सभामुखको गुनासो– ‘बजेट पुगेन’

काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट कम भएको बताएका छन् । सोमबार संसदीय समितिका सभापतिहरूसँग सिंहदरबारमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसद् र संसदीय समितिका बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा.प्रकाशशरण महतले आग्रह गरेको जानकारी गराए । नियमित समयबाहेक बैठक राख्दा अतिरिक्त सुविधा नदिइएको गुनासो कर्मचारीले गरेको उनले सुनाए ।

विगतमा संसद्लाई विभिन्न विदेशी एवं दातृनिकायबाट सहयोग प्राप्त हुने गरेको उनले बताए । पछिल्लो समय सहयोग घट्दै गएको उनले उल्लेख गरे । कतिपय सहयोग नेपालका निम्ति उपयुक्त नभएकाले पनि कम बन्दै गएको उनको भनाइ छ ।

बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको भन्दै उनले सरकारले संसद्लाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

विगतका बैठकमा कर्मचारीलाई अतिरिक्त समयको भत्ता दिन नसकिएको भन्दै उनले यसलाई व्यवस्थित नगरिए संसद् र संसदीय समिति चल्न कठिन रहेको बताए ।

सभामुख घिमिरेले संसदीय समितिहरूमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको पनि बताए । कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न उनले समिति सभापतिहरूलाई निर्देशन दिए ।

त्यस्तै सभामुख घिमिरेले संसदीय समितिहरु क्रियाशील बनाउन सभापतिहरुलाई निर्देशन दिएका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा समितिका सभापतिहरुको संयुक्त बैठकमा प्रमुख सचेतकमार्फत गाउँ पुगेका सांसदहरुलाई बोलाएर समिति क्रियाशील बनाउन निर्देशन दिएका हुन् ।

“विधेयकका काम छिटो गर्नुपर्‍यो । सबै गाउँतिर गएका छन् । निर्वाचन क्षेत्र पूर्वाधारको कुरा के हो । संसद्ले पारित गर्‍यो, अदालतले रोकेको छ,” संयुक्त बैठकमा उठेका विषयहरुका बारेमा जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले भने ।

उनका अनुसार प्रमुख सचेतकमार्फत् सांसदहरु बोलाएर समितिका बैठक छिटो गर्न सभामुखले निर्देशन दिएका थिए ।

बैठकमा सरकारले संसद्लाई बिजनेस नदिएको, बेवास्ता गरेको, अर्थतन्त्र समस्यामा हुँदा पनि बेवास्ता गरेको भन्दै केही सभापतिहरुले आलोचना गरेका थिए ।

गृहजिल्लामै योगेश भट्टराईको गाडी तोडफोड

काठमाडौं । नेकपा (एमाले) सांसद योगेश भट्टराईको गाडी तोडफोड भएको छ । कार्यक्रमका लाागि गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराई जिल्लाको सदरमुकाम फुङलिङमा कार्यक्रम सकेर फर्किने बेला उनको गाडीमाथि ढुङ्गा प्रहार भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल कुमार मगरका अनुसार फुङलिङ बजारनजिकै फर्किने बेला भट्टराईको गाडीमाथि ढुङ्गा प्रहार भएको हो । उनी सवार गाडीको सिसा फुटेको छ । ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानले कोसी प्रदेश पहिचानवादी समूहले ढुङ्गा प्रहार गरेको देखाएको छ ।

चेतना नभएका मुर्खहरूले राजतन्त्र मान्छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले हेर्दाहेर्दै वाक्क भएर राजतन्त्र अन्त्य गरेको भन्दै अब राजतन्त्र फर्किने कल्पना गर्न नहुने बताएका छन्। शुक्रबार भ्रातृ संगठन युवा संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले चेतना नभएका मुर्खहरूले मात्रै राजतन्त्रको कुरा गर्ने बताएका हुन्। ‘हेर्दाहेर्दा वाक्क दिक्क भएर जनताले यो काम लाग्ने चिज रहेनछ भनेर राजतन्त्र फ्याँकेका हुन्। अहिले त्यही राजतन्त्र भनेर एकाथरी सडकमा छन्। चेतना नै नभएका मुर्खले राजतन्त्र मान्छन्,’ उनले भने, ‘नागरिक सर्वोच्चता स्वीकार्न नसक्ने ? त्यो त चेतना हैन, मुर्खता हो।’ उनले एकाथरी मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर लागेको भन्दै युवा संघ त्यसविरूद्ध सडकमा आएको भन्दै धन्यवाद दिए।

गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा

देउखुरी। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बर्तमान गणतान्त्रिक व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छिन्। नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य शर्माले गणतन्त्र जनताकै शासन व्यवस्था भएकाले कसैले गल्ती गरे ढिलोचाँडो सजायको भागेदार हुने प्रष्ट पारिन्। उनले भनिन्, “कसै कसैलाई यो गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने लागेको होला, जोकोेहीले पनि गल्ती गरेको प्रमाणित भए सजाय भोग्नुपर्छ भन्ने प्रमाणित भइसकेको छ, बरु यहाँ नेतृत्वलाई पनि प्रश्न उठाउन पाइन्छ, पाइएको छ ।” सरकारको प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले बर्तमान सरकारले प्रतिकुलतामा पनि धेरै महत्वपूर्ण काम गरेर गणतन्त्र र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नमूना काम हुन सक्छन् भन्ने छाप छोडन सकेको बताइन् । मिटरव्याजलाई कानुन विपरितको काम मान्नेगरी कानुन वनाएर कार्यान्वयन गर्ने काम भइरहेको भन्दै सहकारीपीडित र लघुवित्त पीडितको विषयमा पनि सरकारले योजना वनाएर काम गरिहेको स्मरण गराइन् ।

प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्रीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीबीच शिष्टाचार भेट भएको छ । नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आएका अल–मुखैरीले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगि प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध बिस्तारबारे छलफल भएको छ । साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।

कतारका विदेश राज्यमन्त्रीद्धारा विपीन जोशीको रिहाइमा सहयोग गर्ने आश्वासन

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीले परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । नेपालको दुई दिने भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका उनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा साउदसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशका मन्त्रीबीच रोजगारी, व्यापार तथा लगानी, विकास सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत साझा हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइ गर्ने सम्झौतामा पुग्न कतारले खेलेको मध्यस्थताको भूमिकाको प्रशंसा गरेका थिए । परराष्ट्रमन्त्री साउदले हमासले बन्धक बनाएका नेपाली नागरिक विपीन जोशीलाई छिट्टै रिहा गर्न कतारसँग आग्रह गरेका थिए । विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीलाई यथाशीघ्र रिहाइका लागि सहयोग गर्ने आश्वासन दिएका छन् ।

नियन्त्रणमा रहेका १३ जना बन्दी हमासले शुक्रबार रिहा गर्ने

काठमाडौं । हमासको नियन्त्रणमा रहेकामध्ये १३ जना बन्धक शुक्रबार रिहा हुने भएका छन् । उनीहरूलाई स्थानीय समयअनुसार अपराह्न ४ बजे रिहा गर्ने कतारले जनाएको छ । कतारले इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । रिहाइ हुने बन्दीबारे कुनै जानकारी दिइएको छैन । तर, उनीहरू महिला र बालबालिका हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । बन्धकलाई सुरक्षितरूपमा गन्तव्य देशमा पुर्‍याउन रेडक्रसलाई हस्तान्तरण गरिने छ । कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेबाट हुने छ । चारदिने युद्धविरामका क्रममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । अर्कोतर्फ इजरायलले १५० जना प्यालेस्टाइनीलाई रिहा गर्ने छ । बीबीसीबाट ।

स्वीजरल्याण्ड सरकारको ६५ करोड अनुदान स्वीकृत गर्ने

काठमाडौं । नेपाल सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिए। यसैगरी, बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति (रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प.द्वितीय श्रेणी उपसचिव (राजस्व), प्रहरी नायब उपरीक्षक र रा.प.तृतीय डाटा एनाइलाइटिस्ट) थप गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री शर्माले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने र ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको बताए ।

बल्खुमा फेरी तनाव : प्रहरीमाथि हातपातमा उत्रेछि दुर्गा समर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसलगत्तै केही प्रदर्शनकारीले प्रहरीमाथि जाइलागेपछि प्रहरीले लाठिचार्ज गरेको हो । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

माओवादीसँगको एकता गर्न बाबुरामको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौं । नेपाल समाजवादी पार्टी ले नेकपा माओवादी केन्द्रसँग एकताका लागि अध्यक्ष डा.बाबुराम भट्टराईको संयोजगत्वमा संयोजन समिति बनाउने निर्णय गरेको छ। बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले माओवादी लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता÷ध्रुवीकरण ५ सदस्यीय समिति बनाएको हो। समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य छन्। माओवादीसँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नाम, झण्डा, विधान लगायतका विषय टुंगिए पनि विचार र सिद्धान्तका विषयमा भने निर्णय नभइसकेकाले अध्यक्ष भट्टराईकै संयोजगत्वमा समिति बनाएको नेसपाले जनाएको छ। त्यस्तै, बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय पनि गरेको छ। सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने, मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने, वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने लगायतका निर्णय भएको नेसपाले बताएको छ।

नागरिक अगुवाहरूको उद्घोष गणतन्त्रको रक्षार्थ जस्तोसुकै मूल्य चुकाउन तयार छौँ

काठमाडौं । राजनीतिक दल र नागरिक समाजका अगुवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल संव्त समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममालाई सम्बोधन गर्दै नागरिक अगुवाहरूले सो कुरा बताएका हुन् । सभामा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले भने, ‘‘नेपालले उत्कृष्ट संविधान पाएको छ। तपाईहरू सबैलाई थाहा छ– नेपाली जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्था हामीले नै ल्याएको छ। यही व्यवस्थाले विद्यादेवी भण्डारी, डा. रामवरण यादवहरूलाई राष्ट्रपति बनायो। राज्यका हरेक क्षेत्रमा महिलाहरूको राम्रो नेतृत्व छ। सामाजिक न्यायको अभ्यास भएको छ। यस्तो व्यवस्था संसारका कुन मुलुकमा छ ? हाम्रो संविधान संसारकै प्रगतिशीलमध्ये एक छ। त्यसैले यसको रक्षाका निम्ति हामीले जस्तासुकै मूल्य चुकाउन तयार छौं।’’ कार्यक्रममा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था अरू हुन नसक्नेमा जोड दिँदै त्यसको रक्षार्थ दृढतापूर्वक अगाडि बढ्ने बताए । अर्का वक्ता जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बहुदलीय लोकतान्त्रिक व्यवस्थाले मात्रै सबै भाषा, जाति, संस्कृतिको रक्षा गर्नसक्ने बताए। उनले भने, ‘‘बहुदलीय लोकतान्त्रिक गणतन्त्रले नै सबैको विचार र भावनाको प्रतिनिधित्व गर्न सक्छ। हाम्रो प्रधानमन्त्रीले सबै दल र भावनाको नेतृत्व गरिरहनुभएको छ। यस्तो प्रतिकूल समयमा पनि नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लिनु सामान्य कुरा होइन।’’ नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठले गणतन्त्रको विरोध गर्नेहरूलाई हिजोका दिन सम्झिन आग्रह गरे। उनले भने, ‘‘गणतन्त्रको विरोध गर्नेहरूलाई म प्रश्न गर्न चाहन्छु– के हिजोको राजतन्त्र ठीक थियो त रु हिजोको राजतन्त्रले गरेको निर्मम दमन र अत्याचार भुल्न सकिँदैन। यो व्यवस्थाको विरोध गर्नेहरूका विरूद्ध दृढतापूर्वक उभिन्छौं।’’ नागरिक अगुवा मल्ल के.सुन्दरले राजाको शासनकालमा नेपाल संवत् मनाउँदासमेत नेवार समुदायमाथि निर्मम दमन गरिएको स्मरण गरे। उनले भने ‘‘विविधतायुक्त नेपालमा एकदलीय, एक वंशको शासन कसरी सही हुन सक्छ, यसलाई मान्न सकिँदैन। राजतन्त्र र पञ्चायतले कहिल्यै पनि जनताको पक्षमा काम गरेन। फेरि त्यही व्यवस्थाको वकालत गर्नेहरूलाई हामीले फेरि जवाफ दिनुपर्छ र दिन्छौं।’’

नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिद्धारा प्रधानमन्त्री प्रचण्डलाई सम्मान

काठमाडौं । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । शङ्खधर दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री प्रचण्डलाई सम्मानपत्र प्रदान गरे । उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीलाई समितिले दही सगुन र बेत्ता (फेता) समेत प्रदान गरेको थियो । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री प्रचण्डलाई सम्मानपत्र प्रदान गर्दै । सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट उक्त ऐतिहसिक निर्णय गराएकामा प्रधानमन्त्री प्रचण्डसहित मन्त्रिपरिषद्लाई समितिले बधाई ज्ञापनसमेत गरेको छ । रासस

टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश अस्विकार

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश विनोद शर्माको ईजलासले टीकटक बन्द गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै दायर भएको निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । यस्तै, ईजलासले उक्त रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा कारण देखा आदेश गरेको छ । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदातमा १० वटा रिट परेको थियो । सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएको थियो ।

महेश बस्नेत र दुर्गा प्रसाईंले माइतीघरमा कार्यक्रम गर्न नपाउने

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंर्ले माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए। पछिल्लो समय खुलमखुल्ला रुपमा एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि सम्भावित झड्पलाई मध्यनजर गर्दै प्रशासन सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न दुवै पक्षलाई रोक लगाउने निर्णयमा पुग्न लागेको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने भएको हो । प्रसाईंले कम्बोडियामा लगानी छ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंसँग रुष्ट छ। प्रसाईंलाई काठमाडौँमा एक कार्यक्रममा मोसो समेत दलिएको थियो। आफूलाई एमाले नेता महेश बस्नेतको योजना मोसो दलिएको भन्दै महेश वस्नेत र केपी ओलीविरुद्ध खनिदै आएका छन् ।भने केपी ओली र महेश वस्नेत पनि प्रसाईं विरुद्ध अभिव्यक्ति दिंदै आएका छन् ।

टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ आजबाट

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरेका छन् । सरकारले सामाजिक सद्भाव बिगारेको भनेर नकारात्मक कुरालाई मात्र व्याख्या गरेर बन्द गराउनु गलत भएको निवेदकहरूको तर्क छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

नेकपा एमालेको विशेष बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको विशेष बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको छ । समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा छलफल गर्न विशेष बैठक बोलाएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ । एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले यही मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ।