दलित महिलाको सक्रियतामा नमूना बस्ती बन्दै

लहान । केही वर्ष अघिसम्म समस्यै-समस्याबाट थलिएको सिरहाको कर्जन्हा नगरपालिका ९ को दलित बस्ती अहिले भने नमूना बनेको छ ।

गाउँका दलित महिलाहरु संगठितरुपमै आयआर्जनको कार्यमा सक्रिय भएपछि दलित बस्तीको पहिचान नै फेरिएको छ । अरुको कुरा काट्न मै समय बिताउँदै आएका दलित बस्तीका महिलाहरु सामाजिक सुधारको कार्यमा जुटेपछि दलित पुरुषहरु मात्रै होइन अन्य समुदायका महिला र पुरुषहरु पनि उहाँहरुलाई सघाउन थालेका छन् ।

केही वर्षअघिसम्म घरेलु हिंसा हुँदा समेत चुप लागेर बस्ने ती बस्तीका महिलाहरु त्यसविरुद्ध अभियान नै चलाएर लागेपछि अहिले घरेलु हिंसासँगै बालविवाहमा समेत उल्लेख्य कमी आएको स्थानीय बासिन्दाको भनाइ छ ।

समग्र विकास सेवा केन्द्र लहानको पहलमा २०७३ जेठ महिनामा रामसीता सामाजिक परिवारमा आबद्ध गाउँका दलित महिलाले बस्तीका बालबालिकाहरुका लागि विद्यालय भर्ना अभियान चलाएर यो वर्ष मात्रै २० जना दलित बालबालिकाहरुलाई विद्यालय भर्ना गराएको स्थानीय महिला सरिता सदाले बताउनुहुन्छ ।

यसका साथै सामाजिक परिवारकै सदस्यहरुको पहलमा दलित समुदायका २४ जनाले नागरिकता प्राप्त गरेका छन् ।

उमेर पुगेकादेखि ४५ वर्ष सम्मका व्यक्तिहरुले समेत विभिन्न कारण नागरिकता बनाउन सकेका थिएनन् । सामाजिक परिवारका सदस्य समेत रहेका सरिता भन्नुहुन्छ – “हामीले सक्रियतापूर्वक पहल गर्दा २४ जनाले नागरिकता प्राप्त गरेका हुन् ।” यस्तै समाजिक परिवारकै पहलमा दलित बस्तीका ९ जना बालबालिकाहरुलाई जन्मदर्ता बनाएर दिनाका साथै १० जोडीको विवाह दर्ताका लागि समेत पहल गरेको सरिताको भनाइ छ ।

सामाजिक परिवारकै सहयोगमा गाउँकै चौकमा एउटा चौतारा समेत निर्माण गरिएको छ । तत्कालीन गाविस कार्यालयबाट बजेट माग गरेर बस्तीमै सार्वजनिक भवन समेत बनाइएको स्थानीयवासी जितनी महराले जानकारी दिनुभयो ।

राज्यबाट प्राप्त हुने अधिकारबारे बोल्न नसक्ने व्यक्तिहरु अहिले सामाजिक परिवारकै माध्यमबाट गाउँमा चेतनामूलक विभिन्न कार्यक्रमहरु सञ्चालनका साथसाथै आफ्ना समस्या निर्धक्क भएर राख्न थालेका छन् । अहिले गाउँका दलित समुदायका व्यक्तिहरु आप्mनो कामकाज आफैं गएर कार्यालयहरुमा गर्न र गराउन समेत थालेका छन् ।

ती समुदायका व्यक्तिहरु सामाजिक क्षेत्रमा मात्र होइन, आयआर्जनको बाटोमा समेत अग्रसर भएका छन् । गाउँकै महिलाहरुको सक्रियतामा कृषक समूह गठन गरी जिल्ला कृषि कार्यालयबाट बीऊबिजन प्राप्त गर्नुका साथै जिल्ला पशु कार्यालयबाट पनि गोठ सुधारका लागि सामाजिक परिवारका ७ जना सदस्यले रु १५ हजारका दरले रकम प्राप्त गरेर बाख्रापालन र गाइपालन गरिरहेका छन् ।

बस्तीका २१ जना दलित र नौ जना पिछडा वर्गका गरी ३० जना सदस्य आबद्ध रामसीता सामाजिकका सदस्यले शुरुमा मासिक रु ५० का दरले र अहिले मासिक रु १०० का दरले बचतसमेत गर्दैआएको समग्र विकास सेवा केन्द्रका उत्प्रेरक मञ्जुकुमारी महतो बताउनुहुन्छ ।

सदस्यहरुले मासिक रुपमा गरेको बचत रकम रु ८५ हजार पुगेको छ । उत्प्रेरक महतो भन्नुहुन्छ – “बचत भएको रकम सामाजिक परिवारकै सदस्यहरुमा ऋण लगानी गर्ने गरेका छन् ।” यसले दलित महिलाहरुमा बचतसँगै ऋण लिने बानीको समेत विकास भएको महतोको बुझाइ छ ।

पछिल्लो समय दलित महिलाहरुमा आएको परिवर्तन सराहनीय रहेको छ । स्थानीय अगुवा श्याम कुमार महतोले यहाँका दलित बस्तीका महिलाको चेतना स्तरबाट अन्य ठाउँका महिलाले अनुसरण गरे छिट्टै सामाजिक रुपान्तरण हुने विश्वास व्यक्त गर्नुहुन्छ ।

रासस

‘पुख्यौली’ र करबाकेली’को अनुसन्धान शुरु

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँ बसोबास गर्ने पुन मगर जातिको अमूर्त सांस्कृतिक सम्पदाका बारेमा अध्ययन र अनुसन्धान थालेको छ । मन्त्रालय, संस्कृति महाशाखाका कर्मचारी र संस्कृतिविद्को टोलीले अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित पुन समुदायको ऐतिहासिक धार्मिकस्थल करबाकेली थान र पुख्यौली संस्कृतिका बारेमा अध्ययन गर्दैछ । अमूर्त सांस्कृतिक सम्पदाका रुपमा रहेका पुख्यौली नृत्यकला र गीतको अभिलेखीकरण गरी संरक्षण तथा सूचीकृत गर्न स्थलगत अध्ययनका लागि आएको महाशाखाका प्रमुख सहसचिव भरतमणि सुवेदीले बताउनुभयो । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको मौलिक संस्कृति, परम्परा र संस्कार भावी पुस्तालाई सहज रुपमा हस्तान्तरण गर्न अभिलेखीकरणसँगै संरक्षणमा सम्बन्धित समुदायलाई जागरुक बनाउने काम भइरहेको बताइएको छ । महाशाखाका कर्मचारीसहित संस्कृतिविद् डा पे्रम खत्री, डा भक्त राई, डा मीन श्रीसलगायतको टोलीले गाउँपालिकाका जनप्रतिनिधि, करबाकेली बाबा संरक्षण समिति, मगर अध्ययन केन्द्रका पदाधिकारी र स्थानीय पुख्यौली नृत्य समूहका कलाकारसँग अन्तक्र्रिया गरेको थियो । पुन समुदायका पुर्खा करबाकेलीको अवसान भएको मानिने सो स्थानमा समुदायले करोडाँै लगानी गरेर करबाकेली, विमला, फिमला, रामचन र कुलचन देवताका मूर्तिसहितको थानलगायत करोडौँका पूर्वाधार निर्माण गरेका छन् । विभिन्न भौतिक प्रमाण र तथ्यका आधारमा सो स्थानमा करबाकेलीको थान बनाइएको संरक्षण समितिका संरक्षक चामबहादुर पुनले बताउनुभयो । उहाँले करबाकेली क्षेत्र र पुख्यौली नृत्यलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल गर्न सो टोलीसँग अनुरोध गर्नुभयो । जन्म, मृत्यु, विवाह, छेवारजस्ता संस्कारगत क्रियाकलापमा पुन मगर समुदायले पुख्यौली नृत्य देखाउने चलन छ । सोरठी भाकामा गाइने गीतको तालमा मादले र मारुनीले समूहमा पुख्यौली नाच्छन् । मगर पोशाकमा सजिई कम्मरमा मादल भिरेर बजाउँदै नाच्नेलाई मादले र उनीहरुसँगै महिलाको कपडा तथा गहनामा सजिएर नाच्ने पुरुष कलाकारलाई मारुनी भनिन्छ । सोरठी गाउन र नाच्नका लागि करीब २० जनाको समूह आवश्यक पर्छ । पुराना पुस्ताका कलाकारको निधनसँगै पुस्ता हस्तान्तरण हुन नसक्नु, बसाइँसराइ र आधुनिकताको प्रभावका कारण पुख्यौली लोप हुने अवस्थामा पुगेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले करबाकेली र पुख्यौली संरक्षण तथा प्रवद्र्धनसँगै विश्वसम्पदा सूचीमा सूचीकृत गराउन संघीय सरकारसँग पहल गरिने बताउनुभयो । अध्यक्ष पुनले गाउँपालिकाको सहयोगमा करबाकेलीमा पुन समुदायको दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री संकलन गरेर संग्रहालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो । रासस

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

नुवाकोट । यहाँ आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । त्रिशूलीबाट काठमाडौँ जाँदै गरेको बा ५ ख ७९८ नं को बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो । बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेका समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । श्रेष्ठलाई ठक्कर दिने बसका चालक विदुर–१२ का सबिन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी आजै बिहान मिनीट्रकको ठक्करले देवीघाटबाट गल्छी गइरहेको बा ७० प ४४२७ नंको मोटरसाइकल चालक विदुर–९, कोलनीका तिलकबहादुर मिजारको मृत्यु भएको छ । सत्चालीस वर्षीय मिजारलाई गल्छीबाट देवीघाट आउँदै गरेको बा ३ ख ६६६७ नंको मिनीट्रकले रातमाटेमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् । रासस

पाँच दिनदेखि विद्युत अवरुद्ध हुँदा धौलागिरिको जनजीवन प्रभावित

पर्वत । विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ । जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित बनेको हो । दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् नआउँदा यस क्षेत्रका उद्योग, कलकारखाना, व्यापार–व्यवसाय र सञ्चार माध्यम चौपट बनेका हुन् । यस क्षेत्रमा सञ्चालित दुग्धजन्य उद्योग, चाउमिन, दालमोठलगायत एक दर्जनभन्दा बढी उद्योग समस्यामा परेका छन् । त्यस्तै झण्डै दुई दर्जनभन्दा बढी सञ्चार माध्यम प्रभावित भएका छन् । दैनिक दश घण्टाभन्दा बढी विद्युत् जाने भएकाले एफएम रेडियो र केबुल टेलिभिजन दिनभर बन्द गर्ने गरिएको छ । ‘लाइन बेलुका ५ बजे आउने भने पनि ७ बजेसम्म आउँदैन, त्यतिबेलासम्म ब्याट्री र जेनेरेटरले पनि धान्दैन’ त्यसैले बन्द गरेर बस्नुको विकल्प नभएको रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले मोदी–पोखरा १३२ केभी प्रसारण लाइनअन्तर्गत टावर नं ३५ बदली गर्न नयाँ टावर फेर्नका लागि फागुन २३ गतेदेखि लगातार विद्युत् सेवा बन्द गरेको हो । सन् २००० मा मोदीखोला जलविद्युत् केन्द्र निर्माण गर्ने बेलामा बनाइएको उक्त टावर जीर्ण भएकाले अहिले परिवर्तन गर्नु परेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण शाखाका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “शनिबार साँझदेखि नियमित विद्युत् दिने तयारी भए पनि वर्षाका कारण काम गर्न नसकेकाले लम्बिएको हो ।” यो सँगै गर्मीयाम लागेपछि यस क्षेत्रमा विद्युत् अनियमित हुने गरेको छ । खोलामा पानीको बहाबसमेत कम हुँदा उत्पादन घटेको छ भने हावाहुरीका कारण पटक पटक विद्युत् अवरुद्ध हुने गरेको छ । एक दिनमै पचासौँ पटक लाइन आउने जाने समस्याले झनै समस्या उत्पन्न हुने गरेको छ । टावर मर्मत सँगै अन्य क्षेत्रका रूखबिरुवा काट्ने र लाइनसमेत सफा गर्न वितरण शाखालाई निर्देशन दिएको प्रजिअ राजेश पन्थीले बताउनुभयो । कुश्मामा सबस्टेसनसमेत सञ्चालनमा आइसकेकाले पर्वतमा समस्या भए पनि अन्य जिल्लामा विद्युत् नियमित गर्ने र अन्य जिल्लामा समस्या भए पनि पर्वतमा नियमित गर्न सकिने भएकाले अबदेखि लामो समय विद्युत्मा समस्या नआउने पनि शाखा प्रमुख रेग्मीले जानकारी दिनुभयो । रासस

९० प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीबाट

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा कात्तिकदेखि माघसम्म दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । टिपरको ठक्करबाट मा मृत्यु हुने नौ जना रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । नब्बे प्रतिशत दुर्घटना चालकको लापरबाही र एकले अर्कालाई उछिन्दा हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक शेखरजंग मल्लले बताउनुभयो । “दुर्घटनाको न्यूनीकरण गर्न विद्यालयस्तरीय कार्यक्रम चलाए पनि प्रभावकारी भने बन्न सकेको छैन”, मल्लले भन्नुभयो । ती दुर्घटना ट्राफिक प्रहरी परिचालन गरिएका ठाउँ अरनिको राजमार्ग र बिपी राजमार्गमा भन्दा अन्य ग्रामीण क्षेत्रमा बढी भएको बताइएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि ‘एक मिनेट चालकसँग र दुई मिनेट यात्रुसँग’ भन्ने अभियानसमेत सञ्चालन गरेको छ। रासस

मोरङमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

उर्लाबारी, फागुन २७ । मोरङको जहदा गाउँपालिका-४ रामचौकस्थित रंगेली-विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

बोक्सी भनेर किशोरीलाई कुटपिट गरेकाे जाहेरी नलिने प्रहरी अधिकारीसँग स्पष्टीकरण

धनगढी, फागुन २७ । बोक्सीको अरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण मागेको छ । जिप्रकाका निमित्त प्रमुख डिएसपी सागर बोहराले गम्भीर घटनाको जाहेरी लिन ढिलाइ भएको देखिएकाले विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको बताए । घटनाको जाहेरी दर्तामा किन ढिलाइ भएको हो भनेर स्पष्टीकरण सोधिएको उनको भनाइ छ । ‘जाहेरी दर्तामा किन लापरबाही भयो भनेर स्पष्टीकरण माग गरेका छौंँ । चित्तबुझ्दो जवाफ आएन भने कारबाही हुन्छ,’ डिएसपी बोहराले भने । बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडमा जाहेरी दिन गए पनि प्रहरीले जाहेरी दर्ता गर्नुको सट्टा मिलापत्र गराउन दबाब दिएको पीडित किशोरीका आफन्तले बताएका छन् । उनलाई बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो । इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ विष्टले भने जनप्रतिनिधिसमेतको उपस्थितिमा पीडित र पीडक दुवै पक्षले मिल्ने सहमति जनाएपछि अभियुक्तलाई छाडिएको बताएका छन् । माफी मागेर पीडितको उपचार गराउने सर्तमा अभियुक्तलाई छाडिएको उनले बताए । अनुसन्धान सुरु, अन्य संलग्नलाई खोज्दै प्रहरी बोक्सी आरोपमा किशोरीमाथि भएको यातनाको घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ । घटनामा संलग्न मुख्य व्यक्ति झाँकी रामबहादुर चौधरीबाहेकका अन्य दोषी खोज्न प्रहरी टोली परिचालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । पक्राउ परेका चौधरीलाई बोक्सीको आरोपअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ रिजालले बताए । ‘घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । जघन्य अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने । शनिबार बेलुकीसम्म घटनामा संलग्न अन्य व्यक्ति पक्राउ परेका छैनन् । यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाई भने शुक्रबार नै पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी सागर बोहराले यातना भोगेकी युवतीलाई गोठबाट जबर्जस्ती उठाएर लैजाने तथा यातना दिन सहयोग गर्नेहरू खोज्न प्रहरी टोली परिचालन गरिएको बताए । घटनामा संलग्न थप एकजना किस्मती चौधरीको पहिचान भएको प्रहरीले जनाएको छ । ‘एकजनाको पहिचान भएको छ । पीडितको भनाइका आधारमा संलग्न अर्को एकजनाको पहिचान गर्दै छौँ,’ डिएसपी बोहराले भने, ‘दुवैजना फरार छन्, पक्राउ गर्न सिभिलमा समेत प्रहरी परिचालन गरेका छौँ ।’ युवतीको अवस्था खतरामुक्त सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी राधाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको टाउको, छाती, आँखा, पेट, खुट्टा, घाँटीलगायत शरीरका विभिन्न भागमा चोट लागेको देखिएको चिकित्सकले बताए । ढाड र आँखामा बढी चोट देखिए पनि अवस्था भने खतरामुक्त रहेको डा। सजन केसीले बताए । भित्री चोट बढी लागेको देखिएको उनले बताए । पीडित युवती राधाले आँखा, घाँटीलगायत शरीरका विभिन्न भाग दुखिरहेको बताएकी छिन् । आफू राम्रोसँग बोल्न सक्ने अवस्था नरहेको उनले बताइन् । संलग्नलाई कारबाहीको माग बोक्सी भन्दै यातना दिनेलाई कारबाही हुनुपर्ने माग पीडित पक्षले गरेको छ । ‘मेरी छोरीमाथि यातना दिनेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । कुटपिट गर्ने अरूलाई पनि प्रहरीले पक्राउ गर्नुपर्छ,’ पीडितकी आमा फुलकेशरी चौधरीले माग गरिन्, ‘दोषीलाई उम्किन नदिइयोस् ।’ पीडित पक्षले राहत र क्षतिपूर्तिसमेत माग गरेको छ । पीडितलाई भेटे मेयरले घटनाका मुख्य दोषी छुटाउन भूमिका खेलेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले बोक्सीको आरोपमा कुटिएर घाइते भएकी किशोरीलाई भेटेका छन् । सेती अञ्चल अस्पताल पुगेर शनिबार उनले पीडित र पीडितका आफन्तलाई भेटेका हुन् । पीडित युवतीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै संलग्नलाई कारबाही गराउन सहयोग गर्ने बताए । ‘फलफूल लिएर आउनुभएको थियो । एकछिन बसेर जानुभयो,’ पीडितकी दिदी सन्ध्या योगीले भनिन्, ‘उपचारमा र दोषीलाई कारबाही गर्न सहयोग गर्छौँ भन्नुभयो ।’ घटना भएकै दिन अभियुक्त रामबहादुरलाई पक्राउ गरिए पनि मेयर चौधरी, वडा नम्बर ५ का अध्यक्ष प्रेम रोकायालगातको रोहवरमा प्रहरीले रिहा गरेको थियो । मेयर चौधरीले घटनाका विषयमा पत्रकार सम्मेलनसमेत गरे । धनगढीमा पत्रकार बोलाएर उनले प्रहरी चौकीमा घटना मिलाउन आफ्नो कुनै भूमिका नरहेको दाबी गरे । ‘भिड भएकाले प्रहरी चौकीमा गएको कुरा साँचो हो, तर मिल्नुपर्छ भनेर मैले भनेको छैन,’ उनले भने, ‘जाहेरी स्पष्ट नभएर प्रहरीले उजुरी दर्ता नगरेको होला ।’ जाहेरी स्पष्ट नभएकाले दर्ता नभएको प्रहरीले आफूलाई बताएको पनि उनले जनाए । प्रहरी चौकीभित्र पस्नुभयो, घटनाबारे बुझ्ने कामसम्म तपाईंले गर्नुभएन, आफ्नो दायित्व होइन ठान्नुभएको हो ? पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘जिम्मेवारी हो । दोषीलाई कारबाही हुनुपर्छ । कारबाहीका लागि हामी पनि सहयोग गर्छौं ।’ बलात्कारी र बोक्सी आरोपमा कुटपिट गर्ने दुवैलाई कारबाही – गृहमन्त्री थापा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालिका बलात्कार गर्ने र बोक्सीको आरोपमा कुटपिट गर्ने दुवैलाई कडा कारबाही गरिने बताएका छन् । तीन विद्यार्थी संगठन (अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ) ले दुवै घटनाका दोषीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कारबाही हुने आश्वासन दिएका हुन् । कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी बिहीबार बोक्सीको आरोपमा कुटिएकी थिइन् भने पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका बलात्कृत भएको घटना बाहिरिएको थियो । ‘तपाईंहरूले उठाएको मागमा गृह मन्त्रालय पूर्ण रूपमा सहयोग गर्न तयार छ,’ गृहमन्त्री थापाले भने, ‘आज नेपाली जनताको आवश्यकता यस्ता अपराधीविरुद्ध लड्ने नै हो, यी अपराधीलाई दण्ड दिनु नै हो । यो आजको आवश्यकता हो ।’ यस्ता व्यक्ति समाजका शत्रु भएकाले कारबाही गरेरै छाड्ने थापाको भनाइ छ । पीडितको पक्षमा आवाज उठाएको भन्दै गृहमन्त्रीले विद्यार्थी नेताहरूलाई धन्यवाद पनि दिए । विद्यार्थीहरूले कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण यस्ता घटना बढ्दै गएकाले विद्यमान कानुन संशोधन गरी अपराधीलाई कडा कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेका छन् । घोडाघोडीका मेयर ममताप्रसाद सामाजिक सरोकारमा पछाडि, आर्थिक अनियमिततामा अगाडि बोक्सीको आरोपमा कुटिएकी आफ्नै गाउँकी किशोरीलाई न्याय दिलाउनुको सट्टा मिलापत्र गराउन खोज्ने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी आफ्नो आर्थिक स्वार्थमा भने धेरै अगाडि छन् । उनले घोडाघोडी पर्यटन विकास बोर्डका लागि एक करोड रकम विनियोजन गरेर त्यसको परिचालन गर्न आफ्नै दाइ दायराम चौधरीलाई उपाध्यक्ष बनाएका छन् । बोर्डको अध्यक्ष ममताप्रसाद आफैं छन् भने उपाध्यक्षमा नियुक्त दाइलाई मासिक ३० हजार पाँच सय पारिश्रमिक दिने गरी कार्यकारी अधिकार दिएका छन् । प्रदेश ७ को संसद्मा प्रमुख मुद्दा – मिलापत्र गराउनेलाई कारबाही होस् बोक्सीको आरोपमा कैलालीमा किशोरी कुटिएको घटना प्रदेश सभा ७ को शनिबारको बैठकमा प्रमुख मुद्दा बन्यो । खासगरी महिला सांसदहरूले पीडित किशोरी राधा चौधरीमाथि भएको निर्मम घटनाको डटेर विरोध गरे । उनीहरूले पीडितको जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारी र जघन्य अपराधलाई मिलापत्रमार्फत सामसुम पार्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरे । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद मालमतीदेवी रानाले किशोरीलाई चरम यातना दिइएको घटना मिलापत्रमा गुपचुप पार्न खोज्ने प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने माग गरिन् । ‘बोक्सीको आरोपमा युवतीमाथि कुटपिट भएको छ । यातना दिइएको छ । स्थानीय तहका जनप्रतिनिधिले नै यो घटना मिलाउने प्रयास गरेका छन्,’ सांसद रानाले भनिन्, ‘घटना दबाउन खोज्ने सरकारी निकाय र स्थानीय तहका प्रतिनिधिलाई कारबाही होस् ।’ पीडितको उपचारको व्यवस्था सरकारले गर्नुपर्ने र घटनाको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग उनले गरिन् । सांसद पूर्णा जोशीले घटनाको अनुसन्धान र पीडितको उपचारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । ६ घन्टासम्म एक युवती निर्घात कुटिँदासम्म समाज रमिते बनेर बस्नुले हाम्रो समाज कता जाँदै छ भन्ने गम्भीर चिन्ताको विषय भएको उनले बताइन् । ‘एउटी युवतीमाथि भएको अमानवीय घटनाप्रति यो समाज, यो सदन र सरकार स्तब्ध भएन भने हाम्रो समाज भोलिको समृद्धिका नाममा कतातिर जान्छ भन्ने कुरा चिन्ताको विषय हो,’ सांसद जोशीले भनिन्, ‘बोक्सीका नाममा युवतीमाथि निर्घात कुटपिट भएको छ । समाजले रमिते बनेर हेरेको छ । यो घटना मात्र होइन, प्रवृत्ति पनि हो । यसलाई दण्डनीय बनाउन सकेनौँ भने हाम्रो समाजमा छोरीबेटी बस्नै नसक्ने हुन्छ ।’ सांसद कुन्ती जोशीले विश्वभरका महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउने दिनमै भएको अमानवीय घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदेश सरकारसँग माग गरिन् । पुरुष सांसद बोलेनन् बोक्सीको आरोपमा युवतीमाथि भएको जघन्य अपराधविरुद्ध महिला सांसद बोले, तर पुरुष सांसदको मन छोएन । उनीहरूले संसद्को कार्यसूची शिरोपर गरे, जघन्य घटनालाई पाखा लगाए । तीन महिला सांसद बोलेपछि बैठकमा प्रदेश सभा नियमावली प्रस्तुत गरिएको थियो । त्यसो त सुरुमै नियमावलीको मस्यौदा सीधै पेस गर्ने कार्यसूचीमै बैठक अघि बढ्न खोजेको थियो । तर, महिला सांसदहरू चुप लागेनन् । बोक्सी आरोपमा भएको जघन्य अपराधबारे संसद्मा बोल्न पाउनुपर्ने माग उनीहरूले सभामुखसमक्ष राखे । अन्ततः तीन महिला सांसदलाई बोल्न दिने र त्यसपछि मस्यौदा पेस गर्ने सहमति बैठकले ग¥यो । यो निर्णयमा पुरुष सांसदहरूले ताली बजाए । ‘तीनजना महिला सांसद बोलेपछि मस्यौदा पेस गर्ने सहमति गरायौँ,’ सांसद पूर्णा जोशीले भनिन्, ‘बैठक सुरु हुनुअघि यही सहमति गरिएको हो ।’ पीडितलाई मन्त्री र सांसदको आश्वासन प्रदेश सरकारका मन्त्री तथा सांसदहरूले पीडित किशोरी तथा उनका आफन्तलाई भेटेर उपचार, राहत र संलग्नलाई कारबाहीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पीडितलाई भेट्न अस्पताल पुगेकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले उपचारको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताइन् । यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, उपसभामुख निर्मला बडाल जोशी, सांसदहरू वीरमान चौधरी, मालामतीदेवी राना, माया तामाङ बोहरा, सुशीला बुढाथोकीलगायत पनि शनिबार सेती अस्पताल पुगे । उनीहरूले पीडित र पीडितका परिवारलाई भेटेर स्वास्थ्य अवस्था र घटनाबारे जानकारी लिए । भेटपछि सांसद चुनकुमारी चौधरीले दोषीलाई कारबाही गर्ने, पीडितको उपचार र राहतका लागि पहल गर्ने आश्वासन दिइन् । बलात्कारी र बोक्सी आरोपमा कुटपिट गर्ने दुवैलाई कारबाही – गृहमन्त्री थापा गृहमन्त्री रामबहादुर थापा बादलले बालिका बलात्कार गर्ने र बोक्सीको आरोपमा कुटपिट गर्ने दुवैलाई कडा कारबाही गरिने बताएका छन् । तीन विद्यार्थी संगठन (अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ) ले दुवै घटनाका दोषीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कारबाही हुने आश्वासन दिएका हुन् । कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी बिहीबार बोक्सीको आरोपमा कुटिएकी थिइन् भने पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका बलात्कृत भएको घटना बाहिरिएको थियो । ‘तपाईंहरूले उठाएको मागमा गृह मन्त्रालय पूर्ण रूपमा सहयोग गर्न तयार छ,’ गृहमन्त्री थापाले भने, ‘आज नेपाली जनताको आवश्यकता यस्ता अपराधीविरुद्ध लड्ने नै हो, यी अपराधीलाई दण्ड दिनु नै हो । यो आजको आवश्यकता हो ।’ यस्ता व्यक्ति समाजका शत्रु भएकाले कारबाही गरेरै छाड्ने थापाको भनाइ छ । पीडितको पक्षमा आवाज उठाएको भन्दै गृहमन्त्रीले विद्यार्थी नेताहरूलाई धन्यवाद पनि दिए । विद्यार्थीहरूले कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण यस्ता घटना बढ्दै गएकाले विद्यमान कानुन संशोधन गरी अपराधीलाई कडा कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेका छन् । (नयाँ पत्रिका दैनिक)

भारत सरकारले पुनः नेपाली भूमिमा रेल कुदाउने

काठमाडौं, फागुन २७ । नेपाली भूमिमा असोजदेखि पुनः रेल कुद्ने भएको छ छ। चार वर्षअघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारतसरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किकिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडग्रेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दुरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ। भारत सरकाको सहयोगमा निमाणधीन जनकपुरजयनगर –बर्दिबास खण्डको बिजलापुरसम्मको ५२ किमीखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ। यस खण्डमा आगमी असोजसम्माम रेहलमार्ग निर्माण सकिने रभारतले नै रेल कुदाउने रेल विभागका प्रक्ता प्रकाशभक्त उपाधयले जानकारी दिए । उनका अनुसार भारतले बर्दिवासदेखि विजलापुरसम्मको जम्मा ७० किमि दुरीमा रेलमार्ग बनाउँदैछ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

यस्ता हुनेछन् ७५३ स्थानीय सरकार

काठमाडौं, फागुन २७ । सचिव थपलियाका अनुसार स्थानीय तह पुनः संरचना गरी अस्थायी संगठन संरचना र दरबन्दी अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरी लागू गरिनेछ। सरकारले संघीय राजधानी काठमाडौं महानगरपालिकासहित देशका ७५३ वटै स्थानीय तहको नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको छ। सरकारले संघीय ढाँचाअनुसार सबै स्थानीय सरकारको पुनः संरचना गर्दै नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको हो। समायोजनमा ढिलाइ भएकाले कर्मचारी स्थायी रूपमा समायोजन नहुँदासम्म तत्काल सबै स्थानीय तहलाई कामकाजी र प्रभावकारी बनाउन पुनः संरचना गदै नयाँ संगठन संरचना र दरबन्दी तयार पारिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकासहित सबै स्थानीय तह तदर्थ र कामचलाउ रूपमा सञ्चालित छन्। अधिकांश स्थानीय तह केन्द्रीकृत शासन प्रणलीकै संरचना र ढाँचामा रहँदा सेवा प्रभावकारी बन्न सकेको छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सर्वसाधारणमा तत्काल संघीय शासनको अनुभूति दिलाउन पनि सबै स्थानीय तहको पुनः संरचना गर्दै नयाँ संगठन संरचगना र दरबन्दीको टुंगो लगाएर कर्मचारी खटाउने जानकारी दिए। हाल स्थानीय तहको प्रशासनिक पुनस् संरचना नगरी पठाइएकाले पनि कर्मचारी जान आनाकानी गर्दै आएको मन्त्रालयले जनाएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

कुखुरा चोरेर खाने वडाअध्यक्ष केसीकाे राजीनामा माग

काठमाडौं, फागुन २७ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । गत फागुन ६ गते राति वडाअध्यक्ष र सदस्यले स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी खाएको आरोप लगाएका हुन् । वडाअध्यक्ष र सदस्यले कुखुरो चोरी गरेर खाएको भन्दै गाउँमा अहिले उनीहरुको राजीनामा मागिएको छ । स्थानीयले प्रेस विज्ञप्ती समेत निकालेर राजीनामा माग्दै गाउँका सार्वजनिकस्थलमा टाँसेका समेत छन् । अाजको अन्नपूर्णमा खबर छ-स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरुले कुखुरो चोरी गरेर खाएको प्रमाणित भएको छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’ वडाध्यक्षले भनेः बेइज्जत गर्न खोजियो तर, वडाअध्यक्ष दुर्गबहादुर केसीले भने आफ्नो बेइज्जत गर्न झुटो आरोप लगाएको बताएका छन् । उनले कुखुरो चोरी भयो भन्ने अर्जुन केसी, गणेश लुवार, वीर केसी र रामबहादुर केसी लगायतको टोलीले सँगै खाजा खाएको पनि स्वीकारेका छन् । केसीले सिपखानाका व्यवारीबाट अर्जुन केसीले किनेको ब्रोइलर कुखुरो छाडेर गएपछि गणेश लुवार र रामबहादुर केसीले पकाएर बोलाएपछि आफूहरुले मासु खाएको बताए । त्यहीकारण आफूहरुमाथि कुखुरो चोरीको आरोप लगाइएको उनले बताए । ‘खाजा खाँदा उनीहरुले एकापसमा विवाद गरेका थिए’, उनले भने, ‘फरक पार्टीको भन्दै अन्य विवादका आफूलाई कुखुरो चोरीको आरोप लगाएका हुन् । मैले कसरी कुखुरो चोर्न सक्छु ?’ कुखुरो चोरी गरेर खाएको आरोपसहित स्थानीयले विज्ञप्ती नै निकालेको बारेमा आफुलाई थाहा नभएको उनले बताए । ‘कुखुरो चोरीको आरोप कसले लगायो थाहा भएन’, उनले भने, ‘अहिले म गाउँ जाँदैछु । बुझेर तपाईँलाई खबर गरौंला ।’ वडाअध्यक्ष केसीले कुखुरो चोरेर खाएको बिषयमा गाउँपालिकामा कुनै जानकारी नभएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

एम्बुलेन्स कुर्दाकुर्दै बिरामीको मृत्यु !

धनकुटा, फागुन २७ । पातारासी गाउँपालिका-४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो। ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर ल्याउँदै गर्दा ज्यान गएको हो। घरबाट साढे दुई घन्टा बोकेर ल्याएपछि उर्थुचौतारामा एम्बुलेन्सको प्रतीक्षा गर्दागर्दै उनको निधन भएको हो। यसअघि पनि पातारासीकै विभिन्न बस्तीबाट उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा धेरै बिरामीको अकालमा ज्यान गएको छ। अकस्मात् चोटपटक लाग्दा होस् वा प्रसूति व्यथा लाग्दा, बिरामी अस्पतालसम्म पुग्नै भ्याउँदैनन्। ‘घरसम्म एम्बुलेन्स पुगेको भए बाबाले ज्यान गुमाउनुपर्ने थिएन’, मृतकका छोरा लालु बुढाले भने, ‘गाउँपालिकाको एम्बुलेन्स खोज्दा भेटिएन। प्रतिष्ठानको एम्बुलेन्स बोलाउन र पुग्न ढिलाइ हुँदा बाबाको मृत्यु भयो। सामान्य अक्सिजन नपाएरै बुबाले ज्यान गुमाउनुपरेको उनले गुनासो गरे। उनका अनुसार बुबाको मृत्युपछि बल्लतल्ल पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्सले आतेजाते १२ सय भाडा पनि असुल्यो। पातारासी गाउँपालिकाका धेरैजसो आपतकालीन बिरामीलाई घरायसी तथा प्राथमिक उपचारपछि स्टे«चरमा बोकेर थप उपचार गर्न प्रतिष्ठान लैजाँदै गर्दा ढिलो भएका कारण बाटोमै ज्यान गुमाउनुपरेको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मैया महताराले बताइन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

उपत्यकामा फेसबुक चलाउने बालबालिका ७२ प्रतिशत

ललितपुर, फागुन २७ । सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ । फेसबुकपछि बालबालिकाहरुको रोजाइमा ‘युट्युब’परेको छ । ‘भ्वाइस अफ चिल्ड्रेन्ट’ले आयोजना गरेको एक कार्यक्रममा प्रतिमिनेट संसारभरका सात लाख मानिसले फेसबुक लगइन गर्ने र यसमा बालबालिका पर्ने तथ्य सार्बजनिक गरेको छ । ‘इन्टरनेटमा घन्टौं विताउने बालबालिका नजानिंदो शैलीमा यौनशोषणमा परेको देखिएको छ’, सर्बेक्षणमा सामेल सोही संस्थामा कार्यरत कृति भट्टराईले भनिन । -अन्नपूर्णपोष्ट दैनिकबाट

इलाममा विस्फोट, एक युवकको मृत्यु

इलाम, फागुन २७ । इलाममा शनिबार विस्फोट भएर एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, पुवाजुङ घर भइ भन्ज्याङमा होटल गर्ने २८ वर्षीय विकास राईको मृत्यु भएको हो । भन्ज्याङमा विस्फोट भएको र विस्फोटकाक्रममा ठूलो आवाज आएको स्थानीयहरुले बताएका छन् । राईको शनिबार साँझ इलाम अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटना भएको आसपासमा सलाईका काँटी र जीआई पाइपका टुक्राहरुसमेत फेलापरेको बताइएको छ । विस्फोटको कारण खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुकमा सुसाइड नोट लेखेर पत्रकारले गरे आत्महत्या

बझाङ, फागुन २६ । सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका छन । शुक्रबार साँझ आफ्नो फेसबुक वालमा आमा बुवालाई सम्बोधन गर्दै बोहराले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बोहरा शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रशारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा यसअघि बझाङकै रेडियो सेतीमा कार्यरत थिए । रेडियो स्थापनाकै सिलसिलामा दुई महिनाअघि काठमाडौं गएका बोहरा काठमाडौंको एक अनलाइनमा कार्यरत थिए । बझाङ घर भएर काठमाडौंमा पत्रकारिता गरिरहेका प्रताप वलीसँग एउटै कोठामा बस्दै आउको बोहरा केही दिन यता आर्थिक समस्याको कारणले तनावमा रहेको ओलीले जानकारी दिए । शुक्रबार दिउँसो १ बजे तिर कोठाबाट बाहिरिएका बोहराले साँझ ८ वजे तिर बोहराले आत्महत्या गर्न लागेको मोबाइलमा म्यासेज आएको ओलीले बताएका छन । बोहराका श्रीमती र २ वर्षीय छोरा छन् ।

प्रधानमन्त्री ओलीलाई राप्रपाको पनि समर्थन

काठमाडौं ।कमल थापा नेतृत्वकाे राप्रपाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ । राष्ट्रियता र प्रजातन्त्रको सम्वद्र्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिको अपेक्षा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संसद्मा विश्वासको मत लिँदैछन् । उनलाई माओवादी, संघीय समाजवादी फोरम नेपाल, राजपा लगायतका राजनीतिक दलले समर्थन गर्ने जानकारी गराइसकेका छन् ।

ओलीले गरे श्रीमतीको हत्या

तेह्रथुम, फागुन २६ । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा शुक्रबार राति श्रीमतीको हत्या भएको छ । बर्दिया बाँसगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदूरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी प्रमुख डम्बर पुरीले बताउनुभयो । मादकपदार्थ सेवन गरेका श्रीमान्–श्रीमतीबीच भएको विवाद आवेशमा आउँदा श्रीमतीको कञ्चटमा मुक्का प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने श्रीमान्लाई इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिबजारमा राखिएको छ । ओलीको परिवार गत कात्तिकदेखि केजी निर्माण कन्सल्टेन्सीद्वारा निर्माण भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत आठराई सडकखण्डमा मजदूरीका आएका थिए ।