एभरेष्ट दैनिक

राष्ट्रिय सभा: ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी

काठमाडौं, माघ ११ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचनबाट चयन हुने कुल ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा ९ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । विभिन्न प्रदेशका महिलालगायत क्लस्टरमा निर्धारित सिट संख्याजति नै उम्मेदवारी परेकाले १७ जना निर्विरोध निर्वाचित हुने देखिएको छ । उम्मेदवारमाथिको दाबीविरोध लगायतका प्रक्रिया बाँकी रहेकाले उनीहरुलाई निर्वाचित भएको घोषणा गरिएको छैन । उम्मेदवारको अन्तिम नामावली माघ १५ गते प्रकाशित गर्ने कार्यक्रम रहेकाले सोही दिन निर्विरोध निर्वाचितको औपचारिक घोषणा हुनेछ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले सबै प्रदेशमा शान्तिपूर्ण ढंगले उम्मेदवारी मनोनयन भएको बताए । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना महिलासहित ३ जना मनोनीत हुने संवैधानिक व्यवस्था छ । त्यसवाहेक प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित, १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य ३ जना गरी ८ जना निर्वाचित हुने प्रावधान छ । आयोगका अनुसार प्रदेश १ मा महिला समूहको ३ सिटमा त्यति नै संख्यामा उम्मेदवारी परेकाले उम्मेदवारी दिएकाहरु निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश २, ५ र ७ मा पनि महिला समूहमा सिट संख्याअनुसार नै ३/३ जनाको मात्र उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध हुनेछन् । महिला समूहमा प्रदेश १ मा कांग्रेस, एमाले र माओवादी केन्द्रका १/१ जनाको उम्मेदवारी परेको हो । त्यस्तै, प्रदेश २ मा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै उम्मेदवारी दिएकाले ती पार्टीबाट महिला समूहका उम्मेदवार निर्विरोध हुनेछन् । प्रदेश ५ मा पनि महिला समूहमा कांग्रेसबाट १ र एमालेबाट २ जनाको मात्र उम्मेदवारी परेकाले तीनै जना निर्विरोध हुनेछन् । प्रदेश ७ मा पनि महिला समूहमा कांग्रेसबाट १ र एमालेबाट २ जनाको मात्रै उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध निर्वाचित हुने देखिएको छ । अन्य समूहको ३ सिटका लागि प्रदेश ७ मा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको छ । कांग्रेस, एमाले र माओवादीबाट १/१ जनाको उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध हुनेछन् । बाँकी प्रदेशमा अन्य समूहमा ३ भन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन हुनेछ । प्रदेश २ को दलित समूह तथा अपांगता वा अल्पसंख्यक समूहको १/१ सिट पनि निर्विरोध हुने देखिएको छ । ती सिटमा १/१ जनाको मात्रै उम्मेदवारी परेको छ । संघीय समाजवादी फोरमले दलित र राजपाले अल्पसंख्यक सिटमा उम्मेदवारी दिएका छन् । त्यसबाहेक अन्य पार्टीबाट उम्मेदवारी नपरेकाले ती दुई पार्टीका उम्मेदवार नै निर्विरोध हुनेछन् । सबैभन्दा बढी उम्मेदवारी प्रदेश ३ मा परेको छ । ८ सिटका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । उक्त प्रदेशमा कुनै समूहमा कोही पनि निर्विरोध हुने सम्भावना छैन । प्रदेश १ मा १२, २ मा ९, ४ मा १२, ५ मा ११, ६ मा १२ र प्रदेश ७ मा १० जनाको उम्मेदवारी परेको छ । एमालेले ३०, नेपाली कांग्रेसले २६, माओवादीले १३, नेमकिपाले ४, राष्ट्रिय जनमोर्चाले ३, फोरमले २, राजपाले २, राप्रपाले २ र नेपाल संघीय समाजवादी पार्टीले १ सिटका लागि उम्मेदवारी दिएका छन् । Kantipur daily बाट