बझाङ थलारा गाउँपालिकामा एमाले, कांग्रेस परित्याग गरी सयौंको संख्यामा माओवादी प्रवेश

काठमाडौं । बझाङ थलारा गाउँपालिका वडा नं १, २, ३ र ७ बाट नेकपा एमाले र कांग्रेस परित्याग गरी सयौं नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्ने गरेका छन् । जनतासँग विशेष रुपान्तरण अभियानको क्रममा जनतासँगको व्यापक छलफल पछि कांग्रेस एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

जनतासँग माओवादी विशेष रुपमान्तरण अभियानको क्रममा जनसुदायसँग व्यापक छलफल पछि नेकपा (एमाले) र नेपाली कांग्रेस परित्याग गरी ६८ जना कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेको सो पालिकाको ईन्चार्जको जिम्मेवारीमा रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य केशवनाथ योगीले जानकारी दिए ।

प्रवेश गर्नेहरूमा भीम बहादुर कामी,जयलाल डौडे, दिल बहादुर दहाल, मनी नेपाली,देउमती दहाल,धौउली नेपाली,ममता देवी दहाल, कलु देवि बिक,पिउली बिक,जला बिक,पार्वती बिक, सन्तोषी बिक,पारू बिक, भगु दहाल,बासु दहाल,मुना दहाल, दिनेश बिक,रोशनी बिक रहेका छन् ।

त्यसैगरी सोही गाउँपालिकाको बेराडी टोलबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरू मदन थापा अध्यक्ष, पारु थापा सचिव, हिरा थापा सह सचिव, मान ब थापा, महाविर थापा, राईभान थापा, पार्वती थापा, कलु थापा, पारु थापा, पर्वत थापा, नरि थापा , दुर्गा थापा, प्रकाश थापा, टेक ब.थापा, अनिस सायर, उमेश थापा, गंगा थापा, मदने थापा, मोहन बिक रहेका छन् ।

माओवादी केन्द्र झाङ थलारा गाउँपालिका वडा नं १ मोतीपुरमा विभिन्न दलबाट पार्टी प्रवेश गर्नेहरूमा पदमा निरौला, किथ्थी बिक,परशुराम जैशी, प्रयागराज जैशी, बलराम जैशी,नवराज जैशी,गोपीलाल जैशी, रवि जैशी, भक्तराज जैशी र नन्दराम जैशी रहेका छन् ।

सोही गाउँपालिकाको वडा नं ७ लम्बा झपाली पुरै टोल नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र मा प्रवेश गरेका छन्।प्रवेश गर्नेहरूमा बर्ख ओखेडा, दिपक ओखेडा, बिष्णु आग्री, मिजुली आग्री, ईन्द्रा देवी ओखेडा, झिमा आग्री, सीता देवी ओखेडा, विसुदेवि ओखेडा सचिव, काली देवि ओखेडा, हिरा ओखेडा, प्रकाश ओखेडा, प्रेमबहादुर ओखेडा, हरिचन्द्र उपाध्याय, किसन ओखेडा, चन्द्र आग्री, वीर बहादुर ओखेडा, जोगी सुनार, अर्जुन सुनार, हरि ओखेडा र कालू आग्री रहेका छन् ।

चिकित्सकलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रको जनस्वास्थ्यकमी महासंघका महासचिव एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनस्वास्थ्य विज्ञ दिपेन्द्र खण्डकाले चिकित्सकलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरेका छन् । उनले चिकित्सक संघले आजदेखि गरेको स्वास्थ्य सेवा बन्दको कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै गरेका हुन् । प्रधानमन्त्रीले दोषिमाथि कारबाहीको निर्देशन दिएको उनीहरू पक्राउ परिसकेको अवस्थामा आन्दोलन गर्नु जिम्मेवार कदम नहुने उनको भनाई छ । उनले लेखेका छन् -‘हेटौंडा अस्पतालमा चिकित्सकमाथि आक्रमकण गर्नेहरूलाई पक्राउ गरी तत्काल कार्बाही गर्न सम्माननीय प्रधानमन्त्री ज्यूले घटना लगत्तै निर्देशन गरिसक्नु भएको छ । त्यससँगै सरकारले आक्रमण गर्नेहरूलाई पक्राउ गरी कार्बाही प्रक्रिया समेत अगाडि बढाएको छ । सरकारले गरेको भुमिकाप्रति नेपाल चिकित्सक संघ जानकार हुँदाहुँदै जनताको आधारभुत स्वास्थ सेवा समेत अबरुद्ध हुने गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु कदापी जिम्मेवार कदम होईन। रचनात्मक तरिकाले दबाब दिन र सेवा अबरुद्ध नगरी आम जनताको विश्वास जित्न तथा थप जिम्मेवार बन्न नै बुद्धिमता हुन्छ।’

सूचना प्रविधि सुशासन र समृद्धिको आधार : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने बताएकी छिन् । राष्ट्रिय युवा परिषद्को नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत ‘डिजिटल नेपालः उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले लाखौं युवाहरुलाई देशभित्रै उत्पादन र सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताइन् । ‘एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीब्रताका साथ अघि बढ्नेछौं भने अर्कोतिर देशभित्र लाखौं युवाहरु उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रि तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौं’– उनले भनिन्– ‘तसर्थ, आजको यो महत्वपूर्ण कार्यक्रममार्फत म आम युवाहरुलाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु ।’ सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालमै पहिलोपटक साइबर सुरक्षा नीति पारित भएको बताइन्। मन्त्री शर्माले भनिन्– ‘यो नीति पारित भएसँगै साइबर सुरक्षा केन्द्र र साइबर सुरक्षा कानुन बनाउने बाटो खुलेको छ । अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि, साइबर सुरक्षा, डाटा सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि कानुन मस्यौदाको क्रममा रहेको छ ।’ अहिले नेपालमा बौद्धिक पलायन ठूलो समस्याको रुपमा देखिन थालेको उल्लेख गर्दै उहाँले नेपाली युवाहरुलाई आयआर्जनसहित देशभित्र बस्ने अवसरको सुनिश्चित गर्ने क्षेत्र नै सूचना प्रविधि हुने बताइन् । ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने तथा आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अवधारणा अघि सारिएको उल्लेख गर्दै उनले यसलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान थालेको जानकारी दिइन्। डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वनमार्फत हरेक क्षेत्रमा डिजिटलाइजेसनलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरु उत्तिकै गम्भीरताका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको पनि उनले स्पष्ट गर् । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री शर्माले सरकारको कूल पूँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइएको स्पष्ट गरे । सूचना तथा सञ्चार प्रविधि हरेक मानिसको आधारभूत आवश्यकता र अर्थतन्त्र वृद्धिको महत्वपूर्ण आधार बन्दै गएको यो सन्दर्भमा यो क्षेत्रमा युवाहरुलाई थप आकर्षित गर्न र उद्यमशीलता तथा नवप्रवर्धनमा प्रोत्साहित गर्न यो वर्षदेखि सरकारले केही नयाँ कार्यक्रम गर्ने योजना अघि बढाएको उनले जानकारी दिए । ‘सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि प्रतिष्पर्धी क्षमता विकास, व्यवसायिकता बृद्धि, उच्च गतिको भरपर्दो इन्टरनेट सेवा, सूचना प्रविधि पूर्वाधार, आवश्यक नीति र कानुन, सरोकारवालाहरुबिचको समन्वय र सहकार्यमा जोड दिएको छ’– उनले भने – ‘यो वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माताहतका निकायहरुको सहयोगमा सूचना प्रविधिको क्षेत्रमा छोटो प्रकृतिका व्यवसायिक तालिम दिने तयारी थालेको छ । यसले उद्यमशीलता र नवप्रवर्तनको बाटो खोल्ने मन्त्रालयको अपेक्षा रहेको छ ।’ सूचना प्रविधिको अध्ययन अनुसन्धानमा लागेका संस्था र व्यक्तिलाई आविष्कार र नवप्रवर्तनमा थप आकर्षित गर्ने गरी देशभरिबाट हजारौं प्रतिभाहरु सहभागी हुने गरी राष्ट्रियस्तरको प्रतिष्पर्धा गराउने डिजिटल च्याम्पियनजस्ता कार्यक्रम गर्ने, आइटी एक्जिविसन गरेर सूचना प्रविधिको क्षेत्रमा भइरहेका गतिबिधिलाई एउटै थलोबाट सार्वजनिक गर्ने, यो क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनका साथै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्न छात्रवृत्ति, तालिमलगायतका कार्यक्रम पनि अघि सारिएको मन्त्री शर्माले जानकारी दिइन् ।

अझै २० वर्ष राजनीतिमा सक्रिय रहन्छु : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफू राजनीतिमा सक्रिय रहने बताएका छन्। शनिबार बासँग बालबालिका कार्यक्रममा बोल्दै ओलीले अझै २० वर्षसम्म आफू राजनीतिमा सक्रिय रहने बताएका हुन्। उनले आफू सक्रिय रहँदारहँदै योग्य व्यक्ति आए पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा समेत गरे। ‘म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन। आफू सक्रिय रहेकै वेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु’, उनले भने।

उपप्रधानमन्त्री श्रेष्ठले दिए तीजको शुभकामना

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौं पक्षहरू भएको र तीज पर्वलाई पनि पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन्। शुक्रबार गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उनले महिला कर्मचारीहरूलाई तीजको शुभकामना समेत दिए। तीज एक सामाजिकसांस्कृतिक पर्व भैसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्ने र खानपिन तथा लगाईखुवाईको अनावश्यक तडकभडक देखाएर यसलाई विकृत बनाउन नहुने उनले बताए। ‘उल्लास त गर्ने नै हो।’ उनले भने- ‘तर आफ्नो जिम्मेवारीमा सधैं प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर।’ निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उनले स्मरण गरे। महिला कर्मचारीसहित एकैछिन नाच्नुभएका श्रेष्ठले शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्ने बताए।

जसपाको विस्तारित बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यही भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आज विस्तारित बैठक राख्ने निर्णय गरेको थियो । विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीलाई जिम्मेवारी तोकेको छ । यसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेशकुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मलाकुमारी यादव र जितेन्द्रकुमार यादवले जिम्मेवारी पाएका छन् । यसैगरी सर्लाहीमा रामपृत पासवान र नीराकुमारी साह, रौतहटमा रामबाबुकुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशीलकुमार यादवलाई तोकिएको प्रकाशन विभाग बस्नेतले बताए । बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, प्रदेश समितिका नेता, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, पालिका समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भ्रातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीलाई उपस्थित हुन भनिएको सो पार्टीले जनाएको छ । रासस

माओवादी केन्द्रद्वारा काठमाडौंको गोंगबुमा रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना

काठमाडौं । नेकपा (माओवादी केन्द्र(ले काठमाडौंको गोंगबु बसपार्कमा शनिबार बिहान रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ। तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो। माओवादी काठमाडौं महानगर २६ नम्बर वडाद्वारा आयोजित रक्तदान र स्वास्थ्य शिविरको सो पार्टीका उपहमासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले उद्घाटन गरे। संगठन सुदृढीकरण र विस्तारका लागि माओवादीले आजदेखि देशभर एकैपटक अभियान सञ्चालन गर्दैछ। माओवादीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसमेतलाई वडा वडाको ज़िम्मेवारी दिएर अभियानमा खटाएको छ।

सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छिन्। नेकपा (माओवादी केन्द्र) ले आज (शनिबार)देखि सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनका अवसरमा दाङको घोराही १७ बर्गदीस्थित सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले अब सहिद सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताएकी हुन् । सहिदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै उनले अब सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्ने बताइन् । इतिहासमा पहिलोपटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै मन्त्री शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताइन् । मन्त्री शर्माले वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकता राखिएको बताइन् । माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टी जनतामा फकने अभियान सुरु भएको बताइन्। शान्ति प्रक्रियापछि पार्टी पटक पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उनले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बीचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्‍याउन यो अभियान सुरु गरिएको जानकारी दिइन् । सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्दै उनले राजनीतिलाई सेवाको रूपमा लिनुपर्ने बताइन् । राजनीतिलाई व्यक्तिगत लाभमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले अनियमितता र भ्रष्टाचार गर्नेहरू आफ्नै भए पनि नछाड्ने सरकारको प्रतिबद्धता रहेको बताइन् । यो ठाउँमा २०५८ मङ्सिर १३ गते धान दाइरहेका किसानमाथि तत्कालीन सेनाले गोली चलाउँदा ११ जनाको ज्यान गएको थियो । सहिदको शालिकमा माल्यार्पण गरी मन्त्री शर्माले अभियान उद्घाटन गरिन् ।

सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ : उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आजदेखि देशभर सुरु गरेको ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’को आज गोंगबुस्थित नयाँ बसपार्कमा उद्घाटन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धनको सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताए । वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न सुरु गरेको उनको भनाइ थियो । “समाज, राज्य र पार्टीको शुद्धिकरणका लागि माओवादीले रुपान्तरण अभियान सञ्चालन गरेको छ”, उपमहासचिव पुनले भने, “लामो समयपछि जनताको गुनासो सुन्न तथा सरकारले गरेका राम्रा कामलाई जनतासामु लैजान पार्टीले रुपान्तरण अभियान सुरु गरेको हो ।” आजदेखि सुरु भएको अभियान देशभरका ६ हजार ७४३ वटै वडामा सञ्चालन गरिने उल्लेख गर्दै उनले अभियान तीन महिनासम्म सञ्चालन हुने जानकारी दिए । उपमहासचिव पुनले माओवादीले कुनै पार्टी र दलप्रति लक्षित गरी अभियान सञ्चालन नगरेको उल्लेख गर्दै पार्टीको शुद्धिकरणका लागि अभियान सञ्चालन गरिएको स्पष्ट पारे । देशको आर्थिक विकासका लागि उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । उद्योगी व्यवसायीको हकहितको पक्षमा पार्टी सदैव सकारात्मक रहेको उनले बताए । रासस

माओवादी फुट्न मात्र होइन जुट्न पनि जानेको छ : विप्लव

पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी फुट्न मात्र नभई जुट्न पनि जानेको बताएका छन् । जनयुद्ध र जनताको अधिकारमाथि आक्रमण हुन थालेपछि माओवादी एकै ठाउँमा उभिसकेको उनले बताएका छन् । समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले परिवर्तन र गणतन्त्र रक्षाका लागि समाजवादी मोर्चा आवश्यक रहेको बताएका हुन् । शुक्रबार पोखराको सभागृहमा आयोजित सभामा उनले गणतन्त्र कमजोर हुन थालेपछि, क्रान्तिबाट पछारिएको प्रतिगामी पुनः उठ्न थालेपछि क्रान्तिकारीतर्फ अतिक्रमण हुन थालेको उनले बताए । व्यवस्था परिवर्तनका लागि माओवादीको योगदान स्मरण गर्दै चन्दले जनताको अधिकार सुरक्षाका लागि माओेवादी जुटिसकेको बताए । सरकारको नेतृत्व गर्ने कार्यकारी प्रमुखलाई हत्याराको प्रचार गरिएको भन्दै उनले यस्ता कुप्रचारमाथि माओवादी एकै ठाउँमा उभिएर लड्ने बताए । नेता चन्दले प्रतिगामीविरूद्धको आन्दोलनमा लड्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताएका थिए । क्रान्तिकारीलाई पश्चगामी तत्त्वले आक्रमण गर्न खोजेपछि फुटहरू एकता हुन्छन् । उनले कम्युनिस्टको अस्थायी फुटलाई कसैले नकरात्मक रूपमा लिन्छ भने समाजवादी मोर्चाबाट कम्युनिस्ट एक ठाउँमा उभिन आउने बताए ।

उपप्रधानमन्त्री श्रेष्‍ठ र बेलायती राजदूत फेनबीच शिष्‍टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्‍टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा राजदूत फेनलाई स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भाएको सय वर्ष पुगेकोमा गर्व व्यक्त गर्दै राजदूतको कार्यकाल सफलताको शुभकामना दिए । त्यसक्रममा राजदूत फेनले समेत मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा आफूलाई गर्व लागेको र दुई देशबिचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्‍भाव रहेको र उक्त सद्‍भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैं साथ दिएकोमा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताए । छ दशकको लामो राजनीतिक संघर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासको माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मूल कार्यभार रहेको उनले बताए । यसका लागि नेपालका विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्‍ट्रबाट स्तरोन्‍नति हुने भएकोले यसलाई दिगो बनाउन मैत्री राष्‍ट्रहरूको सहयोग थप महत्त्वपूर्ण हुने उनले बताए । वर्तमान सरकार सुशासन प्रत्याभूतिका लागि आक्रामक रूपले लागेको पनि उनले स्पष्‍ट पारे । राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको बताउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे । सामाजिक न्याय, महिला हिंसा विरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुन्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाए । उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन आफू र आफ्नो मन्त्रालयबाट सबै सहयोग रहने बताए । साथै, गोर्खा सैनिकको मागलाई सम्बोधन गर्दै यस विषयमा न्यायोचित निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । जवाफमा राजदूत फेनले आफू नेपाल आउनु अगाडि बेलायतका लागि नेपाली राजदूतसँग गोर्खा सैनिकका बारेमा बेलायतमा छलफल गरेको र यस विषयलाई चाँडै निष्कर्षमा पुर्‍याउन आफ्नो प्रयास रहने बताए । उपप्रधानमन्त्री श्रेष्ठले राजदूत फेनलाई नेपाली भाषाप्रतिको लगावका लागि धन्यवाद दिँदै थप पोख्त हुन सुभेच्छा दिए ।

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार (आज) पूर्ण सुनुवाइ नहुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो। तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि सुनुवाइ नै नहुने भएको हो।

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । एमाले सांसद ठाकुर गैरेले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । बैठक मध्याह्न १२ बजे बस्नेछ । आजै दिउँसो १ बजे संसद् बैठक बस्दै छ । संसद्मा १०० किलो सुन प्रकरणबारे कुरा उठाउने एमालेको तयारी छ ।

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुमबाराहीमा आज दिउँसो ४ बजेका लागि बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठका निर्णय तयार पार्नका लागि बैठक बोलाइएको हो । पदाधिकारी बैठक अघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्ने छन् । आज तयार पारिने निर्णयका आधारमा सभापति देउवाले भोलि बस्ने केन्द्रीय समिति बैठकमा आफूमाथि उठाइएका प्रश्नको जवाफसहित सम्बोधन गर्नेछन् । केन्द्रीय समिति बैठक भोलि दिउँसो ४ बजेका लागि बोलाइएको छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ ।

शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशील छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहकार्यको संस्कृतिको सम्मान गर्दै शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकअन्तर्गत गृह मन्त्रालयका बारेमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको हितको रक्षामा सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् । शान्ति सुरक्षाको कामलाई प्रभावकारी बनाउन सरकारकातर्फबाट कुनै पनि कसर बाँकी नराख्ने गरी तयारी गरिएको र आवश्यक पहलकदमी लिइएको उनको भनाइ छ । नेपाली जनताले लामो सङ्घर्षबाट प्राप्त गरेको राजनीतिक उपलब्धि, संविधानको रक्षा गर्न प्रभावकारी अभ्यास गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले अराजक र गैरकानुनी गतिविधि नियन्त्रणमा क्रियाशील रहेको बताए । उनले संविधानअनुसार नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्ने र नागरिकताको दुरुपयोगलाई कडाइपूर्वक नियन्त्रण गर्ने बताए। विपद् जोखिमको नियन्त्रण, राष्ट्रिय परिचयपत्रको प्रबन्ध, लागुऔषध दुर्व्यसन र अपराधको नियन्त्रण र महिला हिंसामा संलग्नलाई कडा कारबाही गर्नेलगायतका कामलाई नतिजामुखी बनाउनका लागि आन्तरिक सुशासनलाई प्रभावकारी बनाइएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । पञ्चायतकालदेखि नै मन्त्री र सचिवले लिँदै आएको सुराकी खर्चलाई आफूले खारेज गरेको जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले कुनै ‘क्रसचेक’विना नै मन्त्री र सचिवले पैसा लिने कामलाई पूर्णरुपमा खारेज गरिएको स्पष्ट पारे । सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याज पीडितको समस्या समाधान गर्न, संसद्कोसमेत सहयोगमा पीडितलाई न्याय दिन अधिकारसम्पन्न छानबिन आयोग गठन भई काम अगाडि बढेको उनको भनाइ छ । हाम्रो व्यक्तिगत र जैविक विवरण समेत रहने राष्ट्रिय परिचयका सम्बन्धमा एक निजी कम्पनीलाई दिने निर्णय खारेज गरिएको, नेपाली नागरिकलाई अनागरिक बनाएर विदेश पठाउनेलाई कानुनको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएकोसमेत उनले जानकारी दिए । ठगी, मानव बेचबिखनलगायतका संलग्न केही थुनामा रहेको र थप अनुसन्धान जारी रहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ । आन्तरिक सुशासन प्रभावकारी बनाउन, कर्मचारी प्रशासन एवं सुरक्षा निकायमा अवाञ्छित चलखेलका आधारमा हुने पदोन्नतिलाई निरुत्साहित गरिएको र पूर्णतः शून्यमा झारिएको उनले बताए। उनले आगामी दिनमा पनि अझै व्यवस्थित र प्रभावकारीरुपमा गृह मन्त्रालयको काम कारबाहीलाई अगाडि बढाउनेमा विश्वास व्यक्त गरे । नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिका सम्बन्धमा नयाँ कानुनको मस्यौदामा प्रस्ताव गरिएको र छिट्टै सदनमा पेस गरिने उनले जानकारी दिए । प्रहरीभित्र तल्ला तहका कर्मचारीको पदोन्नति तथा सुविधाका सम्बन्धमा रहेको विभेदलाई अन्त्य गर्न पदोन्नतिका लागि जवान, सहायक हवल्दार र हवल्दारलाई नयाँ व्यवस्था लागू गर्न लागिएको र आवश्यक प्रस्ताव सम्बद्ध मन्त्रालयमा छलफल भइरहेको उनको भनाइ छ । शान्ति सुरक्षा र सुशासनबारेमा मन्त्रालयले स्पष्ट दृष्टिकोणका साथ काम गरेको जानकारी दिँदै अतिविशिष्ठ व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि तयार भएकोसमेत जानकारी दिए। विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएका एक सय ९० जना नेपाल प्रहरीका र सशस्त्र प्रहरीका एक सय २६ जना गरी कूल तीन सय १६ जना फिर्ता गरिएको उनको भनाइ छ । साइबर अपराध नियन्त्रणका लागि कार्यसमूह बनाई काम गरिएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याएको उल्लेख गर्दै उनले मन्त्रालय मातहतका सबै निकायलाई शान्तिसुरक्षा र अमनचयन कायम गर्न स्पष्ट निर्देशन दिइएको बताए। यस्तै, ट्राफिक प्रहरीलगायतलाई दिने प्रोत्साहन भत्ताका सम्बन्धमा समेत मन्त्रालयले आवश्यक पहलकदमी लिइसकेको उनले सदनलाई जानकारी दिए। महिला हिंसालगायतमा शून्य सहनशीलता कायम गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्ट व्यवस्था गरिएको, कालोबजारी नियन्त्रण गर्नसमेत मन्त्रालय मातहतका निकायलाई कार्यादेशसहित परिचालन गरिएको र आगामी दिनमा थप प्रभावकारी बनाउने बताए । अनुचित लेनदेनका सम्बन्धमा कूल २३ हजार एक सय ९८ उजुरी दर्ता भएको जानकारी दिँदै उनले करिब नौ सय बराबरको उजुरीमाथि पीडितका पक्षमा निर्णय भएको दाबी गरे । राष्ट्रिय परिचयपत्र व्यवस्थापनका लागि मन्त्रालयले एकीकृतरुपमा काम कारबाही अगाडि बढाएको, देशभरका तीन सय ३९ स्थानबाट परिचयपत्रको विवरण दर्ता अगाडि बढाइएको उनले जानकारी दिए। परिचयपत्र वितरणको कामलाई पनि गति दिन लागिएको उनको भनाइ छ । परिचयपत्रलाई थप व्यावहारिक बनाउन र कामकाजी बनाउनका लागि एउटा ‘अथेन्टिकेसन प्लेटफर्म’ तयार पार्नका लागि सरकारले काम सुरु गरिसकेको उनको भनाइ छ । पछिल्लो कानुनी व्यवस्थापछि नागरिकता वितरणको कामलाई अगाडि बढाइएको र नेपाली नागरिकका सन्ततिले अब सहजरुपमा नागरिकता पाउने अवस्था बनेको उनले बताए। कारागारलाई सुधार केन्द्रमा रूपमा अगाडि बढाएको र त्यसलाई खास अर्थमा सुधार गृह बनाएरै छाडिने दृढता उनले व्यक्त गरे । बाँकेको नौवस्ता र नुवाकोटको कारागार विस्तारको कामलाई गति दिइएको उनको भनाइ छ । सांसदहरूको सुझावले बजेटको प्रभावकारी कार्यान्वयन गर्न, कतिपय अपर्याप्तलाई आगामी दिनमा परिमार्जन गर्ने आधार प्रदान गरेको उनले बताए । उनले मन्त्रालयलाई थप नागरिकमैत्री बनाउन सांसदको ध्यानाकर्षणले ऊर्जा मिलेको समेत बताए । संसद्मा उठेको जिज्ञासाले सामाजिक न्यायसहित समृद्धिको लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यभार पूरा गर्ने विश्वास पैदा भएको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको प्रवर्द्धन, कानुनको परिपालना, अपराध नियन्त्रण, सेवा प्रवाह, विकास र सुशासन प्रवर्द्धनमा क्रियाशील रहने विश्वास पैदा भएको बताए। मन्त्रालय र विपद् जोखिम प्राधिकरणले प्रभावकारी काम गरेको भन्दै उनले मन्त्रालयका लागि आगामी आवका लागि रु एक खर्ब ९३ अर्ब ५६ करोड ७६ लाख बराबरको बजेट विनियोजन भएको बताए । प्राकृतिक विपत्ति न्यूनीकरणका तयारी भएको छ प्राकृतिक विपत्ति न्यूनीकरणका लागि पूर्व सूचनासहितको प्रणाली जडान गरिएको उल्लेख गर्दै उनले हालै पूर्वी नेपालमा आएको बाढी पहिरो प्रभावितका लागि आवश्यक राहतको व्यवस्था गरिएको बताए । खाद्यमान र औषधिलगायतका अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको, दाङ र कैलालीमा आवश्यक तयारीको काम भइरहेको गृहमन्त्री श्रेष्ठले जानकारी दिए। तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गरिएको, उद्धार तथा खोजका लागि आवश्यक सामग्रीको बन्दोबस्ती गरिएको उनको भनाइ छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई साधन र स्रोतसहित परिचालन गरिएको, सीमा सुरक्षाका लागि ‘विओपी’ स्थापना गरिएको उनले बताए । सीमा क्षेत्रमा चोरी निकासी नियन्त्रणका लागि कडा नीति अख्तियार गरिएको जानकारी दिँदै उनले दैनिक जीवनका लागि अत्यावश्यक सामग्री आयातमा कडाइ नगरिएको र छुट दिइएको जानकारी दिए । सरकार सबै धर्मप्रति निरपेक्ष रहने नीतिका साथ अगाडि बढेको, धार्मिक स्वतन्त्रतालाई सम्मान गरिएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले कुनै धर्म मान्न वा नमान्न व्यक्ति स्वतन्त्र रहेपनि प्रचारात्मक अभियान चलाएर धर्म परिवर्तन गराउने कामप्रति भने सरकार गम्भीर रहेको उनले बताएका छन् । हाम्रो परम्परागत लोकतन्त्र होइन उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले बहुदलीय व्यवस्थामा रहेका अन्तर्निहित कमजोरीलाई सुधार गरेर जानुपर्ने धारणा राखे । विपक्षमा रहेकाले सरकारको विरोध गर्नुपर्ने प्रवृत्तिको सुधार गर्नुपर्ने, सरकार सत्ताजन्य स्वभावका कारण निरङ्कुश बन्न नहुने धारणा राख्दै गृहमन्त्री श्रेष्ठले नेपालमा स्थापित लोकतन्त्र परम्परागत संसदीय व्यवस्था नभएको र मौलिक चरित्रका साथ रहेको बताए । उनले यसमा रहेको कमजोरीलाई सुधार गरेर बढीभन्दा बढी जनउपयोगी बनाउनुपर्नेमा जोड दिए । गृहमन्त्री श्रेष्ठले प्रहरी बढुवामा भएको आर्थिक चलखेललाई शून्यमा झारिएको र त्यसमा शतप्रतिशत ग्यारेन्टी गर्ने बताए । एक सांसदले प्रहरी बढुवामा आर्थिक चलखेल भएको भनेर गरिएको आरोप लगाइएको उल्लेख गर्दै उनले भने, “आर्थिक चलखेललाई शून्यमा झारिएको छ । म शतप्रतिशत ग्यारेन्टी गर्छु ।” उहाँले लोकतन्त्रका नाममा विरोधका लागि विरोध गर्ने प्रवृत्ति त्याग्न र आरोपका लागि आरोप लगाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए। रासस

केन्द्रीय नेतालाई भूगोलको जिम्मेवारी तोक्ने, यस्ता छन् राप्रपाको केन्द्रीय समितिका अन्य निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रीय नेतालाई भूगोलको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही जेठ १ गते सोमबारदेखि आजसम्म धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य समितिको बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरू परिमार्जनसहित पारित गरेको उल्लेख गरिएको छ । यसैगरी, राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ । बैठकले पार्टीको हरेक समिति र तहमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवा निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी कर्मचारीको सङ्गठन नबनाउने, विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको छ । यस्तै बैठकले संसदीय दलको विधान पारित गर्ने तथा यसअघि कार्यसम्पादन बैठकका निर्णय अनुमोदन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।