प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गरेका छन् । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् ।

करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । समारोहमा दुधौलीको स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाको माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत

काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति बैठकले राष्ट्रियसभाको माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ । शुक्रबार बसेको समितिको बैठकले राष्ट्रियसभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको हो ।

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ । एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुई दिन बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ ।

कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्नेछ । यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । त्यसैको तयारी स्वरुप बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

उप निर्वाचनको टुङ्गो आगामी हप्ता लाग्छ : आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोग वैशाखमा हुने निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी हप्ता नै यसको टुङ्गो लाग्ने बताए । थपलियाले आउँदो हप्ता उपचुनावको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राख्ने जानकारी दिए । उनले भने, ‘तीनै तहको उपनिर्वाचन एकै पटक हुन्छ । विवरण संकलनको काम भइरहेको छ । कति बजेट र सुरक्षा लाग्छ, मतदाता नामावली अद्यावधिक गर्ने काम पनि हुन्छ । आउँदो हप्ता सबै तयारी गरेर सरकारलाई भेट्छौँ । त्यसपछि कुरा अगाडि बढ्छ ।’ हाल प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुवास नेम्वाङको क्षेत्रमा उपनिर्वाचन हुने छ । यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ क मा पनि उपनिर्वाचन हुने छ । हालसम्मको नतिजाअनुसार यी सँगै स्थानीय तहका २३ क्षेत्रमा उपनिर्वाचन हुने आयोगको तथ्यांक छ ।

एमाले संसदीय दलको बैठक दुई दिन बस्ने

काठमाडौं, १९ माघ । नेकपा एमालेको संसदीय दलको बैठक दुई बस्ने भएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने भएको हो । बैठक दुई दिन नै मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक माघ २२ गते देखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रीत हुने उनले बताए । सरकारका कामकारबाही तथा जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बर्तौलाको भनाई छ । संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा शुक्रबार नै नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसदीय दलको बैठकमा छलफल गर्दैछन ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बेलाएको छ । शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बोलाएको हो । बैठकमा संसद् बैठकलाई प्रभावकारी बनाउँदै पार्टीले उठाउने विषयका विषयमा निर्णय लिने बताइएको छ । संघीय संसद्को बैठक माघ २२ गते बोलाइएको छ ।

केन्या र बोत्सवानाका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपालका राजदूत दानबहादुर तामाङले केन्या र बोत्सवानाका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी पाएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले तामाङलाई केन्या र बोत्सवानाको गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् । उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ज्ञानेन्द्र शाहीको बचाउमा राप्रपाका भातृ संगठन

काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरुले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आफ्नो विज्ञप्ति सच्याउन र पार्टी प्रवक्ता ज्ञानबहादुर शाही माथिको लान्छना फिर्ता लिन भनेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा गरिएको पत्रकार सम्मेलनमा राप्रपा सम्बद्ध भातृ संगठनहरुले विज्ञप्ति नसच्याए र प्रवक्ता शाही माथि लगाएको आरोप फिर्ता नलिए खरो रुपमा उत्रिने चेतावनी समेत दिएका छन् । राप्रपा प्रवक्ता शाहीले पार्टीको एक कार्यक्रममा सरकारको आलोचना गर्दै ‘पक्राउपुर्जी जारी भएकाहरु प्रधानमन्त्रीसँग मिटिङ गर्दै हिँडेका छन’् भनेका थिए । शाहीको सोही अभिव्यक्तिको खण्डन गर्दै विज्ञप्ति निकालेर विप्लव नेतृत्वको नेकपाले अभिव्यक्ति सच्याउन र अभिव्यक्ति नसच्याए गम्भीर परिणाम भोग्न तयार हुन चेतावनी दिएको थियो । राप्रपा सम्बद्ध भातृ संगठनहरुले विप्लव नेतृत्वको नेकपाको सो विज्ञप्तिमा आपत्ति जनाउँदै सच्याउन र लान्छना फिर्ता लिन भनेका हुन् । पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष कमल राजा बम रजवारले विज्ञप्तिको भत्र्सनागर्दै लान्छना फिर्ता लिनुपर्ने बताए । उनले आफ्नो पार्टी र प्रवक्ता शाही माथिको लान्छना फिर्ता नलिए नेकपा विरुद्ध खरो रुपमा उत्रिने चेतावनी पनि दिए । ‘ज्ञानेन्द्र शाहीको अभिव्यक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले जुन विज्ञप्ति निकालेको छ, त्यसको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु । राप्रपा कानुनी राज्यको अवधारणालाई विश्वास गर्ने र विधिको शासनलाई विश्वास गर्ने पार्टी भएकाले हामी विधिको शासनको पक्षमा रहेका छौं ।’ उनले भने, ‘देशको राष्ट्रिय शक्तिका प्रवक्तालाई जुन किसिमको धाक, धम्की दिन खोजिएको छ । यसको विरुद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन खरो भएर उभिने कुरा म अवगत गराउन चाहन्छु ।’ राप्रपा निकट युवा संगठनका केन्द्रीय सचिव निराजन बमले पार्टी प्रवक्ता शाहीसँग नेत्र विक्रम चन्द मात्र नभएर सिंगो गणतन्त्र डराइरहेको टिप्पणी गरे । राप्रपा विप्लवको विज्ञप्ति देखि नडराउने उनले चुनौती दिए । देश र जनताको हितमा बोल्दा आफ्ना पार्टीका प्रवक्ता माथि लान्छना लगाएर विज्ञप्ति निकालिएको भन्दै उनले नेकपालाई कमजोर पार्टीको संज्ञा दिए । ‘तपाईँहरुले एउटा विज्ञप्ति निकालेर राष्ट्रिय प्रजातन्त्र पार्टी डराउँदैन । यो देशको राष्ट्रिय राजनीतिक उदयमान पार्टी हो । त्यो पार्टीका प्रवक्ताले देश र जनताको हितमा बोलिरहँदा आज एउटा पार्टीले नै विज्ञप्ति निकालेर सचेत रहनुस् भन्नु कति कमजोर मान्छे होला ? बन्दुक पड्काएर आएकाहरु किन डराएका होलान् ?’ उनले प्रश्न गरे । विज्ञप्तिमा भनिएको जस्तो कुनै घटना हुन गएको खण्डमा र आफूहरुले त्यस्ता कुनै गतिविधि थाहा पाएको अवस्थामा बन्दुक आफूहरुलाई पनि चलाउन आउने उनले चेतावनी दिए । राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष कैलाश कटुवालले प्रवक्ता शाहीले पक्राउ पुर्जी जारी भएको मान्छेले प्रधानमन्त्रीसँग मिटिङ गरिरहँदा पनि नदेख्ने सरकारको आँखा खोलिदिएको टिप्पणी गरे । पक्राउ गरेर कानुनी कारबाही गर्न नसक्ने भए किन पक्राउ पुर्जी जारी गरेको ? उनले प्रश्न समेत गरे । देशमा राजा सहितको सनातन हिन्दु राष्ट्र पुनस्थापना गरिसकेपछि नेकपा जस्ता दलाल, तस्कर, भ्रष्टचारी र देशद्रोहीहरुलाई खोजीखोजी जेल कोच्ने समेत उनले चेतावनी दिए ।

गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभाको चुनावबारे समीक्षा हुने

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका छन् । राष्ट्रियसभा चुनावको समिक्षा लगायतका विषयमा छलफलका लागि प्रधानमन्त्री प्रचण्डले आज ४ बजेका लागि गठबन्धनको बोलाएका हुन् । सो बैठकमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालाई पनि बोलाइएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनबाट राष्ट्रियसभा चुनावमा भाग लिएका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी सहभागी हुने बताइएको छ । कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार हारेबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनकै उम्मेदवारले चुनाव जितेका छन् । कोशी प्रदेशको बारेमा बैठकमा विशेष समिक्षा समेत हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड वीरगन्जमा

सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीरगन्ज आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन वीरगन्ज आइपुगेका हुन् । प्रधानमन्त्रीलाई सिमरा विमानस्थलमा बारा र पर्साका सुरक्षा निकाय, माओवादी केन्द्रका नेताहरू, प्रदेश कमिटी सदस्यहरू, जिल्ला अध्यक्ष र  स्थानीय तहका प्रमुखहरूले स्वागत गरेका छन् ।

संघीय संसदका विभिन्न चार समितिका बैठक बस्दै

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको २३औँ बैठक आज बस्दैछ । आज बिहान संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवाला संघ–संस्थालगायतसँग छलफल गर्ने कार्यसूची रहेको समितिका सचिव अधि राज राईले जानकारी दिए । यस्तै, आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ । यसैगरी, आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यता, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ । दिउँसो साढे १ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपालमा जनसङ्ख्याको हालको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारीका सम्बन्धमा छलफल हुनेछ ।

ज्ञानेन्द्र शाह कुशको राजा : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका छन्। ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’ दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको उनले बताए। यस्तो छ दरबार हत्याकाण्डबारे ओलीले राखेको धारणा दीपेन्द्रले आफैं मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ? अगाडिबाट पनि उसैले गोली हान्छ , पछाडिबाट पनि गोली हान्छ ?तीनवटा राइफल एकै जनाले बोकेर कुद्छ ? यस्ता कुरा पनि पत्याएर हिँड्ने ? लखेट्ने पनि उही मान्छे छ, भर्याङ चढ्दामाथिबाट ड्याम्म गोलि हानेर टाउको उछिट्याउने उही मान्छे छ यस्तो पनि हुन्छ ? १९ गतेको घटना सात दिनपछि २६ गते त्यहाँ जाँच आयोग जाँदा पानी परिरहेको थियो त्यो बेला एउटा ओभानो टोपी दिपेन्द्र मारिएको भनिएको पोखरीको छेउमा ओभानो टोपी तैरिरहेको थियो । पानी परिरहेको छ त्यस्तो बेलामा दिपेन्द्रको टोपी डुबेको पनि छैन, भिजेको पनि छैन । जाँच आयोग जाँदा भर्खर राखेको टोपी पानी पनि भरिएको छैन । त्यस्तो पनि नाटक हुन्छ रु यहाँ हत्याकाण्डा भइसक्दा दुनियाँभरी दिपेन्द्रको प्रेम कहानी भनेर।।। । दिपेन्द्रले हत्याकाण्ड गर्यो भनेर यस्ता बाहियात कुराका पछाडी पनि नेपाली जनता कुद्नुहुन्छ ? त्यो एउटा भयानक षड्यन्त्र थियो । त्यस षड्यन्त्रले तत्काल राजारानि,युवराज, अधिराजकुमार, अधिराजकुमारी हत्या गर्यो । राजतन्त्र समाप्त भयो । राजाको जेठो छोरो राजा हुन्छ । जेठो त के कान्छो, छोरी समेत मारिसकेपछि राजतन्त्र समाप्त भयो । त्यतिबेलाको सरकारको कमजोरी हो । फेरि राजतन्त्र भनेर ज्ञानेन्द्र शाहलाई ल्याएर सजाउने राख्ने काम भयो । ज्ञानेन्द्र शाह भनेको राजा होइन । बाहुनले बाहुन भनेर टपरीको चामलमाथि कुशको बाहुन राख्छ । ती त्यस्तै कुशको राजा हुन् । कुशको बाहुन । यस्तो कुरामा के बहस गरिरहने ? राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो रह्यो । हाम्रा पार्टीका महासचिव माधवकुमार नेपाल आफैं छानबिन समितिमा बस्नु भएको थियो । हामीले फिर्ता गर्यौं ,यो ड्रामनमा तिमी सामेल नहोउ भनेर ।

माओवादी सुदूरपश्चिमको निर्देशन -‘प्रदेशकाे दलको नेता फेर्ने निर्णय तत्काल सच्चाउनू’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा प्रदेश संसदीय दलको नेता परिवर्तनपछि लफडा भएको छ । एक पक्षले प्रदेश संसदीय दलको नेता परिवर्तन गरे लगत्तै उक्त निर्णय तत्काल सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ । प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) को अध्यक्षतामा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो । संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन सरकार परिवर्तन गर्ने भन्नेबारेमा ध्यानाकर्षण भएको भन्दै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ । ‘यही मिति २०८० माघ १२ गते नेकपा ९माओवादी केन्द्र० सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दलनेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रदेश कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी परम्परा,विधि विपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौँ कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’ प्रदेश कमिटीले संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल गर्नसमेत आग्रह गरेको छ । शुक्रबार बसेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई बनाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय सम्मेलन आज सुरु हुँदैछ । आज बिहान साढे ११ बजे काठमाडौँको प्रज्ञा भवन कमलादीमा सुरु हुने सम्मेलनमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, कार्ययोजनासहितको विधान मस्यौदामाथि छलफल केन्द्रित हुनेछ । पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने उपमहासचिव खतिवडाले जानकारी दिए । पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँड गर्ने बैठकले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्ने छ । सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो साता पार्टीको महाधिवेशन गर्नेछ । पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानका रूपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा समेत सम्मेलनमा छलफल हुने खतिवडाको भनाइ छ । राष्ट्रिय सम्मेलनले भोलिसम्म चल्नेछ । एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ।

चिनियाँ उपमन्त्री सुन हायान र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकि छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए। उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्। नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।