कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुमबाराहीमा आज दिउँसो ४ बजेका लागि बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यही साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठका निर्णय तयार पार्नका लागि बैठक बोलाइएको हो । पदाधिकारी बैठक अघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्ने छन् ।

आज तयार पारिने निर्णयका आधारमा सभापति देउवाले भोलि बस्ने केन्द्रीय समिति बैठकमा आफूमाथि उठाइएका प्रश्नको जवाफसहित सम्बोधन गर्नेछन् । केन्द्रीय समिति बैठक भोलि दिउँसो ४ बजेका लागि बोलाइएको छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ ।

राप्रपाको केन्द्रीय समिति वैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक, साङ्गठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरु प्रस्तुत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको साङ्गठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी र सातै प्रदेशका अध्यक्षको प्रादेशिक प्रतिवेदन बैठकमा प्रस्तुत भएका हुन् । सोमबारदेखि काठमाडौँमा शुरु भएको बैठकमा अध्यक्षबाट प्रस्तु राजनीतिक प्रतिवेदनमा नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा सदस्यले जोड दिएका छन् । राजसंस्था, हिन्दूराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नु पर्ने लागयत सुझाव दिएका छन् । प्रतिवेदनमा पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवद्र्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दूराष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूबाट आउने सुझावका आधारमा जेठ ३ गते आगामी कार्यदिशा तय गर्नका लागि महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आज सुरु हुँदैछ । धुम्बाराही, काठमाडौँमा आज सुरु हुने केन्द्रीय समिति बैठक तीन दिनसम्म चल्नेछ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिपोर्टिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ । अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्य योजना र कार्यदिशाका बारेमा आफ्नो धारणा बनाउने जनाइएको छ । गत वैशाख ३०– ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै बैठक सारिएको थियो ।

यी हुन् एमाले बैठकका निर्णय (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।सूचना पाएर पनि लगातार तीनवटा पार्टी बैठकमा उपस्थित नहुने सदस्यलाई कमिटीबाटै हटाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले लगातार तीन बैठकमा उपस्थित नहुने सदस्यलाई हटाउने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए । ठूलो कमिटीलाई छरितो बनाउनका लागि पदाधिकारीबाहेकको नयाँ सदस्य नथप्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

झापामा तय भएको एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौं सर्‍यो

काठमाडौं । नेकपा एमालेले झापाको दमकमा तय गरेको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सारेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बिहीबारबाट सुरु हुने बैठक काठमाडौंमा सारिएको बताए । एमालेले पार्टीको दोस्रो बैठक झापामा बस्ने एमालेले सूचना जारी गरेको थियो । तर बैठक सुरु हुन केही दिन बाँकी छँदा बैठक स्थल सारिएको हो ।

राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा पोखरेल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले पोखरेललाई आज आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । पोखरेल नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् । राष्ट्रपति पौडेलले यसअघि राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी पौडेल, प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे र कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिसकेका छन् ।

समाजवादीका वरिष्ठ नेता न्यौपानेद्वारा पार्टी परित्याग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तेस्रो वरियताका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । नेता  न्यौपानेले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। उनले पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै पार्टीको साधारण सदस्य समेत नरहेको बताए । पत्रकार सम्मेलनमा उनले  भविष्य नभएको पार्टीमा बस्नुभन्दा सम्मानित नागरिक भएर बस्नु ठीक भएको बताए । उनले माघ २०७९ मा बसेको केन्द्रीय समितिको बैठकमा आफूले राखेको फरक मतबारे कुनै छलफल नभएको बताए । उनले देशभरका नेता कार्यकर्ता समेटेर नेकपा एमालेमा समाहित हुने जानकारी दिए।

व्यक्तिगत स्वार्थ त्यागेर देशको आवश्यकतामा जोड दिनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले व्यक्तिगत स्वार्थलाई त्यागेर देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्नु पर्नेमा जोड दिएका छन् । लायन्स क्लबको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताए । सभामुख घिमिरेले वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न, भूकम्पका बेला पनि राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता :औपचारिक घोषणा जनसभासहित गरिने

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ। दुवै पार्टीका नेताहरुले आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् । एकताको औपचारिक घोषणा भने आगामी मजदुर दिवसको दिन जनसभासहित गरिने भएको छ । पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६–६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो। समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सिपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका थिए भने नेकपा बहुमतबाट संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका थिए। बास्तोला नेतृत्वको नेकपा बहुमत केही समयअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट अलग भएको हो। कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुनः एक ठाउँमा आएका हुन्। विप्लवबाट पार्टी विभाजन गरेर बास्तोलाले छुट्टै पार्टी बनाएपछि अहिले वैद्यसँग एकता गरेका हुन्।

विप्लवसहित चार कम्युनिस्ट पार्टी छलफलमा,जनयुद्ध दिवस सँगै मनाउने

काठमाडौं। संसद् बाहिर भएका चार कम्युनिस्ट पार्टीहरूले एकताबद्ध भएर जाने विषयमा छलफल गरेका छन् । शुक्रवार काठमाडौंमा भेट भई चार पार्टी मोर्चा बन्दी गरेर जाने विषयमा छलफल गरेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढामगर नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीहरू माओवाद मान्नेहरू एक भएर जाने विषयमा छलफल गरेका हुन् । माओवादी पृष्ठभूमि भएका र माओवाद मान्नेहरू एक ठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । चार पार्टीका नेताहरु आगामी फागुन १ गते जनयुद्ध दिवस सँगै मनाउने विषयमा समेत सहमत भएका छन् ।

वाम एकताको विकल्प छैन, नेकपा एस छिट्टै सरकारमा समेटिन्छ : देव गुरुङ

रुपन्देही । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने प्रक्रियामा लाग्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार रुपन्देहीको भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दीर्घकालीनरूपमा वामपन्थी एक नभए प्राप्त उपलब्धि गुम्दै जाने बताए । सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्नेमा गुरुङको जोड थियो । ‘सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य हुनुपर्छ, नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं ’, उनले भने । मुलुकको स्वाधीनताको रक्षा विगतका नेतृत्वबाट सम्भव नदेखिएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाइएको उनको दाबी छ । पूर्वमन्त्रीसमेत रहेका गुरुङले विगतको नेतृत्वबाट संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनस्स्थापनामा सफल भए पनि राष्ट्रिय स्वाधीनतामाथि खतरा पर्दा र बाह्य शक्तिले चलखेल गर्दा नेतृत्वले ध्यान पुर्‍याउन नसकेको बताए । उनले भने, ‘विभिन्न ढंगले मुलुक संकटमा जानसक्ने अवस्था भएकाले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्दा पाँच दलबीच सहमति जुट्न सकेन, मुलुकलाई सामान्य अवस्थामा लैजानुपर्ने आवश्यकता छ ।’ राष्ट्रियतासँग जोडिएका मुद्दामा सहमति जुटाउँदै अघि बढ्नुपर्ने नेता गुरुङको भनाइ थियो । ‘प्रचण्डले धेरैलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नुभयो, यो संकटपूर्ण अवस्थामा सरकारको नेतृत्व गर्ने कार्य महत्वपूर्ण छ’, उनले भने, ‘माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेट्न सकिएन, विस्तारै समेट्ने प्रक्रियामा छौं ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्री बन्ने प्रस्ताव राखेपछि अहिलेको अवस्थामा उहाँको मागदाबीअनुसार जिम्मेवारी दिँदा उपयुक्त हुन्छ भन्ने हिसाबले नै अगाडि बढिएको बताए । ‘मन्त्रालयको जिम्मेवादी दिने कुरा प्रधानमन्त्रीले मात्र सोच्ने विषय होइन्, आपसी समझदारी खोज्ने प्रक्रियामा गृहमन्त्रीको जिम्मेवारी दिइएको हो, रवि लामिछानेलाई समेट्नु स्वाभाविक प्रक्रिया हो ’, महासचिव गुरुङले भने । निर्वाचनको प्रक्रियाबाट नयाँ घटक आएकाले राजनीतिक रूपमा कसैलाई निषेध गरी जान सक्ने स्थिति नभएको उनले प्रष्ट्याए ।

बागमती प्रदेशको अधिवेशन आह्वान, शपथ आज

मकवानपुर । बागमती प्रदेश सभाको ११औँ अधिवेशन १८ पुसमा आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम दिनको १ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिँदै छन् ।

समानुपातिक सांसद चयन गर्न राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार शनिबार कार्यसम्पादन समितिको बैठक बस्दैछ। शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्ने र चुनावी समीक्षासमेत गरिने उनले जानकारी दिए। राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। समानुपातिक सांसद ककसलाई पठाउने भनेर छलफल गर्न लागिएको हो। यसअघि निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीअनुसार नै समानुपातिक सांसद चयन गर्नुपर्ने हुन्छ। राप्रपाले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ।

समानुपातिक सांसदहरुको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आजको बैठक समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्नका लागि बस्न लागेको एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् । खासगरी आजको बैठकमा एमालले प्राप्त गरेको समानुपातिक सिटमा संसद सिफारिस र भर्खरै सम्पन्न निर्वाचनका सम्बन्धमा समीक्षा हुने जनाइएको छ । समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले पनि राजनीतिक दलहरुलाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिइसकेको छ । समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गर्दा उसको भागमा ३४ सांसद परेको छ ।

एमाले केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज रामपृत रामद्वारा पार्टी परित्याग

सिरहा। नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह–इन्चार्ज रामपृत रामले पार्टी परित्याग गरेका छन्। पार्टीले केन्द्रीय कमिटीको निर्णय विपरित घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग अपवित्र गठबन्धन गरेको भन्दै उनले एमाले परित्याग गरेका हुन्। आज (सोमबार) सिरहाको गोलबजारमा पत्रकार सम्मेलन रामले आफू एमालेको पार्टी सदस्य समेत नरहने घोषणा गरेका हुन्। पार्टी केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि तथा प्रदेश सभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरे पनि केही नेताहरुको व्यक्तिगत स्वार्थ पूरा गर्न पार्टी निर्णय विरुद्ध दक्षिणपन्थी र नाकाबन्दी गर्नेहरुसँग गठबन्धन गर्नु जनता र देशविरोधी गतिविधि भएको रामले बताए। एमाले जनवर्गीय संगठन जातीय मुक्ति समाजको केन्द्रीय सचिवसमेत रहेका रामले भने, ‘नाकाबन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादीको छवि बनाएका केपी ओलीले उपेन्द्र यादव र राजेन्द्र लिङ्देनहरुसँग साँठगाँठ गरेर आफ्नो वास्तविक चरित्र देखाएका छन्।’ पार्टीको सम्पूर्ण इज्जत नै ध्वस्त पार्ने गरी गणतन्त्रविरोधी, राजसंस्था स्थापना, हिन्दु राष्ट्रको माग गर्नेहरुसँग साँठगाँठ गरेर एमालेले जनविरोधी र परिवर्तन विरोधी काम गरेको उनको भनाई छ। ‘कमल थापाजस्तो कुख्यात व्यक्तिलाई पार्टीको चुनाव चिन्हमा उम्मेदवारी गराउनुले झन् पार्टी नेतृत्व एकल, अपारदर्शी र अराजक ढङ्गले अगाडि बढेको हुँदा यो पार्टीमा बसिरहनुको अर्थ छैन।’ जिल्लादेखि केन्द्रसम्म नेतृत्वमा रहेका निश्चित व्यक्तिले बैठकमा प्रस्ताव ल्याउने र निर्णय गराउने परिपाटीले पार्टी निश्चित व्यक्तिको कब्जामा रहेको रामको आरोप छ। उनले भने, ‘बैठकहरुमा कुनै प्रस्ताव मागिन्छ, न त त्यसको निर्णय प्रकृयामा कसैलाई सहभागी गराइन्छ, नेताले आफ्नो अनुकुलको प्रस्ताव ल्याउने र निर्णय गराउने परिपाटी छ। यस्तो पार्टीमा बसिरहनुको कुनै अर्थ छैन।’ उनले थपे, ‘जिल्लाका नेताहरुको एकलौटी, आफू अनुकुल पार्टीलाई प्रयोग गरिरहेका छन्, जसका कारण धेरै इमान्दार नेता कार्यकर्ता उकुसमुस भएका छन्, त्यहाँ जुनसुकै बेला विद्रोह हुन सक्छ।’ उनले पत्रकार सम्मेलनमै आफ्नो पार्टी परित्यागको घोषणासँगै विभिन्न खालको आरोप आउने पनि बताए। उनले भने, ‘मैले पार्टी परित्यागको घोषणासँगै विभिन्न आरोपहरु लगाउन सक्छन्, त्यसको म सधैं जमेर प्रतिवाद गर्न तयार छु।’ बृहत कम्युनिष्ट एकीकरणको आवश्यकता औंल्याउने रामले आफू तत्काल कुनै राजनीतिक दलमा नजाने बताए।

महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताए । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए। महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे। वि.सं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिकरुपमा पनि देवकोटा पनि सक्रिय छन् । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सरेको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका छन् । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।