थप ८ देशसँग श्रम सम्झौता गर्ने तयारी

काठमाडौं । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी गरेको हो । सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको छ । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताए ।

नेपालले सन् २०२४ मा कुबेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, माल्टा, टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारेर सम्बन्धित देशलाई पठाएको छ । ति देशहरूबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रकृया अघि बढ्नेछ ।

सरकारले यूरोपका विभिन्न मुलुकहरूसँग श्रम सम्झौतालाई प्राथमिकता दिएको छ । सरकारले हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । अब थप देशहरूसँग पनि यहि वर्ष सम्झौता गर्ने गरी कार्य भइरहेको सह–सचिव पोखरेलले बताए ।

नेपालले हाल कतार, यूएई, कोरिया, बहराइन, जोर्डन, इजरायल मलेसिया लगायतका १२ देशसँग श्रम सम्झौता गरिसकेको छ । पछिल्लो समय नेपालीहरूको आकर्षण यूरोपतिर देखिएको छ । ति देशहरूसँग श्रम सम्झौता नहुँदा नेपालीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर महंगो शुल्क तिरेर जाने गरेका छन् । श्रम सम्झौता गरेपछि ति देशहरूमा संस्थागत रूपमा श्रमिक पठाउने बाटो खुल्ने सह–सचिव पोखरेलले बताए ।

कांग्रेसमा खुट्टा तानातान पहिलेदेखि नै छ, सुधारेर लैजानुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सुधार गरेर अगाडि लैजानुपर्ने बताएका छन्। उनले पार्टीभित्र एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति पहिलेदेखि नै रहेको र घात तथा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न पनि नपाइएको बताए। ‘तपाईंहरूलाई थाहा छ हाम्रो पार्टीमा घात, अन्तर्घात पनि छ। खुट्टा तानातान पनि हाम्रो पार्टीमा भइरहेकै हो, अहिले होइन पहिलेदेखि नै,’ देउवाले भने, ‘हाम्रो पार्टीलाई सुधार गर्नुछ, राम्रोसँग लैजानुछ।’ पार्टीभित्र घात, अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न नपाइएको पनि देउवाको भनाइ छ। ‘घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा फेरि कारबाही गर्न पाइँदैन भन्छन्, यस्तो अवस्था छ,’ उनले भने, ‘पार्टीलाई मिलेर एक गराएर हिँड्नुपर्छ। बहुमत ल्याउने प्रयास गरौं।’ उनले गत निर्वाचनमा कांग्रेस पहिलो पार्टी बने पनि बहुमत ल्याउन नसकिएको बताए। कुनै पनि एक पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेको पनि देउवाको भनाइ थियो।

विधान संशोधन गर्न छलफल गर्दै एकीकृत समाजवादी

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आज पनि निरन्तरता दिंदै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । सोमबारको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरिएको थियो । विधान संशोधन कार्यदलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको हो । यसअघिको बैठकले पार्टीका संगठन विभाग प्रमुख तथा उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय कार्यदल बनाएको थियो । बैठकमा कार्यदलका संयोजक भुसालले प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावमाथिको छलफल आजको बैठकमा पनि जारी रहने नेताहरूले बताएका छन् ।

माओवादी पदाधिकारी बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्नेछ । पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठकमा माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ । “बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ,” ढकालले भने । माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ । केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ । माओवादीले मंसिरमा अभियान सक्ने र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो । तर, पुस १६ गतेसम्म नै अभियान चलाउने निर्णयपछि सम्मेलनको मिति तय भइसकेको छैन । फागुनभित्रै सम्मेलन गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

माओवादी सचेतकको नेतृत्वमा २० जना सांसदहरूको टोली छेन्दु हुँदै बेइजिङ प्रस्थान

काठमाडौं । संघीय संसद्का सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेको छ। नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट मध्यान्ह छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो। भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एकजना छन् चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो। चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्ने कार्यतालिका छ।टोलीमा कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा छन्। एमालेबाट दामोदर बैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने पनि टोलीमा छन्। उता माओवादी केन्द्रबाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी पनि चीन गएका छन्। भ्रमण टोलीमा संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन्। १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौँ फर्कने कार्यक्रम छ।

एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि, के छन् एजेन्डा ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो । बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ । सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।

हिलोमा चुर्लुम्म डुबिरहेकाहरूले माओवादीको पिठ्यूमा लागेको दाग देखाइरहेको छन् : दिपशिखा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का यूवा नेता पोलिट ब्युरो सदस्य तथा वाइसियल इन्चार्ज दिपशिखाले हिलोमा चुर्लुम्म डुबिरहेकाहरूले लाजै नमानीकन माओवादीको पिठ्यूमा लागेको दाग देखाइरहेको टिप्पणी गरेका छन् । माओवादी केन्द्रको विद्यार्थी पार्टी कमिटीद्वारा आइतबार पेरिसडाँडामा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रम माओवादी केन्द्रको विद्यार्थी पार्टी कमिटीद्वारा आइतबार पेरिसडाँडामा आयोजित बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा नेता सापकोटाले टिप्पणी गरेका हुन् । ‘माओवादी नेतृत्वको सरकार र पार्टीले भ्रष्टाचारिहरुलाई थुन्ने । तस्करहरुलाई कार्वाही गर्ने गर्यो , पछिल्लो परिवर्तनको रक्षक भएर उभियो,’ उनले भने ‘जुन कुरा हिजो पुस्तो देखी राज्य दोहन गर्नेहरुको शिबिर र त्यस वरपरकाहरुलाई पचाउन कठिन भइरहेको छ ।’ कथित पपुलिष्ट पोलिटिक्सका लागेकाहरु खुइलिंदै जानु र परिवर्तन पक्षधर शक्तिहरबीच विभाजन ल्याउन असंभव हुँदै गएपछि प्रतिकृयावादीले बदनाम र दुश्प्रचारको निति लिएको नेता सापकोटाको जिकिर थियो । विद्यार्थी महाशाखाको बैठकले विभिन्न शाखाहरूमा नेताहरुको कार्य विभाजन तथा प्रशिक्षण लगायत विवध कार्यक्रमहरू सार्वजनिक गरेको महाशाखा सचिव उपेन्द्र शाहीले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिने १२ दलले पाए यस्ता चुनाव चिन्ह

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ । आज बसेको आयोगको बैठकले १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको निर्वाचन आयोगले जनाएको छ । चुनाव चिन्ह प्राप्त गर्ने राजनीतिक दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन् ।

जनताको अवस्था बदल्न एकताबद्ध भएर अघि बढ्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकसँगै जनताको अवस्था बदल्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएकी छन् । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् । व्यवस्था परिवर्तनका निम्ति एकता भएजस्तै यसको सुदृढीकरण र समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । अहिले राजनीतिक, साहित्यिकलगायत क्षेत्रमा निष्ठाको खडेरी देखिएको उनले उल्लेख गरिन् । निष्ठाको खडेरी चिर्ने चुनौती रहेको उनको भनाइ थियो । मन्त्री शर्माले चेतनाको अन्तरविरोधलाई तोड्दै संविधानले दिएका अधिकारको पूर्ण प्रयोगको अवस्थामा जनतालाई पु¥याउनुपर्ने बताइन् । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । खसानी गोष्ठीपत्र विशेषांक लोकार्पण समेत गरिएको थियो ।

सरकारले सांस्कृतिक गाउँ बनाउन सुरु गरेको छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सरकारले सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताएका छन् । शुक्रबार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सरकारले देशका केही ठाउँहरुमा सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताएका हुन् । उनले एउटा गाउँबाट नेपालको पुरा सांस्कृतिक चित्र देखिने गरी सांस्कृतिक गाउँ बनाउन लागिएको बताए । मन्त्री किरातीले लोकगीत, उखानटुक्का, कथा, मुन्धुम र कैरनहरुमा रहेका कतिपय विषयहरुलाई रेकर्ड गरेर राख्न मौखिक ज्ञान संग्रहालय बनाउन लागेको पनि बताए । त्यस्तै रैथाने विश्वविद्यालयको अवधारणा अघि सारेको उनले बताए । उनले आफूहरु संस्कृति ऐन निर्माणका लागि अगाडी बढेको पनि बताए । मन्त्री किरातीले सांस्कृतिक सम्पदाहरुलाई राष्ट्रको पुँजीमा बदल्नको निम्ति, उत्पादन र उद्योगमा संस्कृतिलाई जोड्नको निम्ति र नेपालको अनुहार एक मञ्चबाट विश्वलाई एक साथ देखाउनको निम्ति माटोको गीत सांस्कृतिक कार्यक्रम गरिएको बताए । उनले संस्कृतिको प्रवर्द्धन गर्न, पर्यटकलाई खुसी पार्न, कलाकारलाई रोजगारी सिर्जना गर्न र सांस्कृतिक संस्थानलाई कामकाजी बनाउन पनि सो कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे । उनले सांस्कृतिक कूटनीतिलाई विस्तार गर्ने उद्देश्यले पनि सो कार्यक्रम गरिएको बताए ।

वरिष्ठ अधिवक्ता डा. आचार्य भन्छन् -‘सुर्तीजन्य पदार्थबारे अदालतको आदेश सहन सकिँदैन’

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले सुर्तीजन्य पदार्थको बिक्री खुलाउने उच्च अदालत पाटनको आदेश सहन नसकिने बताएका छन्। उच्च अदालत पाटनले शुक्रबार सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न काठमाडौँ महानगरपालिकालाई आदेश दिएपछि आचार्यको प्रतिक्रिया आएको हो। ‘अदालतको आदेशमा सहमत हुन सकिएन। महानगरपालिकाको निर्णय सार्वजनिक स्वास्थ्यका दृष्टिकोणले पनि उचित नै थियो’, उनले भनेका छन्, ‘कानूनको पालना सबैले गर्नु पर्छ। तर कानूनको व्याख्या जनहित मै हुनुपर्छ।’ न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले महानगरका नाममा सुर्तीजन्य पदार्थको बिक्री नरोक्न अन्तरिम आदेश जारी गरेको छ। श्रीराम टोबाको उद्योगसहित सुर्तीजन्य पदार्थसम्बन्धी व्यवसायीका पक्षबाट गत मंसिर २६ गते दायर भएको रिटमा यस्तो आदेश आएको हो। काठमाडौं महानगरपालिकाले जारी गरेको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ। महानगरपालिकाले यो व्यवस्था मंसिर २८ देखि कार्यान्वयनमा ल्याएको थियो।

धरौटीमा रिहा भए बालकृष्ण खाँण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण अदालतले तोकेको ३० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका छन् । उच्च अदालत पाटनले बिहीबार पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले मागेको धरौटी बमोजिमको बैंक ग्यारेन्टी बुझाएर खाँण शुक्रबार रिहा भएका हुन । धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि उनलाई सम्पति शुद्धिकरण विभाग लगिएको थियो । विभागमा पनि उनले १५ लाख रुपैयाँ धरौटी बुझाएका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएकोमा अख्तियारले खाँडलाई साधारण तारेखमा छाडेको थियो । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । गत मंसिर १५ गते पाटन उच्च अदालतकै न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि मुद्दा एकल ईजलाशमा गएको थियो ।

काठमाडौँ महानगरपालिकाले २९ औं स्थापना दिवस मनाउँदै, प्रधानमन्त्री प्रमुख अतिथि

काठमाडौँ । सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका स्थापनाको २९ वर्ष बितेको छ । महानगरपालिकाले विभिन्न कार्यक्रम गरी आज आफ्नो २९ औँ स्थापना दिवस मनाउँदै छ । महानगरपालिकाले बिहान ९ बजे देखि सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभा गर्ने गरेको छ । सभालाई प्रमुख अतिथिकाे रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । ‘काठमाडौँको विकास, सेवा तथा समृद्धि हासिल गर्न साथ, सहयोग र समन्वय गर्नुहुने तथा हौसला प्रदान गर्नुहुने सङ्घ, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, सङ्घसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय, आर्थिक, सामाजिक, वित्तीय तथा निजी क्षेत्र, नागरिक समाज, अभियन्ता, महानगरवासी सबैमा हार्दिक आभार प्रकट गर्दछौँ,’ मेयर शाहले भनेका छन् । तत्कालीन सरकारले २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाको रूपमा घोषणा गरेको थियो । महानगरले आफ्नो स्थापनाको त्यही दिनलाई आधार मानेर हरेक वर्ष मङ्सिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो । आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन् । नेपाली कांंग्रेसले आज कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गारउँदै छ । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो बस्दैछ । बैठक आज दिउँसो १२ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ । आज बस्ने बैठकमा आगामी पुस १६ गतेदेखि हुने भनिएको महासमिति बैठकको तयारी, राष्ट्रियसभा निर्वाचन, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भने आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेका थिए ।

राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । यस्तै आयात ३.८ प्रतिशतले घटेको छ भने निर्यात ७.७ तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति रु.१,६९६ अर्ब ७८ करोड र अमेरिकी डलरमा १२ अर्ब ७५ करोड रहेको छ । यसैगरी नेपाल सरकारको खर्च रु.३५५ अर्ब ६३ करोड र राजस्व परिचालन रु.२७६ अर्ब ६४ करोड रहेको बैंकले जनाएको छ । बैंककाअनुसार विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको बैंकको भनाइ छ । यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ ।