ठोरी सेवा केन्द्र विवादः समस्या समाधान गर्न कार्यदल, बन्द खुल्यो
वीरगञ्ज, फागुन २५ । पर्साको ठोरी गाउँपलिकामा झण्डै डेढ महिनादेखि चलिरहेको विवाद समाधानतर्फ उन्मुख भएको छ ।
गाउँसभाको माघ १५ को निर्णय खारेजी गरेर मध्य भागमा सेवा केन्द्र हुनुपर्ने माग राखेर आन्दोलनरत ३ न वडाका आन्दोलनकारी र स्थानीय सरकारबीचको वार्तामा कार्यदल बनाउने सहमति भएको छ । सहमति भएसंगै आन्दोलनरत पक्षले एक हप्ताको लागि बन्द फिर्ता लिएका छन् ।
यसअघि नै कालो झन्डा बोकेका दुई पाङ्ग्रे सवारी चल्न दिने निर्णय गरेको संघर्ष समितिले शुक्रबारबाट सबै सवारी साधन चल्न दिने सहमति गरेको छ ।
इलाका प्रहरी कार्यालय, ठोरीमा बिहिबार भएको बैठकले अधिकार सम्पन्न उच्चस्तरीय १३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले आन्दोलनरत पक्षका मागहरूलाई प्याकेजमा समाधान गर्नेसहमति भएको गाउँपालिका प्रवक्ता रामप्रकाश कुवरले जानकारी दिए ।
आन्दोलनरत पक्षका वार्ता टोली संयोजक बालकुमार बस्नेतले सरकार पक्ष कार्यदल बनाउन लचिलो भएपछि वीरगञ्ज–ठोरी सडक खण्डको बन्द १ हप्ताका लागि खोलिएको जानकारी दिए ।
गत माघ १५ गतेको प्रथम गाउँ सभाले ठोरी–४, सुवर्णपुरमा रहेको सेवा केन्द्र वडा नं ४ घ्याङ डाँडामा सार्ने निर्णय गरेपछि ठोरीमा तनाव बढेको थियो ।
ललितपुरमा ‘नक्सा पास’को पिरलो
ललितपुर, फागुन २५ । महालक्ष्मी नगरपालिकाको सानागाउँ देवननी टोलमा तीन पैसा क्षेत्रफलमा बनेको संगीतमान नेमकुलको घर ०७२ सालको भूकम्पले जीर्ण बनेको छ । उनी चर्किएको घरमा बस्नुभन्दा नयाँ घर बनाउन चाहन्छन् । तर, थोरै जग्गा भएका कारण क्षेत्रफल नपुगेर नक्सा पास नहुने चिन्ता छ उनलाई । ‘भूकम्पपछि नयाँ घर बनाऊँ भनेको नक्सा पासले निकै अप्ठ्यारो पारेको छ,’ नेमकुल भन्छन्। सानागाउँमा मात्रै भूकम्पबाट पीडित बनेका आठ सय घरधुरी नक्सा पासका कारण मर्कामा परेका छन् । सानागाउँस्थित ६ नम्बर वडाका अध्यक्ष बाबुदेव महर्जनले थौरै जग्गामा घर रहेका आठ सयभन्दा बढी घरधुरी समस्यामा रहेको बताए। उनले भने, ‘नक्सा पास गर्नु टाउको दुखाइ बनेको छ।’ पुरानो बस्ती भए पनि नगरपालिकाको मापदण्डअनुसार नपरिने डरले स्थानीय नक्सा पास गराउन चाहँदैनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । वडा ६ मा अहिलेसम्म ८४ वटा घर निर्माण भइसके पनि नक्सा पास नभएको वडाध्यक्ष महर्जनले स्विकारे। जनप्रतिनिधि भएका कारण आफूले नक्सा पासका लागि प्रयास जारी राखेको भनाइ महर्जनको छ।
महिला दिवसकै दिन बोक्सीको आरोपमा किशोरीमाथि कुटपिट
धनगढी, फागुन २५ । राजधानीमा महिला दिवस मनाइरँदा कैलालीमा बोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ। कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरीलाई स्थानीय गुरुवा रामवहादुर चौधरीले बोक्सीको आरोपमा कुटपिट गरेका हुन। आफ्नो पुजाआजाका लागि नआएको निहुँमा वोक्सी भनेर कुटपिट गरिएको स्थानीय वासिन्दाले बताएका छन्। ६ घण्टासम्म कुटपिट हुँदा चौधरी बेहोस भएपछि उनको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। विहीबार साँझ सम्म पनि उनको होस खुलेको छैन्। गुरुवा रामप्रसाद चौधरीलाई भने प्रहरीले उपचार खर्च दिने सर्तमा छोडेको छ। ईलाका प्रहरी कार्यालय सुख्खडसँगै घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरी सहित वडा अध्यक्षहरुले घटनालाई ढाकछोप गर्दै मिलाएको आफन्तको आरोप छ। वोक्सीको आरोपामा कुटपिटको घटनालाई प्रहरी जनप्रतिनिधिले लुकाउन खोजेको बताईएको छ ।
राप्तीमा गोही छाडिँदै
चितवन, फागुन २५ । संकटापन्न घडियाल गोही संरक्षणका लागि नदीमा आश्रित समुदायको रोहवरमा हुर्काइएका गोही नदीमा छाड्न थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष विभिन्न दिवस र अन्य समय मिलाएर नदीमा छाडिँंदै आएको छ । बिहीबारदेखि तीन दिनसम्म लगातार दैनिक २४ वटाका दरले कसरा नजिकै राप्तीमा गोही छाड्न थालिएको छ । कुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार बिहीबार पहिलो दिन मेघौली क्षेत्रका बोटे, मुसहर र माझी समुदायका व्यक्तिको रोहवरमा गोही छाडिएको हो । केही दिनअघि सौराहा, पटिहानी र जगतपुर क्षेत्रका तीनै जातिको रोहवरमा ४८ गोही कसराबाटै छाडिएको थियो । शुक्रबार र शनिबार पनि तीनै जातिका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसको रोहवरमा गोही छाडिँदैछ । मध्यवर्ती क्षेत्रको नदी आसपासमा माझी, बोटे, मुसहर जस्ता नदीमा आश्रित जातिको जनसंख्या झण्डै ३० हजार छ । गत वर्ष जेठमा नवलपरासीको अमलटारी क्षेत्रको शेरीमा ठूलो जालमा परेर एउटा भाले गोही मरेको थियो भने चार पोथी गोहीलाई उद्धार गरिएको थियो । ती समुदायले खानामा गोही प्रयोग नगरे पनि तिनले अवैध रुपमा प्रयोग गर्ने महाजालमा गोही अड्किएर मर्ने गरेका छन् । खड्काका अनुसार निकुञ्ज हुँदै बग्ने नदी आसपास बस्ने तीन सय जनासँग माछा मार्न अनुमतिपत्र रहेको र तिनले हाते जाल मात्र प्रयोग गर्न पाउने भए पनि उनीहरू र अनुमतिपत्र नभएका अन्यले लुकिछिपी महाजाल प्रयोग गरिदिँदा गोही र माछा मर्ने हुँदा जलचरका आहारामा कमी आउने जस्ता समस्या देखिएका छन् । पछिल्लो गणनानुसार राप्ती र नारायणीमा १६६ गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ गोही छाडिइसकिएको छ । यस वर्ष ७२ गोही छाडिएको छ भने ४८ वटा छाड्ने तयारी गरिएको छ । विसं २०४९ देखि नदीमा गोही छाड्न थालिएको हो । निकुञ्ज स्थापनासँगै कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर नदीका बगरबाट अण्डा संकलन गरी प्रजनन
बिहानै दुखद खबर : रुकुममा खुकुरी प्रहारबाट दुई गम्भीर घाइते
रुकुम, फागुन २५ । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । रुकुम (पूर्व) भुमे गाउँपालिका–३ का १८ वर्षीय रवीन सुनारले विहीबार खुकुरी प्रहार गर्दा पुथा उत्तरगंगा गाउँपालिका –६ का १७ वर्षीय सुदीप बुढा र सोही ठाउँका १६ वर्षीय युवक केसी गम्भीर घाइते भएका छन् । उनीहरु तीनैजना रुकुम (पश्चिम) जिल्ला सदरमुकाम मुसीकोट खलंगामा बस्दै आएका थिए । आपसी विवादमा उनीहरुबीच झडप भएको प्रहरीको भनाइ छ । घाइतेको मेडिकल कलेज, कोहलपुर, बाँकेमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए । (रासस)
दाङका मेयरले पाएनन् तलब
दाङ, फागुन २५ । – नरुलाल चौधरी घोराही उपमहानगरपालिकाको मेयर चुनिएको ८ महिना पुग्यो । मेयर पदमा आसिन भएदेखि उनी जिम्मेवारी बहनकै क्रममा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा कुदिरहेका छन् । विभिन्न स्थानबाट आतिथ्यताका लागि दिइने निम्तो मान्ने धपेडी पनि छ । आजको नागरिक दैनिकको दोस्रो पृष्ठमा यो समाचार छापिएको छ । समाचारमा लेखिएको छ, तर ८ महिनाको अवधिमा चौधरीले बैठक भत्ता बाहेक कुनै पारिश्रमिक पाउन सकेनन् । आफ्नै खर्चले जसोतसो धानेको बताउँदै उनले भने, ‘खल्तीबाटै खर्च हालेर जनताको काममा खटिएँ ।’
कर्मचारीलाई १२१ प्रतिशतसम्म भत्ता !
काठमाडौं, फागुन २५ । कार्यालयबाट नियमित सम्पादित हुनेभन्दा बढी काम गराउन सरकारले करिब १० हजार कर्मचारीलाई प्रोत्साहन भत्ता दिँदै आएको छ । थोरै कर्मचारीबाट धेरै काम लिने र काम गरेबापत कर्मचारीलाई प्रोत्साहित गर्न सरकारले चालू आर्थिक वर्षमा मात्र प्रोत्साहन भत्ताको नाममा करिब २० करोड खर्च गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । तर त्यस्तो भत्ता खाने कार्यालयको कार्यसम्पादन भने उत्साहजनक छैन । नयाँ पत्रिकाका अनुसार चालू आवमा निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले दैनिक १२१ प्रतिशत भत्ता खाँदै आएका छन् । उनीहरुले चैत दोस्रो हप्तासम्म यही अनुपातमा भत्ता खानेछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले शतप्रतिशत भत्ता खाइरहेका छन् भने ७ माघ अघिसम्म व्यवस्थापिका संसदका कर्मचारीले ८० प्रतिशतसम्म भत्ता खाएका थिए । राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, निजामति किताबखाना, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका कार्यालयले ५० प्रतिशत भत्ता खाँदै आइरहेका छन् । उदेकलाग्दो कुरा त के छ भने भत्ता खाने कार्यालयकै काम सुस्त र बेरुजु धेरै छ ।
२ बिघा ८ कठ्ठा जग्गामा क्याम्पस र महन्थबीच विवाद
जनकपुर, फागुन २५ । जनक हजारी विद्यापीठको अढाई बिघा जमिन रत्नसागर मन्दिरका महन्थ वैकुण्ठदास वैष्णवले फर्जी कागज बनाएर हडप्न खोजेको क्याम्पस प्रशासनले आरोप लगाएको छ । विद्यापीठका प्राचार्य विजय चौधरीले बिहीबार पत्रकार सम्मेलन गरी २०५० देखि क्याम्पसको भोगचलनमा रहेको जनकपुर ८ स्थित सिट नम्बर १३५४/१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर र सिट नम्बर १३५४/१५ को किता नम्बर १,२, २८ तथा ४९ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा महन्थ दासले फर्जी कागज बनाएर बिक्री गर्न खोजेको आरोप लगाए । विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आंगीक क्याम्पस हो । साबिक नापीमा गुठी संस्थान अधिनस्त वराही कुटीका नाममा रहेको जमिनसँगै सडक पश्चिमको समेत ६ बिघा ३ कठ्ठा ५ धुर जमिन २०५० जेठ १३ को मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई भोगचलन गर्न दिएको थियो । संस्थानले विद्यापीठलाई उपल्बध गराएको सडक पूर्वको अढाई बिघालाई व्यवस्थापनले तारबार गर्नुका साथै सडक छेउको दक्षिणतर्फ भौतिक संरचना पनि निर्माण गरेको छ । उच्च अदालत जनकपुरले निर्माण रोक्न आदेश दिएपछि कलेज प्रशासन हच्किएको थियो । प्राचार्य चौधरीले भने, ‘उच्च अदालतको आदेशपछि बल्ल हामी वास्तविकताको खोजी गर्न थाल्यौं । खोज्दै जाँदा रत्नसागरका महन्थले फर्जी कागजका आधारमा जग्गा आफ्नो नाममा गर्न लगाएका छन्, अनि नक्कली मोही पनि खडा गरेको थाहा पाएँ ।’ जनकपुर उप–महानगरपालिका ८ को दुवैतर्फ पक्की सडक रहेको यो जमिन धुरको १० लाख रुपैयाँमा बिक्री हुन्छ । –कान्तिपुर दैनिकबाट
दोलखामा बैठकमै प्रमुखले कुटे उपप्रमुख
दोलखा, फागुन २५ । केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ । बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा खबर छापिएको छ । आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरिएको उपाध्यक्ष पाठकले बताएकी छन् । कालिञ्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको हो । गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमै राख्ने वा लापिलाङमा सार्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको हो । गाउँसभाको तयारीका लागि अस्थायी केन्द्र सुनखानीमा बिहीबार बसेको बैठकमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीच फरक-फरक मत आएको थियो ।
२० हजार कर्मचारी छानविनमा: अटेरी गर्ने राष्ट्रसेवकमा सबैभन्दा धेरै शिक्षक
काठमाडौं, फागुन २५ । सरकारले पटक पटक सम्पत्ति विवरण बुझाउन निर्देशन दिए पनि अझै २० हजार कर्मचारीले उक्त विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक बर्ष २०७३/०७४ को सम्पत्ति विवरण बुझाउन पटक-पटक ताकेता गरेको थियो । ४ लाख कर्मचारीमध्ये १९ हजार १ सय ३४ ले अझै त्यस्तो विवरण दिन अटेरी गरेको राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । केन्द्रका अनुसार आव २०७३/०७४ मा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवकमा सबैभन्दा धेरै शिक्षक छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छापिएको छ । ११ हजार ४ सय ५५ शिक्षकले विवरण नबुझाएको केन्द्रले जनाएको छ । हाल देशभर कार्यरत शिक्षक संख्या ८२ हजार ७ सय २२ शिक्षकको १४ दशमलव २० प्रतिशत हो । यस्तै ४ हजार ५ सय २५ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने ती कर्मचारीलाई अख्तियारले छानविनको दायरामा ल्याएको केन्द्रले बताएको छ ।
गोही संरक्षणको जिम्मा स्थानीयलाई
चितवन, फागुन २४ । संकटापन्न घडियाल गोही संरक्षणका लागि नदीमा आश्रित समुदायको रोहवरमा हुर्काइएका गोही नदीमा छाड्न थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा हुर्काइएका गोहीहरू हरेक वर्ष विभिन्न दिवस र अन्य समय मिलाएर नदीमा छाडिँंदै आएको छ । आजदेखि तीन दिनसम्म लगातार दैनिक २४ वटाका दरले कसरा नजिकै राप्तीमा गोही छाडिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार आज पहिलो दिन मेघौली क्षेत्रका बोटे, मुसहर र माझी समुदायका व्यक्तिको रोहवरमा गोही छाडिएको हो । केही दिनअघि सौराहा, पटिहानी र जगतपुर क्षेत्रका तीनै जातिको रोहवरमा ४८ गोही कसराबाटै छाडिएको थियो । शुक्रबार र शनिबार पनि तीनै जातिका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसको रोहवरमा गोही छाडिँदैछ । मध्यवर्ती क्षेत्रको नदी आसपासमा माझी, बोटे, मुसहर जस्ता नदीमा आश्रित जातिको जनसंख्या करीब ३० हजार छ । गत वर्ष जेठमा नवलपरासीको अमलटारी क्षेत्रको शेरीमा ठूलो जालमा परेर एउटा भाले गोही मरेको थियो भने चार पोथी गोहीलाई उद्धार गरिएको थियो । ती समुदायले खानामा गोही प्रयोग नगरे पनि तिनले अवैध रुपमा प्रयोग गर्ने महाजालमा गोही अड्किएर मर्ने गरेका छन् । खड्काका अनुसार निकुञ्ज हुँदै बग्ने नदी आसपास बस्ने तीन सय जनासँग माछा मार्न अनुमतिपत्र रहेको र तिनले हाते जाल मात्र प्रयोग गर्न पाउने भए पनि उनीहरू र अनुमतिपत्र नभएका अन्यले लुकिछिपी महाजाल प्रयोग गरिदिँदा गोही र माछा मर्ने हुँदा जलचरका आहारामा कमी आउने जस्ता समस्या देखिएका छन् । पछिल्लो गणनानुसार राप्ती र नारायणीमा १६६ गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ गोही छाडिइसकिएको छ । यस वर्ष ७२ गोही छाडिएको छ भने ४८ वटा छाड्ने तयारी गरिएको छ । विसं २०४९ देखि नदीमा गोही छाड्न थालिएको हो । निकुञ्ज स्थापनासँगै कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर नदीका बगरबाट अण्डा संकलन गरी प्रजनन केन्द्रमा बच्चा कोरल्ने र हुर्काउने गरिंँदै आएको छ ।
विश्व कीर्तिमान कायम गर्न रक्तदान
काठमाडौं, फागुन २४ । एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजारभन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका छन् । लायन्स क्लब अफ काठमाडौँको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो भीड रह्यो । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजित कार्यक्रममा रगत दिन चाहने संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई विभिन्न चरणको परीक्षण पार गर्दै दान गर्नसक्ने व्यवस्था मिलाइएको थियो । जनसंख्या तथा वातावरणमन्त्री लालाबाबु पण्डितले जीवनमा रगतको ठूलो महत्व रहेको हुँदा रक्तदानको प्रचारका लागि कार्यक्रमले सकारात्मक सन्देश दिने विचार व्यक्त गर्नुभयो । आयोजकका अनुसार यसअघि भारतमा करीब ९०० पिन्ट रगत संकलन भएको हुँदा एक हजार पिन्ट रगत संकलन भएमा कीर्तिमान कायम हुनेछ । नेपालस्थित लायन्स क्लबका प्रमुख बालकृष्ण बुर्लाकोटीले आयोजक संस्थालाई प्रमाणपत्र वितरण गरेर कार्यक्रमलाई औपचारिक रुपमा अगाडि बढाइएको थियो । आयोजकले करीब तीन हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ । रगत दिन आएका मानिसलाई सहयोगका लागि १० सहयोगी कक्ष स्थापना तथा करीब ५०० स्वयंसेवकलाई खटाइएको कार्यक्रमका संयोजक अखिल श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यक्रममार्फत गिनिज बुकमा नाम लेखाउन सकिएमा नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय तहमा गौरव प्राप्त हुने लायन्स क्लबका सदस्य सुचिता घिमिरेले विश्वास व्यक्त गर्नुभयो । विसं २०७२ को भूकम्पमा रगतको केही अभाव भएका कारण लायन्स क्लबले नयाँ सडकमा आयोजना गरेको रक्तदान कार्यक्रममा करीब ५०० पिन्ट रगत संकलन गरिएको थियो । बसुन्धरास्थित ग्रीन सिटी हस्पिटलका अध्यक्ष एलबी टण्डनले स्वस्थ मानिसले गरेको रक्तदानका कारण थला परिरहेका बिरामीले जीवन प्राप्त गर्नसक्ने हुँदा यसबारे सन्देश फैलाउन आवश्यक रहेको बताउनुभयो ।
पुरुषलाई प्याड वितरण
काठमाडौं, फागुन २४ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिंसा गर्नु नभएको बताउनुभएको छ । एक सय आठौँ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ का अवसरमा आज यहाँ ‘महिला हिंसाविरुद्ध पुरुष पदयात्रा’को उद्घाटन गर्दै उहाँले महिलामाथि हिंसा गर्ने पुरुष नै नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रजातन्त्र गणतन्त्र पायौंँ, प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौंँ तर महिलामाथि हुने हिंसा घटेको छैन ।” महिला हिंसाविरुद्ध पुरुषले महिलालाई साथ र सहयोग दिनुपर्ने बताउँदै उहाँले संविधानले दिएको समानताको हकलाई महिलाले भोग्नसक्ने सम्पूर्ण अवसर सिर्जना गरी असमानताको व्यवहारलाई हटाउनुपर्नेमा जोड दिनुभयो । नेपाल वातावरण पत्रकार समूह, फ्रिडम फोरम नेपाललगायत बीसभन्दा बढी संघसंस्थाद्वारा संयुक्त रुपमा आयोजित पदयात्रा भृकुटीमण्डपबाट शुरु भई भद्रकाली मन्दिर, शहीदढोका हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । पदयात्रामा सहभागी पुरुषलाई महिलाको स्वास्थ्यलगायत महिनावारी स्वच्छतामा अझै जिम्मेवार बनाउन महिलाले महिनावारीमा लगाउने प्याड पनि वितरण गरिएको थियो ।
महिलाको हितका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने
विराटनगर, फागुन २४ । एकसय आठौँ अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिलाहरु संवैधानिक हिसाबले नीतिनिर्माण तहमा पुगे पनि समाजमा तिनलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसकेकाले त्यसतर्फ महिलावादी संस्थाको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रदेशका उपसभामुख सरस्वती पोखरेलले महिलाको हकहितका लागि प्रदेश सरकारले नीत तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महिलामाथिको विभेद अन्त्य गरी उनीहरुको आर्थिक विकासका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सो अवसरमा भानुकला केन्द्र विराटनगरका अध्यक्ष माया पौडेललाई सम्मान गरिएको थियो ।
अंश र वंशमा समान अधिकार आवश्यक : मन्त्री पोखरेल
काठमाडौं, फागुन २४ । रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरुषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको विभेद अन्त्य नहुने बताउनुभएको छ । संकृति सङ्ग्रहालय नेपालले आज यहाँ एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी कार्यक्रममा मन्त्री पोखरेलले उक्त कुरा बताउनुभएको हो । महिलाको विकास र उत्थान आंशिकभन्दा समग्रतामा हुनुपर्ने भन्दै उहाँले हिंसाको विरुद्धमा महिला पुरुषबीच समान बुझाइ हुनुपर्नेमा जोड दिनुभयो । आयोजकलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, “यसरी निश्चित बिदामा केन्द्रित भएर गरिएको प्रदर्शनीले महिलाको अभिलेख र इतिहासबारे जानकारी दिनका लागि ठूलो भूमिका खेल्छ ।” संकृति सङ्ग्रहालय नेपालका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले समाजमा धेरै महिला छन् केही त्यस्ता महिलाको थप पहिचानको आवश्यक भएकाले आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । आजबाट शुरु भएको प्रदर्शनी आगामी ३० गतेसम्मका लागि रहनेछ । प्रदर्शनीमा नेपालका विभूति हरित तारा भृकुटी, भगवान् बुद्धको जननी माया देवीको फोटो रहेको छ । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, समाजसेवी एवं प्रदेश ३ का प्रमुख अनुराधा कोइराला, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलगायतका देशलाई योगदान गर्ने महिलाको दुई सय फोटो राखिएको छ ।
अनियमित विद्युत् आपूर्तिले उपभोक्ता हैरान
खोटाङ । पटकपटकको विद्युत् आपूर्ति बन्दले खोटाङ र ओखलढुङ्गाका उपभोक्ता हैरान भएका छन् । लामो दूरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने गर्दा पटकपटक विद्युत् आपूर्ति बन्द हुन्छ । यो समस्याबाट दुई जिल्लाका हजारौँ सेवाग्राही हैरानीमा परेका हुन् । अहिले ३३ केभी प्रसारण लाइन विद्युत् विस्तार गरिएका दुई जिल्लामा करिब हप्ता दिनसम्म विद्युत् अवरुद्ध हुने गरेको छ । विद्युत् आपूर्ति खुलाउन प्राधिकरणले प्राविधिक टोली तत्कालै पठाए पनि उनीहरु विभिन्न बहानामा फोन सम्पर्क नहुने ठाउँ गएर बस्ने गरेका छन् । दिक्तेलस्थित कार्यालयबाट खटिएका प्राविधिक टोली भत्ताको लोभमा विद्युत् आपूर्ति खुलाउन नचाहने स्रोतको दाबी छ । “कार्यालयबाट आउने प्रविधिज्ञ मासु र रक्सी खाएर बस्छन्,” नाम नभन्ने शर्तमा एक उपभोक्ताले भने, “उनीहरु गाउँमा आएर मोजमस्ती गर्दै बसेपछि अवरुद्ध विद्युत् कसरी खुल्छ ?” दिक्तेल–गाईघाट प्रसारण लाइन लामो दूरी भएकै कारण पटकपटक समस्या आउने गरेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख नारायणप्रसाद चौधरीले बताउनुभयो । “मौसाममा खराबी आउनासाथ ठाउँ ठाउँमा विद्युत् अवरुद्ध हुने गरेको छ,” उहाँले भन्नुभयो, “पटकपटकको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न लागिपरेको छु ।” जिल्लामा अलि बढी पानी पर्दा, हुँडरी चल्दा र बाढी तथा पहिरो आउँदा विद्युत् अवरुद्ध हुने गरेको छ । वर्षात्को समयमा अवरुद्ध भएको विद्युत् आपूर्ति खुलाउन करिब हप्ता दिन लाग्ने गरेको छ । खोटाङ र ओखलढुंगामा विस्तार गरिएको ३३ केभी विद्युत् प्रसारण लाइनको स्तरोन्नति नगरिएसम्म समस्या रहिरहने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “पुरानो संरचनामै क्षमता विस्तार गरिएको छ,” उहाँले भन्नुभयो, “यसप्रति समयमै ध्यान नदिइए ठूलो दुर्घटना हुने सम्भावना छ ।” कमजोर संरचना भएकै कारण अवरुद्ध विद्युत् लाइन मर्मत गर्ने क्रममा खोटाङमा मात्रै अहिलेसम्म आधा दर्जनभन्दा बढी प्रविधिज्ञको ज्यान गइसकेको छ । धेरै प्रविधिज्ञ अंगभंग भएर बसेका छन् । वर्षात्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्रसारण लाइन वरपर रहेको झाडी फाँड्ने गरिएको छ । जंगलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सबस्टेशनमा जोडिएको विद्युत् दुई जिल्लामा विस्तार गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लाको साबिकको ४१ गाविसमा तथा एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगा जिल्लाको सदरमुकाममा मात्र केन्द्रीय लाइनको विस्तार भएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५७ सालमा उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् अहिलेसम्म सबै पालिकामा विस्तार हुन सकेको छैन । रासस

