नेपाल बङ्गलादेश बैंक र कुमारी बैंकले नाफा बृद्धि गर्न सकेनन्

कार्तिक २० । नेपाल बङ्गलादेश बैंक र कुमारी बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । नेपाल बङ्गलादेश बैंकको पहिलो तीन महिनामा नाफा ३१ प्रतिशतले र  कुमारी बैंकको नाफा १८ प्रतिशतले घटेको छ ।

नेपाल बङ्गलादेश बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष बैंकको नाफा २२ करोड ५० लाख रुपैयाँ थियो । बैंकको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी २० करोड २४ लाख रुपैयाँ छ भने गत वर्ष यस्तो आम्दानी ३२ करोड ९२ लाख रुपैयाँ थियो।

बैंकले ४२ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ छ। जगेडा कोषमा दुर्इ अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात १४.६३ प्रतिशत रहेको छ भने खराब कर्जा ०.७३ प्रतिशत छ। प्रति शेयर आम्दानी २२ रुपैयाँबाट ८ रुपैयाँमा सिमित भएको छ।

यस्तै कुमारी  बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो बर्ष बैंकको नाफा १३ करोड ७४ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी ३५ करोड ६७ लाख रुपैयाँ छ भने गत वर्षको यहि अवधिमा यस्तो आम्दानी २६ करोड २५ लाख रुपैयाँ थियो। बैंकको कर्मचारी खर्च तथा भाका नागेको ऋणको कारण नाफामा गिरावट आएको देखिन्छ।

बैंकले ५४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुर्इ अर्ब ७४ करोड जम्मा भएको छ । बैंकको पूँजी कोष अनुपात १५.२५ प्रतिशत छ भने खराब कर्जा २.५८ प्रतिशत रहेको छ। बैंकको प्रति शेयर आम्दानी ७ रुपैयाँ छ। समयपाेष्टबाट साभार

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

पोखरा, कात्तिक १५ । मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैंचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो रु १०० तोकिएको थियो । स्याउको पूmलपूmल्ने बेलामा जिल्लामा हिउँ परेको र कृषकले उत्पादन क्षेत्र बढाउँदै लगेका कारण गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा झण्डै १६ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत शिव पुजन गुप्ताले जानकारी दिए । यस वर्ष जिल्लामा पाँच हजार ३०० मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । मुस्ताङमा कृषकले यस वर्ष ४१५ हेक्टर क्षेत्रफलमा स्याउ लगाएका थिए । गत वर्ष जिल्लामा चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको गुप्ताले बताए । टुकुचे, मार्फा, कागबेनी, छुसाङ, मुक्तिनाथ, जोमसोम, झोङ, घमी, चतान, खुर्साङ र कोवाङमा स्याउ उत्पादन हुने गरेको छ ।रासस

रियाल, दिर्हाम र रिंगिट कमजोर

काठमाडौं, कात्तिक १५ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५५ पैसा र विक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र विक्रिदर २८ रुपैयाँ ५३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४१ पैसा र विक्रिदर २४ रुपैयाँ ५५ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २३ पैसा र विक्रिदर ९ रुपैयाँ २९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ४७ पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ३६ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ ९० पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ४९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । एजेन्सी

जनता बैंकको ८५ हजार कित्ता सेयर लिलामी खुला

काठमाडौं, कार्तिक १५ । जनता बैंकको सर्वसाधारण समूहको ८५ हजार १ कित्ता सेयर बुधबार (कात्तिक १५ गते) देखि बिक्री खुला भएको छ । बैंकले गुरुप्रसाद न्यौपानबाट जफत गरेको ८५ हजार १ कित्ता सेयर लिलामीमा ल्याएको हो । केही समयअघि बैंक सञ्चालक भएका बेला गैरकानुनी हिसाबले श्रीमतीको नाममा सेयर किनेको ठहर गर्दै उक्त सेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार जफत भएको सेयर बैंकले यतिबेला लिलामीमा ल्याएको हो । यो शेयरमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर निवेदन दिनुपर्ने छ । हाल बैंकको बजार मूल्य भने प्रतिकित्ता २५३ रुपैयाँ छ । यसमा आवेदन दिने अन्तिम म्याद भने कात्तिक २१ गते तोकिएको छ । न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । आवेदकले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, काठमाडौं प्लाजा कमलादीमा पुग्नेगरी आवेदन फारम बुझाउनुपर्ने छ । बोलपत्र कात्तिक २२ गते बिहान १२ बजे काठमाडौं प्लाजा, कमलादीमा खोलिने छ । यो लिलामीमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संगठित संस्थाले समेत आवेदन दिन पाउने छन् । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको जनताले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गरी असार ३० देखि एकीकृत कारोबार समेत सुरु गरिसकेको छ । यसअघि जनताले त्रिवेणी विकास बैंकलाई पनि मर्ज गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार रुपैयाँ छ । चालु आवको पहिलो त्रैमासमा बैंकले ६ करोड ४८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जनतााको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६ पैसा रहेको छ । एजेन्सी

दरबारमार्गका फरार व्यापारी पक्राउ

काठमाडौं, कात्तिक १५ । जुत्ता, घडी, लत्ताकपडा लगायतका सामानमा कालोबजारी गरी ग्राहक ठगी गर्ने दरबारमार्गका फरार व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दरबारमार्ग र ठमेलबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजेश्वर श्रेष्ठ, सुवास महर्जन, जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, रोशन ओडारी, रौनक शर्मा, उत्तमकुमार बस्नेत, प्रवीण झा र तुलसीधर भण्डारी रहेका छन् । उनीहरुलाई कालोजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ । उनीहरुलाई काठमाडौं परिसरमा राखिएको बताइएको छ ।

अदुवा बिक्री हुन नसक्दा कृषकहरु मारमा

कुश्मा, कात्तिक १५ । कतिपय बजारमा अदुवाले माग धान्न नसकिरहेको बेला पर्वतमा उत्पादित अदुवाले बजार नपाएपछि कृषक मर्कामा परेका छन् । जिल्लाको कुश्मा नगरपालिका वडा नं.२ खुर्कोटका कृषकहरुले हरेक वर्ष उत्पादन गरेको अदुवाले बजार बारीमै कुहिने गरेको छ। खुर्कोटस्थित कोटगाउँकी लक्ष्मी क्षेत्रीले विगत ९ बर्षदेखि अदुवा खेती गर्दै आएकी छन् । वर्षमा झन्डै ७ क्विन्टल अदुवा उत्पादन गर्ने क्षेत्री अदुवाखेतीबाट भने निराश बन्न बाध्य छन् । आफूले उत्पादन गरेको अदुवाले बजार नपाएपछि उनलाई अब अदुवा उत्पादन गर्ने कि नगर्ने ? भन्ने चिन्ता लागेको छ। खाडलमा कुहिएको अदुवा देखाउँदै क्षेत्री भन्छिन, ‘यो गाउँमा हरेक वर्ष जति पनि अदुवा उत्पादन हुन्छ तर, कसैले नकिन्दा बारीमै कुहिएको छ। अब यो वर्ष हेरौँ, अनि म यो अदुवाको संगत नै गर्दिनँ। आठ हजारको बीउ किनेकी हुँ, एक रुपैयाँको नि बिकेको छैन।ु खुर्कोटकै सालबोटका महेश्वर शर्मा पौडेलले अदुवाको एक क्विन्टल बीउ प्रतिकेजी ७० रुपैयाँको दरमा खरिद गरेर खेती गरे। उनले उत्पादन गरेको झन्डै आठ क्विन्टलमध्ये झन्डै चार क्विन्टल जति प्रतिकेजी २० रुपैयाँका दरमा बिक्री भयो। तर, बाँकी रहेको ४ क्विन्टल अदुवा घर नजिकैको खाडलमा कुहिएको छ । अदुवाले बजार नपाउँदा यो खेतीबाट हैरान परेका अर्का उत्पादक खेमराज पोखरेलको पीडा पनि अरूभन्दा कम छैन। उत्पादित अदुवालाई बिक्रीका लागि शर्माले सदरमुकामसम्म बोकेरै पनि लिएर गए । तर, बजारका तरकारी पसलेहरुले कौडीको भाउमा अदुवाको मूल्य सुनाउँदा उनलाई अदुवा खेती गरेकोमा पछुतो लागेको छ। ‘अब अदुवा खेती नै छोडीदिने विचार गरेको छु। यो देशमा गरे के हुन्न ? सबैले भन्छन्। खोइ गरेर त के नै पो भयो र ?’ उनले दुखेसो सुनाए । यी प्रतिनिधि कृषकहरु सहित खुरकोटमा वर्षेनी झन्डै ५ देखि ७ टनसम्म अदुवा उत्पादन हुन्छ। तर, उत्पादनको करिब १५ प्रतिशत अदुवा त्यो पनि निकै सस्तो दरमा बिक्री हुन्छ । खुर्कोटमा जस्तै पर्वतका अन्य ठाउँमा उत्पादित अदुवा पनि बजारको अभावमा खाडलमा कुहिने गरेको छ । बजारको आशामा हरेक वर्ष अदुवा फलाउने कृषकहरु अब भने आजित भएका छन्। जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले भने– ‘सरकारले नीतिगत रूपमै बजार व्यवस्थापनमा पहल गर्नुपर्छ । स्थानीयस्तरमा अलिअलि बिक्री हुन्छ । तर, यहाँको अदुवा पर्वतबाहेक अन्य जिल्ला र विदेशमा निर्यात हुन नसक्दा जिल्लामा उत्पादित अदुवा त्यसै खेर गइरहेको छ।’

नबिल बैंकको खुद नाफामा ६.६४% वृद्धि

काठमाडौं, कार्तिक १५ । नबिल बैंकले चालु आवको पहिलो त्रैमासमा ८५ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६.६४ प्रतिशतले खुद नाफा वृद्धि गर्न बैंक सफल भएको हो । अघिल्लो वर्ष बैंकले ७९ करोड ८३ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ७. १० प्रतिशतले वृद्धि गरी १ अर्ब ३६ करोड ६ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । बैंकले २ लाख ९९ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ९ करोड ४५ लाख १५ हजार रुपैयाँ छुट्याएको छ । नबिल बैंकले पनि नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । बैंकले गत आवको पहिलो त्रैमासको तुलनामा ३०.०७ प्रतिशतले चुक्ता पुँजी वृद्धि गरी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ पुर्याएको छ । भारी मात्रामा चुक्ता पुँजी वृद्धि हुँदा प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५७ पैसाले घटेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ १० पैसा छ । बैंकले भारीमात्रामा चुक्ता पुँजी वृद्धि गर्दा खुद नाफा पनि सँगसँगै वृद्धि गर्दै लगेको देखिन्छ । यसबाट भविश्यमा बैंक झन् सबल बैंन्दै जाने अनुमान लगाउन सकिन्छ । बैंकको प्रतिशेयर नेटवर्थ पनि १४ रुपैयाँले घटेर १८४ रुपैयाँमा आएको छ । नबिलको रिजर्भ कोषमा ११.२४ प्रतिशत वृद्धि भएर ६ अर्ब ९० करोड ५० लाख ८२ हजार रुपैयाँ जम्मा भएको छ । यो आवको पहिलो त्रैमासमा बैंकको निक्षेप संकलन २.४५ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगेको छ । यसैगरी, ९४ अर्ब ९८ करोड ४४ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गर्न बैंक सफल भएको छ । कर्जा लगानी पनि अघिल्लो वर्षको तुलनामा १३.६९ प्रतिशतले वृद्धि भएको हो । बैंकले खराब कर्जा भने १.०९ प्रतिशतबाट बढेर १.११ प्रतिशतमा पुगेको छ । कस्ट अफ फन्ड पनि १.८८ प्रतिशतबाट बढेर ४.४० प्रतिशत पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल घटेको छ । इक्विटीमा प्रतिफल २७.०३ प्रतिशतबाट घटेर २३.४५ प्रतिशतमा आएको हो । एजेन्सी

दुई बैंकबीच सम्झौता

काठमाडौँ, कार्तिक १४ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था र युरानस टेक प्रालिबीच ट्याब्लेट बैंकिङ्ग कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार काठमाडौंमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजो र युरानस टेकको तर्फबाट प्रबन्ध संचालक निराजन सुवेदीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले सक्षम परियोजना अन्तरगत परियोजना संचालन भएका जिल्लाहरुमा ट्याब्लेट बैंकिङ्ग संचालन कार्य अगाडी वढाउने छ । वित्तीय संस्थाले शुरुवातामा इलाम जिल्लाको दानावारी र राँके शाखा, मुस्ताङ जिल्लाको मुक्तिनाथ, म्याग्दीजिल्लाको घारा र दरबाङ, रुकुमजिल्लाको झुल्नेटा र खोलागाउँ शाखाहरुमा सक्षम परियोजनासँग सम्झौता गरी सो क्षेत्रका सदस्यहरुलाई वित्तीय पहुँच बृद्धि गर्नका लागि वित्तीय साक्षरता, सर्वसुलभ ढंगले वचतगर्ने तथाऋण प्रदानगर्ने कार्यक्रम अगाडी वढाउदै आएको छ । उक्त ट्याब्लेटको माध्यमबाट दैनिक केन्द्र बैठक संचालनगरी फिल्डबाटै डाटा इन्ट्री गरी सदस्यहरुले जम्मा गरेको वचततथाकिस्ता तुरुन्तै पोष्टिङ्ग गर्न सकिने भएकोले दैनिक कामकाज गर्नको लागि सहजहुने र हाल फिल्ड कर्मचारीहरुले गर्दै आएको काम छिटो छरितो भई एक तिहाई समयमै सबै कार्य सम्पन्नहुने भएकोले बाँकी समय अन्य उत्पादनमुलक कार्य गर्न सकिने कुरा प्रमुख कार्यकारी अधिकृत कोनाजोले बताए ।

गुराँस इन्स्योरेन्सले ‘गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं, कार्तिक १४ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । गत आइतबार ललितपुर गोदावरिमा आयोजना भएको राष्ट्रिय स्तरको उत्कृष्ट अभिकर्ता तथा अभिकर्ता संयोजक भेलामा, प्रमुख अतिथि दीपक नेपाल तथा संचालक समितिका संचलकहरु अपछ कुमार यादव, शिव बहादुर श्रेष्ठ, मेघ राज पौडेल, शम्भु प्रसाद सुवेदीेले संयुक्त रुपमा नयाँ बीमा योजना सार्वजानिक गरेका हुन् । आफ्नो लागि, आफ्नो बुढेशकालको लागि तथा आफ्नो सन्ततिको लागि उपयुक्त रहेकोे ‘गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना’ नामको यो नयाँ जीवन बीमा योजनाको मुख्य विशेषता बीमितको सुरक्षित भविष्यको लागि बीमा भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष दिवशमा बीमाङ्कको ६५ रकम पेन्सनको रुपमा बीमितलाई भुक्तानी दिइने छ । समारोहमा कम्पनीका नायब महाप्रबन्धक नारायण कुमार भट्टराईले ‘गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना’ को विशेषताहरुको बारेमा जानकारी गराएका थिए ।

पुँजी फस्न सक्छ, थाहा पाउनुस् शेयरमा लगानी गर्दा जान्नैपर्ने कुराहरू

काठमाडौं, कार्तिक १३ । शेयर बजारको राम्रो जानकारी हुनेलाई नाफा आर्जन गर्न गाह्रो छैन । शेयर बजारमा लगानी गर्नुले पनि थोरै रकमले धेरै आयको बाटो बनाउँछ । यसका लागि शेयर बजारबारे बझ्नु र आवश्यक तरिकाहरु जान्नुपर्छ । सेयर बजारमा गरिएको सानो लगानीले थुप्रैलाई अर्बपति बनाएको छ भने धैर्यताको अभावमा गरिएका लगानी डुबेका उदाहरणहरु पनि प्रशस्तै छन् । सेयर बजारमा आफ्नो लगानीका साथसाथै कला कौशल प्रयोग गरी अर्बपति बनेका टिम जि र माइकल जि ले शेयर बजारमा लगानी गर्दा १० वटा कुराहरुमा ध्यान दिनुपर्ने बताएका छन् । उनीहरुले अपनाएका यी १० सुत्रहरु पालन गर्न सकेमा आफ्नो उद्देश्यमा पुग्न ठुलो मद्धत हुने उनीहरु बताउँछन् । १. हट स्टकले बनाएको उचाईलाई अध्ययन गरिराख्नुहोस् जब सेयर बजारको सपना देख्न सुरु गर्नुहुन्छ, अवश्य पनि बजारमा बढी चर्चा र कारोबारमा रहेको शेयर अर्थात हट स्टकबारे आफ्नो ध्यान बनाइराख्नुपर्छ । अध्ययन तथा अनुसन्धान गनुहोस् । स्टकले नयाँ उचाइ बनाइराख्दा स्टकको प्याट्रन तथा स्थानबारे ध्यान बनाइ राख्नुहोस् । सेयर बजारमा हल्लाले बनाएको नयाँ गिरावटलाई खासै ध्यान नदिनुहोस् । २. शेयर किन्नुहोस् र छोटो समयको अन्तरालमा नै बेचिहाल्नुहोस् केही यस्ता व्यक्तिहरु हुन्छ जो मार्केट उचाइमा पुगेपछि मात्र धनी हुने सोच राख्छन् । छोटो समयमा गरिने किनबेचलाई प्राथमिकता दिनुहोस् । नाफा कमाउन धेरै समय होल्ड गरेर बस्नु राम्रो हुँदैन । कारोबार गरिरहेकाहरुले गरेको सफलताबारे अध्ययन गर्नुहोस् । त्यो नै नाफा कमाउने सुचक बन्नेछ । ३. घाटालाई तुरुन्त कम गर्नुहोस् सेयर बजारमा सफलता पाउन चाहानुहुन्छ भने पहिला आफ्नो घमण्ड पुर्ण रुपमा हटाउनुहोस् । यस्तो अवस्थामा केही समयका लागि पछाडि सर्नुपर्नेहुन्छ तर नोक्सानी कटौती गर्दै अगाडि बढ्नुपर्छ । नोक्सानीलाई लिएर निराश नभइकन अगाडि बढ्नका लागि तयार हुनुहोस् । कतिसम्म नोक्सानी व्यहोर्ने भन्ने बारेमा पहिले नै योजना बनाउनु होस् । ४. थोरै वा धेरै नाफा लिन नहिचकिचाउनुहोस् जबसम्म तपाईले गरेको लगानीबाट फाइदा लिइसक्नुहुन्न तबसम्म फाइदा भयो भनेर सोच्नु गलत हुनेछ । जति पनि फाइदा हुन्छ त्यसलाई जतिसक्दो चाँडो बुक गर्नुहोस् । मार्केट केही मिनेटमै परिवर्तन हुने हुदाँ जे गरें ठिक गरे भन्ने सोचमा जोड दिनुहोस् । नाफा कति कमाउने अर्थात कुनै पनि शेयरको मुल्य कति बढ्दा तपाईले नाफा कमाइयो अब बेच्छु भन्ने यकिन गर्नुहोस् न कि अझै बढ्छ अनि बेच्छु । अझै बढ्छ अनि बेच्छु भन्ने लालसा लिनु भयो भने बजार भाउ माथि नगई तल झरेको खण्डमा पछुताउनु सिवाय केही हुँदैन । ५. नयाँ प्रविधिहरुको प्रयोग गर्नुहोस् हरेक क्षेत्रलाई प्रविधिले प्रभाव पारिरहेको कुरालाई ग्रहण गर्नुहोस् । तपाई पनि शेयर बजारमा लगानी गरेर फाइदा कमाउन चाहानुहुन्छ भने आफुलाई पनि त्यसै अनुसार परिवर्तन गर्नुहोस् । प्रविधि सम्बन्धि कम्पनीहरुले के गर्दैछन् भनेर अत्तालिनुको साटो आफु पनि त्यसमा अभ्यस्त हुने जमर्को गर्नुहोस् । अब बजार पुर्णतया प्रविधिमा आधारित हुने भएकाले आफ्नो लगानीबाट नाफा कमाउन नयाँ प्रबिधि र बिजनेश मोडेललाई बुझ्ने पयास गरिराख्नुपर्छ । प्राविधिक विश्लेषण, अनलाइनबाट हुने बैंकिंग कारोबार, डिम्याट खाता लगायतका बजारका प्रविधिजन्य विषयलाई आत्मसाथ गर्दै बुझ्ने कोशिस गर्नुहोस् । ६. लिकुइड स्टकसँग जोडिरहनुहोस् यदि तपाई फरक ढंगले बजार बुझेर आम्दानी गर्न चाहानुहुन्छ भने लिकुइड स्टकमा टासिरहनु उत्तम उपाय हो । लिकुइड स्टक अर्थात बजारमा धेरै कारोबार भैरहने कम्पनीको शेयर खरिद बिक्रि गर्ने बानी गर्नु भयो भने चाहेको समयमा शेयर किन्न अनि बेच्न र नाफा बुक गर्न सकिन्छ । यस्तो स्टकमा धेरै आम्दानी नभए पनि छोटो समयमा आम्दानी निरन्तर रुपमा गर्न सकिने भएकाले त्यो तपाईका लागि दिगो हुन सक्छ । ७. बजारमा चल्ने जस्तो सुकै हावादारी कुराको पछाडि नलाग्नुहोस् कारोबारमा कुराहरु सस्ता हुन्छन् । कसैले दिएका कसम तथा सपनाका पछाडि नलाग्नुहोस् । फलानोले फलानो कम्पनीको शेयरबाट यति कमायो, फलानोले भनेको फलानो कम्पनीले यति बोनस दिन्छ भन्ने जस्ता कुराको पछि नलाग्नु होस् । यस्ता कुरा सुन्नु भयो भने वास्तविकता के हो पत्ता नलगाई कुनै कदम नचाल्नुहोस् । तपाईलाई शेयर किन्न उकास्ने व्यक्तिले शेयर बेच्ने समयको जानकारी नदिंदा उसले नाफा कमाए पनि तपाई घाटा पर्न सक्ने भएकाले आफ्नो निर्णय आफैं गर्नुहोस् । ८. एकै पटकमा धेरै कम्पनीको सेयर नलिनु होस् एकै पटकमा धेरै कम्पनीको सेयर खरिद गर्दा तपाईको पोर्टफोलियो के भईरहेको छ भनेर जानकार हुन नसक्ने तथा भनेको समयमा सबै सेयरको अध्ययन गर्न नसक्ने समस्याले चाहेको समयमा शेयर बिक्रि गर्न नसक्ने अवस्था आउन सक्छ । धेरै कम्पनीका धेरै सेयर हुँदा सोचाई धेरै हुने अनि त्यसले तनाव महशुस गराउनेतर्फ चनाखो हुनुहोस् । साथै एउटै कम्पनीको धेरै सेयर नलिनुहोस् । नाफा आउँदा त एउटाबाट धेरै आउन सक्छ त कारणबस नोक्सान भयो भने एउटै कम्पनीको धेरै शेयर कै कारण धेरै नोक्सान हुन्छ भन्ने कुरालाई नबिर्सिनुहोस् । आफ्नो क्षमता अनुसार ३० प्रतिशतभन्दा ज्यादाँ लगानी नगर्नुहोस् । ९. धेरै सस्तो सेयर किनिरहनु आवश्यक छैन तर उछालमा रहेका बेच्नुहोस् लगानीकर्ताले कहिलेकाँही कारोबार हुने सबैभन्दा सस्तो मुल्यमा रहेका सेयर किन्नुभन्दा पनि उछालमा रहेका सेयर बेचेर फाइदा लिनु बुद्धिमानी हुनेछ । मध्यम मुल्यका निरन्तर कारोबार हुने सेयरबाट पनि फाइदा लिन सकिन्छ । साथै सबैभन्दा सस्तो सेयर किनेर फाइदा गर्छु भन्ने सोच गलत नभए पनि उछालका सबैभन्दा बढी कारोबार हुने सेयरले फाइदा दिने सम्भावना निकै बढी हुन्छ । १०. सधै एउटा योजना बनाउनुहोस् यदी तपाई गम्भिर भएर सेयर बजारबाट लामो समयसम्म नाफा कमाउने योजनामा हुनुहुन्छ भने एउटा केन्द्रिकृत योजना बनाएर अगाडि बढ्नु राम्रो हुन्छ । डर र लोभ दुवैलाई मिलाएर अगाडि बढ्नसक्नुपर्छ । आफ्नो योजनाबाट बिमुख नहुनुहोस् । सामान्य नोक्सानी देखिंदा नआत्तिनुहोस् । तपाईको इच्छाशक्ति र तपाईले बनाएको योजनाले नै तपाईको कमाईलाई निर्धारण गर्छ । लगानी गरिसकेपछि त्यसमा आउने संभावित जोखिमलाई सहन गर्ने क्षमता अनुसार मात्र लगानी गनुहोस्, जसले तपाईको आत्मविश्वासलाई अझै बढाउन सकोस् । बैंकिङखबरबाट साभार

नेपाल बंगलादेश बैंकको १२ प्रतिशत बोनस शेयर प्रस्ताव

काठमाडौं, कार्तिक १३ । नेपाल बंगलादेश बैंकको १२ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजन भएपछि बैंकको शेयर मूल्य प्रतिकित्ता दुई सय ९६ रुपियाँ तोकिएको छ । यसकारण, सोमबार बैंकको कारोबार दुई सय ९६ रुपियाँलाई मानेर खुलेको छ । बैंकको औसत आधार मूल्य भने चार सय ३५ रुपियाँ हो । कम्पनिले मंसिर तीनमा हुने वार्षिक साधारण सभाको लागि सोमबारदेखि सभाको मितिसम्मको लागि बुक क्लोज गरिएको हो । बैंकले उक्त साधारण सभामा चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र तीन दशमलव ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दैछ । अहिले बैंकको चुक्ता पुँजी सात अर्ब २१ करोड ९० लाख ५९ हजार रुपियाँ रहेको छ । प्रस्तावित बोनस दिइसकेपछि बैंकको पुँजी आठ अर्ब आठ करोड ५३ लाख ४६ हजार रुपियाँ पुग्नेछ। गएको आर्थिक वर्षको चौथो त्रैमारमा बैंकले एक अर्ब २० करोड तीन लाख ८२ हजार नाफा कमाएको थियो । कर्पोरेट नेपालबाट साभार

अटोमेटिक अफ हुने इलेक्ट्रिक कित्ली

कार्तिक १३ । यो कित्ली अर्डर गर्नको लागी कृपया आफ्नो नाम, नम्बर, डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस् अथवा हामीलाई कल गर्नुहोस् वा हाम्रो फेसबुक पेजमा गएर हामीलाई मेसेज इनबक्स गर्नुहोस् । हामी हजुर हरुले भनेको ठेगानामा सामान डेलिभरी गरिदिन्छौं । यो इलेक्ट्रिक कित्ली घर वा अफिसमा चिया बनाउन, पानी तताउन, चाउचाउ बनाउन आदि कामको लागी एकदमै लोकप्रिय छ । यो अटोमेटिक भएकोले पानी, चिया उम्लिएपछि यो आफैँ अफ हुने, पानी पोखिएर फोहोर नहुने, बिजुलीको बचत हुने र ओभर हिट भएर कित्लीको कोइल जल्ने समस्याबाट छुटकारा मिल्छ । यो कित्लिको बजार मूल्य रु. १००० सम्म पर्छ तर कम्पनी प्रोमोशनको लागी हामी तपाईहरुलाई यो कित्लीमात्र रु.४९९।– मा दिदै छौँ । Brand name : Kenwood / Silvertrek and capacity: 2 liter . यो कित्ली कर्डलेस भएकोले प्रयोग गर्न सजिलो र सुरक्षित छ । पानी उम्लिएपछि यसलाई जगको रुपमा यता उता लैजान सकिन्छ र आवश्यकतानुसार थोरैथोरै झिकेर बाँकी जगमा नै छोड्न सकिन्छ । यो जगलार्इ अफिस टेबलमा, डाइनिङ्ग टेबलमा राख्न सकिने भएकोले यो कर्डलेस जग आजकाल धेरै नै चल्तीमा छ ।अटोमेटिक सिस्टम भएकोले पानी उमाल्नको लागी तर जोडेर आफ्नो अरु काम गर्न सकिन्छ । एजेन्सीबाट

जनता बैंकको शेयर कसरी खरिद गर्न सकिन्छ त ?

काठमाडौं, कार्तिक १२ । जनता बैंक नेपाल लिमिटेडले ८५ हजार एक कित्ता साधारण सेयर लिलामीमा राख्ने भएको छ । बैंकले प्रचलित कानुनविपरीत गुरुप्रसाद न्यौपानेले किनेको शेयर जफत गरी लिलामीमार्फत बिक्री गर्न लागेको हो । सर्वसाधारणले खरिद गर्न पाउने उक्त शेयरमा यही कार्तिक १५ गतेदेखि २१ गतेसम्म आवेदन दिन पाइनेछ । यसका लागि बैंकले काठमाण्डौं क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको लिलामी सेयरमा आवेदन गर्न चाहनेले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ । बैंकिङखबरबाट साधार

तीन महिनापछि गाउँमा बिजुली बल्यो

गुल्मी, कात्तिक ११ । गुल्मीको दरमखोला लघुजल विद्युत् सेवा झण्डै तीन महिनापछि नियमित रुपमा संचालन भएको छ । परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजना गत साउन महिनादेखि कहिले नहर बगाउने त कहिले नहर पहिरोले पुर्ने गर्दै पटक÷पटक अवरुद्ध हुँदै नियमित हुन सकेको थिएन् । विद्युत् सेवा पछिल्लो समयमा असोज महिनाको पहिलो सातादेखि मुसिकोट नगरपालिका– २ को भर्जुवामा रहेको २५ केवीको ट्रान्समिटर जलेर अवरुद्ध भएको विद्युत् सेवाको ट्रान्समिटरलाई झण्डै एक महिना लगाएर उचित मर्मत र संम्भार गरी विद्युत् सेवा संचालनमा ल्याइएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । लामो समयपछि विद्युत् सेवा संचालन भएसँगै सोही वडाका भर्जुवा अन्तर्गतका झण्डै १५५ घरधुरीका उपभोक्ताको घरमा बिजुली बलेपछि खुशी भएका छन् भने विद्युत् सञ्चालनसँगै बिजुली बत्ती, कुटानी पिसानी, फर्निचरलगायत विद्युतीययन्त्र समेत संचालन भएका छन् ।

अदुवाको परिकारबाट मनग्य आम्दानी

इलाम, कात्तिक ११ । भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहेको छ । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गर्नुभएको हो । उहाँले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पालेको छैन नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घर जोड्नुभएको छ भने छोरीलाई काठमाडौँ राखेर पढाउँदै अाएका छन् । विसं २०६८ देखि सामान्य तालीम लिएर अदुवा प्रशोधन थाल्नुभएकी निरौलाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बनाउने गर्ने गर्दछन् । अदुवाबाट विभिन्न परिकार बनाएर जीवन चलाउँदै प्रशोधन केन्द्रमै मात्रै मासिक पाँच क्विन्टल खपत हुने गरेको उनले बताए । “प्रशोधन केन्द्रमा पाँच क्विन्टल अदुवा खपत हुन्छ । यो सबै अदुवा अग्र्यानिक मात्रै ल्याउने गरेकी छु” उनले भने । निरौलाले वार्षिक रु ४५ लाख बराबरको अदुवाको परिवार बिक्री गरी रु १८ लाख नाफा कमाएको छ । “व्यावसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्” उनले भने “त्यही भएर साना किसानबाट मात्रै अदुवा किन्छु ।” विभिन्न समस्याले गर्दा शुरुवाती समयमा अनावश्यक झण्झट खेपेकी निरौलाले व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुलेको छ । “जति बेला मैलै यो उद्यम शुरु गरे । त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइन् । राम्रो बजारीकरण पनि नभएको बेला भएकाले अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या प¥यो ।” उहाँ थप्नुहुन्छ “अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन । तर बनाइसकेका परिकार खेर चाहिँ फाल्नु पर्दैन ।” यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा ‘हारालुस’ हुने गरेको उहाँ बताउनुहुन्छ । “यहाँ त अहिले पनि अदुवाको सर्बतभन्दा मानिसले बुझ्दैनन् । तर बाह्रय पर्यटकका लागि भने यही सर्वत राम्रो छ ।” यस्ता परिकार इलाम बजार र फिक्कलबाटै बाह्य पर्यटकले खरिद गर्ने गरेका छन् । अकबरे, अमलाबाट पनि परिकार बनाउने गरेकी निरौलाको मुख्य उद्यम भने अदुवाकै परिकार हुने गरेका छन् । बजारीकरणमा समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

लगानीकर्ताको छनौटमा परेका दश कम्पनी (सूचिसहित)

काठमाडौं, कात्तिक ११ । यतिबेला सेयरबजारमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने र लाभांश पारित गराउन साधारणसभा आह्वान गर्ने क्रम बढेको छ । कतिपय कम्पनीहरुले साधारणसभा सम्पन्न समेत गरिसेकका छन । लाभांश घोषणाको सिजनमा लगानीकर्ताको छनौटमा परेका दश कम्पनी भने यस्ता रहेका छन् । नेप्सेमा सूचिकृत कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने र चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम थाल्दै गर्दा असोज महिनाको सेयरबजारमा भने सुधार आएको छ । महिनाभर १६ दिन खुलेको सेयरबजार परिसूचक नेप्से ११.२४ अंकले बढेको छ । असोज १ गते १५४७.९४ विन्दुमा रहेको नेप्से असोज ३१ गते १५५९.१८ विन्दुमा पुगेको थियो । असोजको सुरुवातमा १७ खर्ब ९६ अर्बमा रहेको बजार पूँजीकरण समेत बढेर १८ खर्ब ९ अर्ब पुगेको छ । असोज महिनाभरको कारोबार हेर्दा लगानीकर्ताको छनौटमा वाणिज्य बैंकहरुको बाहुल्यता देखिएको छ । केही बीमा कम्पनी, जलविद्युत र लघुवित्तको सेयरको माग पनि असोज महिनामा उल्लेख्य भएको देखिन्छ । यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स असोज महिनाभर कारोबार रकममा आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको २९ करोड २३ लाखको संस्थापक सेयर तथा २४ करोडको साधारण सेयरको किनबेच भएको छ । दोस्रो स्थानमा रहेको इन्भेष्टमेन्ट बैंकको २५ करोड ५५ लाखको कारोबार भएको छ । चाैथाे नम्बरमा रहेको चिलिमेको २३ करोड ९२ लाखको कारोबार भएको छ । त्यस्तै क्रमश डिप्रोक्स लघुवित्त, बैंक अफ काठमाण्डौ, स्ट्यान्डर्ड चार्टर्ड, नागरिक लगानी काेष, एभरेष्ट बैंक र सानिमा बैंक उच्च कारोबार हुने दश कम्पनीमा परेका छन् । यता कारोबार भएको सेयर संख्याको आधारमा जनता बैंक सबैभन्दा अगाडि देखिएको छ । असोज महिनाभर जनता बैंकको ४ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । बैंक अफ काठमाण्डौको ४ लाख २२ हजार, नेपाल बैंकको चार लाख, सानिमा बैंकको ३ लाख ८९ हजार कित्ता सेयर किनबेच भएका छन् । भने दशौं नम्बरमा रहेको एनबि बैंकको २ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । असोज महिनाभर इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी ३ हजार ७७६ पटक सेयर किनबेच भएको छ । दोस्रो स्थानमा रहेको नेपाल लाइफको २५ सय ७७ पटक सेयर किनबेच भएको छ । हिमालयन पावर, सानिमा बैंक, चिलिमे हाइड्रो लगायतका कम्पनी धेरै पटक सेयर किनबेच हुने कम्पनीमा परेका छन् । दशौं नम्बरमा रहेको एनबि बैंकको १२ सय ११ पटक सेयर किनबेच भएको छ ।  असोज महिनाको लगानीकर्ताको सेयर कारोबारको प्रवृति नियाल्दा पनि लगानीकर्ता कस्ता कम्पनीतर्फ आर्कषित छन् भन्ने आँकलन गर्न सकिन्छ । कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्याको आधारमा लगानीकर्ताको नजरमा अधिकांश मध्यम मूल्य भएका वाणिज्य बैंकहरु परेको देखिन्छ । साथै लगानीकर्ताको छनौटमा बीमा कम्पनी, जलविद्युत, लघुवित्त र अन्य कम्पनी समेत देखिएकाले लगानीकर्ता लगानी विविधिकरण तर्फ पनि चनाखो रहेको असोज महिनाको कारोबार प्रवृतिबाट आँकलन गर्न सकिन्छ ।