यो वर्षको पर्यटक संख्या बृद्धि रेकर्डकै रुपमा : प्रधानमन्त्री

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको संख्या लगभग रेकर्डकै रूपमा बृद्धि भएको बताएका छन् ।

सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको संख्या झण्डै दोब्बर बनाउँछौं भन्ने मेरो विश्वास छ। लुम्बिनी वरपरको ८ वर्गकिलोमिटरको ग्रेटर लुम्बिनी परियोजना अगाडि बढ्दैछ। ग्रेटर लुम्बिनी अन्तर्गत रामग्राम र कपिलवस्तुको गुरुयोजना अगाडि बढिरहेको छ। फरकफरक क्षेत्रका पर्यटकका लागि सरकारले फरकफरक रणनीतिमा काम गरिरहेको छ।’

ठूलो खर्च भएका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल पनि भइरहेको जानकारी दिंदै उनले भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानहरूलाई इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन गरिँदैछ। निजगढ विमानस्थलको समेत निर्माण सुनिश्चित गरी काठमाडौं, भैरहवा र पोखरा विमानस्थलको विस्तार तथा सञ्चालन पनि सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पमा समेत छलफल भएको जानकारी दिए ।

भोलिबाट एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलि (बुधबार)देखि काठमाडौँमा बस्ने भएको छ । पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणसम्बन्धी छलफल हुने बैठक यही पुस १३ गतेसम्म चल्ने छ । महासचिव घनश्याम भुसालका अनुसार देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने छ। बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिने  बताइएकाे छ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल हुने छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने छन्।विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा

दमौली । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज यहाँ आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताए । सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए । देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए । उनले भने, “पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।” सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे । उनले भने, “संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ ।” कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औँल्याए । देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए । तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुने बताउँदै उनले भने, “विस्तृत शान्ति सम्झौतादेखि हालसम्म भएका उपलब्धि तीन दलको एकताले भएको हो । त्यो एकता अझै आवश्यक छ ।” यसअघि सभापति देउवाले कांग्रेस तनहुँको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । नेपाली कांग्रेस तनुहँले निर्माण गरेको सो भवनको सभापति देउवाले शिलालेख अनावरण गरी उद्घाटन गरेका छन् । पूर्वमहामन्त्री डा।शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई लगायतको सहभागिता छ । चन्दादाताबाट रकम सङ्कलन गरी भवन निर्माण गरिएको हो । करिब रु दुई करोड लागतमा भवन निर्माण गरिएको जिल्ला सभापति जितप्रकाश आलेले जानकारी दिए । आठ आना क्षेत्रफलमा फैलिएको भवन चारतलाको छ । सो अवसरमा सभापति देउवाले भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान पनि गरेका छन् । रासस

दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । सोमवार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताए । मन्त्री साउदले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरु विदेशिइरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए । उनले कामदारका रुपमा पनि विदेशिने गरेका भन्दै क्षमतावान व्यक्तिहरुले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए । उनले देशको कुल जनसंख्यामध्ये युवाहरुको जनसंख्या धेरै रहेको उल्लेख गर्दै देशको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताए । मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताए । उनले राज्यका सबै क्षेत्रहरुमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए ।

जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन् । आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने “नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्।” “हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोचौं। त्यसैले तपाईहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौं। पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ। यसमा पनि सरकार लचिलो हुनुपर्छ।” “एकातर्फ देशमा नेगेटिभिज्म यति बढेको छ कि जतिसुकै राम्रो कुरा गरे पनि काम गरे पनि आलोचना मात्रै गर्ने संस्कृति बढेको छ” प्रधानमन्त्रीले भने, “राम्रो नदेख्ने रोग बढ्दो छ। दर्शक–स्रोता पनि नकारात्मक कुरा र गालीमा रमाउनेजस्ता भएको छ। यसको प्रत्यक्ष फाइदा कुनै पृष्ठभूमि नभएका, योगदान नभएका, लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोज्दैछन्। यो कुरालाई हामीले बदल्नुपर्छ।” छलफलमा खानेपानी मन्त्री महेन्द्र राय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला श्रीपाली, नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति सचिव दीपक काफ्ले, अर्थसचिव कृष्णहरि पुष्कर लगायतले आफ्नो मन्त्रालय र जिम्मेवारीसँग सम्बन्धित विषयमा धारणा राखेका थिए ।

गलत भाष्यलाई चिर्न यात्रा सफल भयो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झुलाझाट– चिवाभञ्ज्याङ यात्रा सफल भएको बताएका छन् । यात्राबारे आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा सहभागी भएको बताए । “अत्यन्तै उत्साहप्रद र सफल रह्यो । जनताको असाधारण सहभागिता रह्यो । लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा सहभागी हुनुभयो,” ओलीले भने । उनले यात्राका क्रममा क्वीन्टल मकै फुटिएको र माला गाँसिएको दाबी गरे । “कति क्वीन्टल मकै मात्रै फुटिए होला । कति टन माला मात्रै गुथिए होला,” ओलीले भने । उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको बताए । उनले समाजमा स्थापित गर्न खोजिएको गतल भाष्य तोडिएको बताए । “अनेक प्रकारका भाष्यहरू तयार गर्न खोजिएको थियो । हुनत त्यस्ता भाष्य कहिले तयार गर्न खोजिएको हुन्छ,” ओलीले भने, “अहिले पनि राणा शासन नै राम्रो थ्यो भन्ने भेटिन्छन् । पञ्चायत राम्रोथ्यो भन्ने भेटिन्छन् । गलत भाष्यलाई चिर्न र नयाँ सही भाष्य स्थापित गर्न यो यात्रा सफल भएको छ । हामी सफल भएका छौँ ।” ओलीले राजनीतिक रूपमा जनतामा आइरहेको नैराश्य भावनालाई चिर्ने काम गरिएको बताए ।

पत्रकार सम्मेलन गर्दै एमाले

काठमाडौं । नेकपा (एमाले)ले आज पत्रकार सम्मेलनको आयोजना गर्दै छ । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको लागि संकल्प यात्राको समापनको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेको हो । एमाले केन्द्रीय कार्यलय च्यासल, ललितपुरमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने एमाले सचिव गगन विष्टले जानकारी दिए । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानका क्रममा बटुलेका अनुभव, समीक्षा तथा सन्देश सार्वजनिक गर्ने बताइएको छ ।

लुम्बिनीमा दुई मन्त्री थपिए, शपथ आज

तुलसीपुर । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो । नयाँ मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् । आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

सानेपामा विमर्श सभा गरेर सन्त नेता भट्टराईको शताब्दी जन्मजयन्ती मनाइ

काठमाडौं। नेपाली कांग्रेसले सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीका अवसरमा आज विमर्श सभा गर्दै छ । कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसानजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो । सानेपास्थित कांग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरू र विशिष्ट व्यक्तिहरूले सम्बोधन गर्नेछन् । दिउँसो १ः१५ बजेदेखि हुने कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व मन्त्री नीलाम्बर आचार्य र विश्लेषक सिके लालबिच विशेष अन्तरक्रिया हुनेछ । सो अन्तरक्रियालाई वरिष्ठ पत्रकार नवराज लम्सालले सहजीकरण गर्नेछन् । वि.सं. १९८१ पुस ८ मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो । नेपाली कांग्रेसका पूर्व सभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछिका पहिला प्रधानमन्त्रीसमेत हुन् ।

संघीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।

कांग्रेसमा अपेक्षा नगरी पार्टीका लागि योगदान गर्ने नेता तथा कार्यकर्ता छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपेक्षा नगरी पार्टीका लागि योगदान गर्ने नेता तथा कार्यकर्ता रहेको बताएका छन् । त्यस्ता नेता तथा कार्यकर्ताप्रति आफ्नो सम्मान रहेको उनले बताए । वाग्मती प्रदेश सम्मेलनलाई आज संबोधन गर्दै सभापति देउवाले देश दोधारमा उभिएको बताएका छन् । “देश अहिले संक्रमणकालमा उभिएको छ । कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ । यो महत्वपूर्ण कुरा हो,” उनले भने, “साथीहरूको त्याग तपस्या र बलिदानले ठूलो पार्टी बन्न सकेको छ । ग्रासरुटदेखि नै बलियो बनाउन सबै साथीहरू लाग्नुहुनेछ ।” पार्टीमा मेलमिलाप आवश्यक रहेको उनले बताए । जितहार स्वाभाविक भएको भन्दै हार्नेले जित्ने साथीलाई सहयोग गर्नुपर्छ । “जित्ने सधैँ जित्ने हार्ने सधैँ हार्ने होइन । पूर्ण रुपमा मेलमिलाप हुन सकेको छैन,” सभापति देउवाले भने ।

अंगदानका निम्ति सबैले प्रोत्साहित गरौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका छन् । शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु– मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछु।’’ सम्बोधनको पूर्णपाठ सर्वप्रथम शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा उपस्थित भई आफ्ना विचारहरू राख्ने अवसरका निम्ति यहाँहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु। आजको यस सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले निकै महत्वपूर्ण र रचनात्मकसमेत छ। नेपालको अंग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलताहरू सम्बोधन गर्दै आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाह गर्न यो सम्मेलन कोशेढुंगा हुने विश्वाससमेत व्यक्त गर्दछु। मानव अंग प्रत्यारोपणका विज्ञ एकै ठाउँ भेला भएर प्रत्यारोपण सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान एवं प्रत्यारोपणका क्षेत्रमा देखिएका चुनौतीहरू सम्बोधनका दृष्टिले यो सम्मेलन समग्र देशको स्वास्थ्य सेवाका दृष्टिले समेत दूरगामी महत्वको छ। यसका निम्ति नेपाल सरकारको तर्फबाट खुसी व्यक्त गर्दै सबै विद्धान् चिकित्सकहरूमा अभिवादन व्यक्त गर्दछु। सामूहिक छलफल र अन्तरक्रियाका आधारमा सम्मेलनले दिने सुझाव र निकाल्ने निष्कर्ष स्वास्थ्य सेवामा गुणात्मक रूपान्तरणका निम्ति महत्वपूर्ण हुनेछ। तसर्थ, सम्मेलनका सुझाव र निष्कर्षअनुसार यस क्षेत्रमा गर्नुपर्ने सुधारका निम्ति नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराउँछु। मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा नै राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई बिस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरिएको थियो। गत वर्ष पनि मैले यसबारे प्रतिवद्धता व्यक्त गरिसकेको छु। तसर्थ, मेरो यही कार्यकालमा यससम्बन्धी बाँकी काम टुंगोमा पुर्‍याउन सरकार प्रतिवद्ध छ। मस्तिष्क मृत्युपछि अंगदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय छ। मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको देखिन्छ। म स्वयंले पनि अंगदान गर्ने घोषणा यसअघि नै गरेको छु। सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु– मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछु। यस सन्दर्भमा अंग फेल भई मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने यस महान अभियानलाई प्रवद्र्धन गर्न नेपाल सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गर्दछु। अन्त्यमा, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीहरू सम्मिलित महत्वपूर्ण कार्यक्रमको आयोजनाका निम्ति आयोजक संस्थाहरू र डा. पुकारचन्द्र श्रेष्ठको टीमलाई धन्यवाद व्यक्त गर्दछु। फेरि एकपटक तपाईहरूको यो भव्य, दूरगामी महत्वको रचनात्मक सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु। धन्यवाद।

कांग्रेस वाग्मती प्रदेशको प्रथम सम्मेलन आज

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशको प्रथम सम्मेलन शनिबार (आज) काठमाडौंमा हुने भएको छ । सम्मेलनको सभापति शेरबहादुर देउवाले बिहान साढे ८ बजे उद्घाटन गर्नेछन् । सम्मेलनमा विधानबमोजिम ७८२ प्रदेश सम्मेलन प्रतिनिधि, वाग्मती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापतिको सहभागिता रहने पार्टीका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिने बताइएको छ । कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।

कांग्रेस मधेस प्रदेश सम्मेलनको बन्दसत्र जारी

जनकपुर । नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र जारी छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो । प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् । यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् । बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।

संस्कृतिमन्त्री किरातीले भन्छन्– ‘म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गरौँ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले ‘अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्नेमा’ जोड दिएको बताएका छन् । उनले आफू सबैको अस्तित्व स्वीकार गर्नुपर्ने पक्षमा रहेको पनि बताएका छन् । ‘फेरि पनि भन्छु, अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो,’ बिहीबार सामाजिक सञ्जालमा उनले लेखेका छन् । ‘भन्‍नलाई त मलाईस पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिस्टियनको कार्यक्रममा जाँदा क्रिस्टियन भने,’ उनले भनेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री किरातीले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले कसैको डरत्रासमा बस्न नहुने बताएपछि उनी विवादित बनेका छन् । ‘कसैको दायामायाले होइन, हजारौँ सहिदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरू एकथरि फूल हो । तपाईंहरूबिना बगैँचाको शोभा हुँदैन । तीन करोड नेपालीमा लाखौँ क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो,’ उनले भनेका थिए ।

श्रीलंकाका विदेशमन्त्री नेपाल भ्रमणमा

काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री एमयुएम अली साब्री चारदिने औपचारिक भ्रमणमा आज नेपाल आएका छन् । नेपाल–श्रीलंकाका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यही पुस ५ र ६ गते काठमाडौँमा आयोगको बैठक हुँदैछ । विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् । साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नेछन् । भ्रमणका क्रममा श्रीलंकाका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्नेछन् ।