दोलखामा कांंग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

दोलखा । दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांंग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा ९माओवादीकेन्द्र तेस्रो हुन पुगेको छ ।

दुई नगरपालिका, सात गाउँपालिकाका ७४ वटा वडाबाट प्राप्त मत परिणमअनुसार कांग्रेस तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडाध्यक्षमा विजयी भएको छ ।

त्यसैगरी दुई पालिकका प्रमुख, पाँच उपप्रमुख र २३ वडाध्यमा एमाले तथा तीन पालिका प्रमुख, एक उपप्रमुख र २१ वडाध्यक्षमा माओवादी विजयी भएको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष जितेको छ भने दुई वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

जिरी र भिमेश्वर नगरपालिकामा मिश्रित परिणाम आएको छ । जिरी नगरपालिकाको प्रमुख–उपप्रमुख र दुई वडाध्यक्ष एमालेबाट निर्वाचित भएका छन् भने अन्य वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । उक्त नगरको कार्यपालिकामा भने गठबन्धनको बहुमत छ । त्यस्तै भिमेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसले वैतेश्वर र कालिञ्चोक गाउँपालिका तथा भिमेश्वर नगरपलिकामा प्रमुखका साथै तामाकोशी र गौरीशङ्कर गाउँपालिकामा उपप्रमुख जितेको छ । एमालेले जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख–उपप्रमुख जितेको छ भने भिमेश्वर नगरपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुख जितेको छ ।

माओवादी केन्द्रले शैलुङ, गौरीशङ्कर र बिगु गाउँपालिकामा प्रमुख जितेको छ भने कालिन्चोक गाउँपालिकामा उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले तामाकोशी गाउँपालिकामा प्रमुख जितेको छ ।

दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको दोलखामा गठबन्धनको स्पष्ट बहुमत छ । अठार पालिका प्रमुख–उपप्रमुखमध्ये सात जनामात्र एमालेका छन् भने ११ गठबन्धनको पक्षमा छन् । चौहत्तर वडामध्ये एमालेले २४ वडामा मात्र जितेको छ । गठबन्धनले ४८ र स्वतन्त्रले दुई वडामा जितेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा बलियो देखिएको एमाले यसपटक कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा एमाले एक्लैले दोलखामा पाँच गाउँपालिका र दुई नगरपालिका गरी सात स्थानीय तह जितेकामा अहिले दुई स्थानीय तहमा मात्र जित्न सफल भएको छ ।

गत निर्वाचनमा जिल्लाको दुई पालिका उपप्रमुख जितेको नेकपा (माओवादी केन्द्र) ले यस निर्वाचनमा तीन गाउँपालिका प्रमुख र एक उपप्रमुखसहित २१ वडामा जित्न सफल भएको छ ।

बाँस्कोटाको उट्पट्याङविरुद्ध उम्मेदबारी दिने निर्देशक पण्डितको घोषणा

काठमाडौं । विवाद र चर्चामा रहिरहने एमाले नेता गोकुल बाँस्कोटाको उट्पट्याङविरुद्ध चुनावमा उम्मेबार बन्ने इच्छा निर्देशक मनोज पण्डितले देखाएका छन् । निर्देशन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका पण्डितले आगामी प्रतिनिधिसभाको निर्वाचनमा बाँस्कोटाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका हुन् । सामाजिक संजालमा लामो स्टाटस लेख्दै पण्डितले राजनीतिलाई घृणित र उट्पट्याङ गरी मजाक बनाएको भन्दै बास्कोटाविरुद्ध काभ्रे २ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘राजनीतिलाई घृणित धन्दा र उट्पट्याङ मजाक बनाउने यो राजनीतिज्ञ मेरो क्षेत्र काभ्रे–२ बाट संसदीय निर्वाचनमा चुनिएर संचारमन्त्रीसम्म भएको हुँदा यीनको खुलेआम धम्कीले मेरो नागरिकतालाई गिज्याएको अनुभूति भयो र निर्णय गरें कि अबको संसदीय निर्वाचनमा म यो असंवेदनशील राजनीतिज्ञको विरुद्ध स्वतन्त्र उम्मेदवारको रुपमा उठ्ने छु ।’ उनले लेखेका छन् । दासढुंगा, ग्रेटर नेपाल, बधशाला जस्ता चर्चित फिल्मको निर्देशन गरेका पण्डित सफल र बौद्धिक निर्देशकको रुपमा चिनिन्छन् । उनको जन्मथलो काभ्रको धुलिखेल–४ हो । चलचित्र बनाएर मात्र राजनीतिक अवस्थामा ठूलो योगदान पुर्याउन नसकिने भन्दै उनले चर्चाको लागि नभई लुट र झुटविरुद्ध उम्मेदवारी दिन लागेको बताए । बास्कोटालाई काभ्रे २ बाट हराउन सक्ने अवस्था नहरे पनि आफ्नो उम्मेदवारी अराजकताविरुद्ध भएको उनको भनाई छ । ‘मलाई थाहा छ काभ्रे–२ बाट आजको स्थितिमा उनलाई कसैले हराउन सक्दैन । उनीसँग वर्षौंको अनुभव छ भोट प्रभाव पार्न र किन्न सकिने प्रशस्त पैसा छ, मिडिया , रणनीति , सङ्गठन छ तर म संग त्यस्तो कुनै पनि सामर्थ्य र शिल्प छैन । अझ भोटको दृष्टिबाट भन्ने हो भने मसँग केवल ३ भोट छ आफ्नो ,आमाको र दिदीको। मेरो बुबा पनि उनकै समर्थक हुन् सायद मलाई मेरो बुवाको भोट आउने छैन’ उनले भनेका छन्, ‘मसँग केवल पीडा छ, छटपटी छ, आक्रोश छ, सम्वेदना छ, स्वतन्त्र चेत छ अनि परिवर्तनको चाहना छ । म यस्तै सामर्थ्यता को साहारामा उनी विरुद्ध उठदैछु त्यसैले उनलाई म बाट के को डर हुन्छ र ?’ बास्कोटालाई अध्यक्ष केपी ओलीबाहेक कसैको पनि डर नभएको पण्डितले बताएका छन् । बास्कोट सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेपछि विवादित बनेका थिए । यही विवादका कारण सञ्चार मन्त्रीबाट उनले राजीनामा दिएका थिए । बेला बेलामा ७० करोडको प्रसंग ल्याउँदै बाँस्कोटा स्वयंले मजाक गर्ने गरेका  थिए । यस्तो लेखेका छन् ,पण्डितले सामाजिक संजालमा

जसपाका केन्द्रिय नेताहरु माओवादी केन्द्रमा

काठमाडौं । जसपाका केन्द्रिय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज नेकपा स्थापना दिवसको अवसरमा मोओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी प्रवेश गर्नेहरु जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा.अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर लगायतका छन् । उनीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत पार्टीका शिर्ष नेताहरुले खादा माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।  

चितवनमा मिल्यो सत्तारुढ गठबन्धनबीचको भागबण्डा

भरतपुरबाहेक काँग्रेसले ४, माओवादी केन्द्र र एकीकृत समाजवादीले १/१ वटा पालिका लिने   चितवन । सत्तारुढ गठबन्धनका दलहरुले चितवनका पालिकाहरुमा भागबण्डा टुङ्ग्याएका छन् । चितवनको भरतपुर महानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा गरेका हुन् ।   जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डाका बारेमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति भएको हो । सहमति अनुसार काँग्रेसले ४ वटा पालिकाको प्रमुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक वटा पालिका प्रमुख लिने भएका छन् । काँग्रेसले चितवनको इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिकाको प्रमुख पद लिने सहमति भएको गठबन्धनको जिल्ला संयन्त्रको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रले माडी नगरपालिकाको प्रमुख पद लिने भएको छ भने एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख लिने भएको छ । यता गठबन्धनको चितवनको जिल्ला संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखसहित सदस्यहरुको समेत भमगबण्डा मिलाएको छ । जसअनुसार जिल्ला समन्वय समिति चितवनको प्रमुख पद काँग्रेसले लिने भएको छ भने उपप्रमुख पद माओवादी केन्द्रले लिएको छ । जिल्ला समन्वय समितिको सदस्य पदमा तीन वटै दलहरुले २र२ वटा सिट लिने सहमति भएको छ । त्यस्तै इच्छाकामना गाउँपालिका, खैरहनी र कालिका नगरपालिकाको उपप्रमुख पद माओवादी केन्द्रले पाएको छ । रत्ननगर नगरपालिकाको उपप्रमुख पद एकीकृत समाजवादीले पाएको छ भने माडी नगरपालिकाको उपप्रमुख पद काँग्रेसको भागमा परेको छ । गठबन्धनको बैठकले इच्छाकामना गाउँपालिकाको वडा तहको भागबण्डा समेत टुङ्ग्याएको छ । जसअनुसार इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ माओवादी केन्द्रले लिने भएको छ भने ४, ५, ६ र ७ काँग्रेसको भागमा परेको छ । सो पालिकाको केही वडा सदस्य पद एकीकृत समाजवादीले लिने भएको छ । अन्य पालिकाको वडा तहको भागबण्डा गर्न भने बाँकी छ । अन्य ५ वटा नगरपालिका र भरतपुर महानगरपालिकाको वडा तहको भागबण्डाका लागि केही बेरमा गठबन्धनको बैठक बस्ने बताइएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा, ओलीले आजै उद्घा‍टन गर्ने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्‍चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घा‍टन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ । साथै एमालेले स्थानीय तह निर्वाचनसबन्धी प्रतिवद्धतापत्र पनि त्यहिबाट सार्वजनिक गर्ने भएको छ । गत २०७२ को महाभूकम्प पछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्ष अघि थापाथलीमा सरेको थियो । थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट औपचारिक उद्घा‍टन हुने भएको हो ।

सत्ता गठबन्धनले प्रदेश १ का तीन जिल्लामा टुंग्याए भागबण्डा

विराटनगर । सत्तारुढ गठबन्धनले प्रदेश १ का तीन जिल्लामा भागबण्डा टुंग्याएको छ । ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको हो । यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा केही प्राविधिक विषयमात्रै मिल्न बाँकी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन् । ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख÷अध्यक्ष नेपाली काँग्रेसले पाउने भएको छ भने माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्षमा चित्त बुझाउने भएको छ । ताप्लेजुङको भागबण्डा १. मैवाखोला गाउँपालिका– अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष, नेपाली काँग्रेस २. आठराई त्रिवेणी गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ३. मिक्वाखोला गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ४. मेरिङ्देन गाउँपालिका – अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा ९एकीकृत समाजवादी० ५. फक्ताङ्लुङ गाउँपालिका– अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस ६. फुङ्लिङ नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उपप्रमुख माओवादी केन्द्र ७. पाथिभरा याङ्वरक गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ८. सिदिङ्वा गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ९. सिरिजंघा गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र १०. जिल्ला समन्वय समिति– प्रमुख, माओवादी केन्द्र, उपप्रमुख नेकपा (एकीकृत समाजवादी) यसैगरी भोजपुरमा पनि गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको छ । भोजपुरमा दुईवटा पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि सहमति भएको छ । बाँकीमा काँग्रेसले ५ पालिका, माओवादी केन्द्रले २ र नेकपा एसले २ वटा उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ । पालिकाको विवरणः १. रामप्रसाद राई गाउँपालिका– अध्यक्ष, नेकपा माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस २. पौवादुङमा गाउँपालिका– अध्यक्ष, नेकपा माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस ३. हतुवागढी गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष, नेकपा माओवादी केन्द्र ४. भोजपुर नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उप–प्रमुख नेकपा एकीकृत समाजवादी ५. षडानन्द नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उपप्रमुख नेकपा माओवादी केन्द्र ६. टेम्केमैयुङ गाउँपालिका – अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा एकीकृत समाजवादी ७. साल्पा सिलिछो गाउँपालिका– अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा माओवादी केन्द्र ८. जिल्ला समन्वय समितिको प्रमुख– जनता समाजवादी पार्टी, नेपाल, उपप्रमुख नेकपा माओवादी केन्द्र ९. आम्चौक र अरुण गाउँपालिकामा गठबन्धन दलहरूकाबीच मात्रै स्वस्थ प्रतिस्पर्धा गर्ने । गठबन्धन दलहरूबाहिर गठबन्धन गरे पार्टीले सख्त कार्बाहीको विषय बनाउने । यसैबीच खोटाङ जिल्लामा पनि गठबन्धन दलहरुबीच सहमति भएको छ । सहमति अनुसार ३ वटामा काँग्रेस, ३ वटामा माओवादी तथा चार दलबीच सहमति हुन नसकेका ४ वटा पालिकामा काँग्रेस बाहेकका तीन दलको गठबन्धन बनेको छ । प्राप्त विवरण अनुसार खोटाङकमो दिग्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र, बराहपोखरी गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपप्रमुखमा नेकपा एस, रावाबेंसी गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस, खोटेहाङ गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस, जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार हुने सहमति भएको छ । यस्तै काँग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच खोटाङका चार पालिकामा छुट्टै सहमति भएको छ । त्यहाँ काँग्रेस, एमाले र अन्य गठबन्धन दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसअनुसार हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एस र उपाध्यक्षमा जनता समाजवादी, सकेला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा जसपा, दिप्रुङ चुईचुम्माको दुवै अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले नै पाएको छ ।

पार्टीको निर्णय नै सर्वेसर्वा भन्दै, खोले कांग्रेस कास्कीका नेताले कार्यलयमा लगाएको ताला

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले कास्की जिल्ला पार्टी कार्यालयमा लगाएको ताला खुलेको छ । महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट पक्षले गत बुधबार पार्टी कार्यालयमा ताला लगाएको थियो । पार्टी निर्णय नसच्याएमा ताला नखोल्ने अडान लिए पनि अन्ततः असन्तुष्ट पक्ष पार्टी निर्णय मानेर जान सहमत भएको छ । ‘हामीले महानगरपालिका मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि ताला लगाएका थियौं, महानगरपालिकाका सबै साथीहरुसँग छलफल गर्दा पार्टीको निर्णय उल्लंघन गरेर जाने अवस्था छैन भन्ने भयो । त्यसपछि पार्टी कार्यालयमा लगाइएको ताला आज बिहान खोल्यौँ,’ कांग्रेसका एक जिल्ला नेताले भने । उनले महानगरको उपमेयर र वडामा सशक्त दाबेदारका रुपमा प्रस्तुत हुने र अरु स्थानीय तहमा धेरै भागबण्डा लिने तयारीका साथ अघि बढेको बताए । पार्टीको निर्णय नै सर्वेसर्वा भएकाले गठबन्धनको पक्षमा एक ढिक्का हुने निर्णय भएको उनको भनाइ छ । पाँच दलीय गठबन्धनको केन्द्रीयस्तरको निर्णय अनुसार पोखरा महानगरको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा काँग्रेसबाट उम्मेदवार हुने छन् । यसअघि भने पोखराको मेयर र उपमेयर दुवै एमालेबाट निर्वाचित भएका थिए ।

कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी हुनुहुँदैन : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी बन्न नहुने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता रिजालले नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताए । स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पाटीहरू एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उनले कांग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकीर गरे । नेता रिजालले एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेसलाई केही सिट कमी आए पनि देशको भलो हुने बताए । उनले स्थानीय निर्वाचनमा माओवादीले धेरै सिट ल्याएको खण्डमा नेकपा एमाले र नेकपा एमालेले धेरै सिट ल्याएको खण्डमा नेकपा माओवादी केन्द्र एक अर्कालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर जानसक्ने आशंका व्यक्त गरे । नेता रिजालले नेपाली कांग्रेसले नेपालको राजनीतिमा एकातिर कम्युनिष्ट आन्दोलनको लडाइँ र अर्कोतिर कम्युनिष्ट बोकेर कहिलेसम्म हिंड्ने भन्दै प्रश्न समेत गरे ।

माओवादीको ६ बुँदे सर्कुलर उम्मेदवार छान्न वैशाख ५ को डेडलाइन, स्थानीय तहमा आफूखुसी गठबन्धन तोड्न रोक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गरेका छन् । केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वन गर्न मातहतका कमिटीमा सोमबार सर्कुलर पठाएका हुन । सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ । यस्तै स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ । बरु गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्न मातहतका कमिटीलाई भनिएको छ । केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुसी निर्णय लिन रोक लगाइए हो । ‘गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्नेछ’, सर्कुलर उदृत गर्दै एक नेताले भने । कसरी लगाउँछ माओवादीले उम्मेदवारको टुंगो माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्कुलर अनुसार प्रदेश समितिहरुले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने भनिएको एक नेताले जानकारी दिए । ‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम पार्टीका प्रदेश समितिहरुले सर्वसम्मत भए एक–एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्ने भनेर सर्कुलरमा भनिएको छ’, ती नेताको भनाइ छ । यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिहरुले गर्नुपर्ने छ भने त्यस्तो सिफारिस सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने छ । त्यसपछि निर्णयलाई केन्द्रीय कार्यालयबाट अनुमोदन गराउनुपर्नेछ । यस्तै वडा अध्यक्ष र सदस्यहरुको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्ने छ । चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड दिन पनि माओवादीले निर्देशन दिएको छ । ‘केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने छ’, सर्कुलरमा भनिएको छ । महिलालाई ‘उपमेयर’मा सीमित नगर्ने यसैगरी माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको छ। पार्टीहरुले महिलालाई उपमेयरमा सीमित गरेको टिकाटिप्पणी हुँदै आएको बेला माओवादीले हरेक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमा भनेको छ । यस्तै कम्तिमा एउटा वडा अध्यक्षमा महिलाको उम्मेदवारी दिन विशेष जोड गर्ने पनि माओवादीले निर्णय गरेको एक नेताले जानकारी दिए । ‘स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयको सम्भावना भएका पालिका मध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिका अन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने गरी अध्यक्ष कमरेड प्रचण्डबाट सर्कुलर भएको छ’, ती नेताले भने । यसअघि माओवादीले पार्टीका हरेक निकायमा पनि ३५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको थियो ।

कांग्रेसबाट भरतपुरको मेयरमा २५, उपमेयरमा २४ जना आकांक्षी

काठमाडौं । नेपाली कांग्रेस चितवनका २५ जना नेताहरूले भरतपुरको मेयरमा दाबी गरेका छन्। सत्तारूढ पाँच दलीय गठबन्धनले देशभरका स्थानीय तहमा तालमेल गर्ने निर्णय गरे पनि यहाँ मेयर र उपमेयर पदमा आकांक्षा राख्नेको संख्या धेरै देखिएको छ। उपमेयर पदमा पनि २४ जनाले दाबी गरेको महानगर सभापति चित्रसेन अधिकारीले बताए। नेपाली कांग्रेसको केन्द्रीय निर्देशन र जिल्ला समितिको परिपत्रका आधारमा महानगर समितिले मेयर र उपमेयर पदका आकांक्षीलाई चैत २७ र २८ गते भित्र मनोनयन दर्ता गर्न आह्वान गरेको थियो। यो अवधिमा मेयर पदमा केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, पार्टीका बागमती प्रदेशका कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकरप्रसाद कंडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी, निलकण्ठ रिजाल, गौरी कुमारी श्रेष्ठ, मिना कुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरूङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा।डा। केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा। सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडीले मनोनयन दर्ता गरेका छन्। उपमेयर पदका लागि राजीव न्यौपाने, सुरवीर पोखरेल, टंकनाथ पौडेल, तारा गुरूङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरू कार्की, कल्पना पौडेल, देबेन्द्र गुरूङ, पूर्णबहादुर गुरूङ, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल, रवि भद्र शर्मा खनाल, निर्मलराज पौडेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरूङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसीले दाबी पेस गरेको महानगर सभापति अधिकारीले बताए। भरतपुरको मेयरमा गठबन्धनबाट माओवादीले पनि दाबी गरेको छ। माओवादीले फेरि रेनु दाहाललाई नै मेयरमा दोहोर्‍याउन चाहेको छ। कांग्रेसका जिल्ला नेताहरूले भने यसपालि महानगरको मेयर पद छाड्न नसकिने भन्दै शीर्ष नेताहरूलाई दबाब दिइरहेका छन्। कांग्रेसको नेतृत्व तहमा शेखर कोइराला समूह भरतपुरमा मेयर पद छाड्न नहुने अडानमा छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मेयर पद कांग्रेसले नै पाउनेगरी सहमतिको प्रयास गर्ने आश्वासन दिएको केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए। नेकपा एमालेले भने प्रदेश सांसद विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ।

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने

दाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका सभापति शङ्कर डाँगीले जानकारी दिए । पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलीय चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थ रुपमा वस्तु स्थिति बारेमा चित्रण गरी प्रतिवेदन पठाएको पनि नेपाली कांग्रेसका सभापति डाँगीले जानकारी दिए । सो बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष सुवास पुन, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको उपस्थिति रहेको थियो । यता नेकपा (एमाले) ले भने जिल्लाका सबै वडामा एकल रुपमा चुनावी मैदानमा उत्रने जनाएको छ । एमालेले आजदेखि वडास्तरका उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।

कपिलवस्तु नगरपालिकाको मेयरमा माओवादीका शत्रुघन चौधरीको चर्चा

कपिलवस्तु । आगामी वैशाख ३० गते हुने स्थानीय निकायको चुनाव नजिकिदै गर्दा कपिलवस्तु नगरपालिकामा गठबन्धनका प्रत्यासी उम्मेदवारका आकांक्षी धेरै हुँदा गठबन्धनको तर्फबाट मेयर तथा उपमेयर छनौट गर्न सतारुढ दललाई हम्य हम्य परेको छ । कपिलवस्तुमा २०७४ सालको स्थानीय निर्वाचनमा ९२५४ मतका साथ नेपाली काँग्रेसको तर्फबाट किरण सिंह विजयी भएका थिए । अहिले स्थानीय चुनाव नजिकिएसँगै सत्ता साझेदार दल नेकपा (माओबादी केन्द्र)को तर्फबाट कपिलबस्तु नगर समितिका अध्यक्ष शत्रुघन चौधरीको पक्षमा स्थानीय क्षेत्रमा माहोह सिर्जना भएको छ । उनी निर्वाचन मिति घोषणा भएसँगै पार्टिले उनलाई मेयरको उम्मेदबारको रुपमा अघि सारेको छ त्यससँगै निर्वाचनको प्रचार प्रसार जनभेटघाट उनको दिनचर्या जस्तै बनेको छ । अन्य सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस,नेकपा (एकीकृत समाजवादी),जनता समाजवादी पार्टी एंव राष्ट्रिय जनमोर्चा लगायतका पार्टीले भने नगरपालिकामा आफ्ना आधिकारिक उम्मेदवार तय गर्न सकेका छैनन् । माओबादी केन्द्र बाहेकका अन्य दलभित्र प्रत्यासी उम्मेदवारको संख्या धेरै भए पछि अन्य दलमा उम्मेदवार तय गर्न सकस परेको हो। अहिले माओवादीको प्रत्यासीका रुपमा रहेका चौधरीलाई २०७७ चैत्र २१ गते नेकपा (माओबादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका थिए । नेकपा(माओवादी केन्द्र) को सदस्यता प्राप्तिसँगै उनले प्रचार प्रसार लगायत सामाजिक कार्यमा सक्रियता देखाउँदै आएका छन । आजका मितिसम्म आधिकारिक रुपमा चुनावी मैदानमा उत्रिएका एक मात्रै उम्मेदवार नेकपा (माओबादी केन्द्र)का नगर अध्यक्ष शत्रुघन चौधरी मात्रै रहेको कुरा प्रचार प्रसार,सक्रियता एवम सामाजिक सञ्जालबबाट बुझ्न सकिन्छ । विगत २० बर्षदेखी राजनितिक तथा सामाजिक क्षेत्रमा सक्रिय चौधरी वि.सं.२०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालयद्धारा गठित जनता आवास कार्यक्रमको संयोजकको रुपमा रहेर जिल्लाभरी करिब एक हजार निम्न वर्गका गरिब तथा अति विपन्न परिवारको घर निर्माणमा सक्रिय उनी स्थानीय जनतामाझ चिरपरिचित अनुहार हुन। यसै गरी पुर्वाधार र सेवाका हिसाबले पछि परेको कपिलबस्तु जिल्लाको जिल्ला अस्पताल उनी अस्पताल विकास समितिको अध्यक्ष भएकै पालामा उनकै पहलमा करिब २१ करोडको बजेट ल्याई सुविधा सम्पन्न अस्पताल तत्कालिन स्वास्थ्य तथा जनसँख्या मन्त्री राजेन्द्र महतोद्धारा सिलन्यास गराएको कुरा अस्पतालका कर्मचारीहरु बताउँछन । त्यसेगरी कपिलवस्तु जिल्लाको सदरमुकाममा स्थित रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १२ करोड ठगी अपचलन मुद्धामा पिडित बचतकर्ताहरुको तर्फबाट नेतृत्व गर्दै प्रमुख जिल्ला अधिकारी लगायत सरोकार वाला निकायलाई बार्ता र आन्दोलनको माध्यमबाट पटक पटक ध्यानाकर्षण मात्रै गराएनन उनले बचत कर्ताको नेतृत्व गरेको छोटो समयमै उक्त मुद्धा फैसला गराउन भुमिका निर्वाह गरी करिब ७ हजार बचतकर्ताहरुलाई न्याए दिलाएको एक स्थानीयले बताए । २०६४ सालको संविधानसभा चुनावमा झिनो मतान्तरले पराजित भएका चौधरी २०७० सालको प्रतिनिधि सभा चुनावमा सन्तोषजनक उपस्थिति जनाएका थिए । स्थानीय तह आएसँगै प्रत्यक्ष रुपमा समाजसेवामा लागेका उनलाई माओवादी केन्द्रले प्रथामिकताकासाथ कपिलवस्तु नगरपालिकाको मेयरको उम्मेदवारको रुपमा अघि सारेको हो । यद्यपी केन्द्रिय गठबन्धन तथा जिल्लाको निर्णय अनुसार नगरमा गठबन्धनको निर्णय मान्य हुने भन्दै गठबन्धनले अगाडी सारेको व्यक्तिलाई सबैले सहयोग गर्दै प्रतिगमनलाई परास्त गर्नुपर्ने उनको धारणा छ ।

गण्डकी प्रदेश सरकारले हटायो विभिन्न समितिका पदाधिकारी

काठमाडौं । गण्डकी प्रदेश सरकारले निर्वाचन आचारसंहिता लागूहुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीहरुलाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई पदमुक्त गरेको हो । पदाधिकारी हटाएसँगै सरकारले खेलकुद विकास समितिका पदाधिकारी निर्वाचनपछि मात्रै नियुक्त गर्ने जनाएको छ । तर संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिको अध्यक्ष र सदस्य भने आजै नियुक्त गरेको छ । अघिल्लो सरकारले नियुक्त गरेका जिल्ला अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै सरकारले नयाँ नियुक्त गरेको हो । अघिल्लो सरकारले १६ वैशाखमा ३ वर्षे कार्यकालका लागि सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्षमा कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई नियुक्त गरेको थियो । अस्पताल व्यवस्थापन समितिका अन्य सदस्य नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट रहने जनाइएको छ ।

तीन सिट जितेर देखाउन ओलीको नेपाललाई चुनौती

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले तेस्तो बताएका हुन् । उनले माधव नेपालको २३ सिट पाउने हुत्ति नभएको बताए । साथै उनले आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौती दिए । माधव नेपाललाई देखाउने गरी चुनावको तयारी गर्न पनि पार्टी निकट स्वास्थ्यकर्मीहरुलाई अध्यक्ष ओलीले निर्देशन दिए।   अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताए । उनले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरु सक्रीय रहेको बताए । वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति संकेत गर्दै उनले म नखाऊ भनेपछि सरकार थरर काम्ने गरेको पनि बताए । विद्यार्थी बाहिर पढाउने र कमिशन खान पल्केकाहरुले नै नेपालजस्तो स्वास्थ्यको हव बन्न लायक मुलुकमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो । उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई प्रदुषित गर्ने तत्वहरु सक्रिय छन । एकदमै सक्रिय छन । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने, यहाँ त स्वास्थ्यको, स्वास्थ्य शिक्षाको त हव हुनुपर्छ नेपाल । विश्वको शिक्षा केन्द्र हुनुपर्दछ यो । विश्वको हेल्थ युनिभर्सिटी हुनु पर्दछ नेपाल । विश्व हेल्थका निम्ति मोडल हस्पिटलहरु हुनुपर्दछ यहाँ । नामको मोडेल भनेको होईन मैले । कामको मोडल हुनुपर्यो । यहाँ त एउटा म नखाउ त नखाउ भनेपछि सरकार थरर । अनि एकथरी विद्याथी बाहिर पठाउने मतियार छन र त्यसबाट कमिशन खान्छन ।

संयुक्त समाजवादी मोर्चा नेकपा समाजवादीमा समाहित

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादी (एस)मा समाहित भएको छ । नेकपा(क्रान्तिकारी माओवादी)परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा (एस) मा समाहित भएको हो । आज नेकपा (एस)को केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दर्जनौलाई एकीकृत समाजवादीमा प्रवेश गराएका हुन् । मोर्चाका अध्यक्ष भण्डारीले आफूहरुको तत्कालित पार्टीले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरि बहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरी संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादीसँग आफूहरु सिद्धान्त मिलेकाले प्रवेश गरेको बताए ।

किन गए विप्लव समूहका नेता प्रकाण्ड निर्वाचन आयोग ?

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ । स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटघाट गरेका छन् । पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो । तर महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेका थिए । अल्पमतमा परेपछि पार्टी फुट जोगाउन उनीहरु प्रस्तावबाट पछि हटेका थिए ।