काठमाडौंमा तीन दिने ल्होछार मेला हुने
काठमाडौं, १७ फागुन । राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको आयोजनामा तीन दिने बृहत ल्होछार मेला तथा विविध सांस्कृतिक कार्यक्रमको हुने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी फागुन २४, २५ र २६ गते हायत होटलको प्राङ्गनमा कार्यक्रम हुने जानकारी गराइएको हो ।
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दाबा फिन्जोले ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । सबै पर्वहरुलाई उत्तिकै सम्मान गर्न आवश्यक रहेको उनले बताए ।
ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ र खेलकुद मन्त्री कार्यक्रममा सहभागी हुने उनले बताए ।
अन्तिम दिन बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन कार्यक्रमा उपस्थित हुने उनको भनाइ छ । बागमती प्रदेशभित्रका जिल्लाहरुमा रहेको कला र संस्कृतिको उत्थानका लागि ल्होसार मेला आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा स्थानीय उत्पादनको इस्ट्रलसमेत राखिने बताइएको छ । रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टेवरी, ककनीको ट्राउट माछा लगायतका स्ट्रल रहने बताइएको छ ।
राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष प्रकाश कटुवाल र नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले ल्होछार महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा युथ क्रियसन नेपालका संस्थापक अध्यक्ष कलाकार रवि लामा तामाङ, सगुन इभेन्ट म्यानेजमेन्ट, राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका महासचिव दिनेश तामाङ, महासचिव अमृत खाती लगायतको उपस्थिति रहेको थियो ।
निर्देशक नवल खड्काद्वारा ‘काँडेतार’ लाई एकल प्रदर्शनको माग
काठमाडौं, ८ फागुन । अभिनेता तथा निर्देशक नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को एकल प्रदर्शनको माग गर्दै चलचित्र विकास बोर्डमा पत्र बुझाएका छन्। चलचित्र विकास बोर्डको नियम अनुसार नै फिल्म प्रदर्शन गर्न लागेको हुँदा अन्य फिल्म प्रदर्शन नगराइदिन उनको माग छ। उनको पत्रमा गत वैशाख ११ गते ‘काँडेतार’ले प्रदर्शन स्वीकृति लिएको र सोही समयमा फागुन २५ गतेलाई रिलिज मिति तोकिएको उल्लेख छ। चलचित्र विकास बोर्डबाट फिल्म ‘काँडेतार’को कथा पहिलो पटक कथा लेखन प्रतिस्पर्धामा चुनिएर पुरस्कृत भएको विषय समेत खड्काले बोर्डलाई लेखेको पत्रमा स्मरण गराएका छन्। बोर्डलाई चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ स्मरण गराउँदै उनले कानुन पालना गराउन सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरेका छन्। उनको पत्रमा भनिनएको छ, ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रमा सोही नियमावलीको नियम ३ को खण्ड ग बमोजिम अनुसुचि ७ बमोजिम इजाजत दिने र उक्त इजाजतपत्रको प्रकरण नं. (च४) प्रदर्शकले स्वदेशी वा विदेशी चलचित्र प्रदर्शन गर्दा चलचित्र जाँच समितिबाट जाँचपास भएको मितिलाई आधार मानि सबैभन्दा पहिले जाँचपास भएको तत् तत् चलचित्रलाई प्रदर्शनको मौका दिनुपर्ने तर कुनै चलचित्रको प्रकृति विशेष किसिमको भई त्यस्तो चलचित्र तत्काल प्रदर्शन गर्न उचित छ भन्ने लागेमा बोर्डले त्यस्तो चलचित्र अगाडिनै प्रदर्शन गर्न स्वीकृत दिन सक्नेछ र सोही इजाजतको प्रकरण नं. (च५) प्रदर्शकले एक दिनमा स्वदेशी र विदेशी चलचित्र प्रदर्शन गर्न नपाउने स्पष्ट ब्यवस्था गरि इजाजत दिएको हुन्छ।’ यहि फागुन २५ गते अभिनेत्री तथा निर्मात्री रेखा थापाको फिल्म ‘उपहार’ र दयाहाङ राई अभिनित ‘रंगेली’ पनि प्रदर्शनमा आउँदैछन्। यो फिल्मको प्रदर्शन रोक्नका लागि नवलले बोर्डलाई पत्र लेखेका हुन्। खड्काले नियम अनुसार अघि बढेको हुनाले आफ्नो फिल्म एकल प्रदर्शनमा आउनुपर्ने जिकिर गरे । ‘देशभक्तिपूर्ण फिल्म काँडेतार आउने भएकाले फागनु २५ गते एक जुगमा एक दिन एक चोटी आउँछ भनेजस्तै हो,’ उनले भने, ‘देशप्रेमीहरू फिल्म हेर्न सलबलाइरहेका छन्। देशविरोधी तत्वहरू चाहिँ सलबलाएर यो फिल्म निस्तेज पार्न, कमजोर पार्न लागि परेका छन्।’
सेन्सर बोर्डको नाम प्रमाणिकरण बोर्ड राख्न प्रस्ताव
हेटौडा ७ फागुन । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला गरिएको छ । दोस्रो दिनको सेसनमा ‘फिल्म सेन्सर कि ग्रेडिङ ?’ विषयमा अन्तरसवांद सम्पन्न भयो । पत्रकार सञ्जोग बस्यालले सहजीकरण गरेको अन्तरसंवादमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, फिल्म निर्देशक मनोज पण्डित, सेन्सर बोर्डका सदस्य निश्चल बस्नेत र चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी वक्ता थिए । बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले सेन्सर बोर्डका कारण चलचित्र विकास बोर्डले अपजस खाइरहने बताए । ‘सेन्सर बोर्डलाई या त बोडकै अधिनमा ल्याउनु पर्यो, या त संसर बोर्डलाई सूचना तथा सञ्चार मन्त्रालयभन्दा बाहिर निकाल्नुपर्यो’, उनले भने, ‘सेन्सर बोर्डलाई प्रमाणिकरण बोर्ड नाम राखौं । अनि ग्रेडिङको पनि काम गरौं ।’ फिल्म निर्देशक मनोज पण्डितले राज्यको दायित्व जनता र दर्शकसँग हुनुपर्ने बताए । ‘राज्यको दायित्व फिल्मकर्मीलाई प्रोत्साहन गर्ने हो, लठ्ठी बोकेर थर्काउने होइन,’ सेन्सर बोर्ड सार्वजनिक गरेको पछिल्लो २० बुँदे कार्यविधि प्रति लक्षित गर्दै उनले भने, ‘यो विधि प्रति हाम्रो आपत्ति छ । फिल्मकर्मीलाई सेल्फ सेन्सरसिपको अधिकार दिनुपर्छ ।’ बोर्डका सदस्य रवि अधिकारीले विकास बोर्डले सेन्सरका लागि सिफारिस दिने गरे पनि सेन्सर पछि त्यसको गाली बोर्डले खाने गरेको स्मरण गरे । उनले सेन्सर बोर्डका सदस्यलाई तीनदेखि पाँच वर्षसम्म तालिम लिएर योग्य बनाई बोर्डमा नियुक्ति दिनुपर्ने बताए । सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले २०२६ सालमा बनेको ऐनमा टेकेर चलचित्र हिडिँ रहेकाले त्यसैमा रहेर नयाँ बुँदा थपिएको भन्दै सेन्सर बोर्डको बचाउ गरे । उनले अहिलेको अवस्थामा बनाइएका बुँदालाई परिवर्तन गर्न नसकिने बताए ।
कलाकार ‘भाइरल’ होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए । विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, "दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।" ‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार हो, जुन राम्रो कुरा होइन भने। सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गरे । पछिल्लो अधिवेशनबाट तपाईहरूको प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए । उनले बढीभन्दा बढी सहमतिका साथ एकतावद्ध हुन र अन्य विषयहरूभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह समेत गरे ।
श्रमिक कलाकारको पारिश्रमिक तय गर्न कार्यविधि ल्याईने
काठमाडौं, २५ माघ । नेपाली चलचित्र तथा गीत संगीतमा काम गर्ने कलाकार तथा प्राविधिकहरुले पारिश्रमिक तय गर्न नयाँ कार्यविधि ल्याईने भएको छ । कलाकारहरुको श्रमको उचित मूल्य निर्धारण हुन नसकेको अबस्थामा यसको लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् उपकुलपतिले कार्यविधि ल्याउने बताएका हुन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल चलचित्र तथा श्रमिक सँगठन (फावन)ले सो प्रतिष्ठानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रमको उपयुक्त मूल्य नपाएको कलाकारहरुले बताए । फावनका मानार्थ सदस्य माधवराज खरेलले सहजीकरण गरेको सो कार्यक्रममा श्रमिक कलाकारहरुले आफ्ना विविध समस्या सुनाए । कार्यक्रममा फवनका सल्लाहकार शान्तिप्रियले अहिले पनि गीतकारलाई सित्तैं गीत लेखाउने क्रम जारी रहेको बताए । पैसा दिए पनि अत्यन्त कम दिन गरेको उनको कथन थियो । नेपालमा सबैभन्दा बढी गीत संगीतमा लगानी गीतकारहरुकै रहने गरेको पनि उनले बताए । फावनको उपाध्यक्ष ऋषीराज आचार्यले कलाकारहरुको पारिश्रमिक देखि अन्य कुरालाई समायोजना गर्न संगीत नाट्य एकेडेमीले नयाँ ऐन नै ल्याउनु पर्ने सुझाब दिए । चाँडै आउन लागेको चलचित्र ऐनमा पनि यो कुरा समेट्न आफुहरु सक्रिय रहेको उनले बताए । फावनका मानार्थ सदस्य एवम् संगीतकार दीपक शर्माले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले संगीतकर्मी कलकारहरुको धेरै समस्यालाई नजिकबाट बुझ्नु पर्ने बताए । प्रतिष्ठानले स्थानीय निकायमा गएर मौलिक गीत संगीतलाई चाँडो भन्दा चाँडो सँरक्षण नगरे एक दशकपछि ती मौलिक गीत संगीत, बाजाहरु लोप हुने सुझाब दिए । यस्तै फावनका सह कोषाध्यक्ष प्रवण भुसालले नेपाली चलचित्र एवम् नाट्य क्षेत्रका समस्याबारे प्रकाश पारे । उनले स्थानीय देखि केन्द्रसम्म नाट्य क्षेत्रमा देखिएका समस्यालाई सुधार्न सल्लाह दिए । यस्तै फावनकी उपाध्यक्ष सरिता भारतीले पुरुष कलाकारको तुलनामा महिला कलाकारको पारिश्रमिक कम हुने गरेको र सँगीत तथा चलचित्र क्षेत्रमा श्रममा पनि लैँगिक बिभेद छ भनिन् । फावनको अर्का उपाध्यक्ष दयाराम घिमिरेले बृत्तचित्रसँग सम्बद्ध सिनेकर्मीहरुको श्रमको अबस्थाबारे जानकारी गराए । गायिका तथा फावनसँग आबद्ध कलाकार झुमा लिम्बुले केन्द्रमा कलाकारको पहुँच भए पनि स्थानीय क्षेत्रमा रैथाने कलाकारहरुको पारिश्रमिक निकै न्युय रहेको र राष्ट्रिय कलाकारहरुको बोलबालकै कारण रैथाने कलाकारहरुले आफ्नो स्थानीय क्षेत्रमा हुने कार्यक्रममा पनि कला प्रस्तुतिको लागि स्थान र पारिश्रमिक नपाउने गरेका बताईन् । फावनका अर्का मानार्थ सदस्य राजेन्द्र बजगाईंले स्टेजमा गीत संगीत प्रस्तुतिका क्रममा आयोजकबाट निकै विभेद हुने गरेको समस्याबारे कार्यक्रममा अबगत गराए । राम्रा सक्षम कलाकार भन्दा भाईरल भएकाहरुलाई मेला महोत्सबमा स्थान दिईने हुँदा अब त्यस्ता कार्यक्रममा कस्ता कलाकारलाई स्थान दिने भन्नेबारे कार्यविधि बनाउन उनले प्रतिष्ठानलाई अनुरोध गरे । बजगाईंको भनाईमा समर्थन गर्दै अग्रज संगीतकार बसन्त सापकोटाले नयाँ र भाईरललाई स्टेज देखि मिडियासम्मले स्थान दिँदा राम्रा र व्यबसायिक कलाकारहरु मारमा परेका छन भने । फावनका सल्लाहकार ऋषी लामिछानेले कलाकारहरुको असमान पारिश्रमिका कारण चलचित्र क्षेत्रका आर्थिक बिकृति देखिएको छ भने । कार्यक्रममा फावनका कोषाध्यक्ष एवम् अभिनेता तेज गिरीले विशेष कोष निर्माण गरेर अबस्यक परेको बेला चलचित्र तथा गीत संगीत, नृत्यका श्रमिक कलाकारहरुलाई सहयोग गर्न संगीत नाट्य प्रतिष्ठानलाई सुुझाब दिए । गायक डेभिड शँकरले स्टेज कार्यक्रममा आफुहरुलाई कार्यक्रम प्रस्तुतिपछि सुरुमा तोकेको भन्दा पारिश्रमिक घटाएर पारिश्रमिक दिने गरेको समस्या सुनाए । अर्का गायक कृष्ण काफ्लले विदेशमा गीत संगीत प्रस्तुत गर्दाको अनुभव सुनाए भने फावनका मानार्थ सदस्य ओम सुनारले संगीतकारहरुको पारिश्रमिकको बारे जानकारी गराए । यस्तै फावनका महसचिब राजन थापा, सचिब कमला जोशी, सदस्य एवम् छायाँकार राजन खरेल, सदस्य एवम् गायक नविन कुमार पौडेल, गायक नारायण थापालगायतले पनि आफुहरुको भोगाईबारे चर्चा गरे । सो कार्यक्रममा उठेका समस्याको जवाफ दिने क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले अब चाँडै नै प्रतिष्ठानले कलाकारहरुको योगदानको आधारमा बर्गिकरण गर्ने बताईन् । सोही बर्गिकरणको आधारमा उनीहरुले गीत रेकर्डिङदेखि स्टेजमा गीत प्रस्तुतिसम्मको न्युनतम पारिश्रमिक आफुहरुले तय गर्ने पनि जनाईन् । सोही प्रतिष्ठानका उपकुलपति शम्भु राईले कलाकारका पारिश्रमिकबारे आफुहरु निकै चिन्तित रहेको जनाए । उनले यसका लागि चाँडै नै आफुहरुले कार्यविधि ल्याउने पनि उनले बताए,‘हामी अहिले कार्यविधिको तयारीमा छौं । यो वर्ष भित्रै नयाँ कार्यविधि आएपछि गीत संगीत क्षेत्रका धेरै बिकृतिहरु बिस्तारै निकारण हुँदै जानेछन् ।’ कार्यक्रममा सो प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटाले कानूनकै अभावका कारण श्रमिक कलाकारहरुको श्रममा समानता नभएको बताए । त्यसको लागि नयाँ कानून ल्याउन आफुहरुले पहल गरिहेको उनले बताए । यस्तै संगीत रोयल्टी सँकलन समाज नेपालका अध्यक्ष शुरेश अधिकारीले श्रमिक कलाकारहरुको समस्यालाई आफुहरुले नजिकबाट बुझेको र रोयल्टी सम्बन्धि अन्तराष्ट्रिय कानून चाँडै लागु गरेर उनीहरुको सृजनाको अधिकारलाई सुरक्षित गर्ने बताए । अन्तरक्रिया कार्यक्रममा उठेका सबै समस्याहरुलाई एउटा प्रतिवेदन बनाएर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई बुझाउने फावनका सल्लाहकार डब्बु क्षत्रीले बताए । उनले यी समस्यालाई केही महिनापछि आफुहरुले आईएलओको अन्तराष्ट्रिय सम्मेलनमा पेश गर्ने पनि जानकारी गराए ।
इण्डियन आइडलको उत्कृष्ट १० बाट बाहिरिएकी मेनुका भन्छिन् -‘बल्ल सांगीतिक यात्राको सुरुवात भयो’
काठमाडौं ।नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन् -‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’ मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । ‘म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु ।’ उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् । यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेको समेत उनले उल्लेख गरेकी छन् । ‘यो मेरो सुरुवात हो, समाप्ती होइन’ उनले लेखेकी छन् ।
‘भिलेन’ पुष्करलाई क्यानडामा सम्मान
काठमाडौं । कुनै समय नेपाली चलचित्रमा नकारात्मक चरित्र ९भिलेन०मा रुचाइएका अभिनेता पुष्कर भट्ट क्यानडामा सम्मानित भएका छन् । अंग्रेजी नयाँ वर्ष (२०२४) तथा गुरुङ ल्होसारको अवसर पारेर उनलाई ‘गुरुङ को-अपरेटिभ’ नामक संस्थाले सम्मान गरेको हो । भट्टको नेपाली चलचित्रमा योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ । अभिनेता भट्ट लामो समयदेखि परिवारसहित क्यानडामा बस्दै आइरहेका छन् । त्यहाँ पनि उनले कलाकारितालाई भने छाडेका छैनन् । केही समयअघि उनले हिन्दी गीत ‘जिल्ला मुरादाबाद’को निर्देशन गरेका थिए भने त्यसमा उनी स्वयंको अभिनय थियो । उनले चाँडै नेपाल आएर चलचित्रमा काम गर्ने योजना रहेको बताएका छन् । अभिनेता विराज भट्टको सहयोगमा नेपाली चलचित्रमा प्रवेश गरेका भट्टले ‘भागी भागी नजाउ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली’ लगायत एक सय बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् भने दुई दर्जन बढी भोजपुरी चलचित्रमा समेत काम गरेका छन् । रुपरंग र जिउडालले पनि उनलाई भिलेनको भूमिकामा जम्न मद्दत गरेको थियो ।
प्रधानलाई मिस नेपालको उपाधि
काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले पाएकी छन् । शनिबार गोदावरीको सनराइज हलमा आयोजित फाइनल स्पर्धामा २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधानले उपाधि जितेकी हुन् । त्यसैगरी, मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जित्नुभएको छ भने मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले पाएकी छन् ।
नेपाली चलचित्र ‘ बहाव’ आजदेखि प्रदर्शनमा
काठमाडौं । नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको बैचारिक द्धन्द्धलाई प्रस्तुत गरिएको छ । चितवन आसपासको परिवेशलाई चलचित्रमा समेटिएको छ । अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भुमिका निर्वाह गरेकी छिन । श्रीधर पौडेलको निर्माता रहेको सो चलचित्रमा अफरान अली, सूर्य शर्मा, ईश्वरी सिंह हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतको अभिनय हेर्न सकिन्छ । पौडेलले यसअघि चलचित्र गोपी निर्माण गरेका थिए ।
हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा
सन्जीव न्हेम्हफुकी हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, कुरा हुन्छ खालि तिम्रो Contradictory मात्र । Equilibrium हुनुपर्छ भन्छौ हुदैन पनि भन्छौ X २ यस्तो दुइजिब्रे कुरा गरेरे खै तिमीकहाँ पुग्छौ ? हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, यति हुदाँ हुँदै जन्मायौ अनेक पात्र । Adam Smith भन्छ सबैथोक बजारलाई छोदिदेउ X २ Milton Freidman भन्छ सरकारी संरचना सबै तोदिदेउ । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, मा तिमीलाई बुझ्न प्रयासरत एक निरिह छात्र । JM Keynes भन्छन Long run मा हामि सबै मर्छौ X २ प्रश्न तेर्स्याउछ अदृश्य हातहरुले काम गर्न छाडे के गर्छौ ? हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, तिमि सुध्रिउ, मेरो बिनम्र आग्रह, नहोस भविष्यमा पश्चाताप मात्र । आफ्नो भाषा नबनाइ लियौ Mathematics को सहारा X २ Mathematics ले नबनाओस, तिमीलाई, हे अर्थाशास्त्र, उसको आहारा । तिमीले अंगाल्यौ Mathematics को Geometry, Algebra, Calculus. But, Truth to be told, none of them provides me with stimulus . हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, जे पनि गरिदिन्छौ Assumption मात्र । तिमि Science हु पनि भन्छौ तिमी Arts हु पनि भन्छौ X २ तिमि को हौ निर्क्यौल नगरी हचुवामा अगाडी किन बढ्छौ ? हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, यहि प्रश्नको तिमीलाई आयो होला असंख्य पत्र । Macro Micro व्यष्टि वृहत्तर तिम्रो अनेक size X २ How are you all feeling guys ? Macro Micro व्यष्टि वृहत्तर तिम्रो अनेक रुप X २ जता पनि खुट्टा गाढेर किन गर्छौ यस्तो दौडधुप । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, साधारण छैनौ तिमी कुरा तिम्रा बुझिनसक्नु १२ १७ (बार्हसत्र ) । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, तिम्रै अध्यनमा बिते कयौ कालरात्र । Price is fixated by Demand and Supply, But, in real world, I see it nowhere apply . हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, तिम्रै भरमा विश्व अर्थतन्त्र । पुजिवाद,समाजवाद, साम्यवाद खै के के हो के के वाद, बुझ्न नसकी, कयौ देश अनि राजनीतिमा पर्यो फसाद । हे अर्थशास्त्र,तिमी कस्तो गाइजात्रा, मेरो मुलुक पनि उभो लाग्ने देउ न केहि मन्त्र । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, प्रश्न आउनेछन अझ यो भन्दा सशस्त्र । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, तिम्रो बिज्ञान बुझी नसक्नुको बिचित्र । हे अर्थशास्त्र, तिमी कस्तो गाइजात्रा, हे अर्थशास्त्र, तिमी किन यस्तो गाइजात्रा ।
नेपाललाई विश्वमा चिनाएका राजकुमार अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर बेलायतमा
काठमाडौं । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ । निमार्ण पक्षले दिएको जानकारी अनुसार २७ अगष्टमा बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे हो । चलचित्रको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ । त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस चलचित्रको प्रदर्शन गरिनेसमेत निर्माण समूहले जानकारी दिएको छ । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ । युवराज राई ९वीरबहादुर० द्धारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ । विजया राईको प्रस्तुती रहेको चलचित्रको प्रिमियरका लागि दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको छ । संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ । चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन् ।
बिक्रम,सौगात र सुवर्णको ‘राधा’ भदौ १० मा देशभर
काठमाडौं,३० साउन । लामो समयदेखि बेलायतमा बस्दै आइ रहे तापनि नेपाली फिल्म अभिनय तथा निर्माणमा निरन्तर सक्रिय नाम हो–विक्रम डि जोशी (बिक्की) । नेपाली फिल्मको गुणस्तरिय बिकास, स्तरोन्नतीका साथै अन्तराष्ट्रिय बजार बिस्तारका लागि अहोरात्र खटिइरहेका अभिनेता तथा निर्माता जोशी पुनः एक पटक दर्शकमाझ आउदैछन्,भदौ १० गते मल्टिस्टारर फिल्म –‘दि सिक्रेट्स अफ राधा’ लिएर । यसअघि ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ फिल्ममार्फत अभिनेताका रुपमा दर्शकमाझ आफ्नो बेग्लै परिचय दिएका बिक्की यसपाली भने निर्माताका रुपमा मात्रै प्रस्तुत भएका छन्, ‘राधा’ मा । सुवर्ण थापा निर्देशीत ‘राधा’ निर्माणमा बिक्कीका साथमा अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र बिरञ्जना इन्टरटेन्मेन्टबाट सृजना जोशी महर्जनले ‘टिम अप’ गरेका छन् । नारी शक्तिको बिषयमा प्रस्तुत गरिएको फिल्मबाट बिक्की निकै आशावादी छन् । ‘हामीले निकै मिहीनेतका साथ ‘राधा’ निर्माण गरेका छौ,’ उनी भन्छन्, ‘दर्शकलाई भरपुर मनोरञ्जनका साथमा केही सकारात्मक सन्देश प्रस्तुत गर्ने जमर्काे स्वरुप ‘राधा’ बनेको हो ।’ आफू यसपाली पर्दामा नदेखिए पनि निर्माताका रुपमा भने उत्तिकै सक्रियतापूर्वक लागीरहेको उनी बताउछन् । सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल,निश्चल बस्नेत,खगेन्द्र लामीछाने,बुद्धि तामाङ,मेनुका प्रधान,लोकेन्द्र लेखक,पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक सुवर्णकै लेखन रहेको फिल्म चित्लाङ र काठमाडौमा खिचिएको हो । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको छाँयाकार नरेन्द्र मैनाली हुन् । अहिले चल्तीमा रहेका थुप्रै कलाकारलाई एउटै फिल्ममा समेट्न त्यत्ति सहज नभए तापनि स्क्रिप्टको माग र दर्शकको मनोरञ्जनका लागि राम्रै लगानी र परिश्रम खर्च गरेका निर्माता बिक्की ‘राधा’ ले दर्शकमाझ आफ्नो छाप छोड्नेमा बिश्वस्त छन् । महारानी इन्टरटेन्मेन्ट युके,बिरञ्जना इन्टरटेन्मेन्ट्स,आदियोगी भिजन,मन्डला अनलाइन र एमी फिल्मस्को संयुक्त निर्माणमा बनेको ‘राधा’ ले प्रदर्शनको मिति नजिकीदै जादा प्रचारप्रशारमा तीव्रता दिइरहेको छ । फिल्म दर्शकको अपेक्षाभन्दा धेरै राम्रो बनेको दावी निर्माण पक्षको छ ।
बैंककमा प्रतिनिधित्व जनाउने ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ को घोषणा
भक्तपुर– मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टलेले शनिवार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त प्रतियोगिताका लागि पुरुष मोडलहरुलाई सहभागिताका लागि आह्वान गरेको हो । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि मिस्टर मोडल अफ द वर्ल्डको आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ । यो प्रतियोगिताा विजेताले थाइल्याण्डको बैंककमा यही नोभेम्बर महिनामा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड २०२२ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् । यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वर्ल्ड- २०१८’ को उपाधि जित्न सफल भएका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । विगतमा अन्य प्रतियोगितामा छनौट भएका मोडलहरु पनि मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुने गरेकोमा अबदेखि मिस्टर मोडल अफ द वर्ल्ड नेपालका विजेतामात्र नेपालको तर्फबाट मिस्टर मोडल अफ द वर्ल्डमा सहभागि हुन पाउनेछन् । मिस्टर मोडल अफ द वर्ल्ड नेपालको अन्तिम प्रतियोगिता आगामी सेप्टेम्बर ३ मा हुनेछ भने त्यसका लागि शनिवारदेखि नै आवेदन खुला गरिएको छ । प्रतियोगिताबाट छनौट भएका विजेताले आगामी नोभेम्बर ३ देखि ७ मा थाइल्याण्डको बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्डमा भाग लिनेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् । हेरिटेज प्यालेस, भक्तपुरमा आयोजना गरिने प्रतियोगिताका लागि आवेदन दिन इमेल ठेगाना pageantnepalinternational@gmail.com वा मिस्टर मोडल अफ द वर्ल्ड नेपालको फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिनेछ । त्यसपछि आयोजकले पठाएको आवेदन फर्म भरेर प्रतियोगितामा सहभागी हुन सकिनेछ । मिस्टर मोडल अफ द वर्ल्डकै योग्यताको मापदण्ड अनुसार मिस्टर मोडल अफ द वर्ल्ड नेपालका लागि पनि योग्यताको मापदण्ड तोकिएको आयोजक संस्थाले जानकारी दिएको छ । १८ देखि ३२ वर्ष उमेर समुहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाई र शिक्षाको मापदण्ड तोकिएको छैन । विजेतालाई बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्ड प्रतियोगितामा सहभागी हुनका लागि सबै खर्च मिस्टर मोडल अफ द वर्ल्ड नेपालका आयोजकले नै व्यहोर्ने शनिवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । मिस कस्मोपोलिटल वर्ल्ड २०१९ प्रिया रानी लामाद्वारा सञ्चालित शनिवारको घोषणा कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि तथा एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर बीना श्रेष्ठ तथा मिस्टर मोडल अफ द वर्ल्डको आयोजक संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । एन प्लस प्रोफेसनलले मिस्टर मोडल अफ द वर्ल्ड नेपाल २०२२ को टाइटल प्रायोजन गरेको छ । मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की रहेका छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन् । म्यानेजिङ डाइरेक्टर आशिष नापित रहेका छन् भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहेका छन् । मार्केटिङ प्रमुख जोर्डन रहेका छन् । यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेश्रो संस्करण हुन लागेको हो । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।
नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनलाई प्रमाणपत्र
काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई शुक्रबार काठमाडौंमा एक समारोहबीच यो अवार्ड मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२मा विभिन्न ४० विधामा मनोनयन पत्र प्रदान गरियो । यस्तै नेपाल सर्ट फिल्म अवार्डको विभिन्न एक दर्जन विधाका मनोनयनलाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । विलक्षण क्रियशन प्रा।लि।को सहकार्यमा स्टार वान इन्टरटेनमेन्टद्धारा आयोजित कार्यक्रममा गायक यम बराल, निर्देशक एवम् अभिनेता नवल खड्का, गजित बिष्ट, संगीतकार राजेन्द्र बजगाईं, निर्देशक लक्ष्मण सुवेदी, मेरो बिमाका सिईओ शँकर बहादुर घिमिरे, नायव महाप्रबन्धक सविन भट्टराई, सेल्स अफिसर सुमित्रा कोईराला, गीतकारहरु सुरेश वाग्ले, निलकन्ठ सुवेदी, पूर्व गृह उपसचिब प्रेम शर्मा रेग्मी, पत्रकार लक्ष्मण सुवेदी लगायतले सम्बन्धि कलाकारलाई प्रमाणत्रप प्रदान गरे । लोक, आधुनिक, पप, लोक दोहोरी, गजल, राष्ट्रिय, भाषाभाषी गीतहरुका गायक, गायिका, संगीतकार, गीतकार, भिडियो निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, नृत्य निर्देशक, संगीत सँयोजकलगायतलाई कार्यक्रममा मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । सन २०११ जनवरी देखि सन २०२२ जनवरीको अन्त्यसम्मका सार्वजनिक भएका गीतसंगीतले यसपटक अवार्डमा भाग लिएको पनि आयोजक बालकृष्ण पोखरेलले जानकारी गराएका छन् । सन २०१९ बाट सुरु भएको यो अवार्ड कोरोनाको महामारीपछि पनि सुस्ताएको नेपाली सँगीत बजारलाई तताउन अवार्डलाई निरन्तता दिएको आयोजक पोखरेले बताएका छन् । तेश्रो सँस्करणको यो अवार्ड आगामी ३ असारमा काठमाडौंमा एक समारोहबीच प्रदान गरिने कार्यक्रम प्रमुख बालकृष्ण पोखरेलले कार्यक्रममा बताए ।
नयाँ एडभेन्चर शो ल्याउदै अनुप र सौगात
काठमाडौँ । पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शोका संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप बिक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् । बिभिन्न पर्यटन सम्बन्धि यात्रा गराउने उदेश्य रहेको शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उदेश्यले अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुनेछ । शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताए । स्टुडियो कृयो र ब्रान्डल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको शोको नाम छिट्टै एक औपचारीक कार्यक्रम मार्फत गर्ने बताइएको छ । करिब तीन दशकदेखि ट्रेकिङ र प्रर्यटन क्षेत्रमा काम गर्दै आएको टे«ेकिङ टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ, माउन्टेन क्लाम्विङ, मोटरबाइकिङ, माउन्टेन बाइकिङका साथै थ्रुप्रै एडभेन्चर स्पोट्सहरु खेलाउदै आएको ट्रेकिङ टिमका सिइयो प्रवेश देवकोटाले बताए । शोका लागि टेलिभिजन समेत फिक्स गर्ने तरखरमा आफु रहेको निर्देशक सौगातले बताए । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उदेश्य हाम्रो रहेको छ’ सौगातले थपे ‘इन्टरनेशनल टुरको कल्चर शोको समेत प्लानिङ भइरहेको छ ।’
स्मिता दाहालको पहिलो हिन्दी गीत ‘इबादत’ सार्वजनिक
काठमाडौं । युवा गायिका स्मिता दाहालको पहिलो हिन्दी गीत सार्वजनिक भएको छ । शबाब साब्रीसँगको युगल गायनमा रहेको गीत के आर वाहीले लेखेका हुन भने संगीत शबाब साब्रीकै रहेको छ । नेपाली गीतमा स्वर दिँदै आएकी स्मिता दाहाल स्व्यम् अभिनित म्यूजिक भिडियोको निर्देशन राजीब एस रुजाले गरेका छन् । म्यूजिक भिडियोमा स्मितासँगै चर्चित मोडेल तथा कलाकार अर्जुन बिजलानीले अभिनय गरेका छन् । प्रकृतिका मनोरम दृश्यहरुसहित उत्कृष्ट छायांकन गरिएको हिन्दी गीत रिलिज गरेको केही समयमा नै युट्युबमा चर्चित बन्न पुगेको छ ।