संसद सचिवालयका ३१ ल्यापटप पूर्वसभासदहरुबाट गायव

काठमाडौं, फागुन २४ । संसद सचिवालयका ३१ वटा ल्यापटप पूर्वसभासदले गायव पारेका छन् ।

सभासद रहँदा सचिवालयले सुविधाबापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म पनि उनीहरुले फिर्ता गरेका छैनन् ।

३१ वटा ल्याटप फिर्ता नभएको सचिवालयले जनाएको छ । ल्यापटप पचाउनेहरुको सूचीमा पहिलो संविधानसभामा निर्वाचित भएकासमेत छन् । कानूनतः कार्यकाल सकिएको सात दिनभित्र सांसद तथा संसदका पूर्वपदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्नुपर्छ । –नयाँ पत्रिका दैनिकबाट

टीकापुर हत्याकाण्डका दुर्इ अभियुक्त सार्वजनिक

धनगढी । कैलालीको टिकापुरस्थित करण थापाको हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ। गत बिहीबार होली खेल्ने क्रममा थापाको हत्या गरी फरार भएका टीकापुर नगरपालिका–१ का १९ वर्षीय सन्दीप रावल र वडा नम्बर ३ का २१ वर्षीय सागर पाण्डेयलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । दुबै अभियुक्तलाई सोमबार काठमाडौको बालाजुबाट प्रहरीले पक्राउ गरेर मंगलबार हवाईमार्ग भएर धनगढी ल्याएको थियो। कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले थापाको हत्या गरी फरार रहेका दुबैलाई फोन ट्रयापिङ्गको आधारमा पक्राउ गरिएको बताए । एसपी घिमिरेका अनुसार हत्यापछि दुबै जना बर्दियामा लुकेर बसेको र तेस्रो दिन बसमार्फत् काठमाडौ गएका थिए । हत्यामा संलग्न दुबैलाई मुलुकी ऐन २०२० ज्यान सम्बन्धी महल दफा १३ को १ बमोजिम सजायको मागदावीसहित मुद्दा दर्ता गरिने एसपी घिमिरेले बताए । उक्त महलमा आजीवन कारावासको सजाय हुने व्यवस्था रहेको छ। प्रारम्भिक बयानमा दुबै जनाले आवेशमा आएर हत्या गरेको स्वीकार गरेका एसपी घिमिरेले बताए। फागुन १७ गते बिहीबार मध्यराति टीकापुरमा आयोजित होली विशेष कार्यक्रममा करण थापा आफ्नो साथीहरूसहित होलीमा रमाइरहेका थिए। सोही ठाउँमा सन्दीप रावल र उनका साथीहरू पनि थिए। होली खेल्ने क्रममा करण थापाबाट सन्दीप रावललाई सामान्य धक्का लाग्यो। आफूलाई धक्का दिएको भन्दै सन्दीपले करणको छाती समातेर धकेलाधकेल गरे। रिसाएका करणले सन्दीपको मुखमा मुक्का प्रहार गरी उनलाई भुईमा लडाए। भुईमा लडेका सन्दीपले कम्मरपेटीमा लुकाएको छुरा निकाले र करणको पेटमा प्रहार गरे। त्यसपछि सन्दीप र सागर दुबैले मिलेर शरीरका विभिन्न ठाउँमा छुरा प्रहार गरी फरार भए। छुरा प्रहारबाट गम्भिर घाइते भएका करणको उपचारका क्रममा साही दिन राति मृत्यु भयो । कैलालीका एसपी विनोद घिमिरेले सामान्य विवादको घटनामा करणले ज्यान गुमाएको बताए। सन्दीप र सागर टिकापुरमा पहिलेदेखि नै गुण्डागर्दीमा संलग्न रहेका पाइएको उनले बताए।    

तीन अर्बको आयोजना सञ्चालन

कञ्चनपुर । भीमदत्त नगरपालिकामा रु तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ । शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बंैकको ऋण सहयोगमा आयोजना सञ्चालन गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई व्यवस्थित र पूर्वाधार सम्पन्न शहर बनाउन आयोजना सञ्चालन गरिएको बताउनुभयो । भीमदत्तलाई व्यवस्थित शहरसँगै प्रदेश नं ७ को उत्कृष्ट नमूना शहर बनाउन कार्यक्रम अगाडि बढाइएको उहाँको भनाइ छ । “भीमदत्तलाई नमूना शहर बनाउन २० वर्षे योजना बनाएका छौँ,” उहाँले भन्नुभयो । पाँच वर्षे आयोजनाले भीमदत्तको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र, ढलसहितको नमूना सडक र फोहर पानी प्रशोधन केन्द्र निर्माण आयोजनाको प्रमुख प्राथमिकतामा छन् । आयोजनाअन्तर्गत निर्माण हुने दुई लेनको ३६ किलोमिटर कालोपत्र सडकको सर्भे गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि जग्गाको खोजी गरिएको छ । भीमदत्त नगरपालिकाका इञ्जिनियर हिमालयसिंह ऐरले रु एक अर्ब ७० करोड लगानीमा ढलसहितको दुई लेनको नमूना सडक निर्माण हुने बताउनुभयो । फोहरमैला र फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि आयोजनाअन्तर्गत कार्य अगाडि बढाइने योजना रहेको उहाँले बताउनुभयो । रासस

मेरो कार्यकाल खुला किताबजस्तो छः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताउनुभएको छ। दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीको “राष्ट्रपतिको भूमिका तटस्ग भएन भन्ने आरोप छ नि” भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “यो कसैकसैको आरोप हो, मैले जे गरेको छु, देशका लागि खुला किताबजस्तो छ । यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्रको आँखाले मूल्यांकन गर्न आवश्यक ठान्छु । ” देशको हितलाई सर्वाेपरि राखेर नेपालको संविधानको मूल भावना र मर्मअनुरुप आफूले काम गरेको बताउँदै उहाँले भन्नुभयो, “यहाँहरुले त्यसको राम्रो मूल्यांकन गर्नुहुनेछ ।” आफूले उम्मेदवारी दिएपछि सबैजसो राजनीतिक दलबाट समर्थन पाएको बताउँदै राष्ट्रपति भण्डारीले निर्वाचनमण्डलबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दल, सांसद र सञ्चार क्षेत्रबाट हालसम्म पु¥याइएको समर्थन तथा भोलिका दिनको सहयोगका लागि आभार र कृतज्ञता प्रकट गर्नुभयो । यसैबीच नेकपा (एमाले)का नेता सुवास नेम्वाङले नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिका रुपमा छोटो कार्यकालमा राष्ट्रपति भण्डारीबाट निर्वाह भएको भूमिकालाई ध्यानमा राखेर पार्टीले दोस्रो कार्यकालका लागि उहाँलाई नै उम्मेदवार छनोट गरेको प्रतिक्रिया दिनुभयो । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिनुलाई आफूले सम्मानकै रुपमा ग्रहण गरेको उहाँले बताउनुभयो । रासस

वैशाख २२ मा सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय

जनकपुरधाम । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको यहाँ सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको प्रादेशिक निर्वाचन गराउने निर्णय गरेको छ । बैठकले १८ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने र पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालनामा प्रतिबद्धता व्यक्त गरेको छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सरकारी उदासीनताप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई कार्यान्वयनका लागि सशक्त आन्दोलनका कार्यक्रमसहित चार महिने कार्ययोजना तय गर्दै बैठकले महासंघको सुझाव, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम न्यूनतम् पारिश्रमिक निर्धारण गर्न सरकारसँग माग गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । बैठकले स्वास्थ्य बीमाको थप योजना अघि बढाउने निर्णय गर्दै प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ पत्रकारको सम्मानका लागि सरकारसमक्ष कार्ययोजना प्रस्तुत गर्ने उल्लेख छ । आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै बैठकले केन्द्र तथा सबै प्रदेशमा प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष माग गरेको छ । बैठकले आफैँ श्रमजीवी आफैँ सञ्चालक रहेका साना लगानीका सञ्चार माध्यमलाई बचाउन समानुपातिक विज्ञापन वितरणलगायत सञ्चार सामग्रीमा कर छुटसँगै वृत्ति विकास तथा तालीम सञ्चालनका लागि साना लगानी मिडिया कोष स्थापना गर्न सरकारसँग माग गरेको छ । पे्रस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन आग्रह गर्दै राज्यका सबै निकायमा पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र प्रत्याभूतिको प्रभावकारी व्यवस्था गर्न आग्रह बैठकले गरेको छ । प्रादेशिक संरचनाको अनुभूति हुने किसिमले राज्यका हरेक निकायमा सम्मान, पुरस्कार र अवसरलाई समावेशी र समानुपातिक किसिमले प्रदान गर्न बैठकले माग गर्दै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनुका साथै जनकपुरधामका ऐतिहासिक सम्पदाको विकास तथा प्रवद्र्धनका लागि समाचार सामग्री प्रकाशन, प्रकाशनको प्राथमिकतामा राख्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले जनकपुरधाम क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि जनकपुर–अयोध्या परिपथ निर्माण गर्नुका साथै आवश्यक भौतिक संरचनाको निर्माणमा सरकारको ध्यान आकृष्ट गराउने निर्णय गरेको छ । महासंघको केन्द्रमा तत्कालै तथा जिल्ला शाखा र प्रदेशमा क्रमशः इ–ल्याब्रेरीको स्थापना गर्ने निर्णय बैठकले गरेको छ । विभिन्न सञ्चार माध्यममा लामो समयदेखि कार्यरत स्टिकरलाई प्रक्रिया पु¥याएर चाँडो स्थायीका लागि सम्बन्धित सञ्चार माध्यमलाई ध्यानाकर्षण पनि बैठकले गरेको छ । बैठकले महासंघलाई ट्रेड यूनियन संस्थाका रूपमा विकास गर्नका लागि प्रतिष्ठान शाखालाई ट्रेड युनियनमा दर्ता प्रक्रियालाई अगाडि बढाउने निर्णय गर्दै प्रेस काउन्सिलबाट हुने पत्रपत्रिका वर्गीकरणमा विभेद र पूर्वाग्राही नहुन माग गरेको छ । रासस

महानगरपालिकाका भित्री भागमा आगलागी जोखिम

ललितपुर । महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् । नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दकमल लगेर त्यहाँबाट उता पाइप तानी लानुपर्ने नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “जति नजिकबाट हान्यो त्यति तीव्र गतिमा पानी लाग्छ ।” बाटाबाट टाढा हुँदा पाइप मिलाएर घटनास्थलसम्म पुग्न समय लाग्ने हुन्छ । घरको माथिबाट पाइप व्यवस्थित गरेर लैजाँदासम्म धेरै क्षति भइसक्ने प्रमुख महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दमकल समयमा पुगे पनि सडक नजिकका घरभन्दा टाढाका घरमा बढी क्षति हुन्छ ।” टोल टोलमा पानीे ट्यांकीमा पानी जम्मा गरेर राख्ने र फायर मेसिन राख्न सके जोखिम कम गर्न सकिने उहाँ बताउनुहुन्छ । केही वर्ष पहिले नागबहालमा जापानी संस्थाको सहयोगमा ट्यांकीको निर्माण र स्थानीयवासीलाई तालीम दिइएको थियो । उहाँ भन्नुहुन्छ, “हिउँदमा जहिलेसुकै जोखिम भएकाले हामी आफैंँले यस्तो तयारी गर्न सके क्षति कम गर्न सकिन्छ ।” नगरका अधिकांश ठाउँमा चोकको भित्र परम्परागत रुपमा वस्ती बसेकाले धेरै घर सडकभन्दा टाढा छन् । रासस

दोस्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

पर्वत । बिहादी–३ रानीपानीका ज्ञानप्रसाद पराजुलीको तीन तले कच्ची घर २०७२ को भूकम्पले छियाछिया पारेको छ । त्यही घरको अगाडि बाँसका खपेटाले बारेर जस्ताले छाएको टहरोमा ज्ञानप्रसादको परिवार बस्न थालेको तीन वर्ष पुग्दैछ । भूकम्पलगत्तै उहाँले पूर्ण क्षतिको कार्ड र रु ३० हजार राहत पाउनुभयो । पराजुली सरकारले आवास पुनःनिर्माण अनुदान दिने सुनेपछि खुशी हुनुभयो । गत वर्ष पूर्ण क्षति भएका पीडितको आवेदन संकलन गर्दै बैंकका कर्मचारी गाउँ पुग्दा उहाँको आवास अनुदान पाउने सूचीमा नाम भेट्टिएन । सोही ठाउँका मीना आचार्य, तेजबहादुर दर्जी, सरस्वती आचार्यलगायत १८ परिवारको अवस्था उस्तै दयनीय छ । दिनभर मेलापात नगरे साँझ चुलो बाल्न नसक्ने अवस्थाका तेजबहादुर कतै हारगुहार गर्न जान सक्दैनन् । “सरकारी अनुदान पनि टाँठाबाठालाई मात्रै रहेछ,” उहाँले भन्नुभयो । रानीपानीका एउटै टोलका १८ परिवार अनुदानबाट वञ्चित छन् । रानीपानी भूकम्पबाट सबैभन्दा धेरै क्षति भएको गाउँ हो । रानीपानीका वडाध्यक्ष रणबहादुर आलेका अनुसार यहाँका ५७९ मध्ये ५०० भन्दा बढी घर पूर्ण रुपमा क्षति भएको छ । आवास अनुदान पाउने सूचीमा ३६१ परिवारको नाम मात्रै छ । “बस्नै नमिल्ने घरधुरी धेरै छुटेका छन्,” आलेले भन्नुभयो । सोही वडाको टहरामा बस्दैआएका १०० भन्दा बढी परिवार अनुदान पाउने सूचीमा नपरेको उहाँको भनाइ छ । बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालका अनुसार ६ वटा वडाका ६०० भन्दा बढी घर पूर्ण रुपमा क्षति भएके छ । उनीहरुको नाम राहत पाउने सूचीमा परेको छैन । “छुटेका परिवारको लगत संकलन गरेर पठाएका छौँ,” भुसालले भन्नुभयो, “एक वर्ष हुन लाग्यो । कुनै प्रतिक्रिया आएको छैन । प्राधिकरणको काम गर्ने शैलीले हामी दिक्क भएका छौँ ।” पूर्ण क्षतिको सूचीमा परेर घर निर्माण गरिसकेका भूकम्पपीडित दोस्रो किस्ता नपाउँदा अन्यौलमा छन् । गाउँपालिकामा अहिलेसम्म पुनःनिर्माण प्राधिकरणका प्राविधिक पुगेका छैनन् । प्राधिकरणले दुई महिनाअघि नै तीनजना प्राविधिक पठाएको भए पनि गाउँमा अझै नआएको गाउँपालिकाका अध्यक्ष भुसालले बताउनुभयो । प्राविधिक नआउँदा बनेका घरको मापदण्ड परीक्षण गर्न र नयाँले घर बनाउन नसकेका उहाँले बताउनुभयो । जिल्लास्थित भूकम्पपीडित आवास अनुदान स्रोतव्यक्ति तुलसीराम शर्मा प्राधिकरणले प्राविधिक पठाए पनि भत्किएका घरको लगत भर्ने फारम नपठाएको बताउनुहुन्छ । रासस

आगलागीबाट एकको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित स्वाँरा गाँउमा आगलागीबाट एक युवकको मृत्यु भएको छ । गएराति ९ बजेतिर भएको आगलागीमा स्थानीय रेशम सार्कीको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । भूकम्पपछि संस्थाले बनाई दिएको अस्थायी टहरोमा एक्लै सुतिरहेको अवस्थामा आगलागी भएको थियो । मृतक धूम्रपान गर्ने भएकाले चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका–११ चेहेरेस्थित सुनकोशी नदीमा करिब ५० वर्षीय एक पुरुषको बेवारिसे शव आज बिहान फेला परेको छ । सोबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । रासस

डुम र चमार बस्तीमा खाद्यान्न र कपडा वितरण

पोखरा । समाजका असहाय एवं विपन्न बालबालिकाको क्षेत्रमा क्रियाशील रेन्बो चिल्ड्रेन होम नेपाल पोखराद्वारा बारा जिल्लाको महागडीमाई नगरपालिका–३ र ४ का डुम तथा चमार बस्तीमा मङ्गलबार खाद्यान्न तथा कपडा वितरण गरिएको छ । पोखराबाट खाद्यान्न, लत्ता कपडासहित गएको एक टोलीले सो स्थानका ७५ घरका ३५० जना परिवारलाई तीन लाख पचास हजार मूल्यबराबरको सामग्री वितरण गरिएको रेन्बो चिल्ड्रेन होम नेपालका निर्देशक गोमा ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वस्तीका प्रतिपरिवार ३० केजी चामल, दुई केजी केराउ, दुई केजी चना, एक लिटर खाने तेल, एक केजी नूनसहित महिला, पुरुष र बच्चाका लागि कपडा वितरण गरिएको थियो । कार्यक्रममा महागडीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुले खाद्यान्न तथा लत्ताकपडा वितरण गर्दै पिछडिएका वर्गको उत्थानका लागि रोजगारी सिर्जना गरी उनीहरुलाई आत्मनिर्भर बनाउनेतर्पm नगरपालिकाले तयारी गरिरहेको जानकारी दिनुभयो । बारा मेडिकल कलेजका डा लक्ष्मी थापाले स्वास्थ्य सेवामा पहुँच नपुगेका समाजका विपन्न वर्गका परिवारका लागि निःशुल्क स्वास्थ्य शिविरमार्पmत सुविधा पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । विसं २०६५ मा स्थापना भई सञ्चालनमा आएको रेन्बो चिल्ड्रेन होम नेपालले यसअघि मुलुकका विभिन्न जिल्लामा विपन्न बस्तीमा खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री वितरण गरिसकेको छ । स्वदेशी तथा विदेशी दाताको सहयोगमा सञ्चालित सो संस्थाले सञ्चालन गरेको चिल्ड्रेन होममा हाल ४२ जना आवासीय रुपमा र ४६ जनालाई घरघरमा मासिक रुपमा दुई हजार पाँच सयदेखि रु छ हजारसम्म पठनपाठनमा सहयोग पु¥याउँदै आएको संस्थाका सहसंयोजक खेम लामिछानेले जानकारी दिनुभयो । रासस

नहर, कुलो र मुहान निर्माण योजना

नेपालगञ्ज । यस वर्षको बाढीले भत्काएको र बगाएको बाँके जिल्ला राप्तीसोनारी गाउँपालिकाको नहर, मुहान र कुलो निर्माण हुने भएको छ । सो गाउँपालिका वडा नं २ मा बाढीले भत्काएका र बगाएका खोरियाका दुई, मदुई, माथेबास, परवा तटबन्ध तथा दुई कुलो र मुहान बनाइने बताइएको छ । सो गाउँपालिका वडा नं २ कार्यालयका अध्यक्ष मदनकुमार ओलीका अनुसार सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबसंँगको सहकार्यमा सो काम हुन लागेको हो । नहर, कुलो र मुहान निर्माणका लागि रु ७६ लाख १० हजार बजेट बिनियोजन गरिएको छ भने छ महिनाभित्र काम सम्पन्न गर्ने समयावधि निर्धारण गरिएको छ । योजना सञ्चालनका लागि गठित आठ उपभोक्ता समितिसंँग सम्झौताका सबै प्रक्रिया पूरा भइसकेको र केही दिनभित्रै काम शुरु गरिने वडाध्यक्ष ओलीले बताउनुभयो । यसवर्षको बाढीबाट त्यस वडाका करीव एक हजार १०० घरधुरी प्रभावित भएका थिए । सोका निर्माणपछि किसानको खेतबारी र घर सुरक्षित हुने बताइएको छ । रासस

महानगरका भित्री भागमा आगलागीको जोखिम

ललितपुर । ललितपुर महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा रहेका छन् । नगरका भित्रि भागमा दमकल जानसक्ने बाटो नभएकाले आगलागीको जोखिममा रहेका हुन् । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दमकल लगेर त्यहाँबाट उता पाइप तानेर लानुपर्ने नगरप्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । आगलागी भएको ठाउँभन्दा गाडी टाढा हुँदा दमकलले कम काम गर्छ । उहाँ भन्नुहुन्छ, “जति नजिकबाट हान्यो त्यति तीव्रगतिमा पानी हान्छ।” बाटोबाट टाढा हुँदा पाइप मिलाएर घटनास्थलसम्म पुग्न समय लाग्ने उहाँ बताउनुहुन्छ । आगलागी भएको ठाउँबाट सडक टाढा हुँदा दमकलको पाइप पुग्न समय लाग्छ । घरहरुको माथिबाट पाइप व्यवस्थित गरेर लैजाँदासम्म धेरै क्षति भइसक्ने प्रमुख महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दमकल उतिबेला नै पुगेपनि सडक नजिकका घरभन्दा टाढाका घरमा बढी क्षति हुन्छ ।” टोल–टोलमा पानीे ट्याङकीमा पानी जम्मा गरेर राख्ने र फायर मेसिन राख्न सके जोखिम कम गर्न सकिने उहाँ बताउनुहुन्छ । केही वर्षपहिले नागबहालमा जापानी संस्थाको सहयोगमा ट्याङकीको निर्माण र स्थानीयवासीलाई तालिम दिइएको थियो । उहाँ भन्नुहुन्छ, “हिउँदमा जहिलेसुकै जोखिम भएकाले हामी आफैँले यस्तो तयारी गर्न सके क्षति कम गर्न सकिन्छ ।” नगरका अधिकांश ठाउँमा चोकहरुको भित्र परम्परागतरुपमा बस्ती बसेकाले धेरै घरमा सडकभन्दा घरहरु टाढा छन् । रासस

रमणीय सन्दकपुरः जहाँबाट तीन देशका हिमाल हेरेर मज्जा लिन सकिन्छ

इलाम, फागुन २३ । इलामको सन्दकपुरमा आन्तरिक पर्यटकको भीड लागेको छ । एकै ठाउँबाट तीन देशका हिमाल देख्न सकिने भएकाले यो ठाउँ पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर प्रचार प्रसार नहुँदा तेस्रो मुलुकका पर्यटक भने अझै पुग्न सकेका छैनन् । जहाँबाट तीन देशका हिमाल मज्जाले देख्न सकिन्छ । सन्दकपुरमा बसेर नेपाल–भारत र भुटानका हिमालका १८० डिग्रीको सोझो सतहमा दुई दर्जन वढि हिमश्रीखंला देख्न सकिन्छ । तर यहाँ पुग्ने बाटो राम्रो नहुँदा सोचे अनुरुपको पर्यटक पुग्न सकेका छैनन् । इलाम सदरमुकामबाट ४५ कि.मी उत्तरको ३ हजार ६ सय ३६ मिटर उचाइको सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथादेखि तेस्रो अग्लो कञ्चनजंघा मात्र होइन, सिक्किमको पाण्डिम र भुटानको कुलाकाङ्ग्रीसहित ६० वटा हिमाल देखिन्छ । हिमचुचुरा मात्र होइन सन्दकपुरबाट देखिने सुर्योदय र सुर्यास्तको दृश्यले पनि पर्यटकहरुलाई आर्कषित गर्ने गरेको छ । बिभिन्न देशका हिमश्रृंखला सँगै प्राकृतिक र मनोरञ्जनात्मक दृष्यावलोकनका लागि पर्यटकहरु यहाँ आउने गरेको स्थानीय बालकृृष्ण गुरुङ बताउँछन् । सन्दकपुर पुग्नेमा अधिकांस भारतीय मुलका पर्यटक छन् । त्यो पनि भारतबाट बाटो राम्रो र सहज भएपछि उनिहरुको आवागमन बढेको हो । तर, नेपालतर्फ बाटो राम्रो नहुँदा यहाँबाट सोचेअनुरुपको पर्यटक यहाँसम्म पुग्न सकेका छैनन् । पर्यटकको सुविधाका लागी भनेर दोवाटे र कालपोखरी लगायतका स्थानहरुका होटल र होमस्टे समेत संचालन गरिएको छ । दोवाटे नजिकको २७९० मिटरको उचाइमा रहेको बनमा विश्वमा नै लोपोन्मुख मानिएको रेडपाण्डा (हाव्रे) देख्न सकिन्छ । चौँरी र बिभिन्न प्रजातीका गुराँस हेर्न समेत पर्यटकहरु यहाँ आउने गरेको स्थानीय दावालाक्पा शेर्पा बताउँछन् । यहाँ पुग्ने पर्यटक समेत यस स्थानमा एकपटक सबैजना पुग्नै पर्ने प्रतिकृया दिन्छन् । नेपाल भारत सिमाना भएकाले भारतीय पर्यटकहरुको आगमन उच्च रहने गर्दछ । भारतीय पर्यटकहरुको ट्रेकिङको लागी सिम्ला पछिको उत्कृष्ट गन्तव्य सन्दकपुर रहेको टुर गाइडहरुले बताउने गरेका छन् । इलाम–दार्जिलिङ सीमामा रहेको सन्दकपुरमा नेपालतर्फ व्यवस्थित २–३ वटा होटल छन् । सन्दकपुरको पर्यटन प्रर्वद्धनका लागी भने सरकारी उपस्थिति शून्य छ । भारततर्फ पश्चिम बंगाल सरकार मातहतका आधादर्जन कार्यालयका अतिरिक्त पर्यटकलाई आवासगृह, होटलसमेत छन् । नेपाली भूभागको बाटो समेत चुस्त नभएका कारण अधिकाँश आन्तरिक पर्यटकहरु समेत भारतीय बाटो हुँदै सन्दकपुर सम्म पुग्न बाध्य छन् । माइखोलाको शिर समेत रहेको सन्दकपुरमा बाटो, बिजुली, खानेपानी र सुरक्षा व्यवस्थाको अझै खाँचो देखिन्छ ।

मर्मत संभार र रेखदेख नहुँदा लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द

तेह्रथुम, फागुन २३ । मर्मत सम्भार र रेखदेखमा ध्यान नपुग्दा तेह्रथुमका लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् । लघु जलविद्युत् आयोजनाहरु निर्माण गर्दा सरकारी अनुदान पाउने तर मर्मत सम्भार गर्न सहयोग नपाएपछि त्यस्ता आयोजना बन्द हुन थालेका हुन् । त्यसैगरी जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुङ्गा खोला लघुजलविद्युत् आयोजना समेत पाँच वर्षयता बन्द छ । मेन्छ्यायेम गाउँपालिका–५ स्थित एक सय किलोवाट क्षमताको सो आयोजना मर्मतका लागि सम्बन्धित निकायले ध्यान नपुर्‍याउँदा करोडौं मूल्यका उपकरण कवाडीमा परिणत भएका छन् । जिल्लामा बनेका १६ वटा साना तथा लघु जलविद्युत आयोजना मध्ये १० वटा बढी योजना मर्मत अभावकै कारण बन्द भएका छन् । समुदायमा आधारित जलविद्युत् आयोजनाहरु मर्मत सम्भारमा बजेट अभाव हुनु, सधैं समुदायमा मेल नहुनु, दक्ष जनशक्ति अभाव हुनुलगायत कारणहरुले बन्द भएका हुन् ।

सोलुखुम्बुमा हाइड्रो पावरको टहरामा आगलागी

सोलुखुम्बु, फागुन २३ । माथिल्लो सोलु हाइड्रो पावरको टहरामा आगलागी हुँदा ५८ लाख रुपैयाँ बढीको क्षति भएको छ। सोलुदूधकुण्ड नगरपालिका- ७ मा रहेको उक्त हाइड्रो पावरमा काम गर्ने कामदारहरू बस्ने टहरामा आगलागी भएर क्षति भएको हो। विद्युत सर्ट भई छवटा टहरामा आगलागी भएको थियो। एक सय बढी कामदार बस्ने उक्त टहरामा आगलागी हुँदा ५८ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। आगालागीमा परी सोमबार मात्र तलब बुझेका कामदारहरूको नगद २० लाख रुपैयाँ, २५ थान मोवाइल, एक थान ल्यापटप, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सोलुदूधकुण्ड नगरपालिकाको दमकल र नेपाल प्रहरीको सक्रियतामा आगो निभाइएको थियो।

नेपाली सेनाद्वारा राईनासकोट गढीको मर्मत

लमजुङ, फागुन २३ । नेपाली सेनाले लमजुङको राईनासकोटमा रहेको ऐतिहासिक गढी मर्मत गरेको छ । जीर्ण अवस्थामा रहेको सो गढीको मर्मत लमजुङस्थित श्रीजंग गणका सेनाले गरेक हुन् । राईनासकोट गढीमा भत्किएको पर्खालको मर्मत तथा सरसफाई गरिएको श्रीजङ गणका गणपती माधव थापाले जानकारी दिए । जीर्ण संरचना मर्मत गर्न ३० जनाको टोली खटाइएको थियो । मर्मतका लागि आवश्यक सामाग्री पनि श्रीजंग गणले नै जुटाएको थियो । केही दिनअघिमात्रै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले सो गढीको स्थलगत अवलोकन गरेका थिए । ऐतिहासिक गढीका संरचना भत्किएको देखेपछि प्रधानसेनापति क्षेत्रीले मर्मत गर्न श्रीजंग गणलाई निर्देशन दिएका थिए । गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्यशाहको बासस्थान गढी रहेको राईनासकोटको ऐतिहासिक एवं धार्मिक महत्व छ ।

प्रदेश ७ मा अल्पकालीन बजेट ल्याउने तयारी

धनगढी,फागुन २३ । चालु आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा ७ नं प्रदेश सरकारले अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ । बजेटले कृषि र उत्पादनशील क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न लागेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । सरकार गठन भएपछि सञ्चित कोषको अभावले मन्त्रालयका काम कारबाही प्रभाबित हुन थालेको महसुश गरी अल्पकालीन बजेट ल्याउन लागिएको जनाइएको छ । रु एक अर्ब २० करोड ५० लाख बरावरको हुने बजेट निर्माणका विषयमा विज्ञ कर्मचारीलाई आर्थिक मामिला मन्त्रालयले आवश्यक निर्देशनसमेत दिइसकेको छ । कृषि र उत्पादनशील क्षेत्रबाहेक शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्ने गरी तयार गर्न लागिएको यो अल्पकालीन बजेटले तत्काल जनतालाई सम्बोधन हुने नीति तथा कार्यक्रम बजेटमा समावेश गरिन लागिएको मन्त्रालयले जनाएको छ । कृषि र उत्पादनमूलक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भएकाले यससम्बन्धी आवश्यक तयारी शुरु गरिएको प्रदेश अर्थमन्त्री झपट बोहराले बताउनुभयो । कमजोरी वित्तीय अनुशासन, राजश्व चुहावट, करको साँघुरो दायरा, आम्दानीभन्दा बढी खर्चका कारण प्रदेशको आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेको अवस्थामा पहिलो पटक ल्याउन लागिएको बजेटले आगामी आवमा ल्याइने पूर्ण बजेटलाई निर्दिष्ट गर्ने अर्थमन्त्रीले बताए । “प्रदेश सरकार गठन सँगै खर्चको दायरा निकै बढी हुने देखिएको छ”, मन्त्री बोहराले भन्नुभयो, “खर्चको तुलनामा आयको स्थिति हेर्दा प्रदेश सरकारका लागि वित्तीय व्यवस्थापन चुनौतीपूर्ण देखिने सम्भावना बढेको छ ।” आर्थिक व्यवस्थापनका लागि दीर्घकालीन योजना निर्माण, कठोर आर्थिक अनुशासन, राजश्व चुहावटलाई रोक्ने र करको दायरा फराकिलो बनाएर अगाडि जानुपर्ने उनले बताए । रासस