एभरेष्ट दैनिक

एमाले–माओवादीबीच पद वाँडफाँड टुंगियो, २ मुख्यमन्त्री र २ सभामुख माओवादीलाई

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेश अन्तर्गतका प्रमुख पदमा टुंगो लगाएको हो । कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । तर, उपसभामुख भने माओवादीले चार वटा र एमालेले दुई वटा प्रदेशमा पाउनेछ । स्रोतका अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ । प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाएको छ । प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई नदिन एमाले नेताहरुले नेतृत्वलाई चर्को दबाव दिएका थिए । यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् । मुख्यमन्त्री र सभामुखलगायत पदका लागि व्यक्तिमा पनि सहमति भइसकेको बताइए पनि अहिलेसम्म औपचारिक रुपमा नाम भने सार्वजनिक गरिएको छैन । तर मुख्यमन्त्रीका रुपमा प्रदेश नं १ बाट एमालेका शेरधन राई र भीम आचार्य, प्रदेश ३ तीनबाट एमालेका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापित, प्रदेश ४ बाट किरण र पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ बाट एमालेका शंकर पोखरेल, प्रदेश ६ बाट माओवादीका नेरश भण्डारी र महेन्द्रबहादुर शाही र प्रदेश ७ बाट माओवादीका विरमान चौधरी र झपट रावलको नाम चर्चामा छ । उच्चस्रोतका अनुसार अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र वीरमान चौधरीको नाममा ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ ।