एभरेष्ट दैनिक

प्रतिनिधिसभाको समानुपातिक मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट पाए ?

काठमाडौं । निर्वाचन आयोगले चुनाव सम्पन्न भएको ६५ दिनपछि प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगको शुक्रबार बसेको पदाधिकारी बैठकले स्वीकृत गरेलगत्तै प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो । संवैधानिक व्यवस्था अनुसार केही ढिला गरी प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले जानकारी दिए । जस अनुसार एमालेले ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेको छ । आयोगका सचिव पौडेलले निर्वाचनमा ४९ वटा राजनीतिक दलहरुले भाग लिएपनि ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको जानकारी दिए । संविधान अनुसार राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । निर्वाचनमा भाग लिएका ४४ वटा दलले कूल मतको ३ प्रतिशत नकटाएकाले राष्ट्रिय पार्टी बन्न नसकेको पनि निर्वाचन आयोगले स्मरण गराएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ कूल सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ रहेको छ । सवैभन्दा बढी नेकपा एमालेले ३१,७३,४९४ (३३.२५ प्रतिशत) मत प्राप्त गरेको छ । सवैभन्दा कम हाम्रो पार्टीले ४२६ (०.००४५) मत प्राप्त गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेलगत्तै राजनीतिक दलहरुलाई उम्मेदवारको अन्तिम नामवली विवरण पेश गर्न पत्राचार पनि गरेको छ । सोमबार अपरान्ह ५ बजेभित्र पेश गर्नेगरी उम्मेदवारको अन्तिम नामवली बुझाउन दलहरुलाई आग्रह गरिएको आयोगका सचिव बताए । मंसीर ३ गते पेश गरेको सूचीमा आधारित रहेर दलहरुले कम्तिमा एक तिहाई महिला प्रतिनिधित्व हुनेगरी उम्मेदवारको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । त्यसमा त्रुटि देखिए सच्याउन दुई दिनको समय पनि आयोगले दिएको छ । फागुन २ गते भित्र प्रतिनिधि सभा समानुपातिकतर्फको नामवली सार्वजनिक गर्ने र त्यसपछि प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी छ । आयोगका सचिव पौडेलले आईतबार अपरान्हसम्म राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण मत परिणाम राष्ट्रपति समक्ष पेश गर्न लागिएको पनि जानकारी दिए । राष्ट्रियसभामा पनि २७ सिटमा विजयी भएर एमाले पहिलो दल बन्न सफल भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिनिधिसभाको सम्पूर्ण मत परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले यसको परिणाम सार्वजनिक गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ । प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक हुनेवित्तिकै नयाँ सरकार गठन प्रक्रिया सूरु हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा दलहरुले बन्दसूची पेश गरेका थिए । तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने पाँचवटा दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम, नेपाल रहेका छन् ।