युवाको स्वरोजगारको नाममा अर्बौं स्वाहा

काठमाडौं, कार्तिक १३ । युवा तथा सानाव्यवसायी स्वरोजगार कोषले ९ बर्षमा सात अर्बभन्दा बढी खर्चेको छ । यसमा ठूलो र कम अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रको निष्कर्ष छ ।

 

कोषले ५५ हजारलाई तालिम दिई स्वरोजगार बनाउन रकम खर्चेको दाबी गरेको छ । तर, केन्द्रको चार महिने अनुसन्धानले त्यस्तो दाबीलाई गलत सावित गरिदिएको छ । स्वरोजगारका नाममा खर्चिएको रकम ‘बालुवामा पानी’ भएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालको भनाइ छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

दशैं खर्च संकलनका कारण नेप्सेमा दबाब

काठमाडौं, असोज १८ । शेयर लगानीकर्ताहरु दशैं खर्चको रकम जोहो गर्नतर्फ लाग्दा नेप्से परिसूचकमा दवाब पर्न थालेको छ । मंगलबार सामान्य सुधार आएको बजार बुधबार फेरि दोहोरो अंकले घट्न पुगेको छ । साना लगानीकर्ता दशैं खर्च जुटाउन लाग्दा तथा ठूला लगानीकर्ताहरु धितोपत्र बोर्डको लगानीकर्ता सप्ताहमा अलमलिँदा बजारमा कारोबार रकम घटेको लगानीकर्ता सरोज घिमिरेले बताए । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बजार घट्ने कारण एउटामात्र भन्दापनि अन्य कारण पनि हुने हुँदा यो नै प्रमुख कारण हो भन्न नमिल्ने उनको तर्क गर्छन् । हरेक बर्षजस्तै यो बर्षपनि दशैं नजिकिँदै जाँदा त्यसको असर नेप्से सूचकमा पर्नु सामान्य भएको उनको भनाइ छ । बुधबार नेप्से सूचक १०.७६ अंकले घटेर १२३०.६० अंकमा बन्द भएको छ । यसदिन १६५ कम्पनीका १४ लाख ३६ हजार ५१२ कित्ता शेयर ३७ करोड ४० लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन् । अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम ७ करोड ७९ लाख धेरैले कम हो । मंगलबार ४५ करोड १९ लाख ९३ हजार रुपैयाँ बराबरमा किनबेच भएको थियो । मंगलबार पनि कारोबार ८ करोडले घटेको थियो । बुधबारको बजारमा वाणिज्य बैंकको धेरै कारोबार भएको छ । शीर्ष दश कारोबार गर्ने कम्पनीमा ९ वटा वाणिज्य बैंक रहेका छन् भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पनि चौथो ठूलो कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार भएको एनएमबि बैंकको २ करोड ६२ लाखको शेयर खरिद विक्री भएको छ भने दशौं नम्बरमा कारोबार भएको कृषि विकास बैंकको ९९ लाख ६४ हजारको शेयर खरिद बिक्री भयो । कारोबारमा आएका ११ उप समूहमध्ये होटल र व्यापार बाहेक बाँकी ९ वटै उप समूहको सूचकमा गिरावट देखिएको छ । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५१.३८ अंकले घटेको छ । जीवन बीमा, जलविद्युत, विकास बैंक र बैंकिङ्गको इन्डेक्स् पनि दोहोरो अंकले घट्यो । बुधबारको बजारमा नाडेप लघुवित्त कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ९.९१ प्रतिशतले नाफा बुक गरेका छन् । समता माइक्रोफाइनान्सका शेयरधनीले ७.३४, गोखार्ज फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले ३ प्रतिशतले बढीले कमाएका छन् । विशाल बजार कम्पनी र जेविल्स् फाइनान्सको शेयरमूल्य पनि दुई प्रतिशतले बढेको छ । नेपाल हाइड्रो डेभलपर कम्पनी र मेरो माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै पाँच प्रतिशत बढीले गुमाएका छन् । सिन्धु विकास बैंक, महुली सामुदायिक लघुवित्त, गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र स्वरोजगार लघुवित्त कम्पनीको शेयरमूल्य पनि बुधबार ३ प्रतिशत बढीले अवमूल्यन भएको छ । मेरोलगानीबाट

लघुवित्त कम्पनीहरुमा पनि मर्जरको सुरूवात

काठमाडौं, असोज १४ । नेपाल राष्ट्र बैंकको नीतिबमोजिम लघुवित्त कम्पनीहरु समेत मर्जरमा जाने भएका छन् । लघुवित्त कम्पनीहरुको वित्तीय स्वास्थ्य र पहुँचका आधारमा मर्जरलाई अगाडि बढाउने राष्ट्र बैंकको नीति पछ्याउँदै वोमी माइक्रो फाइनान्सले आगामी साधारणसभामा मर्जर तथा प्राप्तिमा जाने प्रस्ताव लैजाने भएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाहरुलाई मर्जरमा लैजाने नीति लिएको छ । माइक्रो फाइनान्सको संख्या अधिक भएको भन्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । साथै राष्ट्र बैंकले नयाँ लघुवित्त सञ्चालनका लागि आवेदन लिन समेत बन्द गरेको छ । लघुवित्त वित्तीय संस्था सोही वर्गको अर्को संस्थासँग गाभ्न र गाभिन वा प्राप्तिका लागि प्रोत्साहन गर्ने गरी आवश्यक नीति तर्जुमा गर्ने मौद्रिक नीतिमा उल्लेख छ । यसै क्रममा वोमी माईक्रोफाईनान्सले आफू जस्तै कारोबार गर्ने लघुवित्त संस्थाहरुसँग मर्जर तथा एक्विजिशनमा जाने प्रस्ताव गरेको छ । जुन प्रस्ताव कात्तिक १७ गते हुने साधारण सभामाबाट पारित गर्ने भएको छ । वोमीले गत आवको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभा लग्दै छ । साधारणसभा प्रयोजनार्थ कार्तिक ४ गतेदेखि शेयरधनी दर्ता खारेजी पुस्तिका बन्द गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले संस्थाको कार्यक्षेत्र राष्ट्रियस्तरको बनाउने योजनाअघि सारेको छ । नेपाल राष्ट्र बैंकले लिएको नीतिसँगै लघुवित्त संस्थाहरूको सञ्चालन खर्च नियन्त्रण गर्न एवं ठूलो पुँजी आधार भएका बलियो संस्था बनाउनका लागि मर्जरको नीति अगाडि सारिएको छ । राष्ट्र बैंकको सबैभन्दा पछिल्लो अध्ययनले लघुवित्त कर्जाको माग र त्यसको आपूर्तिमा असन्तुलन रहेको तथा लघुवित्त क्षेत्रमा अझै पनि उच्च ब्याजदरको समस्या भएको देखाएको छ । मेरोलगानीबाट

उवासंघ अतरिया निर्वाचनमा चुलियाे असन्तुष्टी

अत्तरिया । उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा अत्तरियाका व्यवसायीहरूमा उम्ममेदवारहरु प्रति हनिराशा र आक्रोश बढेको छ । नेपाली काङ्ग्रेस समर्थक व्यापारीहरू र वामपन्थी व्यापारीहरू अलग अलग प्यानल बनाएर चुनावमा होमिएका छन् ।  विगत दश वर्षदेखि कांग्रेश समर्थक व्यापारीहरूको नेतृत्व रहेको संघमा नेतृत्व गरेका व्यक्तिहरूले नै उद्योग वाणिज्य संघलाइ बद्नाम गराउने काम गरेको व्यवसायीहरूको आरोप छ । कानुनले प्रतिबन्ध गरेको ढुकुटी खेलाउने कार्यमा समेत वर्तमान महासचिव तथा अहिलेका अध्यक्ष पदका उम्मेदवार अशोक देवकोटाको संग्लनता रहेको व्यवसायीहरूको आरोपसँगै व्यापारी र व्यवसायीहरुले नयाँ नेतृत्व छनाैटमा चनाखाे बन्न समेत अाग्रह गरेका छन । वर्तमान पदाधिकारी र केही उम्मेदवारहरुका गतिविधिले समग्र व्यवसायीकाे नै बदनाम गरेकाेले निर्वाचनलाई शुद्दिकरणकाे माैकाकाे रुपमा समेत लिन व्यवसायीहरुकाे अाग्रह छ । संघले प्रत्येक वर्ष आयोजना गर्ने महोत्सवमा समेत देवकोटाले आर्थिक गरेको केेेही व्यवसायीले बताए ।  केही उम्मेदवारहरुले सहकारी संस्थाको अध्यक्ष भएको बेला अत्तरियाका व्यापारीहरूको शेयर तथा जम्मा गरेकाे पैसा हिनामिना गरेको  र  सहकारी उक्त समय देखि नै बन्द रहेको एक व्यापारीे जानकारी दिए ।  अाम व्यापारीले कांग्रेस निकट उम्मेदवारमाथि प्रश्न उठाई रहँदा काँग्रेसभित्रबाट समेत कांग्रेसकै कार्यकर्ताले अहिले उम्मेदवार बनेकाहरूले विगतका पार्टीका चुनावहरूमा पार्टीलाई नै हराउन भूमिका खेलेको आरोप समेत लगाएका छन् ।

चमेलीद्वारा १५ प्रतिशत लाभांश वितरण

भक्तपुर, असोज ११ । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४-७५ मा रु ९५ लाख नौ हजार मुनाफा आर्जन गरेको छ । सूर्यविनायक नगरपालिका– १ र ४ को सिमाना बिरुवामा रहेको सो सहकारीको १६औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जनार्दन न्यौपानले शेयरधनी र सदस्यको मन जित्दै अगाडि बढ्न सफल भएकै कारण मुनाफा वृद्धि गर्न सफल भएको बताए । विसं २०७५ असार मसान्तसम्म शेयर पूँजी रु दुई करोड ७१ लाख १४ हजार पुर्याएको सहकारीले एक वर्षमा कूल रु ३६ करोड, २२ लाख ७५ हजार कारोवार गरेको छ । अध्यक्ष न्यौपानले सदस्यको चाहनाअनुसार विविध प्रकृतिका बचत तथा ऋणका कार्यक्रम ल्याएर बजार विस्तार गर्दै ब्याजदर, पुनरावलोकन र समायोजन एवं सदस्यलाई आयमूलक तथा व्यावसायिक ऋणमा सहयोग गर्दै आएको बताए । संस्थाका सचिव प्रमोद घिमिरेले संस्थाका सदस्यमा रु २८ करोड ११ लाख ७९ हजार ऋण लगानी गरेको र ऋणि सदस्यबाट साँवा ब्याज भुक्तानीमा विलम्ब हुनु, आयमूलक र सीपमूलक तालीम प्रदान गरी सदस्यलाई व्यावसायिक बनाउन नसक्नु चुनौती भएको बताए । संस्थाका कोषाध्यक्ष शालिकराम घिमिरेका अनुसार चालू आवमा संस्थाको बचत रु छ करोड २० लाख ९४ हजार वृद्धि गर्दै रु २८ करोड ९३ लाख ४१ हजार ८७६ पुगेको बताए । संस्थाको शेयर लाभांश कोषबाट २०७४ पुस मसान्तसम्म शेयर सदस्यलाई शेयर रकमको १५ प्रतिशत लाभांश वितरण गरिएको छ । कार्यक्रममा नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा बढ्नु तथा कानूनी जटिलताको कारण सेवा केन्द्र र कार्य क्षेत्र विस्तार गर्न नसक्नु सहकारी संस्थाका लागि चुनौती बन्दै आएको बताए । उनले आवश्यकताअनुसार सहकारी संस्था मर्ज गर्दै ठूलो पूँजीको विस्तार गरी सेवामूलक ढङ्गले सहकारी अगाडि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा सूर्यविनायक नगरपालिकाका सहकारी अधिकृत लीलादेवी प्रसाई, जिल्ला सहकारी संस्थाका प्रतिनिधि रामचन्द्र प्रजापति, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि बालमुकुन्द उपाध्याय, त्रिवेणीश्वर सामुदायिक साकोसका प्रतिनिधि हरिबोल न्यौपानेलगायतले सहकारी नाफामुखीभन्दा सेवामुखी हुनसके सदस्य व्यवसायीकरणमा जान सक्ने बताए । कार्यक्रममा ८६ वर्षीय प्रेमप्रसाद मिश्र, ८५ वर्षीया सोमकुमारी मिश्र र सदस्यका छोराछोरीमध्येबाट ऋतु चौलागाई र अभिषेक न्यौपानेलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । सामुदायिक विद्यालयबाट यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सिरुटार माविका सलिना नेपाली, आयुष प्रसाई, अरनिको माविका दीक्षा खड्का, सजन खड्का तथा कुलमाया भगवती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत विन्दा पौड्याल र कक्षा ३ का राजेश तामाङलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । संस्थाको छनोटमा परेका लघुबित्त केन्द्रमध्ये सिकारीटार महिला बचत केन्द्र प्रथम, समृद्धि महिला बचत केन्द्र दोस्रो, जनजागरण महिला बचत केन्द्र तेस्रो, भैरव महिला बचत केन्द्र चौथो तथा लालीगुराँस महिला बचत केन्द्र पाँचौं भएको छ । नयाँ कार्यसमिति चयन संस्थाको १६औँ साधारणसभाले आगामी चार वर्षका लागि उद्धवप्रसाद चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रराज खड्का, सचिवमा मीठाराम न्यौपाने, कोषाध्यक्षमा सालिकराम घिमिरे तथा सञ्चालक सदस्यमा विशेश्वर चौलागाई, सहदेव न्यौपाने, मीना खड्का, नवराज घिमिरे, दीपककुमार न्यौपाने, विनु श्रेष्ठ र श्रीराम न्यौपाने तथा लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रमोद घिमिरे, सदस्यमा तीर्थराज चौलागाई र सन्तोष कार्की चयन भएका छन् । रासस

झापाका बासिन्दा सयपत्री फूलको व्यवसायबाट आत्मनिर्भर बन्दै

भद्रपुर । अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन । न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन् । सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ । यति धेरै महत्व र माग भएर पनि नेपालमा भारतबाट महङ्गोमा आयात गरेर सयपत्रीको माग धान्नु परिरहेको छ । सीमावर्ती प्रमुख नाकाहरुबाट वर्षेनी करोडौँको फूल भित्रिरहेको छ । भन्सार नाकाबाट भन्दा बढी मात्रामा अनधिकृत रुपमा खुला सिमानाबाट भित्र्याइने गरिएको छ । फूलमाथिको यही परनिर्भरता हटाउन र आय बढाउन झापाका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । झापाको अर्जुनधारा, भद्रपुर, मेचीनगर, विर्तामोड, गौरादह लगायतका क्षेत्रमा किसानहरुले यसपालि २० बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती लगाएका छन् । बाह्रैमास फुल्ने सयपत्रीको वर्णशङ्कर र रैथाने बिरुवा रोपेका उनीहरुले यसपालिको तिहारमा स्वदेशी फूलले बजारको माग धान्ने बताएका छन् । भद्रपुर–७ इलुबारीमा खगिन्द्रा खुशीले दुई बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती गर्नुभएको छ । “तिहारमा भारतबाट भित्रिने सयपत्री फूल किन्न घुइँचो लागेको देखेर मलाई यसको खेती गर्ने सोच आयो,” निजी लगानीमा खेती शुरु गर्नुभएकी खुशी भन्छन्– “फूल फुलाउन मात्र पर्दोरहेछ, किन्ने व्यापारीहरु बारीमै आउँछन् ।” सयपत्री फूलको बेर्ना रोपेको एक महिनापछि नै फुल्न थाल्ने भएकाले उहाँको बारीमा अहिले फूल फुल्न थालिसकेको छ । तिहारका लागि अर्कै बिरुवाहरु हुर्किरहेका छन् । विर्तामोडको सूर्योदय टेलिभिजनमा साहित्यिक कार्यक्रम सञ्चालन गर्नुहुने साहित्यकार खुशी फूल खेतीमा काम गर्न सजिलो हुने र उत्पादन खर्च समेत कम हुने अनुभव सुनाउनुहुन्छ । तिहार अगावै फूल फुल्दा बजारमा नबिक्ने हो कि भनी शुरुमा उहाँलाई चिन्ता लागेको थियो तर, त्यसो भएन । ठूलो संख्यामा रहेका सहकारी संस्थाहरुबाट साधारण सभाका लागि आएका माग पूरा गर्नै धौ धौ छ । मेचीनगर–९ मा डी एण्ड डी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएकी दीक्षा उप्रेतीले यसपालि १० कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गर्नुभएको छ । “फूल खेती नेपाली महिलालाई स्वरोजगार बनाउने एउटा वैकल्पिक व्यवसाय हो,” नर्सरी व्यवसायकी अनुभवी दीक्षा भन्छन् – “मैले तीन तले खेतीको रुपमा सयपत्रीसँगै मेवा र कागती खेती गरेकी छु ।” तिहारमा सयपत्री फुलिसक्ने र त्यसपछि मेवा फलाउने उहाँको योजना छ । उहाँको खेतीमा कलकत्ते भेराइटीज जातको सयपत्रीका बिरुवामा यतिबेला कोपिला लाग्न थालेका छन् । तिहारमा मात्र फुलाउने योजनाअनुसार उहाँले बिरुवाको मुन्टा बेलाबेला टिपेर फाल्ने गर्नुभएको छ । उहाँले सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन ‘मलसिङ’ प्रविधि प्रयोग गर्नुभएको छ । भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा टुसाउन दिनका लागि मात्र दूलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ । डी एण्ड डी बायोप्लान्टेकबाट उहाँले खेती गर्न चाहनेहरुलाई परामर्शसहित यसपालि ३५ हजार सयपत्रीका बिरुवा बिक्री गरिसकेका छन् । झापाका महिलालाई व्यावसायिक बनाउन सहयोग पुर्याउँदै आएको महिला उद्यमी सङ्घ झापाले विर्तामोड–१ र भद्रपुर–८ मा एक बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको नमुना खेती गरेको छ । सङ्घको खेतीमा सयपत्रीको कोपिला मात्र भर्खर बस्न थालेको छ । “सयपत्री फुल्नु अघि नै मालाको अर्डर आइसक्यो, बजारको कुनै चिन्ता छैन” – सङ्घका अध्यक्ष गोभा भट्टराई बताउँछन् । सङ्घले सयपत्रीको बिरुवा उमारेर इच्छुक व्यक्ति र समूहलाई यसपालि एक लाख बिरुवा बिक्री गरेको भट्टराईले जानकारी दिए । सयपत्री फूलको खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । एक कठ्ठा र दुई कठ्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् । विर्तामोड–९ निवासी अर्का किसान दलबहादुर अधिकारीले यसैका लागि चारवटा अत्याधुनिक टनेल निर्माण गरेर खेती शुरु गरेका छन् । उनले पाँच कठ्ठामा बेमौसमी हजारिया जातको सयपत्री फूलको खेती लगाएको बताए । उनले टनेलमा फुलाएको फूलको एक खेप बिक्री भइसकेको छ । अरु खेतमा लगाइएको सयपत्री तिहारका बेला फुलाउने उनको योजना छ । अर्जुनधारा जलेश्वरधाममा दैनिक पूजाका सामग्री बेच्ने खुद्रा व्यापारीहरु सयपत्री किन्न उहाँको बारीमै पुग्ने गरेका छन् । महिलाहरुले फूल खेतीप्रति देखाएको लगनशीलताका कारण विर्तामोड नगरपालिकाले पनि प्रोत्साहन दिन थालेको छ । फूल किसानलाई प्रोत्साहन गर्न विर्तामोड नगरपालिकाले उद्यमी महिला सङ्घलाई बेर्ना खरिद र तालीमका लागि चालु बजेटबाट रु ५० हजार अनुदान दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले बताए । टनेल बनाएर आधुनिक विधिबाट बेमौसमी फूलको खेती गर्दै आउनुभएका विर्तामोड–९ का दलबहादुर अधिकारीलाई समेत नगरपालिकाले रु ६० हजार अनुदान दिएको छ । विर्तामोड नगरपालिकाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले नगरलाई फूलमा आत्मनिर्भर बनाउने योजना अनुरुप प्रोत्साहन प्रदान गरिएको र यस्तो प्रोत्साहन अझै बढाउँदै लगिने बताए । उद्यमशील महिला सङ्घ झापाले महिलालाई सयपत्री फूलको खेतीमा लाग्न आग्रह गर्दै आएको छ । “थोरै पूँजी र मेहनतमा फूल खेती गर्न सकिन्छ,” सङ्घका अध्यक्ष भट्टराईले भने– “महिला दिदीबहिनीहरु सयपत्री फूलको खेती गर्नूस्, बजार हामी खोजिदिन्छौँ।” चितवन र काठमाडौँबाट समेत सयपत्री फूलको मालाको माग आउन थालेको बताउँदै उनी भन्छन्– “अहिले भइरहेको खेती अपुग छ । झापामा धेरै ठूलो सम्भावना छ सयपत्री फूल खेतीको ।” इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बागबानी विषयमा अध्यापन गराइरहेका विकास खनालले झापाको माटो र हावापानी सयपत्री फूल खेतीका लागि उपयुक्त भएको बताए । “वर्षेनी विदेशबाट करोडौँको फूल आयात भइरहेको छ तर, हामी स्वदेशमै यसको सम्भावनालाई देख्न सकिरहेका छैनौं,” खनाल भन्छन्–“झापालाई फूल खेतीको पकेट क्षेत्र घोषणा गरेर सरकारले किसानलाई तालीम, प्राविधिक सहयोग र अनुदान दिनुपर्छ ।” सयपत्री फूल खेतीप्रतिको आकर्षणले मुलुकभरकै माग धान्ने गरी उत्पादन गर्न झापा सक्षम हुने विश्वास विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई व्यक्त गरेका छन् । फूलको परनिर्भरता हटाउन सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अन्य सहुलियत प्रदान गर्नुपर्ने बजार विश्लेषकहरु बताउँछन् । रासस

शेयरबजार : नेप्से परिसूचक दोहोरो अ‌ंकले घट्यो

काठमाडौँ । धितोपत्र बजार आज पनि पुनःओरालो लागेको छ । आइतबार दोहारो अङ्कले घटेको बजार आज ८.१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले घटेर २५६.१६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६२ कम्पनीको ११ लाख ५९ हजार २७२ कित्ता शेयर रु २७ करोड ७४ लाख २२ हजार ९६७ मूल्यमा खरिद बिक्री भएको छ । दुई उपमूहको शेयर बढ्दा अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन २४.६८ र माइक्रोफाइनान्स १३.३१ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ९.६३, होटल ४५.९५, विकास बैंक १०.२८, जलविद्युत् १०.७५, फाइनान्स ३.३२, निर्जीवन बीमा ५८.५९, अन्य ३.६७ र जीवन बीमा २०.१८ बिन्दुले घटेको छ । रासस

ओपोको एफ नाइन अब नेपाली बजारमा

काठमाडौं, भदौ १५ । नेपाली बजारमा ओपो मोबाइलको नयाँ उत्पादन ओपो एफ नाइन आएको छ । ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्यास चार्जिङ र उद्योगकै पहिलो ग्राडियन्ट कलर डिजाइनसहित एफ नाइन आएको कम्पनीले जनाएको छ ।   सनराइज रेड, ट्वाइलाइट ब्ल्यु र स्टारी पर्पल गरी तीन भिन्न ग्राडियन्ट कलर एफ नाइन उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सनराइज रेड र ट्वाइलाइट ब्ल्यु देशभरका अफलाइन स्टोरमार्फत भदौ १४ गतेदेखि बिक्री भएको छ भने स्टारी पर्पलका लागि केही समय लाग्ने छ । ओपो एफ नाइन ४ जीबी को मूल्य ४१ हजार ५९० र ६ जीबी को मूल्य ४५ हजार ५९० रुपैयाँ रहेको छ ।

बाइस अर्ब राजश्व संकलन

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आव २०७३-७४ मा भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए । अघिल्लो आवको तुलनामा १२८.१५ प्रतिशत प्रगति भएको छ । आव २०७४-७५ मा रु १९ अर्ब ६९ करोड ४९ लाख ८१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब १० करोड ९५ लाख ८४ हजार राजश्व संकलन भएको थियो । कार्यालयले अन्तःशुल्कतर्फ रु १८ अर्ब ८० करोड ७८ लाख ३९ हजार राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ११३.५५ प्रतिशत बढी हो । स्वास्थ्य सेवा शुल्कमा रु छ करोड २९ लाख १० हजार राजश्व संकलन गरी लक्ष्यको १२९.१८ प्रतिशत प्रगति भएको छ । आय करतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घरबहाल करतर्फ रु ११ करोड २४ लाख ८९ हजार, ब्याज करतर्फ रु आठ करोड ९२ लाख ९१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १४ करोड एक लाख ६२ हजार र शिक्षा सेवा करतर्फ रु दुई करोड ६० लाख ६२ हजार संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले निरन्तर अनुगमन, प्रयास र विभागीय नीति निर्देशनको पालना गरेका कारण गत आव र अघिल्लो आवमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरिएको बताए । कार्यालयले चितवन र दाउन्ने पूर्वको नवलपरासी क्षेत्र हेर्दै आएको छ । पन्ध्र परिवारलाई पाडी वितरण भरतपुर महानगरपालिका–१६ मा सेतीदेवी सामुदायिक वनले गरीब र विपन्न उपभोक्तालाई सोमबार यहाँ भैँसीको पाडी वितरण गरेको छ । वनले १५ परिवारलाई रु १५ हजारबराबरको भैँसीका पाडी वितरण गरेको हो । सो अवसरमा जिल्ला वन अधिकृत केदार पौडेलले आयआर्जन बढाउन सुझाव दिँदै संरक्षणमा जुट्न आग्रह गरे । समितिका अध्यक्ष नन्दप्रसाद भट्ट र वडा नं १६ का वडाध्यक्ष चतुर्मान गुरुङले विपन्न उपभोक्तालाई आत्मनिर्भर बनाउन सहयोग पुगोस् भन्नका लागि पाडी वितरण गरिएको बताए । सामुदायिक वनले आम्दानीको ३५ प्रतिशत रकम गरिबी निवारणका लागि खर्च गर्दै आएको छ । सो वन दुर्लभ वन्यजन्तु गैँडा, बाघलगायतको बासस्थान मानिन्छ । रासस

दोहोरो अंकले घट्यो शेयर

काठमाडौँ, असार १७ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २।९७ बिन्दुले घटेर २४९।१२ बिन्दुमा ओर्लेको छ । आज कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता शेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । आज सबै उपसमूहका शेयर घटेको हो । त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०।१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४ बिन्दुले घटेको छ । एक करोड १० लाख कित्ता शेयर सूचीकृत स्टकका अनुसार आज विभिन्न पाँच कम्पनीको एक करोड १० लाख ७७ हजार कित्ता शेयर सूचीकृत भएका छन् । त्यसमा दुई कम्पनीको बोनस शेयर र तीन कम्पनीको हकप्रद शेयर छन् । कर्णाली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै, ओम डेभलपमेन्ट बैंक ३७ लाख ८१ हजार ०७३ कित्ता बोनस शेयर सूचीकृत भएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्थाको दुई लाख ८० हजार कित्ता हकप्रद शेयर र देव विकास बैंक लिमिटेडको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद शेयर सूचीकृत भएको स्टकले जनाएको छ । मञ्जुश्री फाइनान्सको तीन लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

कारोबार सुरु भएको एकघण्टामा नेप्से ०.५७ प्रतिशत घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतवार कारोबार सुरु भएको एकघण्टामा नेप्से परिसूचक शून्य दशमलव ५७ प्रतिशत घटेको छ । शुरुको केही समय स्थिर रहेको बजार आधा घण्टापछि ओरालो लाग्न थालेको थियो । बजार १ घण्टाको व्यापारमा ६ दशमलव ८२ अङ्कले घटेर १ हजार १ सय ९१ दशमलव ७२ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा ८४ कम्पनीको ४ सय ६४ पटकको व्यापारमा रू। १ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत, ‘अन्य’ को शून्य दशमलव ७५, लघुवित्तको शून्य दशमलव ५२ र विकास बैङ्कको शून्य दशमलव ४१ प्रतिशत घटेको छ । साथै, बीमा समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव १४ र जलविद्युतको शून्य दशमलव शून्य ७ प्रतिशत घटेको हो । अार्थिक कारोबार दैनिकबाट

नेप्सेमा १ करोड कित्ता शेयर सूचिकृत

काठमाडौं । शुक्रवार नेप्सेमा चार कम्पनीको बोनस र हकप्रद शेयर गरी कुल १ करोड ७ लाख १४ हजार ९ सय ८१ दशमलव ६ कित्ता शेयर सूचिकृत भएको छ । देवः विकास बैङ्क र सूर्योदय लघुवित्त वित्तीय सस्थाको गरी ६८ लाख १३ हजार १ सय ९ कित्ता हकप्रद शेयर र ओम डेभलपमेण्ट बैङ्क र कर्णाली डेभलपमेण्ट बैङ्कको ३९ लाख १ हजार ८ सय ७३ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । आर्थिकअभियानबाट

माछापुच्छ्रेको बजेट ४५ करोड

पोखरा । कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ। ‘माछापुच्छ्रे गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष कृष्णकुमारी दवाडीले बजेट सार्वजनिक गर्नुभयो । चालू खर्चतर्फ रु २८ करोड ३७ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ रु नौ करोड ५३ लाख २९ हजार, आर्थिक विकासतर्फ रु एक करोड ५५ लाख, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ रु २५ लाख तथा सुशासन, संस्थागत विकास र सेवा प्रवाहतर्फ रु तीन करोड ५८ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ । सडक सञ्जाल निर्माण र स्तरोन्नतिका लागि रु आठ करोड १८ लाख छुट्याइएको छ । सिँचाइ कुलो निर्माण तथा मर्मत सुधार गरी कृषि उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्न रु एक करोड ३३ लाख ५० हजार विनियोजन गरिएको छ । सुशासन तथा संस्थागत सुधारसँगै संरचनागत विकासका लागि रु एक करोड ७८ लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष गुरुङले माछापुच्छ्रे हिमाल आरोहण खुला गर्न सम्बद्ध निकायसँग छलफल गरी पहल गरिने बताउनुभयो । उहाँले पदयात्रा पर्यटनको विकासका साथै बञ्जीजम्प, क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, हनी हन्टिङ, रक क्लाइम्बिङ, पर्वतारोहणजस्ता साहसिक खेलको विकासका लागि पूर्वाधार निर्माणमा ध्यान दिइने बताउनुभयो । रासस

विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को खर्च कटौतीसम्बन्धीको छलफलमा शुरु भएको छ । सांसद चित्रलेखा यादवले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा केन्द्रित भएर ८३ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा १० दशमलब २३ प्रतिशत विनियोजन गरिएको तर सबैका लागि शिक्षामा १५ देखि १७ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद यादवले गरीब र धनी सबैका छोराछोरी एउटै विद्यालयमा पढ्ने वातावरणको व्यवस्था नभएसम्म नेपालको शिक्षा गुणस्तरीय हुन नसक्ने धारणा राख्नुभयो । कतिपय विद्यालयमा पिउने पानी, शौचालयसमेत नभएको हुँदा न्यूनतम सुविधा विद्यालयमा हुनुपर्ने, अपांगता भएका व्यक्ति र अन्य खालका समस्या भएका बालबालिकाका लागि विशेष व्यवस्था गर्नुपर्ने उहाँको जोड थियो । सांसद खगराज अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा केन्द्रित भएका आफ्नो धारणा प्रस्तुत गर्दै मनोमानी तरिकाले स्वास्थ्य क्षेत्रमा औषधिको व्यापार भइरहेको उल्लेख गर्नुभयो । सांसद सोमप्रसाद पाण्डेले शिक्षा, विज्ञान प्रविधि, उद्योग, वाणिज्य मन्त्रालयमा केन्द्रित भई धारणा प्रस्तुत गर्नुभयो । सांसद लालप्रसाद सावा लिम्बूले शिक्षामा केन्द्रित भएर सबैका लागि गुणस्तरीय शिक्षा भनेर नपुग्ने भएकाले शिक्षा देशभरि एउटै पाठ्यक्रम हुनुपर्दछ भन्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विषयमा सांसद लिम्बूले वैदेशिक रोजगारलाई संयमित, सुरक्षित र मर्यादिन बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद तेजुलाल चौधरीले शिक्षाको एकाधिकार तोड्नुपर्ने, धनी र पहुँचवालाले ठूला र गरिबले सामान्य स्कूल पढाउनुपर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सांसद कृष्णप्रसाद दाहाल, सांसद गंगा चौधरी, रामबहादुर विष्ट, छक्कबहादुर लामाले शिक्षा र स्वास्थ्यमा संविधानको मौलिक हकमा उल्लेख भएअनुसार व्यवस्था गर्नुपर्ने र शहरी तथा ग्रामीण सबै क्षेत्रमा समान शिक्षाको पाठ्यक्रम लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सांसद लक्ष्मी चौधरीले वैदेशिक रोजगारीमा जाने युवालाई म्यानपावर कम्पनी राम्रो नपर्दा ठगिनुपरेको बताउनुभयो । विधेयकमाथि छलफल जारी छ । रासस

निर्धन उत्थान बैंक लिमिटेडद्वारा व्यवसायिक कुखुरापालन तालिम सम्पन्न

काठमाडौं । नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना २४ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ आषाढ १ गतेदेखि ३ गतेसम्म पाल्पा जिल्लाको आर्य भज्याङ्गमा “व्यवसायिक कुखरापालन तालिम” सम्पन्न गरेको बैंकका भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख आनन्दकुमार गौतमले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु कपिल श्रेष्ठ, युवराज ज्ञावाली, आर्यभज्याङ्ग शाखाका प्रमुख कृष्णकान्त अधिकारी रहेका थिए । एक परिवारमा एकजना उद्यमी बनाउन बैंकले पहल गरिरहेको, बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस बैंकबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका क्षेत्रीय प्रमुख गौतमले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको आर्यभज्याङ्ग शाखा कार्यालयका प्रमुख कृष्णकान्त अधिकारीले प्रकाश पारेका थिए । तालिमको अन्त्यमा सहभागी तुल्सा न्यौपाने, सहभागी गौतम बिश्वकर्मा, प्रशिक्षक कपिल श्रेष्ठले मन्तब्य दिएका थिए । ब्यवसायिक रुपमा कुखुरापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । कुखुरापालन गरी रहेका बैंकका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको बैंकका शाखा प्रमुख अधिकारीले जानकारी गराएका थिए । तालिमको समापन बैंकको भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख आनन्दकुमार गौतमले गरेका थिए । तालिमको संचालन शाखा प्रमुख कृष्णकान्त अधिकारीले गरेका थिए । यो निर्धन उत्थान बैंक लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एकमात्र देशको सबै जिल्लामा पुगेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । यस बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आइरहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथसाथै आफना ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आइरहेको छ । तालिम लिएका आफना ग्राहक सदस्यहरुको आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ । बैंकले देशको ७ वटै प्रदेशका देशको ७७ वटा जिल्लाहरुमा बैंकले १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको विशाल संजाल बनाई देशैभरि लघुवित्त सेवा पुर्याइरहेको छ । यसै संञ्जाल मार्फत बैंकले २०७५ बैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ, बैंकले २०७५ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ९८ करोड बचत परिचालन गरेको छ ।

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता कूल ४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा दुई दशमलव १४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको ४० लाख २६ हजार ८१० कित्ता शेयर रु एक अर्ब ६८ करोड ४५ लाख छ हजार खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव ६६ अंकले बढेर अन्तिम दिन एक हजार २४७ दशमलव ३० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ६५ अंकले बढेर २६१ दशमलव ८१ अंकमा पुगेको छ । यस साता कारोबार रकमका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु नौ करोड ९७ लाख ७० हजार बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक अग्रस्तानमा रहेको छ । सो बैंकको चार लाख ६५ हजार कित्ता शेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । विभिन्न छ कम्पनीका शेयर सूचीकृत यस साता रैराङ हाइड्रोपावर कम्पनीको ५६ लाख कित्ता साधारण शेयर, प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद र १९ लाख ८३ हजार १५० कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् । यस्तै मल्टीपर्पस फाइनान्स कम्पनीको एक लाख ६४ हजार ७३६ कित्ता बोनस र सिद्धार्थ बैंक लिमिटेडको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद र बेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद शेयर स्टकमा सूचीकृत भएका छन् । रासस