दार्चुलासम्म पुगेर नेपाली गीत गाएका पवनदीपले जिते इण्डियन आइडल
काठमाडौं । उत्तराखण्डको चम्पावत जिल्ला निवासी पवनदीप राजनले इण्डियन आइडलको ट्रफी जितेका छन् ।
भारतीय स्वतन्त्रता संग्रामको दिन पारेर आयोजना गरिएको १२ घण्टा लामो फिनालेमा सबैभन्दा बढी भोट ल्याएर पवनदीपले जितेका हुन ।
नेपालको कञ्चनपुर र डडेल्धुरा जिल्लासँग जोडिएको चम्पावतमा जन्मिएका पवनदीपले अढाई वर्षको उमेरदेखि संगीत अभ्यास गरेका थिए।
स्थानीय महोत्सवहरुमा गीत गाउँदै आएका पवनदीपले नेपालको सीमावर्ती क्षेत्रमा हुने थुप्रै महोत्सवहरुमा नेपाली गीत समेत गाउने गरेका थिए । उनले गाएको रातो टिका निधारमा भन्ने नेपाली गीत निकै चर्चित बनेको थियो ।
इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् ।
यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले पाएकी छिन् । उनी पश्चिम बंगाल निवासी हुन । पवनदीप र अरुणिताको जोडीको निकै चर्चा समेत भएको थियो । तेश्रो स्थानमा भने शायली काम्बले रहेकी छिन् ।
यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।
इण्डियन आइडलको भारतको चर्चित रियालिटी शो रहेको छ ।
चर्चित बन्दै स्मिता दाहालको मालिङ्गो, ट्रेण्डिङ कब्जामा !
काठमाडौंः गायिका स्मिता दाहालको नयाँ गीत मालिङ्गोले १० लाख भ्यूज भएको छ । गीत सार्वजनिक भएको ५ दिनमै उक्त गीतलाई १० लाख बढीले हेरेका हुन् । यो समाचार तयार पार्दासम्म उक्त गीत १० लाख २१ हजार बढी पटक हेरिएको छ । उक्त गीत दर्शकमाझ लोकप्रिय बन्दै गएको देखिन्छ । गीत सार्वजनिक भएको ६ घण्टामै ट्रेण्डिङमा पर्न सफल मालिङ्गो बुधबारसम्म पनि ४ नम्बर ट्रेण्डिङमै छ । आफैंले गाएको गीतको म्युजिक भिडियोमा स्मिता राजेश हमालको जोडी भएर देखिएकी छन् । स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको मालिङ्गो बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मिताको मुख्य अभिनय छ । भिडियोमा राजेश हमाल पत्रिका घरघरमा पुर्याउने हकरको रुपमा र सस्मता बलात्कार हुनबाट जोगिएकी किशोरीको रुपमा प्रस्तुत भएकी छन् । गीतमा सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफी रहेको गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीतको निर्देशन सरोज ओलीले गरेका हुन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत छ । उदयराज पौडेलको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिमा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
‘पारा’लाई संसोधन गर्दै नयाँ गीत निकाल्दै भिटेन
काठमाडौं : नेपाली र्यापर समिर घिसिङ ‘भिटेन’ले आफ्नो नयाँ र्याप ‘पारा’मा प्रयोग गरिएका आपत्तिजनक शब्दको संसोधन गरेर नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने भएका छन् । आज आफ्नो फेसबुक पेजमार्फत विज्ञप्तिमा जारी गर्दै भिटेनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिएको उल्लेख गरेका छन् । ‘सम्बन्धित निकाय तथा महानुभावलाई उक्त म्यूजिक भिडियोमा प्रयोग भएका केही शब्दहरूबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘उक्त म्युजिक भिडियोलाई अनाधिकृत रूपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संसोधित भिडियो प्रशारण हुने जानकारी गर्दछौँ ।’ केही दिनअघि मात्रै उनको गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो ।
गायक निशान भट्टराईले गरे विवाह
काठमाडौं : नेपाल आइडल सिजन-२ का फस्ट रनरअप भएका गायक निशान भट्टराईले विवाह गरेका छन् । उनले आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यौपानेसँग निशानले कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात उनीहरूले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ । निशान र ऋचा २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।
अभिषेक बच्चन कोरोनामुक्त
एजेन्सी : कोरोना भाइरसको संक्रमणपछि मुम्बईको नानावटी अस्पतालमा उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका छन्। अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्। ‘आज दिउँसो मेरो कोभिड–१९ परिक्षणको रिपोर्ट नेगेटिभ आयो। मैले तपाईहरुसँग भनेको थिएँ, म यसलाई हराइदिन्छु। म र मेरो परिवारका लागि तपाईहरुले गर्नुभएको प्रार्थनाका लागि धन्यवाद। नानावटी अस्पतालका डाक्टर र नर्सिङ स्टाफप्रति धेरै धेरै आभार’, उनले ट्वीटरमा लेखेका छन्। अभिषेक २८ दिनपछि कोरानामुक्त भएका हुन्। कोरोना भाइरसको संक्रमण भएपछि अभिषेकका साथै उनका उनका बुवा अभिषेक बच्चन गत जुलाई ११ गते नानावटी अस्पताल भर्ना भएका थिए। बच्चन परिवारका चार जनालाई कारोना भाइरसको संक्रमण भएको थियो। अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या यसअघि नै कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन्।
३ वर्षमै टुट्यो सुधांशु र उषाको वैवाहिक सम्बन्ध
काठमाडौं : नायक सुधांशु जोशी र नायिका उषा पौडेल वैवाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा रहँदै आएका यी २ करिब ६ महिनादेखि अलगअलग बस्दै आएका छन् । करिब ३ वर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो । अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी २ अलग भएको वुझिएको छ । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् । उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरुविच कलह सुरु भएको बुझिएको छ । उषा बाल्टिमोरमा बस्न थालेपछि सुधांशु केही समय अगाडि उनीसँग कुरा गर्न वाल्टिमोर पनि पुगेका थिए । तर, उषा र सुधांशुको कुरा मिल्न नसकेको बुझिएको छ ।
कोरोना असर : ६४ फिल्मको सूची निर्माता संघले बोर्डमा बुझायो (सूचीसहित)
काठमाडौं : चलचित्र निर्माता संघले कोरोनाका कारण प्रभावित भएको भन्दै ६४ नेपाली चलचित्रको सूची चलचित्र विकास बोर्डमा बुझाएको छ । कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लक डाउनका कारण केही चलचित्रको रिलिज रोकिएको छ । यस्तै, केही चलचित्रको छायांकन केही प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माता संघले वुझाएको सूचीमा छायांकनमा जाने तयारीमा रहेका, विकास बोर्डमा नाम मात्र दर्ता गरेर बसेका चलचित्रको पनि नाम उल्लेख गरिएको छ । यसैले, यो बिषयमा विकास बोर्डले गम्भिररूपमा छानविन गरि वास्तविक प्रभावित चलचित्रका निर्मातालाई सहयोग गर्नुपर्ने देखिन्छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसहितको टिमले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई ६४ वटा चलचित्रको नाम वुझाएको छ । कोभिडका कारण प्रभावित भन्दै निर्माता संघले चलचित्र विकास बोर्डमा वुझाएका चलचित्रमा ‘दि होल टाइमर, पारस, २ नम्बरी, म यस्तो गीत गाउँछु २, घनचक्कर, मनको वाँध, हिरो रिटन्र्स, माया बस्छकी के हो, झिंगे दाउ, उल्झन, पोखराकी काली, प्रेमगीत ३, सिमानामा काँडेतार, मन्त्र, हली, सम्हालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, लिम्बो, मेरो आफ्नो, आकासे खेती, एक, डेसान, शिरफूल, उफ यो मन, के घर के डेरा, तीन जन्तु, षटकोण, नालापानी, हेल्लो काशिराम, उफ यो मन, आरुषी, यो मायाँ कस्तो माया, पानी फोटो, माइकल अधिकारी, कठपुतली, देवी, फेक फ्रेन्ड, कोपिला, परदेशी, संझना विर्सना, सुस्केरा, तु, विच्छेद, गुञ्जन, चालबाज, हेलो जिन्दगी, इन्काउन्टर, नीरफूल, चिसो एष्ट्रे, रेखा थापाको अनटाइटल प्रोजेक्ट, बद्री बहादुर, वडा अध्यक्ष, चपली हाइट ३, जारी, सेन्टी भाइरस, आमा, आई एम ट्वान्टी वान, लप्पन छप्पन २, निम्तो, ऐना झ्यालको पुतली, ए मेरो हजुर ४, गोर्खे, लै बरी लै, हृदयभरि छन् । चलचित्र विकास बोर्डले कोभिडबाट प्रभावित भएका वास्तविक चलचित्रहरुलाई कस्तो राहतको प्याकेज ल्याउने हो, यो भने सार्वजनिक भैसकेको छैन ।
आमिर खानका केही कर्मचारीमा कोरोना संक्रमण
एजेन्सी : भारतीय अभिनेता आमिर खानका केही कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । मंगलबार आमिरले आफ्नो ट्विटरमा एक सूचना जारी गर्दै आफ्ना केही कर्मचारीमा संक्रमण पुष्टि भएको बताएका छन् । ‘मेरा केही स्टाफमा कोरोना भाइरसको परीक्षणमा पोजिटिभ देखिएको छ,’ उनले सूचनामा उल्लेख गरेका छन्, ‘उनीहरूलाई तत्कालै क्वारेन्टाइनमा राखिएको छ ।’ साथै बाँकीको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको समेत उनले बताए । उनले लेखेका छन्, ‘अहिले मेरी आमाको परीक्षण गराउँदै छु । उनी परीक्षण गर्न बाँकी अन्तिम व्यक्ति हुन् । प्रार्थना गर्नुस् कि उनको पनि रिपोर्ट नेगेटिभ आओस् ।’
भुवन केसीमाथि साम्राज्ञीले लगाइन् गम्भीर आरोप
काठमाडौं : यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक भुवन केसीको लफडाले समाजिक सञ्जाल तातेको छ। विवाद तब सुरुभयो जब साम्राज्ञीले भुवनले आफूलाई छोरी भनेपनि पटकपटक यौन दुर्व्यवहार गरेको आरोप लगाएर भिडियो पोष्ट गरिन। शुक्रवार साम्राज्ञीले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकी थिइन। केसीले आफूलाई पटकपटक गलत नियतले छोएको साम्राज्ञीको आरोप छ। ‘ड्रिम्स’ को सुटिङदेखि नै आफूमाथि भुवनले गलत दृष्टिकोण राख्दै आएको साम्राज्ञीले जनाएकी छन्। जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन्। साम्राज्ञीले भनेकि छन्-’सुटिङ सेटमा खाना र पानी माग्दा कति निर्माता/निर्देशकहरु आक्रमण शैलीमा आउँथे। उनीहरुको व्यवहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ। किनकि, मलाई कामसँग प्रेम छ। कामको सम्मान गर्नुपर्छ भन्ने बुझेको छु।’ उता भुवनले उक्त आरोपहरु निराधार रहेको बताउँदै आएका छन्। चर्चा कमाउन साम्राज्ञीले यस्तो आरोप लगाएको बताउँदै उनले आफ्नो परिवार भनेकै चलचित्र उद्योग भएकाले सबैलाई समान ब्यवहार गरेको बताएका छन्। भुवनले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने।’ भुवनले नै आफ्नो डेब्यू निर्देशित फिल्म ‘ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए। डेब्यू फिल्म नै सफल हुँदा साम्राज्ञीले आफूलाई स्टार अभिनेत्रीको रुपमा उभ्याएकी थिइन्। केही समय अघि साम्राज्ञी र अनमोलबीच प्रेम सम्बन्ध रहेको पनि चर्चामा आएको थियो। तर अहिले भने उनीहरुबीच सम्बन्ध टुटीसकेको बताइन्छ।
यी सामान्य ५ प्रश्न: जसकाे उत्तर नजानेर आलोचित भइन् पुजा शर्मा (भिडियोसहित)
काठमाडौंः नायिका पुजा शर्मा आलोचनाको शिकार भएकी छन् । प्राइम टाइम टेलिभिजनमा प्रकाश सुवेदीको ‘रजतपट अंकल’ मा कुराकानी गर्ने क्रममा सामान्य प्रश्नहरूको समेत उत्तर दिन नसक्दा उनी अहिले आलोचनाको शिकार भइरहेकी हुन् । सामाजिक सञ्जालमा आलोचना मात्रै हैन, उनी ट्रोलको समेत शिकार भइरहेकी छन् । पुजालाई मुलुकको परिस्थिति, भौगोलिक अवस्थासमेत थाहा नहुनुलाई धेरैले अचम्मै मानेका छन् । आफुलाई प्रतिभावान नायिकाको रूपमा चिनाउने शर्मालाई नेपालको भौगोलिक अवस्था तथा राजनीतिका सामान्य ज्ञान समेत थाहा नभएको भन्दै धेरैले उनलाई आलोचनात्मक गाली पनि दिएका छन् । उक्त अन्तर्वार्ताको भिडियो निकै भाइरस भइरहेको छ, धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरिरहेका छन् । कार्यक्रममा पुजलाई अहिलेको अर्थमन्त्री को हुनुहुन्छ ? सञ्चारमन्त्री को हुनुहुन्छ ? ३ जना बहालवाला मन्त्रीहरुको भन्न आग्रह गरिइको थियो ? तर पुजाले कुनै पनि प्रश्नको उत्तर दिन सकिनन् । उनले आफूलाई राजनीतिकप्रति चासो नरहेको र केही जानकारी नभएको बताइन् । अचम्मको कुरा त के छ भने पुजालाई नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने पनि थाहा रहेनछ । पुजाले ७२ प्रदेश र १४ जिल्ला रहेको जवाफ दिएकी थिइन् । केही समयअघि लिइएको अन्तर्वार्ताको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोः प्राइम टेलिभिजन
सुशान्तको मृत्युको कारण भन्दै सलमान खानसहित ८ जनाविरुद्ध मुद्दा
बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशक करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित ८ जनाविरूद्ध फौजदारी मुद्दा दायर गरिएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेका हुन् । वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित ८ जनाका विरूद्ध मुद्दा दायर गरेका टाइम्स अफ इन्डियाले लेखेको छ । अदालतले आगामी ३ जुलाईमा सुनुवाइ मिति दिएको छ। ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ । टाइम्स अफ इन्डियाका अनुसार यी ८ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ । वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन् । यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन् । अभिनेता सुशान्त सिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए । उनी लामो समयदेखि डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी
वर्षा राउतका कारण समस्यामा वर्षा सिवाकोटी !
काठमाडौंः नायिका वर्षा राउत आफ्नो बोलीका कारण आलोचनामा आएपछि अर्की नायिका वर्षा सिवाकोटीलाई समस्या परेको छ । वर्षा राउतले बोल्ने क्रममा नेपाल र भारतको मिडियाका कारण आफूलाई भारतीय साथीहरुसँग कुरा गर्न गाह्रो भएको तर्क प्रस्तुत गरेकी थिइन् । वर्षाले यो बिषयमा माफि पनि मागिसकेकी छिन् । तर, नाम एउटै भएका कारण धेरै मानिसहरुले नायिका सिवाकोटीलाई नै गाली गरेर म्यासेस गरिरहेका छन् । यसैले, नायिका वर्षा सिवाकोटीले सामाजिक संजालमा लेखेकी छिन्, ‘मेसेज पठाउनु अगाडि नाम र थर हेर्ने कष्ट गर्नुहोला ।’ नायिका सिवाकोटीले आफूलाई व्यक्तिगत रुपमा धेरै मेसेज आएको बताइन् । कतिपयले भने वर्षाको तस्वीरमा गएर देशको विरुद्धमा बोलेको भन्दै गाली गरिरहेका छन् । केही फेसबुक प्रयोगकर्ताले मान्छे चिनेर मात्र कमेन्ट गर्न अपिल गरेका छन् ।
गायिका अबुन पाण्डेको ‘महसुस’ सार्वजनिक (भिडियोसहित)
काठमाडौंः लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका अबुन पाण्डेले आफ्नो नयाँ सिर्जना ‘महसुस’ सार्वजनिक गरेकी छिन् । हाल अष्ट्रेलियामा रहेकी गायिका पाण्डेले अस्ट्रेलिया र नेपालमा रहेका संगीतकर्मीसँगको सहकार्यमा छोटो समयमा नै तयार गरेर यो गीत सार्वजनिक गरेकी हुन् । अनपल्ग्ड भर्सनको गीतमा स्वर र शब्द गायिका अबुन पाण्डेको रहेको छ भने संगीत टिका दाहालको रहेको छ । गीतको संगीत संयोजन राहुल प्रधानले गरेका हुन् । गायिका पाण्डेलाई पोट्रेट गरेर निर्माण गरिएको म्युजिक भिडियोलाई आशुतोष बोबी थापाले छायांकन गरेका हुन् । राजेश शाहको निर्देशनमा भिडियो तयार पारिएको हो । स्वयं गायिका पाण्डेको अफिसिएल च्यानलमार्फत् सार्वजनिक भिडियो हेरेर प्रतिक्रिया दिन उनले आग्रह गरेकी छिन् । यसघि गायिका पाण्डेले ‘नाचन ठूली’, ‘स्याङ्जा गए पाल्पा गए’, ‘यो केटा त’ लगायतका गीत सार्वजनिक गरिसकेकी छिन् ।
‘हिजो आजका कुरा’ को ‘माया जदौ’लाई करोड भ्यु
काठमाडौंः समसामयिक हाँस्य कथामा निर्माण गरिएको फिल्म ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीतले १ करोड भन्दा बढी भ्यु पाएको छ । २ महिनाअघि सार्वजनिक भएको गीतले दर्शकको उत्कृष्ट प्रतिक्रियासहित चर्चा पाइरहेको छ । साकार पन्तको डेब्यू निर्देशनमा बरिष्ट हास्य कलाकार सन्तोष पन्त नीर्मित ‘हिजो आजका कुरा’ को यस गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा बरिष्ट हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बाँस्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमीरे, जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा बिश्वकर्मा, जेबिका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सबिन शाक्य, मन्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका चर्चित कलाकारलाई प्रस्तुत गरिएको छ । कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा प्रदर्शन स्थगित गरिएको फिल्मको जनजीवन सामान्य भएपछि नयाँ प्रदर्शन मिति तय गरिने निर्माण पक्षले जनाएको छ । आफ्नो फिल्मको गीतले छोटो समयमै करोड भन्दा बढी भ्यु पाएकोमा निर्देशक साकारले खसी व्यक्र गरेका छन् । उनले गीत हेर्ने सम्पूर्ण दर्शकमा आभार व्यक्त गरेका छन् । फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलीया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा,दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक् लगायतका कलाकारले अभिनय गरेका छन् । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा प्रतिभा पन्त कार्यकारी निर्माता तथा बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र सह–निर्माता रहेको फिल्मको कथा सन्तोष पन्तको हो भने पटकथा सन्दीप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको फिल्म निर्माण घोषणा देखिनै चर्चामा छ ।
केकी र स्वस्तिमा अमेरिकन चलचित्रमा अभिनय गर्दै
काठमाडौंः २ नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्दैछन्। केही समयअगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो। अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ। चलचित्रमा स्वस्तिमा र केकी दिदी(बहिनीको भूमिकामा प्रस्तुत हुने बताइए पनि क्न विषयवस्तुमा चलचित्र निर्माण हुँदै भन्ने विषय भने खुलाइएको छैन। अन्य कलाकार भने अमेरिकी रहनेछन्। कोरोना त्रासपछि उक्त चलचित्र अमेरिकामा छायाकंन हुनेछ।
रामायणले बनायो विश्व कीर्तिमान
लकडाउनको यो समयमा दूरदर्शनले आफ्नो एकदमै चर्चित शो ‘रामायण’ फेरि प्रशारण गरेको छ। पौराणिक कथामा आधारित यो कार्यक्रम सन् १९८० को दशकमा प्रदर्शनमा आएको थियो, अहिले लकडाउनमा यो टेलिभिजन श्रृंखला पुन: प्रशारण गरिएको थियो, दर्शकको दृश्य मूल्यांकन गर्दा यसको ‘भिओरसिप’ अहिले बढेको पाइएको छ। कार्यक्रमको नयाँ रेटिङ गर्दा ‘रामायण’ ले पुरानो सबैभन्दा धेरै हेरिएको टेलिभिजन शोलाई पछाडि पारेको छ। यो भारतको मात्र हैन पूरै विश्वकै रेकर्ड हो। विश्वमा सबैभन्दा धेरै हेरिएको शो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करलाई रामायणले जितेर नयाँ रेकर्ड बनाएको हो। १६ अप्रिल सम्म यो कार्यक्रम ७ करोड ७० लाख भन्दा धेरैले हेरेका छन्। र यो कार्यक्रमा विश्वमा नै धेरै हेरिएको टेलिभिजन कार्यक्रम बनेको छ। यो भन्दा अगाडि रेकर्ड बनाएको ‘गेम अफ थ्रोन्स’ लाई दिनमा १ करोड ९३ करोड पल्ट हेरिएको थियो। ‘रामायण’ मा स्टार अरुण गोभिल र दिपिका चिखाइला मुख्य भूमिका छन्। यस्तै गेम अफ थ्रोन्समा इमिलिया क्लार्के, लेना हेडे, माइसेई विलियम्स, सोफि टर्नर, किट ह्यारिङटोन लगायतका कलाकारहरु मुख्य भूमिकामा छन्। रामायण रामानन्द सागरले लेखेका र निर्देशन गरेका हुन्। यो कार्यक्र पहिलोपल्ट सन् १९८७ को जनावरी २५ देखि जुलाई ३१, १९८८ सम्म प्रशारणमा आएको थियो। त्यसको केही वर्षपछि रामायण विश्वमा नै धेरै हेरिएको पौराणिक कथामा आधारित टेलिभिजन कार्यक्रम अन्तर्गत पर्छ। एजेन्सी