एभरेष्ट दैनिक

एक हप्ताभित्रै सहकारी हस्तान्तरण

कैलाली । कैलालीमा सहकारीहरुलाई स्थानीय तह, प्रदेश तथा संघलाई हस्तान्तरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लामा रहेका ५ सय ५२ सहकारीहरुलाई स्थानीय तह, प्रदेश तथा संघमा हस्तान्तरण गर्ने कार्य अन्तिम चरणमा पुगेको हो । मुलुक संघीय संरचनामा गएसंगै सहकारी पनि प्रदेश र स्थानीय तहमा सामायोजन हुन लागेका छन् । बढी क्षेत्रमा कारोबार गर्ने सहकारी प्रदेश र सीमित ठाउ“मा कारोबार गर्ने सहकारी स्थानीय तहमा हस्तान्तरण हुन लागेका हुन् । जिल्लामा स्थानीय तह तथा प्रदेशलाई एक हप्ता भित्र सहकारी हस्तान्तरण गर्ने तयारी गरिएको छ । कार्य क्षेत्र अनुसार कैलालीमा पनि प्रदेश र स्थानीय तहमा सहकारीहरु हस्तान्तरणको पक्रिया सुरु भएको हो । सहकारी हस्तान्तरणको काम पूरा भएपछि स्थानीय तह, प्रदेश र संघले आ–आफ्नै ढंगले दर्ता, अनुगमन र नियमनको काम गर्नेछन् । कैलालीमा रहेका ४ सय ५६ सहकारी स्थानीय तह र ९६ वटा सहकारी प्रदेशमा समायोजन गर्ने तयारी भइरहेको छ । सहकारी हस्तान्तरण गर्ने कार्य एक हप्ताभित्र सुरु हुने सहकारी पशिक्षण तथा डिभिजन कार्यालय धनगढी सहकारी प्रशिक्षक सुरेशप्रसाद जैशीले बताए । विधानअनुसार सहकारीको क्षेत्राधिकार तीनवटै तहका लागि तोकिएको छ । मुलुकभर काम गर्ने सहकारीहरू र सहकारीसंग सम्बन्धित बृहत् नीति नियमको अधिकार संघलाई छ । दुई वा दुईभन्दा बढी स्थानीय तहलाई कार्यक्षेत्र बनाएका सहकारीहरूको क्षेत्राधिकार प्रदेशभित्र पर्छन् भने एक स्थानीय तहलाई मात्रै कार्यक्षेत्र बनाएका सहकारीहरू स्थानीय तहभित्र पर्छन् । हाल कुन कुन सहकारी कुन तहमा पर्ने भन्ने विषयमा अभिलेख गर्ने काम भइरहेको सहकारी डिभिजनले जनाएको छ । सहकारी स्थानीय तह, प्रदेश र संघलाई हस्तान्तरण गर्ने भनिएपछि चालू आर्थिक वर्षमा कैलालीमा नया“ सहकारी दर्ता काम भएको छैन । स्थानीय तह, प्रदेश तथा संघले सहकारी दर्ता गर्ने भने पनि अहिलेसम्म त्यो पक्रिया अगाडी नबढ्दा उपभोक्ताले भने समस्या खेप्नुपरेको सहकारी प्रशिक्षक जैशीको भनाई छ । सहकारी हस्तान्तरण गर्नु पूर्व स्थानीय सहकारीबारे आधारभूत जानकारी दिन सम्बन्धित स्थानीय तहको प्रमुख र उपप्रमुखलाई अनुशिक्षणसमेत दिने सकारी डिभिजनले जनाएको छ । कैलालीमा अहिलेसम्म ४० सहकारी खारेज भएका छन् भने ४० सहकारी निष्क्रीय छन् ।