एभरेष्ट दैनिक

चिनियाँ सुरक्षाकर्मीका लागि विशेष चश्मा, यस्तो छ चश्माको विशेषता

बेइजिङ, माघ २५ । चीनमा सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ । अपराधी पहिचानका लागि यो चश्मा प्रभावकारी हुने विश्वास गरिएको छ । चीनले आफ्नो नयाँ वर्षका लागि सुरक्षाको ‘हाइटेक’ व्यवस्था गरेको हो । अपराधीमाथि नजर राख्न विशेष प्रविधियुक्त चश्मा प्रयोगमा ल्याइएको छ, जसले सजिलैसँग मुहार पहिचान गर्न सक्छ । नयाँ वर्षका अवसरमा ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्न र भीडमा संदिग्धलाई पहिचान गर्न यस प्रकारको चश्मासहित सुरक्षाकर्मीलाई भीडभाड हुने क्षेत्रमा तैनाथ गरिने चिनियाँ अधिकारीहरुको भनाइ छ । हेनान प्रान्तको झेंगझुस्थित रेलवे स्टेशनमा सीसीटीभी क्यामेरासहितको चश्मा लगाएका सुरक्षाकर्मी तैनाथ गरिएको छ । चश्मामार्फत प्रहरीको डाटामा उपलब्ध जानकारीका आधारमा सुरक्षाकर्मीले यात्रीको पहिचान गर्नेछन् । यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’ सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । हेनानका सार्वजनिक सुरक्षा विभागका अधिकारी झांग जियावोलीका अनुसार यो चश्मा गुगलको चश्माजस्तै छ । प्रहरीको डाटावेससँग जोडिएको यो चश्माले संदिग्ध व्यक्तिको मुहारलाई परीक्षणका लागि प्रहरी डाटावेसमा पठाउँछ ।