चार कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ, पुस १६ । नेपाल स्टक एक्सचेञ्जमा सोमबार विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।

हिमालयन बैंकको पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु ४८९ मा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य रु ६७४ रहेको छ ।

स्टकमा सोमबारै मेगा बैंकको पनि एक प्रतिशत शेयर लाभांश दिएपछि प्रतिकित्ता रु १८० मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य रु २१७ रहेको छ ।

पूर्णिमा विकास बैंकको पनि पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु १५९ मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधार मूल्य रु २२६ रहेको छ ।

यस्तै महुली सामुदायिक लघुवित्तको शेयर पनि २० प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु एक हजार २८३ मा मूल्य समायोजन भएको छ । उक्त लघुवित्तको औसत आधारमूल्य रु एक हजार २१५ रहेको छ ।

स्टककाअनुसार ती कम्पनीको शेयर समायोजित मूल्यमा नै शेयर कारोवार भएको छ । रासस

नेपाली डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट भारतमा महिनाको लाखभन्दा बढी निकाल्न नपाइने

काठमाडौँ — नेपालीले भारतमा विद्युतीय माध्यम (डेबिट, क्रेडिट/प्रिपेड कार्ड) मार्फत पैसा भुक्तानी गर्दा मासिक १ लाख रुपैयाँभन्दा बढी झिक्न नपाइने भएको छ । विभिन्न प्रकारको भुक्तानीका लागि भारतबाट धेरै रकम झिक्ने प्रवृत्ति बढेपछि राष्ट्र बैंकले कडाइ गरेको हो । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो । यसअघि यस्तो भुक्तानीमा कुनै सीमा थिएन । पछिल्लो समयमा भारतमा विद्युतीय माध्यममार्फत ठूलो भुक्तानी भएको देखिएकाले नियन्त्रणका लागि सीमा तोकिएको राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानले बताए । ‘भारतमा डेबिट, क्रेडिट/प्रिपेड कार्डलगायत विद्युतीय कार्डको माध्यमबाट एकै पटक वा पटकपटक गरी मासिक भारु १ लाखसम्म मात्र भुक्तानी गर्न सकिनेछ,’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ, ‘होटल, अस्पताल र औषधि पसलमा गरिने भुक्तानीको हकमा उक्त सीमा लागू हुने छैन ।’ राष्ट्र बैंकका अनुसार गत वर्ष विभिन्न किसिमका विद्युतीय कार्ड, ड्राफ्ट र खातामा स्थानान्तर गरी नेपालबाट करिब १ खर्ब रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ । यही तथ्यांकका आधारमा भारतमा धेरै पैसा खर्च भएको निष्कर्ष राष्ट्र बैंकले निकालेको हो । सोही निष्कर्षका आधारमा भारतमा विद्युतीय माध्यममार्फत वस्तु तथा सेवा खरिद गर्दा गरिने भुक्तानीमा सीमा तोकिदिएको हो । वाणिज्य बैंकले भारतीय मुद्रामा ऋण लिन पाउनेसम्बन्धी व्यवस्थामा केही परिमार्जन गरेको छ । नयाँ व्यवस्थाअनुसार बैंकले भारतबाट ऋण लिँदा ऋणको अधिकतम ब्याजदरको बढीमा एक प्रतिशत थप गर्न पाउँछन् । यसअघि त्यहाँको ट्रेजरी बिल्सको बट्टादरमा अधिकतम एक प्रतिशत थप गर्न पाउने व्यवस्था थियो । यो दरमा भारतीय बैंकहरूले ऋण दिन नमानेपछि राष्ट्र बैंकले यो व्यवस्था परिमार्जन गरेको हो । ट्रेजरी बिल्सको वट्टादरभन्दा एमसीएलआरको दर करिब एक प्रतिशतले बढी हुने बताइएको छ । यसैगरी अब बैंकहरूले परिर्वत्य विदेशी मुद्रामा ऋण प्रवाह गर्दा निक्षेपमा दिएको ब्याजमा २ प्रतिशत विन्दुभन्दा बढी लिन नपाउने भएका छन् । बैंकहरूले परिवत्र्य विदेशी मुद्राको बचतमा धेरै कम ब्याज दिने तर ऋण प्रवाह गर्दा उच्च ब्याज लिने गरेको पाइएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । हाल बैंकहरूले विदेशी मुद्रा निक्षेपमा ०.५ देखि ०.६ प्रतिशत ब्याज दिँदै आएका छन् । विदेशी मुद्रामा ऋण दिँदाँ साढे ५ देखि ७ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् । -कात्तिपुर दैनिकबाट

४ महिनामा २५ सचिवसहित १५ सय ७६ कर्मचारी विदेश भ्रमणमा

काठमाडौं, अनावश्यक विदेश भ्रमण रोक्न र मितव्ययी बन्न प्रधानमन्त्री केपी ओलीले दिएको निर्देशनविपरीत हरेक महिना करिब ४ सय कर्मचारीले विदेश सयर गरिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा मात्रै १ हजार ५ सय ७६ कर्मचारीले विदेश सयर गरे । यिनमा सबभन्दा बढी उच्च तहका कर्मचारी छन् ।  प्रधानमन्त्रीले महत्त्वपूर्ण कार्यक्रम/सम्मेलनमा मात्र विदेश भ्रमणको अनुमति दिन सचिवहरूलाई निर्देशन दिए पनि कतिपय मन्त्रालयका सचिवहरूले आफू निकटका कर्मचारीलाई पटक–पटक विदेश भ्रमणको छुट दिने गरेको पाइएको छ। कर्मचारीले सबभन्दा धेरै चीन, थाइल्यान्ड, कोरिया, भारत र जापान भ्रमण गरेका छन्। यसबाहेक अमेरिका, इन्डोनेसिया, भुटान, फ्रान्स, मलेसिया, इटली, जापान, सियरालियोन, कम्बोडिया, कोस्टारिका, स्विट्जरल्यान्ड, फिलिपिन्स, इक्वेडर, जर्मनी, युनाइटेड अरब इमिरेट्स, बेलायत, दक्षिण कोरिया, युगान्डा, बंगलादेश, अस्ट्रिया, दक्षिण अफ्रिका, ब्राजिल, सिंगापुर, नर्वे, श्रीलंका, जर्मनी, नेदरल्यान्ड्स, जर्जिया, कतार, इजिप्ट, बहराइन, फिनल्यान्ड, युक्रेन, क्यानडा, म्यानमार, पोल्यान्डलगायत मुलुक भ्रमण गरेका छन्। विकसित मुलुकहरूले विकासका लागि गरेको प्रयास र प्रगति अवलोकन, अध्ययन गर्न र द्विपक्षीय तथा बहुपक्षीय सम्मेलनमा सहभागी हुनमात्र कर्मचारीहरूले विदेश भ्रमण गर्ने गरी निर्देशिका जारी गरिएको छ। वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकाविपरीत कर्मचारीहरूले मन्त्रालयबाट स्वीकृत गराई विदेश सयर गर्ने गरेको प्रधानमन्त्री कार्यालयको चौमासिक प्रतिवेदनमा उल्लेख छ। पहिलो चौमासिकमा (साउदेखि कात्तिकसम्म) विभिन्न मन्त्रालयका २५ सचिवले विदेश भ्रमण गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले कान्तिपुरलाई बताए। चार महिनामा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले तीन पटक विदेश भ्रमण गरेका छन्। अन्तर्राष्ट्रिय सन्धि/सम्झौता, सम्मेलन र बैठकमा सचिवले भाग लिएका छन्। सचिवहरूले फिलिपिन्स, चीन, थाइल्यान्ड, दक्षिण अफ्रिका, जर्मन, कुवेत, बंगलादेश, अमेरिका, ताजकिस्तान, घाना, स्विट्जरल्यान्ड, भारत, फ्रान्स, जर्जिया, कतार, यूके, अस्ट्रिया, श्रीलंका, इन्डोनेसिया र दक्षिण कोरियालगायत मुलुक भ्रमण गरेका छन्। भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारी, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर र गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल सरकारको अनुमति नलिई विदेश भ्रमण गरेका थिए। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीले ती तीन सचिवलाई स्पष्टीकरणसमेत सोधिसकेका छन्। उनले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ लागू भए पनि सबैजसो मन्त्रालयका कर्मचारीले त्यसविपरीत भ्रमण गरेको पाइएको बताए। ‘वैदेशिक भ्रमण नियमन गर्न खोजिए पनि कतिपय मन्त्रालयहरूले अटेर गरेका छन्,’ कुँवरले भने, ‘असम्बन्धित कार्यक्रममा समेत कर्मचारीले भ्रमण गरेको देखिएको छ।’ निर्देशिका लागू भएपछि पनि साउन र भदौमा मन्त्रालयहरूले निर्देशिकाविपरीत कर्मचारी विदेश भ्रमणमा पठाएको पाइएको छ। प्रधानमन्त्री कार्यालयले भ्रमण निर्देशिका पालना गर्न सबै मन्त्रालयको ध्यानाकर्षणसमेत गराए पनि अटेर गर्ने गरेको कुँवरले उल्लेख गरे। साउनदेखि कात्तिकसम्म सबै कर्मचारीले विदेश भ्रमणमा बिताएका दिन जोडदा ६ हजार २ सय २२ दिन हुन्छ। चार महिना अवधिमा तालिममा गएका सेना र प्रहरीलाई छोड्ने हो भने सबभन्दा बढी (२१७ जना) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले विदेश भ्रमण गरेका छन्। दोस्रोमा वन तथा वातावरण मन्त्रालय आउँछ। यस अवधिमा वन तथा वातावरण मन्त्रालयका ९९ कर्मचारीले विदेश भ्रमण गरेको प्रधानमन्त्री कार्यालयले तयार गरेको भ्रमण प्रतिवेदनमा उल्लेख छ। कृषि तथा पशुपन्छी मन्त्रालयका ८५, रक्षा मन्त्रालयका ४ सय २२ (तालिममा गएका सेनासमेत) र गृह मन्त्रालयका १ सय ५१ (नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिमसमेत) कर्मचारीले विदेश भ्रमण गरेका छन्। चार महिनामा सबभन्दा कम युवा तथा खेलकुद मन्त्रालयका ७ कर्मचारीले मात्र विदेश भ्रमण गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १० जना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका ८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका ११ र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका ८ कर्मचारी विदेश भ्रमणमा गएका छन्। कुँवरका अनुसार चार महिना अवधिमा रक्षा, संघीय मामिला, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र वन तथा वातावरण गरी ५ मन्त्रालय सबभन्दा बढी पटक विदेश भ्रमण गर्ने सूचीमा पर्छन्। यस अवधिमा रक्षाबाट १ सय ११, संघीय मामिलाबाट ७२, अर्थबाट ६३, उद्योगबाट ६० र वनबाट ४८ पटक कर्मचारी विदेश उडेका छन्। अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा आवश्यकताभन्दा बढी कर्मचारीले विदेश भ्रमण गरेको र राज्यकोषको करोडौं रुपैयाँ सकिएपछि विदेश भ्रमणलाई चुस्त बनाउन सरकारले गत वैशाख १३ मा ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ ल्याएको थियो। निर्देशिकामा परामर्शदाता तथा ठेकेदारको पैसामा कर्मचारीले विदेश भ्रमण गर्न नपाउने व्यवस्था गरिएको छ। तर, मन्त्रालयहरूले दाताको सहयोगमा सञ्चालित कार्यक्रमकै रकमबाट कर्मचारीलाई विदेश भ्रमण गराउने गरेको पाइएको छ। निर्देशिकामा वैदेशिक भ्रमणमा जाने कर्मचारी अथवा अधिकारीले भ्रमण गरेर फर्केको १५ दिनभित्र भ्रमणका क्रममा प्राप्त उपलब्धिसम्बन्धी प्रतिवेदन सम्बन्धित मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ। नबुझाउनेलाई दुई वर्षसम्म भ्रमणमा जान नदिइने निर्देशिकामा छ। निर्देशिकाले भ्रमण स्वीकृत हुनुपूर्व अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्थासमेत गरेको छ। निर्देशिकामा विदेश भ्रमण गरेका कर्मचारीको सूची मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिए पनि प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयले समेत त्यसो गरेका छैनन्।

तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ, पुस १० । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सोमबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ। स्टकका अनुसार आज शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् । आर्थिक वर्ष २०७४-७५ को नाफाबाट शेयरधनीलाई दिने शेयर लाभांश र नगद लाभांशपछि ती कम्पनीले शेयर मूल्य समायोजन गरेका हुन् । स्टकका अनुसार एनएमबी बैंकले दश प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेअनुसार नै प्रतिकित्ता रु ३५१ मा शेयरमूल्य समायोजन गरेको हो । बैंकको औसत आधारमूल्य रु ३७२ रहेको छ । यस्तै स्वावलम्बन विकास बैंकको २५ प्रतिशत शेयर लाभांशपश्चात् प्रतिकित्ता रु ८८६ मा शेयर मूल्य समायोजन भएको छ । स्टकले सो बैंकको औसत आधार मूल्य रु एक हजार ८० कायम गरेको छ । मिर्मिरे लघुवित्तले पनि २४ प्रतिशत शेयर लाभांश दिने निर्णयसँगै आज शेयर मूल्य समायोजन गरेको छ । सो संस्थाको प्रतिकित्ता रु ९६९ मा रहने गरी शेयर मूल्य समायोजन गरेको हो । सो लघुवित्तको औसत आधार मूल्य रु एक हजार ४४४ रहेको छ । नेपाल हाइड्रोडेभलपर लिमिटेडले आफ्ना शेयरधनीलाई चार प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४÷७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ । सो आवमा कम्पनीले रु एक करोड ९७ लाख ७७ हजार नाफा गरेको थियो । रासस

शेयर बजार पुनः ओरालो लाग्यो

काठमाडौ‌, पुष ९ । आइतबार उच्च बिन्दुले बढेको शेयर बजार आज भने छ दशमलव ४५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव सात बिन्दुले घटेर २५३ दशमलव ६८ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता रु ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । वित्त पाँच, उत्पादन दुई दशमलव ७९, अन्य तीन दशमलव शुन्य चार र जीवन बीमा ६८ दशमलव २८ बिन्दुले बढेका छन् । यस्तै बैंकिङ १० दशमलव ३२, व्यापार ११ दशमलव ४०, होटल ३२ दशमलव ६६, विकास बैंक १७ दशमलव पाँच, निर्जीवन बीमा २० दशमलव ४७ र लघुवित्त पाँच दशमलव ८९ बिन्दुले घटेका छन् ।

टेलिकमले ५५ प्रतिशत नगद लाभांश बाँड्न तोक्यो बुकक्लोज

नेपाल दुरसञ्चार कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश वितरणका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । लाभांश पारित गर्न पुस ३० गते आइतबार आह्वान गरिएको एघारौं वार्षिक साधारण सभाका लागि कम्पनी सञ्चालक समतिको पुस ८ गते बसेको ८०३ औं बैठकले पुस १५ गते आइतबारदेखि पुस ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाे छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस १२ गते बिहीबारसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् । टेलिकमको पुस २ गते सम्पन्न सञ्चालक समितिको ८०२ औं बैठकले अघिल्लो आर्थिक वर्षमा पति नै प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । टेलिकमको ११ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई लाभांश वितरण हुनेछ । सभाले चालू आवको लागि लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण समेत गर्ने छ । १५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमले ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा कायम गरेको छ । मेरोलगानीबाट

चालू आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने

काठमाडौं, मंसिर २८ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आर्टिकल फोरका लागि नेपाल आएको आइएमएफको उच्चस्तरीय टोलीले यो आर्थिक वर्षको वृद्धिदर ६.५ हुने प्रक्षेपण गरेको हो। आइएमएफले यसअघि गत अक्टोबरमा पाँच प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, फेरि त्यसलाई सच्याउँदै साढे ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । आइएमएमको टोली प्रमुख गिर्ट अल्मेमकिन्डर्सले बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘राजनीतिक स्थायित्व र नियमित बिजुली प्रवाहका कारण आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अनुमान गर्न सकिन्छ ।’ आइएमएफको टोलीले आर्थिक वृद्धिदर थोरै तर दिगो बनाउनुपर्ने सुझाव पनि दिएको छ।

चौतारी लघुवित्तको आईपिओ बाँडफाँड : ४७५ आवेदन रद्ध, दुई लाख १७ हजारले पाएनन्

काठमाडौं मंसिर २८ । चौतारी लघुवित्तको आईपिओ मंसिर २८ गते शुक्रबार बाँडफाँड भएको छ । लघुवित्तको शेयर कुल आबेदक मध्ये २ लाख १७ हजार १२२ ले नपाउने भएका छन् । लघुवित्तको आईपिओमा ३०.५९ गुणा बढी आबेदन परेको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ५६ हजार ७० आबेदकले मात्रै लघुवित्तको शेयर पाएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । संस्थाको आइपिओमा कुल २ लाख ७३ हजार १९२ जनाले आबेदन गरेकोमा ४७५ आबेदन रद्ध भएको छ । कम्पनीको शेयरमा रितपुर्वक एक करोड ७१ लाख १३ हजार १३० कित्ता बराबरको लागि एक अर्ब ७१ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कुल एक करोड ७१ लाख ५३ हजार ७७० कित्ताको लागि परेकोमध्ये ४० हजार ६४० कित्ता शेयरका लागि परेको आवेदन रद्ध भएको छ । लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको थियो । लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ भने खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ । लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६८ लाख र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ पुग्नेछ । मेरोलगानीबाट

शुरु नहुँदै अनलाईन शेयर प्रणालीप्रति चर्को आक्रोश, लगानीकर्ताले निकाले विज्ञप्ती

अनलाईन शेयर कारोबार प्रणाली प्रभावकारी रुपमा नचलेको भन्दै शेयर बजारका लगानीकर्ताहरूले आपत्ति प्रकट गरेका छन्। सेवा सुचारू भएको ५ औं दिनसम्म पनि प्राबिधिक त्रुटी सम्बोधन नभएको र सरकारी निकायबाट सत्य तथ्य सूचना लगानीकर्तामा प्रवाह नगरिएको भन्दै नेपाल इन्भेष्टर्स फोरमले गहिरो चिन्ता व्यक्त गरेको छ । फोरमले आइतबार एक विज्ञप्ति जारी गर्दै १४ खर्ब ५० अर्व भन्दाबढि पूँजीकरण भएको बजारमा हचुवाको भरमा अनलाईन भित्र्याईनु गंभिर गल्ति भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ । यथाशक्य छिटो प्राविधिक समस्या हल गरेर प्रभावकारी अनलाईन कारोबार सुचारू गर्न फोरमले अपिल समेत गरेको छ ।

आजदेखि घरबाटै शेयर किनबेच गर्न सकिने, अनलाईन प्रणाली शुरु

काठमाडौँ- मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको बताए । शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन् । स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । स्टकका प्रवक्ता पराजुलीका अनुसार शेयर कारोवारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो । यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने वाध्यता रहेको थियो । नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलाल मार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्ने छन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ । व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुंगा सावित हुने विश्वास स्टकले लिएको छ ।

शेयरबजारः नेप्से परिसूचक ०.४७ प्रतिशत बढ्यो

काठमाडौं, कात्तिक १९ । सोमवार नेप्से परिसूचक शून्य दशमलव ४७ प्रतिशत बढेको छ । २ घण्टाको व्यापारमा परिसूचक ५ दशमलव ७३ अङ्कले बढेर १ हजार २ सय १३ दशमलव शून्य १ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय १३ कम्पनीको १ हजार ३८ पटकको व्यापारमा रू. ६ करोड ७० हजार बराबरको शेयर कारोबार भएको हो । जलविद्युत र वित्त कम्पनी समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । बैंकिङ समूहको परिसूचक शून्य दशमलव ७२ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६९, विकास बैङ्कको शून्य दशमलव ५३, लघुवित्तको शून्य दशमलव १७, ‘अन्य’ समूहको शून्य दशमलव १२ र निर्जीवन बीमाको शून्य दशमलव शून्य २ प्रतिशतले बढेको छ । होटल समूह भने स्थिर रहेको छ । जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ६ प्रतिशतले घटेको छ । आर्थिकअभियानबाट

अपर तामाकोशी आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन !

काठमाडौं, कात्तिक १९ । कात्तिक १५ देखि सर्वसाधारणका लागि विक्रीमा आएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने सोमवार अन्तिम दिन रहेको छ । कम्पनीले छिटोमा कात्तिक १९ र ढिलोमा मङ्सिर १४ गतेसम्म विक्री खुला गर्ने सूचना जारी गरे पनि छिटो अवधिमै मागभन्दा बढी आवेदन परेकाले विक्री बन्द हुन लागेको हो । विक्री प्रबन्धक नागरिक लगानी कोषले सोमवार ११ बजेसम्म २ लाख ५६ हजार आवेदकबाट रू. ४ अर्ब ८० करोड बराबरको आईपीओ खरीदका लागि आवेदन परेको छ । यस आधारमा तोकेभन्दा ३ गुणा बढी आवेदन अहिलेसम्म परिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि रू. १ अर्ब ५८ करोड ८५ लाख बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर जारी गरेको हो । यस आईपीओमा न्यूनतम ५० र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ । सर्वसाधारणलाई बिहीवारदेखि आईपीओ जारी गरेको यस कम्पनीले बुधवार आयोजना प्रभावित स्थानियलाई कुल १ करोड ५ लाख ९० हजार कित्ता शेयर बाँडफाँट गरेको छ । यस कम्पनीमा नेपाल विद्युत् प्राधिकरण सहित नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोष संस्थापक शेयरधनी रहेका छन् । कम्पनीको निर्माणाधिन ४ सय ५६ मेगावाटको जलविद्युत् आयोजना तामाकोशी नदीमा अवस्थित छ । आर्थिकअभियानबाट

गाईपालनबाट मनग्य अाम्दानीबाट कृषकहरु हर्षित

कार्तिक १५ । गाईपालन थालेपछि यहाँका युवाले मासिक ५० हजारदेखि रु दुई लाख आम्दानी गर्न सफल भएका छन् । तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले मासिक रु ७० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । वि.सं. २०६७ मा साउदी अरबबाट फर्केर गाईपालन व्यवसाय शुरु गरेका रेश्मीसँग हाल १७ गाई छन् । दश गाई दुहुना छन् । गाईले दैनिक ५० लिटर दूध दिन्छ । दूध बेचेको आम्दानीले पाँच जनाको परिवारको खर्च चलेको छ । गाईपालनबाट रेश्मी परिवार सन्तृष्ट छ । चिनारीका रुकवीर रेश्मी बराइनबाट फर्केर २०६७ सालदेखि गाईपालन गर्दै आएका छन्। उनले मासिक रु डेढ लाख आम्दानी गर्दै आएका छन् । रेश्मीले भने, “गोठमा ३२ उन्नत जातका गाई छन् । दैनिक ११० लिटर दूध उत्पादन हुन्छ ।’ चिनारीकै देवीबहादुर रानाले साइप्रसबाट फर्केर गाईपालन थालेका छन् । एघार मध्ये पाँच गाईले दैनिक ३५ लिटर दूध दिन्छन् । मासिक दुई लाखसम्म आम्दानी हुन्छ । गाईपालनसँगै उनले बहुबाली खेती थालेका छन् । चिनारीबाट दैनिक ५५० लिटर दूध तानसेन खपत हुँदै आएको छ । मासिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी हुन थालेपछि युवा गाईपालनतर्फ आकर्षित भएका हुन् । चिनारीका ३० परिवारले गाईपालन गर्दै आएका छन् । सो व्यवसायबाट यहाँका युवाले मनग्य आम्दानी गर्न थालेका छन् । रासस

शेयरबजारः नेप्से कारोबार स्थिर

काठमाडौं, कात्तिक १५ । साताको अन्तिम दिन कारोबार भएको तेस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशतले बढेको छ । कारोबार भएदेखि दोस्रो घण्टासम्म घटेको परिसूचक यस अवधिमा शून्य दशमलव ८३ अङ्कले बढेर १ हजार २ सय २२ दशमलव २९ विन्दुमा पुगेको छ । कारोबार भएको १ सय ३६ कम्पनीको रू। १३ करोड बराबरको शेयर कारोबार भएको छ । दश समूहको परिसूचकमा सात समूहको परिसूचक बढेको छ भने तीन समूहको परिसूचक घटेको छ । नगद लाभांश प्रस्ताव गरेको सानिमा बैंकको सर्वाधिक रू.१ करोड बराबरको शेयर कारोबार भएको छ ।

सरकारद्वारा सय नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक (सूचीसहित)

काठमाडौं, कात्तिक १५ । नेपाल सरकारले पर्यटन विकासका लागि एक सय ओटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय नयाँ गन्तव्य छनोट गरेको हो । नयाँ पर्यटकीय गन्तव्यका लागि देशैभरबाट परेका ६ सयभन्दा बढीको आवेदन तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट गरिएको मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकासित गरेको थियो । नयाँ विकास गर्नु पर्ने गन्तव्यहरुमा चालु आवमा विनियोजित बजेटबाट बाँडफाँट गरिने मन्त्रालयले जानकारी दिएको छ । सय ओटा नयाँ गन्तव्यको पूर्वाधार लगायतका क्षेत्रको विकासका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको र प्रत्येक गन्तव्यलाई रू. ५० लाख रुपैयाँका दरले बजेट छ्ट्याइएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यालले जानकारी दिए । उनले भने, ‘अहिले गन्तव्य पहिचान गरी थोरै भएपनि बजेट विनियोजन गरिएको छ । यसबाट ती गतन्यको प्रारम्भिक कार्य हुनेछ । क्रमशः स्थानीय सरकार तथा निजी क्षेत्रको सहकार्यमा गन्तव्यको थप विकास गरिने छ ।’ सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालको पर्यटन प्रवद्र्धनको लागि नयाँ गन्तव्य पहिचान गर्ने उल्लेख गरेको थियो । नयाँ सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई समेत सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ । नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले जानकारी दिए । नेपालले नेपाल भ्रमण वर्षलाई ‘लाइफ टाइम एक्सपेरियन्स’का रुपमा प्रवद्र्धन गर्न चाहेको र नेपालमा संसारको कुनै पनि ठाँउमा नभएको अलौकिक स्थानहरु रहेकोले पनि यो प्रयास सकारात्मक रहको उनले बताए । हेर्नुहोस् यी सूची- आर्थिक अभियानबाट

निर्धन उत्थानको स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, कार्तिक १३ । देशभरिका ७ वटै प्रदेशका ७ वटै जिल्लाहरुमा १८१ वटा शाखा कार्यालयको सञ्जालमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं स्थापना दिवसको उपलक्ष्यमा मिति २०७५ कार्तिक १२ गते सोमबारका दिन रुपन्देही जिल्ला भैरहवा हिमालीपथस्थित निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको भैरहवास्थित भवनको प्रांगणमा “तपाईको एक थोपा रगत कसैको अमूल्य जीवन बन्न सक्छ’ भन्ने मुल नाराका साथ रगत नपाएर छट्पटिएका व्यक्तिहरुको जीवन रक्षाको निमित्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । यस संस्थाको क्षेत्रीय कार्यालय भैरहवाद्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा संस्थाका कर्मचारीहरु, ग्राहक सदस्यहरु, अभिभावकहरु र सर्वसाधारणहरु गरी १८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी भैरहवा शाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो । सो अवसरमा भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख न्यौपानेले देशभरिका ७ वटै प्रदेशका ७ वटै जिल्लाहरुका १८१ वटा शाखा कार्यालयको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको यस संस्थाको २०७५ भाद्र मसान्तसम्ममा ग्राहक संख्या ३,२०,८३१ रहेको, लगानीमा रहेको कर्जा रु.१५ अरब ४९ करोड ९४ लाख रहेको र बचत रु.८ अरब ७० करोड १७ लाख रहेको जानकारी गराएका थिए । यस संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई यस संस्थाको भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।