ट दैनिक

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रचण्डको अपिल (भिडिओ)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्न सबैमा अपिल गर्नुभएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै प्रचण्डले यस्तो अपिल गर्नुभएको हो । प्रचण्डले विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशीला भएकोमा जोड दिनुभयो ।  ‘यहीँबाट नयाँ युगको सुत्रपात भएको मान्न सकिन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ‘आजको दिन हामी सबैले स्मरण गर्नुपर्ने, हामी सबैले सम्मान गर्नुपर्ने दिन हो।’ प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्।  ‘हामी अहिले शान्ति सम्झौताको मूल स्पीरिटअनुसार शान्ति प्रक्रियाका बाँकी काम पनि टुंग्याउने प्रक्रियामा छौँ,’ प्रचण्डले भन्नुभयो, ‘मैले नेतृत्व गरेको सरकारकै समयमा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठनको लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको थियो। आज यो प्रक्रिया निष्कर्षतिर जाँदैछ।’ प्रचण्डले यसप्रति खुसी व्यक्त गरेका छन्। ‘हामी सबै यसमा खुसी छौँ। हाम्रो प्रतिवद्धता के छ भने, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न सकिन्छ।’   प्रचण्डले नेपाली जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन स्वीकारेका छन्। ‘जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन भन्ने असन्तुष्टि जनतामा छ,’ उहाँले भन्नुभयो, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पको साथ जरुरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ। म यस अवसरमा शान्तिको निम्ति कामना गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनता प्रति पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्दछु।’