एमालेले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै

काठमाडौं । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

यसअघि एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना तयारी गरे पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई मध्यनजर गर्दै कार्यक्रम एक दिन पछि सारिएको थियो ।

गुटरेसँगको भेटमा ओलीले गरे जनयुद्ध दिवस मनाएको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरससँगको भेटमा सरकारले जनयुद्ध दिवस मनाउन गरेको निर्णयको विरोध गरेका छन् । उनले भेटमा जनयुद्ध दिवस मनाएर प्रधानमन्त्री प्रचण्डले कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज बनाएको आरोप लगाए । आइतवार संघीय संसद भवनमा संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरससँगको भेटमा ओलीले प्रधानमन्त्री प्रचण्डले हिंसात्मक गतिविधिलाई बढावा दिएकाले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज बनेको बताए। माओवादी युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री प्रचण्डको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुतेरससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। यता, महासचिव गुतेरसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए। ओलीले महासचिव गुतेरससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रिया छिटो टुंगोमा पुर्‍याउन सक्दो सहयोग गर्ने बताएका थिए। बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुतेरसलाई बताएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए। उपमहासचिव ज्ञवालीले भने, ‘शुरुमै महासचिव महामहिमज्युले नेपालप्रतिको आफ्नो लगावका केही सन्दर्भहरु उठाउनु भयो। भूटानी शरणार्थी समस्या समाधानमा यसभन्दा अघि पनि आएको कुरा जानकारी गराउँदै खास गरेर नेपालको मौलिक ढंगको शान्ति प्रक्रिया, जो सफल भएको छ। त्यो कुरा नेपालले संयुक्त राष्ट्र संघको शान्ति मिशनमा गरेको असाधारण योगदान र शान्तिका प्रणेता गौतम बुद्धको थलो भएको कारणले पनि नेपालप्रति आफ्नो विशेष माया रहेको छ र मेरा ३ एजेण्डा रहेका छन्। खास गरेर नेपालीले जलवायु परिवर्तनका कारण जुन पीडा भोग्नु परेको छ‚ यसलाई म नजिकबाट हेर्न चाहन्छु। र, यसलाई एउटा एजेण्डा बनाएर अगाडि बढाउन चाहन्छु भनेर महासचिवले भन्नु भयो।’ गुतेरसले राष्ट्रसंघ नेपालको साथमा रहेको बताएको जानकारी ज्ञवालीले दिए। ‘दोस्रो, नेपाल अल्पविकसित अवस्थाबाट ग्राजुयट हुँदै गर्दा हामी नेपालको साथमा छौं। र, तेस्रो शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने म चाहन्छु महासचिव गुतेरसले बताउनु भयो‚’ ज्ञवालीले भने‚ ‘हाम्रो तर्फबाट हाम्रो पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनु हुँदैन। त्यो पीडितहरुलाई ध्यान राखेर समाधान गरिनुपर्छ। हामी त्यसलाई छिटो भन्दा छिटो टुंग्याउन चाहन्छौं तर प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो र आज प्रधानमन्त्री हुनुहुन्छ‚ उहाँले नै यी सबै विषयहरु टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमामण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ। खास गरेर युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मान्यता दिनाले पीडितहरु चिन्तामा छन्। हामीले चाहीँ शान्ति प्रक्रिया टुंग्याउँदा गम्भीर अपराधमा आममाफी हुन नहुने, यसमा हाम्रा अन्तरराष्ट्रिय कमिटमेन्टहरुलाई पनि ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको आदेशलाई समेत ध्यानमा राखेर त्यो विषय छिटोभन्दा छिटो टुंगियोस् भन्ने चाहन्छौं। र, प्रतिपक्षले हैसियतले हाम्रो यसमा सहयोग रहन्छ भन्नुभएको छ। लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सहयोगको अपेक्षा गर्नु भयो र राष्ट्र संघलाई अझ बलियो, अझ प्रभावकारी भएको, खासगरी विकासशील देशहरुको एउटा बलियो अभिभावक बनेको देख्न चाहन्छौं भन्नुभयो।’

राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने

काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालद्वारा शनिबार यहाँ जारी सूचनामा उल्लेख छ । यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन्। चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११ः३० बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका हुन् । श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो। पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा भएको आकस्मिक शल्यक्रिया र पाँच दिनसम्मको उपचारपछि उनीको स्वास्थ्य अवस्था सामान्य बनेको छ। तर चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएका छन्।

प्रधानमन्त्री प्रचण्ड बिहीबार रुकुमपश्चिम जाने

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुमपश्चिम जाने भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका –६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम जाने भएका हुन् । मेला आयोजक समितिका अध्यक्ष हरिबहादुर खत्रीका अनुसार सहिदहरुको सम्झनामा लाग्दै आइरहेको मेला उद्घाटनका लागि प्रधानमन्त्री आउने पक्का भएको हो । उक्त मेला २०५७ सालदेखि लाग्दैआएको छ । मेलाको अवसरमा खुला स्वच्छ वडास्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता, पुरुष ब्याडमिन्टन प्रतियोगिता र लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ । यसका साथै स्थानीय झाँकी, मयुर नाच, सिंगारु नाच प्रदर्शनीका साथै स्थानीय कलाकारको समेत मेलामा प्रस्तुति रहने मेला आयोजक समितिका संंयोजक खत्रीले जानकारी दिए। मेलाको उद्घाटनसँगै उनी नेकपा (माओवादी केन्द्र) को तीनमहिने विशेष रूपान्तरण अभियानको कार्यक्रमका लागि समेत रुकुमपश्चिम जान लागेका हुन् । माओवादी केन्द्र रुकुमपश्चिमका जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’ का अनुसार रुपान्तरण अभियानका लागि ७ प्रदेशका ७ वडामा पुग्ने प्रधानमन्त्रीको कार्यक्रम थियो । सोही कार्यक्रम अन्तर्गत पार्टी अध्यक्ष प्रचण्ड कर्णाली प्रदेशको रुकुमपश्चिम बाँफिकोट गाउँपालिका वडा ६ मा जान लागेका हुन्। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड बाँफिकोट गाउँपालिका वडा ६ र ७ को संयुक्त वडा समिति बैठकमा सहभागी हुने संयोजक रोकाले बताए । बैठकमा उनले रिपोर्टिङ सुन्नुका साथै पार्टी नेताकार्यकर्तालाई निर्देशन दिने छन् । सोही अवसरमा उनले सहिद परिवार तथा घाइते अपाङ्गहरूसँग भेटघाट गर्नेछन्। बिहीबार बिहान हेलिकप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आइपुग्ने र भोलि नै फर्किने कार्यक्रम छ ।

गृहमन्त्री श्रेष्ठ नेपाल फर्किदै

काठमाडौं । सोमबार डिस्चार्ज भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज नेपाल फर्किदै छन् । उपप्रधानमन्त्री श्रेष्ठ कात्तिक ८ गते (आज) बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उनको उपचार बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा भएको थियो । उनी पाँच दिनको उपचार पश्चात डिस्चार्ज भएका थिए । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन बिएफआरमा सहभागी हुन बेइजिङ पुगेका बेला श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो । उनको छातीमा स्टेन्ट राखिएको छ। अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरेका छन् ।

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा रुपक सापकोटा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र मामिला सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेकाे हाे । सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन्। यसअघि उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक थिए। त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका सापकोट त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि काम गर्दै आएका छन्। उनी अन्तर्राष्ट्रिय सम्बन्ध,भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका विषयका हुन्।

एनआरएनएमा विवाद : अनलाईन भोटिङ डा.बद्री केसीले गोलमाल गरेको दुई समुहको आरोप

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी नतिजा आएसंगै दुई समुहले चुनावी मतपरिणाम नमान्ने घोषणा गरेसंगै फेरि पुनः विवादको भुमरीमा फसेको छ। निर्वाचन समितिले अध्यक्ष पदमा डा.बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको हो । होटल सोल्टीमा भएको मतदानमा उपाध्यक्षका उम्मेदावार डा.केसव पौडेलको आएसंगै विवाद सुरु भएको छ। जित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् । डा। बद्रि केसि समुहले अनलाइन सिस्टममा गोलमाल गरेर नतिजा प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । सोल्टी होटलमा पत्रकार सम्मेलन गरेर मतपरिणा अस्वीकार गर्ने र अब कानुनी प्रक्रियामा जाने बताएका छन् । राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाईसमर्थन गरेकी थिइन् । ५९ देशका ४ हजार २ सयजनाले मतदान गरेका थिए ।

कोसीमा मुख्यमन्त्री कार्कीलाई राप्रपा बाहेक सबैको मत

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।‌ प्रदेशसभाको बुधबार बसेको बैठकबाट कार्कीले विश्वासको मत प्राप्त गरेका हुन् । कार्कीले पक्षमा ८६ मत प्राप्त गरे ।‌ मत विभाजनमा ९१ सांसद उपस्थित थिए । राप्रपकाका सांसदले भने कार्कीको पक्षमा मत दिएनन् ।‌ कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का सांसदले पक्षमा मतदान गरे । बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गरेकी थिइन् ।‌ कोसी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव पेस गर्दै कार्कीले प्रदेशको जटिल राजनीतिक अवस्थाबीच आफूले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको बताए । उनले भने, “मध्यावधि निर्वाचन रोक्न र प्रदेशमा स्थिरता कायम गराउन सरकारको प्रमुख भूमिका रहने छ । हामी त्यसमा सक्रिय हुनेछौँ ।” कार्कीले प्रदेशको विषयमा उठेका आशा र प्रश्नहरुको उचित सम्बोधन गर्न प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।

चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैं तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उनले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएको हो। “ कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्षदिनभर राम्रो काम गरेपनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यसकारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ” मन्त्री बस्नेतले भने “पूर्णरूपमा जिम्मेवार भएर काम गर्नुस् ।”चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दाबढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै उनले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउनसमेत सुझाव दिए । चाडपर्वमा उद्योग प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने प्राधिकरणका कर्मचारीले जानकारी दिएपछि मन्त्री बस्नेतले भने “सकेसम्म बिजुली खेर जान नदिनुस् ।” उनले प्राधिकरणका नो लाइट सेन्टरलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने वित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुर्त टोली व्यवस्थापन गर्न आग्रह गरे। मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत रहेका छन् । सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिए । उनले जिम्मेवार र चनाखो भएर सामान्य समयभन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताए। उनले चाडपर्वको समयमा आफैँ नियमित वितरण केन्द्रको अनुगमन र निरीक्षणका लागि निस्कने जानकारी गराउँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गरिने बताए। चडपर्वको समयमा उद्योग प्रतिष्ठानमा पनि कम क्षमतामा विद्युत उपभोग हुने भएकाले बिजुलीको माग कम हुँदा केही बिजुली खेर जाने अवस्था रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । “सकेसम्म बिजुली खेर जान नदिन हामीले प्रयास गरेका छौँ । खेर जानसक्ने बिजुली भारतीय बजारमा पठाउने तयारी पनि छ तर अन्तिम सहमति आइसकेको छैन” उनले भने । प्राधिकरणले थप एक सय मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्ने तयारी गरेको छ । त्यसका लागि अनुमति आउन बाँकी छ । कार्यकारी निर्देशक घिसिङले सकेसम्म कुनै पनि स्थानमा समस्या आउन नदिने गरी प्राविधिक तयारी गरिएको जानकारी दिँदै देशैभरका कर्मचारीलाई चाडपर्व भनेर छुट नदिइएको बताए । सो अवसरमा उपकार्यकारी निर्देशक सिलवाल, भार प्रेषण केन्द्रका प्रमुख भट्टराईले प्राधिकरणले गरेको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । रासस

कोशीमा विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की (प्रत्यक्ष प्रसारण)

विराटनगर । अहिले प्रदेश सभा बैठक जारी छ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले विश्वासको मत दिने भएका छन्। एमालेका ३९ जना सांसदको समर्थनका कांग्रेसका कार्की मुख्यमन्त्री बनेका हुन्। उनलाई कांग्रेसका ७ जना सांसदले पनि समर्थन गरेका थिए। कार्कीले मुख्यमन्त्रीको शपथ लिएको दिन एमालेबाट पनि एक जना मन्त्री बनेका थिए। आफ्नो समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले विश्वासको मत दिन लागेको हो।

ओलीलाई रविको कटाक्ष- ‘राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिने भोटर कस्ता ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन् । सोमबार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरूलाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इन्डिकेटरलाई रेडमा पुर्‍याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने ? तपाईंकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहीँ कस्ता? भन्ने प्रश्न गरे । सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।

प्रेस सेन्टरले गर्यो शुभकामना तथा चियापना कार्यक्रम

धनन्जय बुढा , काठमाडौं । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले दसैंलगायतका पर्वहरुको अवशरमा शुभकामना दिदै आफ्नो संगठन पत्रकार महासंघको शुद्धीकरण अभियानमा कोही कतैबाट पनि भाँजो हाल्ने काम नगरियोस् भनेर आग्रह गरेका छन् । सोमबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा प्रेस सेन्टर प्रतिष्ठान प्रदेश समितीलेद्वारा आयोजित दसैं,तिहार र छटको शुभ अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सापकोटाले शुद्धीकरण अभियानमा आफ्नो संगठन चट्टान भएर उभिरहेको र त्यसका विरोधीहरुको सबैले श्रमजीवीहरुले प्रतिबाद गर्नुपर्ने धारणासमेत राखेका छन् । सापकोटाले पछिल्लो समयमा महासंघको शुद्धीकरण अभियान बारे केही व्यक्तिहरुबाट गलत र भ्रामक धारणाहरु सामाजिक सञ्जालामा आएको र त्यसप्रति आफ्नो संगठनको आपत्ति रहेकोसमेत प्रष्ट पारर्दै भने,“हरेक प्रेस सेन्टरकर्मीले त्यस्ता विषयको भण्डाफोर गर्ने र सतर्क पनि बन्न जरुरी छ ।” शुद्धीकरण अभियानले वास्तविक र श्रमजीवी पत्रकारहरूलाई फाईदा हुनेभएकोले गैरपत्रकार अनि गलत मानसिकताका व्यक्तिहरु अहिले अत्तालिएको जिकीर गरेका छन् । त्यसैगरी संगठनका उपाध्यक्ष निर्मल ज्ञावालीले नेपालीहरुका विभिन्न धर्म,संस्कृति र समुदायले मनाउने सबै किसिमका चाडपर्वहरुमा प्रेस सेन्टरको सम्मान भाव रहेको र तिनलाई संस्कृतिक पर्वहरुकारुपमा अंगिकार गरेर एकाकार हुनुपर्ने धारणा राखे । अर्का उपाध्यक्ष विदुर खड्काले हरेक नेपालीले आफ्नो धर्मसंस्कृतिको सम्मान र गलत प्रथारुलाई परिमार्जित गर्दै लानु पर्ने र प्रेस सेन्टरले पनि त्यसमा साथ दिनु पर्ने धारणा राखे । संगठनका महासचिव सन्तोस पौडेलले चियापान तथा शुभकामना कार्यक्रम आयोजक र उपस्थित सबैलाई शुभकामना व्यक्त गर्दे गाउँगाउँमा गएर चडलाई अवसर बनाउँदै माउपार्टीको अभियानमा साथ दिन निर्देशन दिए । महासचिव पौडेलल महासंघको सदस्यता शद्धीकरण प्रक्रिया मुलत प्रेस सेन्टरको जोडबल रहेकाले त्यसलाई कुनै पनि हालतमा सफल पार्नु पर्ने र स्वामित्व लिनुपर्ने धारणा राख्दै सबै प्रेससेन्टर कर्मीलाई सफल पार्न निर्देशनसमेत दिए । उपमहासचिव रामकृष्ण अधिकारीले महासंघको शुद्धीकरण अभियमानमा गलत मनसायका व्यक्तिहरुले त्यस विरोधी धारणा संस्थागत तरिकाले भ्रम फैलाउन कोशिष गरिरहेको जानकारी दिदै, त्यसको प्रेस सेन्टरले प्रतिबाद गर्नुपर्नेमा जोड दिए । अधिकारीले महासंघको सुर्खेत, लुम्बीनीहुँदै,केन्द्रीय समितीको बैठकसम्मले शुद्धीकरणको नीतिलाई सर्बसम्मतिले पास गरेकाले त्यसमा कसैले चाहेर पनि भाँजो हाल्न नसक्ने बताए । सचिव केशव भूलले महासंघका विभिन्न कमिटीहरुमा हुनथालेको शुद्धीकरण विरोधी आवाज बढ्न थालेकोले बेलेमा सतर्क हुनुपर्ने बताए ।संगठन केन्द्रीय सह–कोषाध्यक्ष बुद्ध लोप्चनले पत्रकार महासंघ शुद्धीकरण अभयानले आफ्नो संगठन सफल भएको बताए । उपस्थित सम्पूर्ण केन्द्रीय सदस्यहरुले माउ पर्टीले नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारले गरेका ऐतिहासिक कार्य र पार्टीले चलाएको ३ महिने अभियानको बारे सबैले सकेजति प्रचार प्रसार गर्नु पर्ने धारणा राखेका थिए । प्रतिष्ठान प्रदेश अध्यक्ष वीरेन्द्र ओलीले सभाअध्यक्षतामा सम्मपन्न भएको सो कार्यक्रमलाई उपाध्यक्ष रघुनाथ बजगाईले स्वागत गरेका थिए भने महासचिव तुल्ससी सापकाटाले सञ्चालन गरेकी थिइन् ।

ढुक्क हुनुस् एनआरएनको निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताएका छन् । माओवादी केन्द्र प्रवास समन्वय समितिले सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको अन्तरक्रियामा उनले ढुक्क भएर चुनावी प्रतिस्पर्धामा लाग्न आग्रह गरे । निर्वाचनमा सर्वसम्मत उम्मेदवार बनाउन गठबन्धनबाट पहल जारी रहेको पनि उनले जानकारी दिए । प्रचण्डले स्वच्छ प्रतिस्पर्धाबाट यो पटक मध्यपूर्वले नेतृत्वमा पाउने विश्वास व्यक्त गर्दै एकताबद्ध र दृढतापूर्वक काममा लाग्न निर्देशन दिए । ‘स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध छ । निश्चिन्त भएर चुनावी प्रतिस्पर्धामा लाग्न म आग्रह गर्छु । सर्वसम्मत गराउने विषयमा छलफल अन्तिम समयसम्म जारी रहन्छ’, उनले भने । गैरआवासीय नेपालीहरूको नागरिकताको समस्या समाधान अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कामको सुरुवात प्रवासी नेपालीबाट भएको र त्यसलाई अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू र स्वरोजगारमा रहेका श्रमिकहरूलाई कोषमा आबद्ध गर्ने कुरा भइरहेका उनले बताए । अर्को निर्वाचनमा प्रवासी नेपालीले समेत मतदान गर्न पाउने गरी सरकारले प्रक्रिया अगाडि बढाएको उनले जिकिर गरे । सोही अनुसार निर्वाचन आयोगले विभिन्न ठाउँमा पुगेर अध्ययन गरिरहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्यायको पक्षमा प्रक्रिया सरकारले अगाडि बढाएकाले राम्रो कामको प्रचार गर्न आग्रह गरे । यसैगरी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देशको समृद्धिका लागि योगदान दिन गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । यसैगरी प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले सर्वसम्मत नेतृत्वका लागि प्रधानमन्त्री तहबाटै पहल गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा अध्यक्ष ओम शर्मासहित प्रवास समन्वय समितिका पदाधिकारी र एनआरएनएका उम्मेदवार तथा अभियन्ताहरू सहभागी थिए । एनआरएनको ११ औँ महाधिवेशनमा राजेन्द्रकुमार (आरके) शर्मासहित डा.बद्री केसी र महेशकुमार श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रम प्रचण्डद्धारा घोडाघोडी बहुमुखी क्याम्पसको भवन शिलान्यास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन् । सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६० /०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुने छ । समाजवादी मोर्चाको धनगढि सभालाई सम्बोधन गर्न सुदुरपश्चिम पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी जनाएका हुन् ।

त्रिदेशीय टि-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टि-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। नेपाल, युएई र हङकङबीच हुने त्रिदेशीय टि-२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। त्रिदेशीय टि-२० सिरिज खेल्ने टोलीमा सन्दीप लामिछानेको नाम उल्लेख छैन। उनले यसअघि नै राष्ट्रिय टिमबाट नाम आफ्नो नाम फिर्ता लिएका थिए। त्रिदेशीय टि-२० खेल्ने टोलीमा रोहित शर्मा, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्। कात्तिक १ गतेदेखि सुरू हुने सिरिजको पहिलो खेल कात्तिक १ गते युएईसँग र दोस्रो खेल कात्तिक ३ गते हङकङसँग खेल्नेछ। सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।