कोसीमा प्रदेशसभा बैठक आह्वान, विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन्। कोसी प्रदेशसभाको बैठक आउँदो कात्तिक १ गते बस्ने बोलाइएको छ ।तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी सो बैठक कात्तिक १ गते बुधबारका निम्ति बोलाइएको जनाएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ ।

बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरिएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।

उनले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिने बताइएको छ । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि मुख्यमन्त्रीमा कार्कीको बाटो खुलेको थियो । बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ । एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त हुँदै कार्की, आङ्वो सनाखतमा नजाने

काठमाडौं ।कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुने भएका छन् । कोसी प्रदेशमा मुख्यमन्त्रीमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरिहेका छन् । बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए । मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् ।अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो सनाखतमा नजाने भएका छन् ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । बैठकमा कोसी प्रदेशको विषयमा छलफल हुने बुझिएको छ । बैठक आज दिउँसो ३ बजे सभापति देउवा निवास धुम्बराहीमा बोलाइएको हो ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक शुरु भएको छ ।

प्रतिनिधिसभा बैठक मन्त्रीहरूले जवाफ दिने, यस्तो छ कार्यसूचि

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा दश अथवा सो भन्दा बढी अनुपस्थित संसद् सदस्यहरूको अनुपस्थितिको सूचना पेस गर्ने कार्यसूची छ ।

नेपाली जहाज पुग्यो इजरायलको तेल अवीव

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली े इजरायलको राजधानी तेल अवीव पुगेको छ । नेपाल फर्किने तरखरमा रहेका इजरायलमा नेपाली विद्यार्थी बुधबार राति २ः३० बजे मात्र टोली इजरायल तर्फ प्रस्तान गरेको थियो । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ। इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नआउने भएको छ। हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। विमान आजै नेपाली लिएर नेपाल फर्किने छ ।

माओवादीका आङबोलाई कोशीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धन सहमत

काठमाडौं । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहमत भएका छन् । नेपाली कांग्रेसले अन्तिम अवस्थामा दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बहुमत जुटाउन नसकेपछि गत २० गते पदबाट राजीनामा दिएका थिए । त्यसको केही घण्टामै प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका थिए । कार्कीको राजीनामासँगै कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको खोजी सुरू भएको थियो । यसअघि दुई पटक विश्वासको मत नपाएका कांग्रेसमा संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकांक्षी थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो दलका आङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा देखिए । उनले गठबन्धनका नेताहरुसँग छलफल गरेका थिए । मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका प्रचण्डले राप्रपाले कांग्रेसलाई समर्थन नगर्ने, तर आफूहरुलाई साथ दिने सन्देश कांग्रेस नेताहरुलाई दिए । बुधबार विहान भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समेत आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति दिएको स्रोत बताउँछन् ।  

एमाले अधिवेशन : सुदूरपश्चिममा मतदान, मधेसमा उद्घाटन

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि मतदान आज हुने भएको छ । हिजो साँझ मतदान गर्ने भनिए पनि सम्भव नभएपछि आज बिहान मतदान हुन लागेको हो । निर्वाचन समितिका प्रमुख पदम पालले आज बिहान ७ बजेबाट मतदान हुने जानकारी दिएका छन् । अध्यक्षका लागि चारजनाले उमेदवारी दिएका छन् । निर्वाचन समितिको प्रारम्भिक विवरणअनुसार कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले अध्यक्षमा उमेदवारी दिएका हुन् । त्यसैगरी एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् ।

इजरायलमा ज्यान गुमाउने विद्यार्थीको सम्झनामा अखिल क्रान्तिकारीले दीप प्रज्वलन गर्दै

काठमाडौँ । अखिल क्रान्तिकारीले इजरायलमा ज्यान गुमाउने संगठनको सचिव गणेश कुमार नेपालीसहित मृत्युवरण गर्ने विद्यार्थीको सम्झानामा मंगलबार साँझ दीप प्रज्वलन गर्दै छ । बिएस्सी एग्रिकल्चरमा अध्ययनरत बझाङ जयपृथ्वी नगरपालिका ६ गणेश अखिल क्रान्तिकारीको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय समितिका सचिव हुन् । संगठनका अध्यक्ष पञ्चा सिंह र महासचिव दिपेश पुनले गणेशसहित ज्यान गुमाउने सम्पूर्ण विद्यार्थीको सम्झनामा सम्पूर्ण शैक्षिक संस्थाहरुमा दीप प्रज्वलन गर्न परिपत्र जारी गरेका छन् । त्यस्तै, काठमाडौँ उपत्यकामा भने विशेष प्रदेशको आयोजनामा आज साँझ माइतीघर मण्डला, विश्वविद्यालय समितिहरुले केन्द्रीय क्याम्पसहरु र जिल्ला समितिले सदरमुकाममा दीप प्रज्वलन गर्न परिपत्रमा भनिएको छ । विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत एक महिना इजराजय पुगेका ४९ जना विद्यार्थीमध्ये महासको हमलामा परी १० जनाको मृत्यु भएको छ । उनीहरुको शव ल्याउने सरकारले तयारी गरिरहेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष सिंहले ज्यान गुमाउने सम्पूर्ण विद्यार्थीप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदन व्यक्त गरेकी छन् । सरकारले इजरायलमा रहेका नेपाली नागरिक जो नेपाल आउँन चाहेका छन् उनीहरूको विवरण दुतावासमार्फत संकलन गरिरहेको छ । युद्ध प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै इजरायलको अनुमति पाउँनासाथ नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न जहाज त्यस तर्फ पठाउने बताएको छ ।

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (मङ्गलबार) सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा बस्ने भएको छ । कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

काठमाडौं । सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा झन्डा झुकाउनेछ । “असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनेकी छन् । देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् ।

अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म शिक्षकका माग सम्बोधन हुन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक आन्दोलनको क्रममा शिक्षकहरूसँग भएको सहमति अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म मात्र सम्बोधन हुने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । “माननीयज्यूहरुले शिक्षकहरुको सहमतिको विषय यहाँ कसरी सम्बोधन हुन्छ भनेर उठाउनुभयो,” उनले भने, “उपयुक्त र जायज मागहरु जसले शिक्षालाई मद्दत गर्छ, शिक्षकहरूलाई सुयोग्य बनाउन सम्मानीत बनाउन र सही ढंगले क्रियाशील बनाउन मागमा हामी सकारात्मक रहन्छौँ । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर शिक्षकहरुको सबै कुरा मान्छौँ । त्यसमा हामी प्रतिवद्ध रहेका छौँ ।” मन्त्री राईले विधेयक बनाउने र दर्ता गराउने विषयमा सरोकारवालासँगको छलफलमा कहीँ कतै खाली ठाउँ देखा परेको स्वीकार गरे । “हामीले पनि पूर्वछलफल र तयारी गर्न बाँकी थियो । महासंघको नेताहरु असन्तुष्ट हुनुहुन्थ्यो, आन्दोलन भयो, आन्दोलन फिर्ता भयो । फेरि राहत शिक्षकहरुको आन्दोलन भयो । यसमा ज्ञाप भयो । सबैले बुझ्नुपर्छ,” उनले भने । उनले विधेयक पास भए ‘बेस्ट एन्ड ब्राइट’ शिक्षक आउने जानकारी गराए ।

कोशीका मुख्यमन्त्री कार्कीले बिश्वासको मत लिदैं, मत पाउँन कठिन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिदै छन् । गत बुधबार बसेको प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी बनेको थियो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका हुन् । उनी सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री बनेका हुन् । संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही असोज २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नुपर्नेहुन्छ । तर विश्वासको मत पाउन भने मुस्किल हुने देखिएको छ । प्रदेशसभामा एमालेका ४० सांसद छन् । त्यसैगरी नेपाली कांग्रेसका २९,माओवादी केन्द्रका १३,राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना,नेकपा एकीकृत समाजवादीका ४ जना र जनता समाजवादी पार्टीका १ जना सांसद रहेका छन् । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद आवश्यक पर्छ । बिवश्वासका मतमा बहुमतका लागि मुख्यमन्त्री कार्कीले कांग्रेस र माओवादीमध्ये एक पार्टीको सहयोग लिनुपर्ने हुन्छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दलहरु गठबन्धनका रहेका छन् । कांग्रेस, माओवादी,एकीकृत समाजवादी र जनता समाजवादीले अहिलेकै अवस्थामा कार्कीलाई सहयोग गर्ने अवस्था देखिएको छैन । कार्कीको रणनीति गठबन्धनमा रहेका दलहरुलाई फुटाएर बहुमत जुटाउन सकिन्छकि भन्ने रहेको छ । त्यसका नेकपा एकीकृत समाजवादीका ४ मध्ये २ जना सांसद आफ्नो पक्षमा ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिने कार्कीको प्रयास छ । यसो गर्दा कार्कीको पक्षमा ४८ जना सांसद पुग्नेछन् । राप्रपाले पहिलादेखि नै कार्कीलाई सघाउँदै आएको छ । तर कतिपयले नेकपा एकीकृतका सांसदहरु मुख्यमन्त्री कार्कीको पक्षमा नजाने र कार्कीले बिश्वासको मत नपाएर सरकार ढल्ने बताएका छन् ।

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । ५३१ मत प्राप्त गर्दै उनी प्यानलसहित विजयी भएका हुन् ।उनी पएस गुरुङ पक्षीय नेता हुन् । अध्यक्षका अर्का उमेदवार मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरे । उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मतसहित विजयी भएका छन् । सचिवमा धनञ्जय दवाडी विजयी भए । उनले ५२० मत प्राप्त गरे । । ४९९ मतसहित उपसचिवमा दामबहादुर विक विजयी भए । उपसचिव महिलातर्फ मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी भइन् ।

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । यसरी प्रमाणपत्र पेस गर्ने राजदूतहरूमा नेपालका लागि स्वीटजरल्याण्डका आवासीय राजदूत डेनियल मेउली मोन्टेलोन र युरोपियन युनियनका लोरेन्जो भेरोनिक रहेका छन्। यसैगरी, नेपालका लागि स्विडेन अधिराज्यका जन थेस्लेफ, हंगेरीका स्तभान स्जाबो र चेक गणतन्त्रका डा. एलिस्का जिगोवा रहेका छन् । समारोहमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए । नवनियुक्त राजदूतको राजधानी होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिल्लासहित बग्गीमा सवार बनाइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिए ।