एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्य उमेदवार

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा सदस्यका लागि उमेदवार टुंग्याएको छ ।

एकीकृत समाजवादीले वाग्मती प्रदेशबाट (दलित)बाट घनश्याम रिजाललाई टिकट दिएको छ ।

कर्णाली (महिला) तर्फ सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ । माघ ११ गते १९ पदका लागि निर्वाचन हुनेछ ।

राष्ट्रियसभाको उमेदवारको टुंगो लगाउँदै अध्यक्ष ओली, आजै सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रियसभाको उमेदवारको टुंगो लगाउँदैछ । अध्यक्ष केपी शर्मा ओलीले उमेदवारको नामावली आजै सार्वजनिक गर्ने तयारी गरेका छन् । शुक्रबारको सचिवालय बैठकले उमेदवारको विषयमा छलफल गरेपनि क्लष्टर मिलाउन बाँकी राखिएको थियो । बैठकले उमेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उमेदवारको नामावली आजै सार्वजनिक हुने बताए । “उमेदवारको नाम टुंग्याउने जिम्मा अध्यक्षलाई दिइएको छ,” उनले भने, “अध्यक्ष, महासचिवले नाम टुंग्याएपछि उमेदवारको नाम आजै सार्वजनिक होला ।” एमालेले सत्ता गठबन्धनसँग साझेदारी गर्ने विषयमा छलफल समेत भएको थियो । तर, सम्भव नभएपछि एमालेले १९ वटै पदमा उमेदवारी दिने तय गरेको हो । राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उमेदवारी मनोनयन हुँदैछ । आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

रञ्जन सिंह शाहको आत्मकथा मेरो सपनाको विमोचन

काठमाडौं । वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा मेरो सपनाको विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच पूर्व मन्त्री डा. भेष बहादुर थापा, होटेल व्यवसायी ,लेखक एवम सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य , प्रा. डा.जिवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले आत्मकथा पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बक्ताहरुले नेपालको वास्तुकलाको बारेमा चर्चा गर्दै यसलाई अझ कसरी विश्व माझ चिनाउन सकिन्छ भन्ने बारेमा आफ्नो धारणा राखेका थिए । आत्मकथा मेरो सपना पुस्तकमा शाहले आफ्नो सानैदेखिको आर्किटेक इन्जिनियर बन्ने सपना कसरी पूरा भयो र आउने भावी पुस्ताले पनि नेपालको वास्तुकला (आर्किटेक)लाइ कसरी बिश्वमाझ चिनाउन र बचाइराख्न सक्छन भन्ने कुरालाई समेटेका छन् । शाह एसोसिटले आयोजना गरेको कार्यक्रममा उद्योगपति,नेतागण , इञ्जिनियर, डाक्टर ,नेपाल सरकारका पूर्व सचिवहरुको उपस्थिति थियो । शाहले जीवनको महत्वपूर्ण ५० बर्ष अर्किटेक इन्जिनियरमा बिताएका छन्। नेपालमा त्रिभुवन विश्व विद्यालयबाट विज्ञान बिषयमा विएससी सकिएपछि शाहले भारतको बरुडास्थित एम एस युनिभर्सिटीबाट आर्किटेक्चरमा डिग्री गरेका शाहले नेदरल्याण्डबाट अर्किटेक्चरमा स्नाकोत्तर गरेका थिए । सिंहदरबारमा आगलागी पछिको पुनः निर्माणमा उत्कृष्ट काम गरेबापत शाहलाई तत्कालिन राजा विरेन्द्र शाहले गोरखा दक्षिण बाहु तेस्रो बाट सम्मान गरेका थिए । एघारौ सार्क सम्मेलनमा खेलेको भूमिका बापत भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीबाट समेत सम्मान र पुरस्कार प्राप्त गरेका छन् । समा प्रिन्टर्सबाट प्रिन्टिङ ८० पृष्ठको आत्मकथा मेरो सपना पुस्तक हाललाई इस्छुक पाठक माझ निशुल्क वितरण गरिएको छ । किताबको सहलेखन डा.शृस्टी शाहले गरेकी हुन् ।

नेकपा एसमा राष्ट्रिय सभाको उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। उनले बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको बताए । पार्टीका तीन जना नेतालाई सर्वाधिकार दिइ गठबन्धनको बैठकमा पठाएको बताए । प्रवक्ता खतिवडाले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धनसँग मागेर सिट प्राप्त गर्न खोज्नु नहुने र प्रतिपक्षकै हिसाबमा वस्नुपर्ने बारेमा पनि छलफल भएको बताए ।

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं। राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । बैठक शनिबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको थियो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश भोलि आइतबार दिउँसो १ बजे बस्ने गरी बैठकको मिति सारिएको जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न शुक्रबार लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरी आजका लागि बोलाइएको हो । बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । खतिवडाका अनुसार, राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ । विभिन्न जिल्ला तथा जनवर्गीय संगठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी संगठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिनेछ ।

राष्ट्रियसभा निर्वाचनको उमेदवार छनोटबारे छलफल गर्दै कांग्रेस

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार छनोटका विषयमा छलफल गर्ने कांग्रेसको तयारी गरेको छ । निर्वाचन आयोगले पुस २३ गते उमेदवारी दर्ताको मिति तोकेको छ ।

एमालेले राष्ट्रियसभाका १९ पदमै उमेदवारी दिने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा १९ वटा पदमा नै उमेदवारी दिने बताएका छन् । आजको सचिवालय बैठकले १९ वटै पदका उमेदवारका विषयमा छलफल भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार विभिन्न क्लष्टरबारे निर्क्यौल गर्नुपर्ने भएकाले आज टुंगो लागेको छैन । माघ ११ गते हुने निर्वाचनका लागि मंसिर २३ गते उमेदवारी मनोनय हुँदैछ । एमाले र सत्ता गठबन्धनबीच राष्ट्रियसभामा भागबण्डा हुने चर्चा भएको थियो । स्रोतका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो प्रस्ताव नआएको ब्रिफिङ गरेका छन् ।

गाउँ रित्तिन थालेकोप्रति राष्ट्रपति पौडेललाई चिन्ता

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेको बताएका छन् । राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास र सुविधाको उपभोग गर्ने व्यक्ति कोही नहुने हुन् कि भन्ने चिन्ता लागेको बताए । शुक्रबार तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने अवस्था रहेको गुनासो गरे । उनले भने, ‘‘अबका दुई–चार वर्षमा सबै गाउँमा कालोपत्रे सडक पुर्‍याउन हामी लागेका छौँ तर समस्या त्यही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने हाम्रो हालत छ ।’ राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गरे । उनले भने, ‘‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर गएर उतै बस्नुभयो । गाउँको समस्या यही हो ।’ राष्ट्रपतिमा निर्वाचित भएपछि दोस्रो पटक गृह जिल्ला पुगेका राष्ट्रपति पौडेलले आफूले बैदी–छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार–कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही एजेण्डामा आज पनि उभिएको स्पष्ट पारे ।  

फर्किए भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार नेपाल आएका जयशंकर आज दिउँसो त्रिभुवन विमानस्थलबाट भारतीय विमानमार्फत स्वदेश फर्किएका हुन्। उनलाई विमनस्थलमै पुगेर नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिदाइ गरे। नेपालमा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गरेका थिए।

ओली भेट्न बालकोट पुगे रवि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (ओली भेट्न बालकोट पुगे रवि काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए ।पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको रास्वपा स्रोतले जानकारी दियो । उनका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।

राष्ट्रियसभाबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक बिहान ११ बजे च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत, ‘झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठक सुरू

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको सातौं बैठक सुरू भएको छ।दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार दिउँसो सुरू भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरिरहेका छन्। तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत, व्यापार,आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो। सिंहदरबारमा उर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका उर्जासचिव गोपाल सिग्देल र भारतका उर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए। नेपाल र भारतबीच भारतले नेपाललाई दिंदै आएको सहयोग रकम बढाउने सम्झौतामा पनि हस्ताक्षर हुँदैछ। भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्‍याउन गरेको प्रस्तावमा नेपालले सहमति जनाएको छ।  

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए । उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गरे । सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनुभयो । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा। जयशङ्कर आज बिहान काठमाडौँ आए । रासस

नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं। भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर नेपाल आएका हुन् । विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भेटघाट गर्ने छन् । त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ । उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने बताइएको छ । साँझ ६ः१५ वजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।

पूर्वतयारी गरेनौं भने ठूलो जोखिम उठाउनुपर्ने हुन सक्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘‘नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू आउन सक्ने सम्भावनाबारे कतिपय विज्ञहरूले भन्दै आएका छन्। वर्ष दिनभित्रै जाजरकोट, बझाङ्ग र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ।’’ उनले थपे ‘‘असोज १६ गतेपछि एक महिनाको अन्तरालमा बझाङ र जाजरकोट भूकम्पको लगत्तै म दुवै स्थानमा पुगेँ। त्यहाँको अवस्था देख्दा लाग्यो– मध्यम खालको भूकम्प आउँदा त यस्तो अवस्था छ भने हालैको जापानमा गएको जत्रो ७.६ म्याग्निच्युडको भूकम्प वा २०७२ सालको जत्रो भूकम्प गएको भए त्यसले सिर्जना गर्ने त्रासदी हामीले झेल्न सक्थ्यौं होला र ? ’’ प्रधानमन्त्रीले विपतको पूर्वजोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिनुभयो। उनले भने, ‘‘ विपद पूर्व जोखिमको आंकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासिनता रहने गरेको छ। त्यसैले यसपटक श्रृङ्खलाबद्ध रूपमा आएका भूकम्पहरूले हामीलाई जोखिम प्रतिरोधी संरचना र सोहीअनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ। त्यसैले पुनर्निर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, बलियो संरचना बनाउने तथा पर्याप्त वजेटको व्यवस्था गर्ने विषयमा मेरो जोड रहेको छ।’’