एभरेष्ट दैनिक

अब कम्पनीको अध्यक्ष र कार्यकारी प्रमुख एकै व्यक्ति हुन नपाउने !

काठमाडौं, माघ २७ । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७४ जारी गरेको छ । बोर्डले निर्देशिका लागू गर्न तयारीस्वरुप कम्पनीहरुलाई असारसम्मको समय दिइ २०७५ साउन १ गतेदेखि लागू गर्ने निर्णयसमेत गरेको छ । बोर्डले संस्थागत सुशासन सम्बन्धमा केही अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी त्यसमा भएका प्रमुख व्यवस्थाहरुलाई निर्देशिकामा समावेश गरेको जनाएको छ । बोर्डले सूचना तथा जानकारी, सन्चालक समिति, सन्चालकको योग्यता, आचरण, जोखिम व्यवस्थापन, संस्थाले गर्न नहुने कार्य, आन्तरिक नियन्त्रण प्रणालीलगायतका विषयमा १४ बुँदे निर्देशिका जारी गरेको हो । कम्पनीले सूचना तथा जानकारी प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यताप्राप्त ढाँचाको अनुशरण गर्दै उक्त मान्यता तथा ढाँचाअनुसार पुँजी तथा सेयरको संरचना तथा वित्तीय अवस्थाकाबारे नियमितरुपमा सार्वजनिक गर्नुपर्नेछ । सूचीकृत कम्पनीका सन्चालकको कार्यकाल बढीमा चार वर्षको हुने र स्वतन्त्र सन्चालक निर्वाचित गर्दा सम्बन्धित क्षेत्रमा ज्ञान तथा अनुभव प्राप्त भएको हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको व्यक्ति सन्चालक बन्न नपाउने भएका छन् । यस्तै, सूचीकृत संगठित संस्थाले सन्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन–दिन नपाउने व्यवस्था गरिएको छ । यसैगरी, धितोपत्र निष्कासनसम्बन्धी ऐनअन्तर्गत् सजाय पाएको व्यक्ति १० वर्षसम्म कुनैपनि कम्पनीको सन्चालक हुन नपाउने, कम्पनीको अध्यक्ष र कार्यकारी प्रमुख अलग–अलग हुनुपर्नेलगायतका व्यवस्था निर्देशिकामा गरिएको छ ।