तोडियो शेखर–गगन संवादहीनता, आजसँगै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर (शेखर–गगन) पक्षको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बत्तीसपुतलीमा बस्ने छ।

नेता डा.शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएकोमा आफूसँग परामर्श नगरी बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएका थिए । पछि शेखरले आफुबाट भुल भएको र संवादबाट अगाडि बढ्ने बताएपछि सहमतिमै बैठक आजका लागि सारिएको हो ।

बैठकमा शुक्रबार बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६ देखि १९ सम्मका लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेका छन् ।

यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे इतर समूहले आज आफ्नो रणनीति बनाउने बताइएको छ।

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा १० हजार सेना तैनाथ गर्न नेपाल तयार : उपप्रधानमन्त्री खड्का

घाना। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् । घानाको आक्रामक भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको समेत बताए । मन्तव्यका क्रममा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकोमा समेत धन्यवाद दिए । उनले संयुक्त राष्ट्रका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएको समेत बताए । यसले शान्ति सैनिकहरूको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनको भनाइ छ । “हामीले हाम्रा सैनिकहरूलाई जस्तो सुकै चुनौतीपूर्ण अवस्थामा पनि तैनाथीका लागि तयार राखेका हुन्छौँ। हामी सुनिश्चित गर्छौँ कि हाम्रा शान्ति सैनिकहरूले आचरण र अनुशासनको उच्चतम मापदण्ड पूरा गर्छन्, र हामी यौन शोषण र दुर्व्यवहार विरुद्ध शून्य–सहिष्णुता नीतिलाई दृढतापूर्वक पालन गर्छौँ”, उपप्रधानमन्त्री खड्काले भने । नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टी÷पीसीसीलगायत सम्बन्धित प्रमुख सरोकारवालाहरूबिच सुधारिएको समन्वय संयन्त्र धेरै महत्त्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उनले बताए। उनले शान्ति स्थापना साझेदारीपूर्ण कार्य भएको र घोषित लक्ष्य पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा राखे । उपप्रधानमन्त्री खड्काले नेपाल यस वर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राख्दै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र दुई वटा इफपीयू र आरडीएलमा स्तरोन्नति गर्न प्रतिबद्धता समेत जनाए । उनले नेपाल इओडी इहाई, एकल इकाई, रेकी इकाई, क्यूआरएफ कम्पनी र एमपी कम्पनीलाई समेत स्तरोन्नति गर्न प्रतिबद्धता जनाए । “हामी हाम्रो वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यसका प्रशिक्षकहरूलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति स्थापना तालिम सञ्चालन गर्न तत्पर छौँ। नेपालले आईटीएस, डीपीओलाई यूएनएममओ कोर्सको लागि सिमुलेशन सफ्टवेयर प्रदान गर्दै आएको छ”, उनले भने। त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले नेपालले संयुक्त राष्ट्रसङ्घका महासचिवको लैङ्गिक समानता रणनीतिको लक्ष्य पूरा गर्न महिलाहरूलाई अपरेसनल भूमिकामा परिचालन गर्दै अर्थपूर्ण सहभागिता बढाउन कार्यलाई निरन्तरता उल्लेख गरे । “हामी शान्ति स्थापना मिसनहरूमा वातावरणीय पदचिह्न कम गर्न नवीकरणीय ऊर्जाको प्रयोग र प्रवर्द्धन गर्न प्रतिबद्ध छौँ। हामी यूएनएमआईएसएस र हाम्रो तालिम केन्द्रमा साझेदारीमा नवीकरणीय ऊर्जाहरू प्रयोग गर्दैछौं र यो लक्ष्य पूरा गर्न द्विपक्षीयरबहुपक्षीय साझेदारीको खोजीमा छौँ”, उनले भने । नेपाल संयुक्त राष्ट्र सङ्घको संरक्षणमा विश्व शान्तिका लागि आफ्नो दृढ प्रतिबद्ध रहेको समेत उनको भनाइ छ । नेपाल सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आइरहेको छ । नेपालले शान्ति स्थापनाका लागि विश्वभरका १६ विभिन्न मिसनमा छ सय १६ महिलासहित छ हजार दुई सय ७८ शान्ति सैनिकहरू तैनाथी गरी दोस्रो ठुलो शान्ति सेना र प्रहरी खटाउने देशका रूपमा रहेको छ । शान्ति स्थापनाका क्रममा हालसम्म ८६ शान्ति सैनिकले शान्ति स्थापनाका लागि आफ्नो प्राण त्याग गरेका छन् भने ६६ जना घाइते भएका छन् । हिजो भएको सम्मेलनको उद्घाटनमा घानाका उपराष्ट्रपति महमुदु बहुमियाले विश्व शान्ति, स्थिरता र सुरक्षाका लागि सबै देशबिच सहकार्य हुनुपर्नेमा जोड लिए । ‘पिस बिगन्स विथ मि’ भन्ने नाराका साथ हिजोदेखि सुरु भएको सम्मेलनमा करिब ९० देशका प्रतिनिधिमण्डलको सहभागिता थियो । उपप्रधानमन्त्री खड्का र नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य मंगलबार साँझ घानाका उपराष्ट्रपति बहुमियाले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी भए । सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्व शान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोगका साथै यो सम्मेलनमा व्यक्त भएका प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन काठमाडौंमा गरिनेछ । यसअघि, माघको १४–१८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

पक्राउ पुर्जीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीबाट आन्दोलनको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँले हिजो विप्लव लगायत नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि आज एक विज्ञप्तिमार्फत उनले आन्दोलनको घोषणा गरेका हुन् । जिल्ला अदालत काठमाडौँले हिजो महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पोलिटब्युरो सदस्य माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । महासचिव विप्लवले जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर पक्राउ पुर्जी जारी गर्नु सरकारसँग २०७७ साल फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भएको उल्लेख गरेका छन् । उनले प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएका ३ बुँदे सहमति मध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने रहेको स्मरण समेत गराएका छन् । उनले यसले देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथि हमला भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।’ पक्राउ पुर्जीविरुद्ध नेकपाले आजदेखि तीन दिनको सङ्घर्षका कार्यक्रम समेत घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार आज साँझ साढे ५ बजे मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेका छन् ।

देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव : मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताएका छिन् । नेकपा (माओवादी केन्द्र) प्युठानको सरुमारानी गाउँपालिका–२ मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रुपान्तरण सम्भव हुने बताइन्। देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरु कसैले गर्न नसक्ने उल्लेख गर्दै उनले माओवादीले जितेका सबै तहका सरकारले नमूना काम गरिरहेको बताइन् । माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनको रुपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको पनि बताइन् । विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्नु, मल आपूर्ति सहज बन्दै जानु, सेवा प्रवाहका कार्यालयहरुमा लाइनमुक्त बन्दै जानुले सेवा प्रवाहको क्षेत्रमा आशा जगाएको उल्लेख गर्दै मन्त्री शर्माले नक्कली भूटानी शरणार्थी, सुनकाण्ड जस्ता ठूला भ्रष्टाचारका घटनामा सरकारले लिएको अडानले सुशासनको क्षेत्रमा नयाँ सन्देश दिएको स्पष्ट गरिन्। सामाजिक न्याय सरकारले समातेको महत्त्वपूर्ण बाटो भएको उल्लेख गर्दै उनले यो समाजमा पुग्ने पार्टीको योजनासित जोदिएको बताए । जनयुद्धको बेलामा पनि तोड्न नसकिएको मिटरब्याजको जालो तोड्नेदेखि सामन्तवादका बाँकी अवशेष समाप्त पार्ने सवालमा सरकारले महत्त्वपूर्ण पाइला चालेको स्पष्ट पार्दै मन्त्री शर्माले यसलाई पार्टीले जनतासम्म पुर्‍याउनुपर्ने बताइन् । काम गर्ने क्रममा भएका कमीकमजोरीप्रति माफी मागेर अघि बढ्न उनले नेता कार्यकर्ताहरूलाई आग्रह गरे । सबै छरिएका माओवादी एक भएर जनतालाई गोलबन्द गर्नुपर्नेमा उनले जोड दिइन् । २०६४ सालमा माओवादीलाई पहिलो शक्ति बनाए पनि त्यसपछि जनताले माओवादीको फूट र विभाजन मन नपराएको उल्लेख गदै उनले परिवर्तनकारी शक्तिबिचको एकता अनिवार्य भएको बताइन् । माओवादीसित जनता एजेण्डाका कारण नभइ माओवादीकै नेता कार्यकर्ताको शैलीका कारण रिसाएको पनि उनले स्पष्ट गरिन् । माओवादीले अघि सारेको गणतन्त्र, सङ्घीयता, समावेशिताजस्ता एजेण्डामा देश चलिरहेको भए पनि निर्वाचनमा अपेक्षित मत प्राप्त नहुनुको कारण खोजी गर्नुपर्ने उल्लेख गर्दै शर्माले राजनीतिलाई पेशा होइन, सेवाको रुपमा स्थापित गर्नुपर्ने बताइन् । महिला, मधेशी, जनजाति, दलितलगायत पछाडि पारिएका समुदाय माओवादीको एजेण्डाकै कारण शासन सञ्चालन गर्ने हैसियतमा पुगेको स्पष्ट पार्दै मन्त्री शर्माले यसलाई पार्टी मात्रै होइन, देशको पूजीको रुपमा लिनुपर्ने बताइन् । जनताले अघि सारेका जायज माग पूरा गर्न इमान्दारितापूर्वक लाग्नुपर्ने र पूरा गर्न नसके त्यसको कारण पनि जनतासमक्ष इमान्दारपूर्वक राख्न मन्त्री शर्माले स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिइन्। सभालाई माओवादी केन्द्रका प्रदेश सचिब कृष्ण अधिकारी, प्रदेश सदस्य बुद्ध बस्नेतलगायतले सम्बोधन गरेका थिए। सो क्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य शर्माले एमाले सरुमारानी गाउँ कमिटी सदस्य चिन्ताबहादुर लोहारसहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउनुहुँदै सदस्यता प्रदान गरेका थिए ।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो १ बजे हेटौँडामा बस्ने बताइएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक बोलाएका हुन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिका विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने तयारी समेत गरेको छ।

कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनमई छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति आउन नदिने बताएका हुन् । मन्त्री श्रेष्ठले संविधानले संस्थागत गरेको लोकतान्त्रिक प्रणालीले नागरिकलाई दिएको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, “अहिले जुन प्रकारको गतिविधि गर्न खोजिएको छ, त्यसलाई व्यवस्थामाथि नै ठूलो चुनौतीका रुपमा लिएका छैनौँ ।” संविधान र लोकतान्त्रिक पद्धतिलाई रक्षा गर्नका लागि अझै गम्भीरतापूर्वक सरकार लागिपर्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले भने, “सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौँ । एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो ।” अन्य सामाजिक सञ्जाल बन्द गर्न लागेको हो भन्ने प्रश्नमा उनले थपे, “अरू सामाजिक सञ्जालका बारेमा चर्चा परिचर्चा भइरहेको छ । त्यो कुरा सत्य होइन । हामी नियमन गर्छौँ ।” सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्‍याउनुपर्ने गृहमन्त्री श्रेष्ठले बताए । उनले भने, “हामी स्वतन्त्रलाई कुण्ठित गर्दैनौँ । हामी यसलाई नियमन गर्ने दिशातर्फ मात्रै गइरहेका छौँ ।” सङ्घीयताको रक्षा गर्ने, त्यसलाई अझ परिमार्जन गर्ने र कार्यान्वयनको प्रक्रियामा जाने मन्त्री श्रेष्ठको भनाइ छ । उनले भने, “एकाध त्यस्ता आवाज आउँछन् भने हामीले त्यसलाई अन्यथा ठान्नु हुँदैन । त्यस्तो आवाज राख्न पाउने अधिकारको पनि हामी रक्षा गर्छौँ ।”

काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन्। शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा.महतले भने, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ ।’ ‘राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो’, उनले भने, ‘त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौं वरिपरीकाको आम्दानीको मूल श्रोत जग्गाजमिन थियो ।’ उनले भने, ‘काठमाडौंमा राणाहरुको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरुले चाकरी गरेवापत पुरस्कारका रुपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पु¥याउन सक्ने ठाउँको जमिन उनीहरु माग्थे । काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरु धेरै भए ।’ ‘काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जानी गर्ने र ठूलो हिस्सा काठमाडौं पु¥याउने काममा केन्द्रित रहे । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो’ मन्त्री डा.महतले भने, ‘काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवकोटका जनता रैती बनेका थिए । मन्त्री डा.महतले भने, अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौं–छहरे सुरुङ मार्गको काम हामीले गरिरहेका छौं । एक अर्ब बजेट पनि राखेका छौं, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।’ ‘यहाँकै प्रकाश महत अर्थमन्त्री हुनुभयो, बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको खोइन भन्ने तपाईंहरुलाई लाग्न सक्छ । साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन, उनले भने, ‘त्यसका लागि भौर्गविक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौं । उहाँहरुले प्राथम्भिक अध्ययन गर्न गर्नुहुनेछ । उहाँहरुले सम्भावित दुई तीनवटा विकल्प दिनुहुनेछ ।’ अर्थमन्त्री डा. महतले अध्ययन सम्पन्न भएपछि काठमाडौं–छहरे सुरुङमार्ग निर्माण प्रकृया अघि बढ्ने बताउनुभएको छ । ‘चार महिनामा अध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका छौं । त्यसपछि चीन सरकारले थप विकल्पहरु दिनेछ । त्यसपछि सुरुङ मार्गको प्रकृया अगाडि बढ्छ ।’ ‘वातावरण अध्ययन नेपाल सरकारले गरेपछि हामीले अन्तिम अध्ययन गरेर काम अगाडि बढाउँछौं । एकले अर्कोलाई देखाउने हाम्रो प्रशासन संयन्त्र यही, तर म यसमा लागिरहेको छु’ उनले भने, ‘सुरुङ मार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नु पर्दैन । एक घन्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइसराइ रोक्छ ।’ मन्त्री डा.महतले भने, यस केन्द्रमा स्थापना गरिएको स्वास्थ्य चौकीले सम्पूर्ण सुविधा विस्तार गर्दै सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना दिए । अहिले धेरै सुविधा दिन सकेको छैन, आउने दिनमा डाक्टर र स्वास्थ्य सहायकको दरबन्दीको व्यवस्था गर्नेतिर लाग्नुपर्छ ।’ उनले भने, ‘सुत्केरी सुविधालगायत अन्य समस्याको स्वास्थ्य जाँच पनि यही उपलब्ध भयो भने सानातिना समस्याका लागि उपचार गर्न बाहिर जान पर्दैन । स्वास्थ्य, शिक्षा र पूर्वाधार चाहेर पनि एकैपटक गर्न सकिँदैन । उपलब्ध साधनस्रोतको भरपूर उपयोग गरेर आवश्यकतालाई केन्द्रविन्दूमा राखेर बजेट विनियोजन गर्नेतर्फ सरकार केन्द्रित छ ।’

भाषण भन्दापनि काम गराैं : सभापति देउवा

रुपन्देही . नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषण भन्दापनि काम गर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको भन्दै अब देशमा भाषणभन्दा काम गर्ने समय आएको बताए । नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफूले कम बोल्ने र काम बढी गर्ने लक्ष्य राखेको उल्लेख गरे । गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्रस्थलमा भएकोले सम्मेलनबाट नेपाली कांग्रेसलाई बलियो बनाउन महत्वपूर्ण सन्देश दिनुपर्ने भन्दै नेपाली कांग्रेस अझै बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गरे । कार्यक्रमा कांग्रेसका महामन्त्री विश्वप्रकाश नेपाली कांग्रेसले महत्वपूर्ण मोडमा कांग्रेसले नेतृत्व गरेको बताउँदै नेतृत्व गर्नेुपर्ने दिन आएको बताए । महामन्त्री शर्माले देशको व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तन चाहिएकोले कांग्रेसले नेतृत्व लिन जरुरी रहेको जोड दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले प्रदेशले अझै अधिकार नपाएको गुनासो गर्दै संघबाट दिन सकिने अधिकार प्रदेश सरकारलाई छिटो प्रदान गर्नेतर्फ ढिलाई गर्नु नहुने जोड दिए । प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमिति सहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरि करिव ७ सय जतिको सहभागिता छ ।

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन शुरू हुँदै, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा शुरू हुँदैछ। बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरू हुने सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम छ। शनिबार उद्घाटन सत्र तथा आइतबार बन्द सत्र हुनेछ । सम्मेलनमा ६७५ जना प्रतिनिधि सहभागी हुने कांग्रेस प्रदेश सभापति अम्बरसिंह पुनले बताए। सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाव पेश गर्नेगरी छलफल हुनेछ। त्यस्तै समसामयिक विषय र विधान संशोधनबारे छलफल हुने पुनले बताए। सम्मेलनलाई सभापति देउवासहित नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्ने छन्। उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, संगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् र ती प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताए।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रश्तुत गर्ने कुरालाई सबैले सामुहिक रुपमा जवाफ दिन जरुरी रहेको बताएका छन् । रक्षामन्त्री खड्काले शुक्रवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले शासकीय सुधारहरु, सुशासन र आम नागरिकका अपेक्षाहरु, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरुलाई छिटो छरितो तरिकाले तिब्र गतिमा अघि बढाउन आवश्यक रहेको बताए । मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको बताए । उनले बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको बताए । उनले पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए । सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गरे अर्थतन्त्रलाई लयमा ल्याउन सकिने उनको भनाइ थियो । उनले मुलुकसँग यतिबेला १० महिना भन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति रहेको पनि बताए । अर्थतन्त्रका धेरै परिसूचकहरु अझै पनि पूर्णतः जोखिममुक्त भइ नसकेको उल्लेख गरे । कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्य प्रणाली भन्दा उन्नत रहेको बताए । उनले यो शासन प्रणालीको विकल्प नरहेको बताए । वर्तमान शासन प्रणालीलाई अघि बढाउँदा जिम्मेवारीमा बसेकाहरुले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्ने बताए ।

राजावादीलाई रास्वपाको जवाफ– ‘थाल खान सकिँदैन, गाँस खाने हो’ (प्रतिवेदनको पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको व्यवस्था नै उत्तम व्यवस्था भएको भन्दै व्यवस्थाभित्रै रहेर हामी मुलुक र नागरिकको अवस्था परिवर्तन गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेको छ । व्यवस्था फेर्नुपर्छ भनिरहेका राजावादीहरुलाई जवाफ दिँदै रास्वपाको प्रतिवेदनमा भनिएको छ, ‘यही व्यवस्थाभित्रै रहेर हामी मुलुक र नागरिकको अवस्था परिवर्तन गर्न सक्छौं । अहिले व्यवस्था परिवर्तनको बहसभन्दा सुशासन र विकासको बहसमा केन्द्रित हुन जरुरी छ । गरिब, दुःखी, पीडित नागरिकको कहालीलाग्दो जीवनबारे बहस नगरेर अन्य परिवर्तनतिर बहस धकेलिने हो भने आमजनतालाई परिवर्तनको प्रत्याभूति दिने संकल्प अनिश्चिततातर्फ धकेलिन्छ । हामीले विगतमा सबै व्यवस्था देखेर आएका छौं ।’ लामिछानेको प्रतिवेदनमा अगाडि भनिएको छ, ‘हामीले यही व्यवस्थाभित्रै रहेर जनताको अभिमत जितेर सबैखाले परिवर्तन गर्न सम्भव छ भन्ने निष्कर्षका साथ पार्टी गठन गरेका थियौं । हाम्रो त्यो निष्कर्ष अहिले पनि कायमै छ।’ सभापति लामिछानेले भनेका छन्, ‘एकपटक सम्पूर्ण बल लगाएर यो देशलाई विकसित राष्ट्र बनाऔं । त्यत्ति गर्दा पुगेन भने जे फाल्नुपर्छ फालौं, जे ल्याउनुपर्छ ल्याऔं ।’ लामिछाने अगाडि थप्छन्, ‘सामाजिक न्यायलाई केन्द्रमा राखी, सुशासनको भीष्म प्रतिज्ञासहित द्रुत विकासका मोडलहरु ल्याएर रोजगारी सिर्जना गरी आर्थिक उन्नतिको वेग मार्नुको विकल्प अहिलेलाई केही पनि हुन सक्दैन ।’ व्यवस्था नै परिवर्तनको कुरा गर्नेहरुलाई लामिछानेले मिथक प्रयोग गरेर जवाफ दिएका छन्, ‘जति भोक लागे पनि थाल खान सकिँदैन, गाँस नै खाने हो ।’ अध्यक्ष लामिछानेले पुराना दलको प्रवृत्ति आफ्नो पार्टीमा दोहोरिन नदिनका लागि र अन्य दलमा रहेका असल मानिसलाई टिममा ल्याउन लिडरसीप एकेडेमी र उम्मेदवार क्लब बनाउने घोषणा गरेका छन् । प्रतिवेदनको पूर्णपाठ

कांग्रेसले बोलायो पदाधिकारी बैठक, के छन् एजेन्डा ?

काठमाडौं । नेपाली कांग्रेसले आजलाई पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठक दिउँसो १ बजे देयवा निवास धुम्बाराहीमा बस्नेछ । बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ । स्रोतका अनुसार बैठकमा सरकारका कामको समीक्षा पनि हुनेछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको समीक्षासहितको ‘रिपोर्ट’ प्रस्तुत गर्ने तयारी छ ।

वन्दुकसहित युवाहरू पक्राउ

सप्तरी । सशस्त्र सीमा सुरक्षा गण–६ सप्तरीले एक बन्दुक र ५ राउन्ड राइफलको गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारीका १९ वर्षका धर्मजित कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौलीका १८ वर्षका हरिशंकर यादव रहेका छन् । जिल्लाको खडक नगरपालिका वडा नं ११ बनौलीस्थित हुलाकी सडक खण्डबाट विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिए । धर्मजितको साथबाट ५ राउण्ड राइफलको (३०३) गोली फेला परेको र निजको साथमा रहेको हरिशंकरलाई पनि नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताए । दुवैजनामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजाना सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा गठित लेखा समितिमा चार जना सदस्य मनोनित गरेका हुन् । मनोनित हुनेमा धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डा।डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्की रहेका छन् । सभापति देउवाले गत वर्ष साउन २ मा लेखा समितिको संयोजकमा घिमिरेलाई मनोनित गरेका थिए । कांग्रेसको लेखा समितिले १७ महिनापछि पूर्णता पाएको छ ।

प्रसाईको आन्दोलन केटाकेटी खेल जस्तो : देवेन्द्र पौडेल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंले एउटा स्कुलमा हुने विद्यार्थी जति मान्छे उतारेको टिप्पणी गरेका छन्। हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुर्गा प्रसाईले काठमाडौं उतारेजति मान्छे (७/८ हजार विद्यार्थी) बुटवलको कालिका माविमा नै रहेको बताएका हुन् । ‘मैले त धेरै मान्छे देखिन । एउटा स्कुलमा हुन्थे त्यति मान्छे त। बुटवलको कालिका माविमा ८/९ हजार छन्,’ उनले भने । प्रसाईले ल्याएका मान्छेको बलमा देशको व्यवस्था परिवर्तन हुन्छ भन्नु केवल भ्रमबाहेक अरु केही हुननसक्ने उनले बताए। आफूहरुले प्रसाईंले काठमाडौं उतारे जति मान्छे एउटा सानो लडाईं लड्न जाँदानै लिएर गएको विगत उनले स्मरण गराए। उनले जनताले संघर्ष र बलिदानी गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र ढाल्छु भनेर केही मान्छे सडकमा आउनु केटाकेटी खेलबाहेक केही हुननसक्ने बताए । ‘अढाई सय वर्षसम्म नेपाली जनताहरु सचेत भएर, दुख कष्ट गरेर, मेहनत गरेर एकात्मक, जहानिया, निरंकुश, सामन्ती राजतन्त्र नेपालका निम्ति ठीक छैन भनेर नेपाली जनताले त्यत्रो आन्दोन गरेको, अनि एक दुई जना मान्छेले सडकमा उभिएर म राजतन्त्र पर्काउँछु भनेर केटाकेटी खेलेजस्तो,’ उनले भने । अहिले दलबाट निर्वाचित जनप्रतिनिधिनै ३७ हजार रहेको बताउँदै उनले राजतन्त्रको नाममा चलखेल हुन थाले उनीहरु चुप लागेर नबस्ने समेत बताए । उनले निर्वाचित जनप्रतिनिधिहरु अहिले कोही पनि सडकमा नरहेको उनको भनाई छ। प्रसाईंले असम्भव कुरा गरेर चर्चामा आउन विभिन्न हर्कत गरेको उनले आरोप लगाए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा दलको विकल्प दलनै र लोकतन्त्रको विकल्प लोकतन्त्रनै हुने उनको भनाई छ । पार्टीले राम्रो काम गरेनन् भन्ने कसैलाई लागेमा दल खोलेर जनताको विश्वास जितेर निर्वाचित भएर यो व्यवस्थामा शासन गर्ने छुट सबैलाई रहेको उनले बताए। यही व्यवस्थाको रसस्वादन गरेर केही सांसदहरुले संसद्म राजा भनेको भन्दै उनले आपत्ति जनाए । माओवादीले वंशीय शासन प्रणाली र एकात्मक व्यवस्थाको जहिले पनि खुलेर विरोध गर्ने उनले बताए । ुदलको विकल्प भनेको दलीय प्रणालीने हो। लोकतन्त्रको विकल्प लोकतन्त्रने हो। लोकतन्त्रमा अहिले बहाल भएका पार्टीहरुले कार्यसम्पान राम्रो गरेनन् भने दल खोलेर निर्वाचन आयोगमा दर्ता गराएर जनताको विश्वास जितेर आउनुपर्यो नि । उनले भने, ‘पुरानै प्रणाली ल्याउँछु भनेर बस्ने रु रसास्वादन गर्ने यही प्रणालीको, कतिपय एकदुई जना माननीय पनि हुनुहुन्छ। माननीयहरु अहिले पनि सदनमा राजा भनेर सम्बोधन गर्नुहुन्छ। राजा नेपालमा छैन। असंवैधानिक व्यवस्था किन बोलियो भनेर हामीले प्रतिवाद गरेका छौं।’ राजतन्त्रका नाममा राजावादीहरु सल्वलाई रहने हो भने राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका शक्तिहरु एक ठाउँमा हुन्को विकल्प नरहेको उनको भनाई छ। उनले बाहिर हल्ला गरेजस्तो राजतन्त्रको पक्षमा माहोल रहेको कुरामा कुनै सत्यता नरहेको बताए । राजा इतिहासदेखि नै विवादित रहेको उनले भनाई छ । कोत पर्व, भण्डारखाल पर्व, नारायणहिटी दरबार काण्ड जस्ता काण्ड गरेर राजाले शासनसत्ता हातमा लिने काम गरेको उनले बताए। विरेन्द्रको परिवारको वंश नाश बाहिरबाट हमला गरेर नभएर पारिवारिक रुपमै भएको उनले बताए । आफ्नो वंश, दाजुभाईको संरक्षण गर्न नसक्ने राजतन्त्रले देश र जनतालाई परिवर्तन देला भनेर कल्पना गर्न नसकिने उले बताए । प्रसाईंको विगत, वर्तमान र भविष्यको कुनै टुंगो नरहेको उनले बताए ।