किन रुचाइयो डियर कमरेड?

काठमाडौंः युट्युबमा अपलोड भएको २४ घण्टा नबित्दै नेपाल ट्रेन्डिङको नम्बर १ मा उक्लियो, तेलगु भाषामा बनेर हिन्दीमा डब भएको फिल्म ‘डियर कमरेड’ । दस दिन बितिसक्दा पनि ट्रेन्डिङमा पहिलो स्थानमा रहेको यो फिल्म कस्तो छ त ?

सामाजिक सञ्जालमा खुब चर्चा भइरहेको छ,‘डियर कमरेड’को। यसको मुख्य कारण हुन्– अभिनेता विजय देवरकोन्डा।‘अर्जुन रेड्डी’बाट विजयले टन्नै नेपाली फ्यान कमाएका थिए। यही फिल्मको हिन्दी रिमेक‘कवीर सिंह’पनि उस्तै रुचाइयो। शाहिद कपुरका लागि त यो फिल्म वरदान नै सावित भयो। त्यसैले नेपालमा समेत ‘डियर कमरेड’प्रतीक्षित थियो। तर दक्षिण भारतीय फिल्म हाम्रा हलमा लाग्दैनन्। त्यसैले ६ महिना अगाडि रिलिज भए पनि नेपाली दर्शकले बल्ल यो फिल्म हेर्न पाएका छन्। यसको निर्देशक हुन्, भारत कम्मा।

विजयको चरित्र ‘अर्जुन रेड्डी’को भन्दा तात्विक भिन्न छैन– रिसाहा र आक्रामक। फरक कति भने यसपटक उनको आक्रोश अन्यायको विरुद्ध पोखिन्छ, आफूमात्र होइन, अरूमाथिको विभेद पनि सहँदैनन्। यही कारण उनी लोकप्रिय छन् र धेरैको आँखाको तारा पनि। सामाजिक जीवनलाई जत्तिकै प्राथमिकता दिइएको छ, उनको प्रेमसम्बन्धलाई। रश्मिका मन्दन्नसँगको केमिस्ट्री आकर्षक छ।

कलेजको विद्यार्थी युनियनका नेता बब्बी (विजय)को क्रिकेटर लिली (रश्मिका) सँग माया बस्छ। तर बब्बीको रिस नियन्त्रण गर्न नसक्ने बानीले फाटो आउँछ। लिली पनि विजयभन्दा क्रिकेटलाई बढी माया गर्छिन्। उनको सपना छ– राष्ट्रिय टिमबाट खेल्ने। बिछोडको केही वर्षपछि उनीहरूको अस्पतालमा भेट हुन्छ। लिलीले क्रिकेट छोडिसकेकी हुन्छिन्। लिलीको जीवनमा त्यस्तो के भयो, जसले उनलाई आफ्नो सपनाबाट टाढा राख्यो? फिल्म यही सवालमा केन्द्रित छ।

दक्षिण भारतीय फिल्मको विशेषता नै हो– लभ, रोमान्स, एक्सन र रोनाधोनाको मिश्रण। ‘डियर कमरेड’मा यी गुण त छँदैछन्, वर्तमान समयमा युवतीहरूले भोगिरहेको यौन दुर्व्यवहारको नियतिलाई मुख्य कथासँग प्रभावकारी ढंगले जोडिएको छ। शक्ति र सम्पत्तिको दुरुपयोग गरेर धेरै महिलामाथि हिंसा भइरहेको छ। त्यस्तैमध्येकी एक प्रतिनिधि पात्र हुन्, लिली। क्षमता छ तर उनी राष्ट्रिय टिममा पर्दिनन्। किन?सायद भन्नु पर्दैन। यही कारण उनी मानसिक समस्याबाट ग्रस्त हुन्छिन् तर आफ्नो असली पीडा कसैलाई पोख्न सक्दिनन्। यसरी छटपटाइरहेका युवतीहरू हाम्रो वरपर कति होलान्? पीडकले गल्ती स्विकार्नुको साटो झन् जाइलाग्ने विडम्बनालाई पनि निर्देशकले नजरअन्दाज गरेका छैनन्।

लिलीप्रतिको बब्बीको प्रेम अभिव्यक्ति गर्ने शैली र त्यागले दर्शकको मन जित्छ। वियोगबाट निस्कन उनले रोजेको मार्ग उत्तिकै व्यावहारिक लाग्छ। कलेज र प्रशासनबाट विद्यार्थीमा हुने ज्यादतीलाई उनी कडा चुनौती दिन्छन्। उनका आदर्श हुन्छन्– हजुरबुबा। क्लाइमेक्समा लिलीमा भरिएको आँटलाई निर्देशक भारत कम्माले मर्मस्पर्शी ढंगले व्यक्त गरेका छन्। खासमा‘डियर कमरेड’को ‘मुटु’ नै क्लाइमेक्स हो। विजय र दक्षिण भारतीय फिल्म पारखीलाई यसले निराश पार्दैन। फिल्ममा देखाइएको विषयप्रति संवेदनशीलता खोज्नेका लागि पनि प्रिय हुन सक्छ।

विजय र रश्मिकाले यसअघि ‘गीता गोविन्दम्’मा एकसाथ काम गरेका थिए। तेलगु भाषाबाटै ‘डियर कमरेड’ले भारु ३० करोड कलेक्सन गरेको थियो। त्यसपछि तामिल, कन्नड र मलयालम भाषामा डब गरियो। यसको हिन्दी रिमेकको राइट करण जोहरले किनिसकेका छन्, जोहरले भारु ६ करोड तिरेको सार्वजनिक भएको थियो। मुख्य भूमिकामा विजयलाई नै अफर गरिएको थियो, उनलाई भारु ४० करोड दिन तयार थिए जोहर तर विजयले अस्वीकार गरे।‘कवीर सिंह’पनि खेल्न मानेका थिएनन् उनले। उनले भनेका थिए– ‘मलाई उस्तै काम दोहोर्‍याएर गर्न मन लाग्दैन।’

रवि ओडको ‘एउटा कुरा हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः दोस्रो नेपाल आइडल रवि ओडको ‘एउटा कुरा हो’बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा रविलाई मिना विश्वकर्माले साथ दिएकी छन् । भिम विसीको संगीत रहेको गीतलाई राहुल बराइलीले निर्देशन गरेका हुन् । गीतमा कविता नेपाली, विजु पार्कीलगायतको अभिनय देख्न सकिन्छ ।

राजेश हमाललाई ती महिला प्रहरी जसले पुर्याइन् प्रहरी परिसर हनुमानढोका

काठमाडौंः आस्था राउतभन्दा फरक घटनाका कारण केही सेलिब्रेटी प्रहरीको फन्दामा परेर छुटिसकेका छन्। चलचित्र अभिनय करियरमा विवादरहित अभिनेताका रूपमा परिचित राजेश हमाललाई २०६८ सालमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत नवलपरासीकी ३५ वर्षीया महिला प्रहरी हवल्दार बालकुमारी अधिकारीले आफू हमालकी श्रीमती र तीन सन्तानकी आमा भएको भन्दै महानगरीय प्रहरी महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दिएपछि हमाल हनुमानढोका नै पुग्नुपर्यो। २०५२ वैशाख २ गते राजेश हमालले आफूसँग प्रेमविवाह गरेको भन्दै ती महिला प्रहरीले अंशसहित श्रीमान् पाऊँ भनी हनुमानढोकामा उजुरी दिने प्रयास गरे पनि प्रहरीले हनुमानढोकामा अंशसहितको उजुरी दर्ता नहुने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं रिफर गरेको थियो। आफूमाथि लागेको आरोप गलत साबित गर्न अभिनेता हमाल स्वयं हनुमानढोकमा उपस्थित भएका थिए। बालकुमारीले राजेश हमालको र आफ्नो मामाघर नवलपरासी रजहरमा सँगै रहेको भन्दै हमालले आफूलाई श्रीमतीका रूपमा स्वीकारीसकेको दाबी गरेकी थिइन्। बालकुमारीका भाइ ढाकाराम अधिकारीले आफ्नी दिदी मानसिक रोगको बिरामी भएको प्रमाण प्रहरीसमक्ष पेस गरेपछि उनी मानसिक रोगी भएको खुलेको थियो। आज शुक्रबार साप्ताहिकले ‘वान्टेड आस्था!’ शीर्षकमा प्रकाशन गरेको सामग्रीमा उल्लेख गरेअनुसार पप गायक सुगम पोखरेललाई २०६९ माघ २६ गते बेलुका प्रहरीले लागुऔषध खाइरहेको अवस्थामा पक्राउ गरेको थियो। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनीसहित ६ जनाको समूहलाई मैतीदेवीस्थित सेतोपुलबाट पक्राउ गरेको थियो। प्रहरीले उनीहरूका साथबाट पाँच पोका खैरो हेरोइन बरामद गरेको थियो। प्रहरीका अनुसार ती पोका पोखरेलसँग नभई अन्य व्यक्तिसँग थियो। ब्युरोले सुगमलाई त्यसअघि पनि खैरो हेरोइन दुव्र्यसनकै आरोपमा पक्राउ गरेको थियो। उनीसँग सानो परिमाणमा खैरो हेरोइन बरामद भएपछि आइन्दा दुव्र्यसन नगर्ने सर्तमा उनलाई प्रहरीले परिवारको जिम्मा लगाएको थियो। यो समाचार आजको शुक्रबार साप्ताहिकमा प्रकाशित छ ।

भ्वाइस अफ नेपालका प्रतिस्पर्धी विनय कार्कीको ‘परदेशमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः रियालिटी शो ‘द भ्वाइस नेपाल सिजन–२’ को ब्याट्ल राउण्डबाट बाहिरिका प्रतिस्पर्धी विनय कार्कीको आवाजमा रहेको नयाँ गीत ‘परदेशमा’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत छ । उक्त मार्मिक गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई ससान कडेंलको निर्देशन गरेका हुन् । बुद्ध थापाको छाँयाकन रहेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भिडियो आत्रेय प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

यस्तो बन्यो ‘सेल्फी किङ’ को ट्रेलर

काठमाडौंः  नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’को ट्रेलर रिलिज भएको छ । माघ २४ गते रिलिज हुने ‘सेल्फी किङ’को काठमाडौंमा आज एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो । नेपाली सिरयलहरूमा देखिने कमेडियन सेलिब्रेटीको कथा ‘सेल्फी किङ’ चलचित्रको मुख्य विषयवस्तु हो । नेपालको कुनै ठाउँको सांस्कृतिक कार्यक्रममा जाँदाको कुरा नै चलचित्रको मुख्य कथा रहेको छ । पर्दामा हँसाइराखे पनि कमेडियनको जीवन केही न केही समस्याले घेरिएको हुन्छ भन्ने तथ्यलाई चलचित्रमा देखाउन खोजएको छ । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’, ‘प्रसाद’ लगायत चलचित्र निर्देशन गरेका दिनेश राउत निर्माता रहेको चलचित्र ‘सेल्फी किङ’ लाई विशाल सापकोटाले निर्देशन गरेका छन् । चलचित्रमा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् । चलचित्रको कथा निर्देशक स्वयमले नै तयार पारेका छन् । यो चलचित्रबाट विशालले निर्देशनमा डेब्यू गरेका छन् ।

सरु र सुभाषको ‘जाउँन माया भागेर’ युट्युब ट्रेन्डिङमा (भिडियोसहित)

काठमाडौंः पछिल्लो समय एकपछि अर्को चर्चित गित नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बजारमा आएको छ । गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् । भिडियोलाई ‘द कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रुलाई देखाइएको छ । शुक्रबार सार्वजनिक भएको ‘जाउँ माया भागेर’ ‘युट्युब ट्रेन्डिङ’मासमेत उक्लिएको छ । शनिबार साँझसम्म यो गीत ‘युट्युब ट्रेन्डिङ’को ३० नम्बरमा छ । यो अवस्थामासम्म गीतको भिडियोले ४ लाख ६२ हजार बढी भ्यूज पाइसकेको छ ।

रवि र सरूको आवाजमा ‘नीरमाया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः आकाश कार्कीको नयाँ गीत ‘नीरमाया’ सार्वजनिक भएको छ । नेपाल आइडल रवि ओड र सरू गौतमको स्वर रहेको ‘नीरमाया’ मंगबलार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोमा ‘टिकटक’बाट उदाएका ‘ट्वीनी गर्ल’ प्रिष्मा र प्रिन्सी खतिवडाका साथै आकाश कार्की र हिमान्सु कार्कीको अभिनय रहेको छ । ‘नीरमाया’मा लय–संगीत भीम बीसी, गोपाल रसाइलीको एरेन्ज र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । यस्तै गीतको भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन, नविन निरौलाले निर्देशन, अर्जुन तिवारीले छायाँकन गरेका हुन् । ुरे  

रामकुमार नेपालीको नयाँ गीत ‘जुनिजुनि’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः ‘नेपाल लोक स्टार’ सिजन–१ का प्रतिस्पर्धी तथा गायक रामकुमार नेपालीको अर्को नयाँ गीत सार्वजनिक भएको छ । गायक नेपालीको ‘जुनिजुनि’बोलको लोक गीत आइतबार युट्युबमार्फत सार्वजनिक भएको हो । यो गीतमा उनीसँगै चर्चित गायिका पूर्णकला बीसीले पनि स्वरमा साथ दिएकी छिन् । ‘जुनिजुनि’मा एजबी कार्की बिन्दासको लय, राजेन्द्र भट्ट (मिस्टर आरजे)को संगीत रहेको छ । गीतको भिडियोमा अशोक केसी, सप्रिया कटुवालको अभिनय, अजय रेग्मीको छायाँकन र कान्ति केसीको निर्देशन–सम्पादन रहेको छ ।

फागुन ३० मा ‘नीरफूल’ प्रदर्शनमा आउने पक्का

काठमाडौंः नेपाली चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति तय गरिएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा ३० मा सरेको हो । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । फिल्ममा अभिनेत्री रेखा विशेष भूमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यू फिल्म हो । दयाहाङको जोडीको रुपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन् । मेलिना राईको ‘तिमीले बाटो फेर्यौ अरे..’ गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङको छोरीको रुपमा फिल्म छिन् । फिल्मको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको दावी छ । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

चलचित्र ‘शुभ मंगल’ बन्ने, कुशल–सुरवीना मुख्य भूमिकामा

काठमाडौंः प्रेमकथामा ‘शुभ मंगल’ नामक फिल्म निर्माण हुने भएको छ । अष्ट्रेलियामा बस्दै आएका निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्ने छन् । देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन् । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम,सम्बन्धलगायतका बिबिध बिषयमा निर्माण हुने फिल्मको केही समयपछि औपचारिक रुपमा घोषणा गरिने बताइएको छ । निर्देशक अधिकारीकै लेखन रहेकोको सुटिङ केही समयपछि थालिने छ । फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताएका छन् ।

सुन्दर र सर्मिलाको ‘बालिङ त्रियासी’ बजारमा (भिडियोसहित)

काठमाडौंः नेपाली लोक दोहोरीमा मैलिक सिर्जना बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ‘बालिङ त्रियासी’ गीतको भिडियो सार्वजनिक भएको छ । मायालुको यादमा जीवन विताउने प्रेमी प्रेमिकाको जीवन भोगाईलाई मौलिक रुपमा गीतमा प्रस्तुत गरिएको छ । सुन्दर परियारको शब्द तथा रामचन्द्र चन्दको लय सिर्जनामा गीत निमार्ण गरिएको छ । मौलिक भावहरु र जीवनका बास्तविक भावनाहरु गीतमा ब्यक्त गरिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफू आशावादी रहेको गायकले बताए । टार्जन खड्काको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘बालिङ त्रियासी’ गीतको भिडियोमा सुरज पर्वत छिनाल, सुन्दर, सम्झना र जस्मिनको निकै लोभलाग्दो अभिनय छ ।

छोरी र बुहारीमा अन्तर के? करीनाको यो प्रश्नमा सासूले दिइन् यस्तो जवाफ

एजेन्सीः बलिउड अभिनेत्री करीना कपूर खान यतिबेला चलचित्रका साथै रेडियो कार्यक्रमका कारण पनि चर्चामा छिन् । कार्यक्रम ‘ह्वाट वुमन वान्ट’ को दोस्रो संस्करणमा करीनाले आद्नी सासू अर्थात् चर्चित कलाकार शर्मिला टेगोरलाई अतिथिको रुपमा आमन्त्रण गरेकी थिइन्। उक्त कार्यक्रममा करिनाले शर्मिलालाई ुछोरी र बुहारीमा के अन्तर हुन्छु भनेर प्रश्न गर्दा उनले निकै सुन्दर र मन छुने जवाफ दिएकी छिन् । शर्मिलाले भनिन्, ‘छोरी ती हुन् जो तपाईंको आँखाको अगाडि हुर्किएकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुन्छ र के कुरामा रिसाउन सक्छिन् भन्ने पनि जानकारी हुन्छ । जब तपाईं आफ्नी बुहारीसँग भेट्नुहुन्छ तब उनी पहिले नै हुर्किसकेकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुँदैन । उनीसँग घुलमिल हुन समय लाग्छ । जब एक नयाँ युवती, तपाईंकी बुहारी घरमा भित्रिन्छिन् तब धेरैभन्दा धेरै सहज महसुस गराउन सक्नु एउटा सासुको जिम्मेवारी हो। उनले थपिन नयाँ बुहारीलाई सहज गराउने केटा पक्षको जिम्मेवारी हो । छोरा बुहारीको सम्बन्धमा धेरै दखल दिनु पनि राम्रो होइन । शर्मिलाले हालै मात्र आफ्नो ७५ औँ जन्मदिन मनाएकी छिन् । त्यस्तै करिना पनि यतिखेर चलचित्र गुड न्युजलाई लिएर चर्चामा छिन । यो चलचित्र यहि महिना रिलिज हुने तयारीमा रहेको छ । चलचित्रमा करीनाका अलावा अक्षय कुमार, कियारा आडवाणी र दिलजीत दोसांझ जस्ता कलाकारहरुको पनि अभिनय रहेको छ।

मलेसियामा लिम्बू चलचित्र ‘के’ प्रदर्शन

मलेसियाः याक्थुङ फिल्म्स ब्यानरद्वारा निर्मित लिम्बू चलचित्र ‘के’ प्रदेशी रेस्टुरेन्ट क्वालालम्पुरमा चलचित्र लेखक/निर्देशक सागर केरुङको उपस्थितिमा प्रदर्शन गरिएको छ । चलचित्र ‘के’ले विशेषगरी लिम्बू समुदायको साँस्कृतिक मौलिक बाजाको महत्व र सामाजिक अस्थित्वलाई प्रतिबिम्बित गरेको छ । नेपालका आदिवासी जनजाती समुदायहरुको प्रत्यक्ष घट्नालाई समाबेश गरेर निर्माण भएको सो चलचित्रमा उत्पीडित जाति समुदाय र राज्य सयन्त्रबीचको सामाजिक, साँस्कृतिक र मौलिक बहसको विषय लाई उठान गरेको छ । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ को उत्कृष्ट अवार्ड प्राप्त गरिसकेको छ । यसैगरी जोमोगाङ फिल्म अवाड–२०१९ थाइल्यान्डको उत्कृष्ट–५ भित्र नोमिनेट र एफ.एल.एफ अवाड–२०२० को उत्कृष्ट–४ को नोमिनेसनमा पर्न सफल भएको छ । नेपालका आदिवासी जनजातिहरुप्रति नेपाल सरकारले गरिरहेको ब्यवहार र असन्तुष्टिको मुद्धालाई कथाको रुपमा प्रस्तुत गरिएको चलचिले समय सान्दर्भिक र वास्तविक घट्नामा अधारित रहेको दर्शक श्रोताहरुले प्रतिक्रिया दिएका छन् । लिम्बू भाषिक चलचित्र प्रदर्शनमा मलेसियाका विभिन्न क्षेत्रमा कार्यरत नेपालको उपस्थिति रहेको थियो ।

राम लिम्बु बने दोस्रो ‘भ्वाइस अफ नेपाल’

काठमाडौंः दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुले हात पारेका छन् । शनिबार राति काठमाडौंको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बुले उपाधि हात पारेका हुन् । टीम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल भए । उपाधि जितेसँगै लिम्बुले ड्याट्सन गाडी, १२ लाख नगद र म्युजिक एल्बमको कन्ट्रयाक्टसमेत हासिल गरेका छन् । कम भोट प्राप्त गरेका कारण प्रतिष्पर्धामा रहेका विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफ पछि परे । यसअघि फिनालेमा पुगेका उनीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगितामा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था रावत कोचको भूमिका रहेका थिए ।

नायिका ऋचा शर्माले गरिन् बिहे

काठमाडौंः नायिका ऋचा शर्माले बिहे गरेकी छन् । ललितपुरको लबिम मलका म्यानेजर दिपेक्क्षविक्रम राणासँग नायिका शर्माले शनिबार बिहे गरेकी छन् । शर्मा राणासँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी थिइन् । केही समयअघि मात्रै ऋचाले पोखरामा आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । बिहेको फोटो शेयर गर्दै उनले भनेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’ ऋचा अहिले रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिकामा छन् ।

गायक रोकायाको ‘बाजा बर्‍यात’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः ‘बझाङ सुर्मा ताल’बोलको देउडा गीतको लोकप्रियतासँगै नवगायक सन्तोष रोकायाले अर्को नयाँ गीत बजारमा ल्याएका छन् । उनले नयाँ कोसेलीका रुपमा ‘बाजा बर्यात’ बोलको देउडा गीत बजारमा ल्याएका हुन् । गायक रोकायालाई यो गीतमा अहिलेकी चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । गीतको भिडियोमा चर्चित गायक एवं माेडल चक्र बम र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । रोकायाको ‘बाजा बर्यात’मा चक्र बमको संगीत र कमल सुरागको एरेन्ज रहेको छ । रोकायाको ‘बाजा बर्यात’मा चक्र बमको संगीत र कमल सुरागको एरेन्ज रहेको छ । यस्तै यो गीतमा गायक बम र रोहित देउवाको लिरिक्स रहेको छ । ‘बाजा बर्यात’को भिडियोलाई मिलन विश्वकर्माले सम्पादन र विक्रम चौहानले निर्देशन गरेका हुन् । ७ घण्टा अघि युट्यबमा सार्वजनिक भएको रोकायाको याे गीतलाई दर्शकले राम्रो रुचाएका छन् । यो समाचार तयार पार्दासम्म उनको उक्त गीतलाई २७ हजार बढीले हेरिसकेका छन् । र, दर्शकस्रोताले राम्रो प्रतिक्रिया पनि दिइरहेका छन् ।