शल्यक्रियामा लापरबाहीः काउन्सिललाई नै ढाँटे डाक्टरले !
काठमाडौं, फागुन २३ । देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई समेत ढाँटेका छन्
।
काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले विरामी देब्रे घुँडाका लागि आएको त हो, तर हाम्रो नजरमा दायाँ घुँडामा समस्या देखिएकाले शल्यक्रिया गरेका हौँ, भनेर दावी गरेका थिए ।
शल्यक्रियामा डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितका संलग्न थिए ।
चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्प्ताल भर्ना भएकी विन्दु पौडेलको देव्रेका सट्टा दाहिने घुँडाको शल्यक्रिया गरिएको थियो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
समस्यामा महिला कैदीबन्दीः आमासँगै छोरी पनि जेलमा
बर्दिया, फागुन २३ । विभिन्न अभियोगमा कारागारमा जीवन बिताइरहेका कैदीबन्दी महिला विभिन्न समस्या भोग्न बाध्य हुने गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ, कारागारभित्र सजाय भुक्तान गरिरहेका तथा मुद्दा खेपिरहेका महिला कैदीबन्दी कानुनी अधिकारबाट बञ्चित हुँदा समस्यामा पर्ने गरेका छन् । १५ जना कैदीबन्दी रहेको बर्दिया कारागारमा एक जना बालिका पनि आमासँगै जेलजिवन बिताइरहेकी छन् । छोरी जन्मेको दुई महिनामै कारागारमा आउनुपरेको बाह्रबर्दिया नगरपालिका ११ निवासी सीता चौधरीले बताइन् । दुई बर्ष अघि गर्भवती हुँदा छोरीसहित आफू पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् । दुर्भाग्यवश एउटी छोरीको निधन भयो । एउटी छोरी र सीता बाँचे । त्यसपछि उनी छोरीसहित कारागारमा कैद भुक्तान गर्न बाध्य भइन् ।
इजलासमा प्रेसलाई निषेध
काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अवहेलना मुद्धामा प्रेसलाई इजलासमा पुर्ण रुपमा निषेध गरेको छ । सर्वोच्चमा आएका अधिकांश सञ्चारकर्मीलाई मुलगेटबाटै पस्न दिइएन । भित्र पसेका केहीलाई पनि अदालत प्रांगणमै रोकिएको थियो । कान्तिपुर, बीबीसी नेपाली सेवा, लगायत सञ्चारमाध्यमका प्रतिनिधिले इजलासमा जाने पासको व्यवस्था गरिदिन आईतबार सर्वोच्चका रजिस्ट्रार महेन्द्र उपाध्यायलार्य अनुरोध गर्दा पनि जाने अनुमति दिइएन ।, आजको कान्तिपुरमा यो खबर छ ।
काठमाडौंवासी तिर्दैनन् घरबहाल कर
काठमाडौं, फागुन २३ । उपत्यकाका ७८ प्रतिशत घरधनीले बहाल नतिर्ने गरेको पाइएको छ। घरभाडाबापत उठेको रकमको ज्ञद्द प्रतिशत कर स्थानीय तहलाई तिर्नुपर्ने व्यवस्था छ । घरबहाल नतिर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था नहुँदा काठमाडौं, ललितपुर र भक्तपुरका घरधनीले कर तिर्न चासो दिएका छैनन् । आजको अन्नपूर्ण पोस्ट अर्थिक मा खबर छापिएको छ । यसअघि १० प्रतिशत आन्तरिक राजस्व र दुई प्रतिशत स्थानीय तहले यस्तो कर असुल गर्थे । तर, अन्तरसरकारी वित्तीय हस्तान्तरण ऐन २०७४ र महानगरपालिकाको आर्थिक ऐन २०७४ अनुसार पूरै कर अहिले स्थानीय तहमा गएको हो । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगरका करिब ३३ प्रतिशतले मात्र घरबहाल तिर्ने गरेको जानकारी दिए । भाडामा बस्ने र घरधनीबीच मौखिक समझदारी भएर भाडा लिनेदिने र बढाइने गरिए पनि लिखित सम्झौता नहुँदा कर उठाउन समस्या भएको उनले बताए । कानुनी आधारमा रहेर घर बहाल कर उठाउनसक्ने अवस्था नभएको र कतिपय घरधनीले पनि कर नबुझाउने नगरेका कारण असुलीमा समस्या देखिएको उनको भनाइ छ । पछिल्लो समय महानगरपालिकामा घर भएका व्यक्ति विशेष जानका लागि घर बहाल कर, बत्ती, पानी र अन्य महानगरबाट लिइने सुविधाको पनि कर चुक्ता गर्नुपर्ने भएकाले घरबहाल कर संकलन केही वृद्धि भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि
काठमाडौं, फागुन २३ । त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापास नगरिएको भेटिएपछि कीर्तिपुर नगारपालिकाले तत्काल नक्सापास गर्नुपर्ने जनाउँदै पत्र पठाएको छ । त्रिविले हालसम्म निर्माण गरेका कुनै पनि भवनको नक्सा पास गरेको छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छापिएको छ । नक्सापास नगरी धमाधम भवन निर्माण गर्न थालेपछि कीर्तिपुर नगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले त्रिविमा हालसम्म निर्माण गरिएको कुनै पनि भवनको नक्सापास नगरेको स्पष्ट पारे । उनले भने, बल्ल जानकारी भयो, अब प्रक्रियामा जानेछौं ।
बलात्कार प्रयासको आरोपमा गायक पक्राउ
बुटवल, फागुन २३ । रुपन्देही प्रहरीले बलात्कार प्रयास आरोपमा एक गायकलाई पक्राउ गरेको छ । काठमाडौं बसेर गायन पेशा गर्दै आएका अजय श्रेष्ठ फागुन ९ गते पक्राउ परेका हुन् । सांस्कृतिक कार्यक्रमका लागि फागुन ३ गते टोलीसहित आएका उनीमाथि आफ्नै समूहकी साथीलाई बलात्कार प्रयास गरेको आरोप छ । उनले कार्यक्रम सकेर होटलमा बसेका बेला बिहान ४ बजे महिला साथीलाई करणी प्रयास गरेका थिए । महिला प्रतिकार गरेर भागेकी थिइन् । काठमाडौंकै ती महिलाले तत्काल श्रेष्ठविरुद्ध उजुरी दिएकी हुन् । –कान्तिपुर दैनिकबाट
पुनःनिर्माणलाई तीव्रता दिन ऐक्यबद्ध प्रयास आवश्यक : भुसाल
धुलिखेल, फागुन २२ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण छिटो गर्न ऐक्यबद्ध प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ देवीटारमा रहेको देवीस्थान माध्यमिक विद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटन गर्दै उहाँले भूकम्प अतिप्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्ला गरी ३२ जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास, सांस्कृतिक सम्पदा, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सडक, सिँचाइ, खानेपानी तथा राष्ट्रिय धरोहरका पुनःनिर्माण गरिरहेको र त्यसका लागि सबैको साथ सहयोग र ऐक्यबद्धता जरुरी भएको बताउनुभयो । उहाँले देशभरमा साढे सात हजार विद्यालय क्षति भएकामा करिब तीन हजार बनिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “अब एक हजार ५०० बन्दैछन् । बाँकी तीन हजार शैक्षिक संस्था पनि यसै आर्थिक वर्ष भित्र बनाइसक्नेछौँ ।” उहाँका अनुसार बाँकी संरचना निर्माण गर्न ४०÷५० अर्ब रकम आवश्यक हुन्छ । धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले शिक्षा क्षेत्रमा धुलिखेल नगरभित्र शिक्षक दरबन्दी समायोजन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । जिल्ला शिक्षा अधिकारी डा दीपेन्द्र गुरुङले जिल्लाको ग्रामीण भेगमा विद्यार्थी संख्या धेरै र शिक्षक दरबन्दी थोरै रहेको र शहरी क्षेत्रमा शिक्षक धेरै तथा विद्यार्थी संख्या थोरै रहेकाले त्यसलाई आवश्यकताका आधारमा समायोजन नगरेसम्म शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान नहुने बताउनुभयो । सेभ द चिल्ड्रेनको नेपालका लागि निर्माण प्रबन्धक यादव मैनालीले नेपालमा भूकम्प अति प्रभावित १४ जिल्लामा २३ वटा विद्यालय भवन निर्माण गरिरहेको र काभ्रेपलाञ्चोकमा तीन वटा निर्माण गरिएकामा दुई वटा उद्घाटन भइसकेको बताउनुभयो । नाङसाल एशोसिएशन नेपालका अध्यक्ष दिने लामाले भूकम्प गएलगत्तै तत्कालीन अवस्थामा राहतस्वरुप अस्थायी सिकाइ केन्द्र बनाइदिएको र त्यसपछि पक्की भवन निर्माणका लागि सहयोगीदातासँग साझेदारी गरेर विद्यालय भवन निर्माण गरेको बताउनुभयो । सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र नाङसाल एशोसिएशन नेपालको साझेदारी निर्मित आठ कोठे विद्यालय भवन अपांगमैत्री र बालमैत्री रहेको छ । कूल एक करोड ४० लाख २८ हजार ४६९ को लागतमा भवनको निर्माण सम्पन्न गरिएको हो । विद्यालयमा २२० जना विद्यार्थी अध्ययनरत छन् । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पु¥याएका ४९६ विद्यालयका पाँच हजार २२० वटा कक्षाकोठा क्षति भएकामा ९५४ वटा कोठा पूर्ण क्षति र ९१४ वटा कक्षा कोठा आंशिक क्षति भएको थियो । सो अवसरमा विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर लामा, झलु तामाङ र ज्ञानबहादुर लामाका साथै भवन निर्माणका लागि जग्गादान गर्ने माइली लामालाई सम्मान गरिएको थियो । लामाले विद्यालयका भवन निर्माणका लागि दुई रोपनी तीन आना जग्गादान गर्नुभएको हो ।
एमाले स्थायी समितिमा माधव नेपालको बर्थडे सेलेब्रेसन
काठमाडौं । एमाले स्थायी समिति बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ६५ अौं जन्मदिन मनाएका छन्। मंगलबारको बैठक सुरू हुनुभन्दा अगाडि उनले ‘बर्थ डे केक’ काटेका हुन्। माधनकुमार नेपाललाई प्रधानमन्त्री ओलीले पुष्पगुच्छा दिई शुभकामना दिएका थिए। यसअघि ओलीले पनि स्थायी समिति बैठकमै फागुन ११ गते आफ्नो ६७ औं जन्मदिन मनाएका थिए। राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक बालुवाटारमा बसेको हो ।
मासु पसलमा फोहर र झिँगा
ललितपुर, फागुन २२ । शहरका भित्री भागमा सञ्चालन गरिएका मासु पसल फोहोर ठाउँमा रहेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधिले एक सातासम्म गरेको अनुगमनका क्रममा मासु पसलले सफाइमा बेवास्ता गरेको पाइएको हो । बधस्थल र मासु पसल फरक–फरक ठाउँमा हुनुपर्ने व्यवस्था भए पनि धेरै सञ्चालकले एकै ठाउँमा राखेको पाइएको कार्यालयका प्रमुख मोगल साहले बताउनुभयो । एउटै पसलमा एउटाभन्दा बढी किसिमका मासु बेच्दा फरक ठाउँमा राख्नुपर्ने नियम छ । कतिपय मासु पसलले एउटै टेबुलमा राख्ने गरेको पाइएको छ । उहाँ भन्नुहुन्छ, “कतिपय मासु पसलले जानकारी नभएर र कतिले भएर पनि नियम पालना गरेका छैनन् ।” जाली र सिसा राख्नुपर्ने व्यवस्था भए पनि कतिपय मासु पसलले त्यसको पालना गरेका छैनन् । मेलम्ची खानेपानीका लागि सडक खन्दा सडक धुलाम्मे छन् । अनुगमनका क्रममा अधिकांश मासु पसल सडक छेउमा र कतिपय चोकमा पाइएको साहले बताउनुभयो । “सडक छेउका मासु पसल वरपर फोहर मात्र देख्न सकिन्छ,” उहाँले भन्नुभयो । कम्तीमा १२ घण्टासम्म डिपफ्रिजमा राखेको मासु खानका लागि योग्य मानिन्छ । उक्त अवधिसम्म फ्रिजमा राख्दा मासुमा भएका ब्याक्टेरिया मर्ने साह बताउनुहुन्छ । धेरै उपभोक्ताले आलो मासु नै किन्न चाहने हुँदा डिपफ्रिजमा नराखी बेच्ने गरेका पसल सञ्चालकले अनुगमन टोलीलाई बताएका छन् । अघिल्ला वर्षहरुमा भन्दा फ्रिजको प्रयोग बढेको छ । उहाँ भन्नुहुन्छ, “बिहानदेखि साँझसम्म बिग्रन्छ भनेर पनि पसलेले फ्रिज प्रयोग गर्न थालेका छन् ।” अझै पनि फ्रिजमा राखेको भन्दा आलो मासु किन्न चाहने ग्राहकको संख्या बढी छ । मासुलाई फ्रिज बाहिर राखिरहँदा ब्याक्टेरिया बढ्ने र गुणस्तर कम हुने भए पनि आमउपभोक्तालाई बुझाउन नसकिएको साह बताउनुहुन्छ । मासु पसल कतिपय दर्ता नै नभई सञ्चालनमा रहेका र कतिपय मिति नाघेर पनि नवीकरण नगरिएका पाइएको महानगरपालिकाका नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पसललेलाई दर्ता प्रक्रियामा आउन सुझाव दिएका छौँ । कतिपय पसल व्यवस्थित बन्दै गए पनि पुस्तौँदेखि चलेका परम्परागत मासु पसलमा सुधार आएको छैन ।” उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि राम गुरुङ अनुगमनका क्रममा कतिपय पसलेले फोहर भुइँमा फालेको पाइएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ग्राहकलाई आकर्षित गर्न मासु टेबुलमा पसल बाहिरसमेत राखेको पाइयो ।” उपभोक्तामा चेतनाको कमी रहेको गुरुङ बताउनुहुन्छ । “उपभोक्तलाई डिपफ्रिजमा राखेको मासुमात्रै किन्नुपर्छ भनेर बुझाउन सकिएको छैन,” उहाँले भन्नुभयो । कार्यालयले टोली बनाएर एक सातामा ६६ वटा मासु पसलको अनुगमन गरेको थियो । महानगरपालिकाको वडा नं १ देखि ६ सम्मका मासु पसलको अनुगमन गरिएको थियो । उपमहानगरपालिका हुँदासम्म यहाँका २२ वटा वडामा झण्डै ३०० वटा मासु पसल दर्ता भएर सञ्चालनमा थिए ।
कान्तिपुरविरुद्धको सुनुवाई वृहतपूर्ण इजलाशमा हुने
काठमाडौं । अदालतको अपहेलना मुद्दामा कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष, प्रधान सम्पादकलगायतको बयान लिने काम मंगलबार सकिएको छ । उक्त मुद्दाको सुनुवाइ भने अब सर्वोच्च अदालतको वृहतपूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले प्रतिवादीको बयानपछि उक्त आदेश दिएको हो । अदालतको अपहेलना मुद्दामा गएको आइतबारदेखि बयान सुरु भएको थियो । पहिलो दिन निर्देशक स्वस्तिका सिरोहियाको बयान लिइएको थियो भने आज मंगलबार अध्यक्ष कैलाश सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीको बयान लिइएको हो । प्रधान सम्पादक शर्मासँग मात्रै झण्डै तीन घण्टा बयान लिइयो, जसमा ३२ वटा प्रश्नको लिखित जवाफ लिइएको बताइएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीका ४ जन्ममिति, नागरिकतामै ३ वटा जन्ममितिलगायत शीर्षकमा समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध तोयानाथ ढुंगानाले अदालतको अवहेलना मुद्दा दायर गरेका हुन ।
राष्ट्रपतिकाे उम्मेदवार तय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक भोलि
काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक भोलि (बुधबार) बिहान ९ बजे का लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ । निर्वाचन आयोगले राष्ट्रपतिको चुनावका बुधबार उम्मेदवारी दर्ता गराउने कार्यतालिका रहेको छ । तर उम्मेदवारी दिने वा नदिने र दिए कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा औपचारिक रुपमा छलफल र निर्णय नभएको एक नेताले बताए । वाम गठबन्धनको करीब दुई तिहाई बहुमत रहेकाले हाने निश्चित चुनावमा उम्मेदवार उठाउन नहुने मत पनि रहेको छ । कांग्रेसमा उम्मेदवारी दिने विषयमा सहमति जुटेमा नेता मानबहादुर विश्वकर्मालाई चर्चा छ । तर अहिलेसम्ममा छलफल र निर्णय भएको भने छैनन् ।
विवादपछि ठेउलेखोला जलविद्युत अायोजना ठप्प
बागलुङ । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजना निर्माणको काम अन्तिमचरणमा आएर रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै विद्युत् उत्पादन गर्ने तयारी प्रभावित बनेको छ । बाँधदेखि विद्युतगृहसम्मको दुई हजार ७०० मिटर पाइपलाइनअन्तर्गतको जग्गाबारे विवाद भएको छ । विवादपछि पाइपलाइन जोड्न बाँकी रहेको छ निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष इञ्जिनियर सूर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो । जग्गाधनी खगेश्वर शर्माले मापदण्डभन्दा बढी मुआब्जा मागेपछि काम रोकिएको उहाँले बताउनुभयो । शर्माको चार रोपनी जग्गा आयोजना प्रभावित क्षेत्रमा पर्छ । उहाँले रु एक करोड पाँच लाख मुआब्जा माग गर्नुभएको छ । आयोजनाले ३२ रोपनी जग्गाको मुआब्जा रु ९२ लाख वितरण गरिसकेको छ । “एउटै व्यक्तिको कारण आयोजनाको काम रोकिएको छ,” अधिकारीले भन्नुभयो । जग्गाको सरकारी मूल्य र भएको क्षतिको मूल्यांकनका आधारमा मुआब्जा दिन तयार रहेको उहाँको भनाइ छ । निर्माण कम्पनी र जग्गाधनीबीच पाखो जग्गाको प्रतिरोपनी रु ४० हजार, बारीको रु ७० हजार र खेतको रु दुई लाख ५० हजार मुआब्जा दिने सहमति भएको थियो । सोही सहमतिअनुसार जग्गाधनीलाई मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । मुआब्जा विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीयवासी चित्रप्रसाद चापागाईं, तिलक थापा, विष्णु आचार्य र चिरञ्जीवी आचार्य रहनुभएको समिति गठन गरेको छ । रु ३३ करोडको लागतमा बनेको साढे एक मेगावाट क्षमताको उक्त आयोजनाले जिल्लाको एक तिहाइ विद्युत् माग धान्ने बताइएको छ । जैमिनी नगरपालिका– १ र कुश्मीसेरा– ४ सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई दुई हजार ७०० मिटरको पेनस्टक पाइपमार्फत् वडा नं– ५ विनामारेस्थित विद्युत्गृहमा पु¥याइएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत शेयर रहेको छ । रासस
४५ लाख रूपैयाँसहित भारतीय पक्राउ
विराटनगर, फागुन २२ । सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई रु ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय नारायण साहलाई विआर ११ एए ६२६५ नं को भारतीय कारको सिटमुनि विशेष स्थान बनाई उक्त रकम ल्याइरहेका अवस्थामा प्रहरीले जाँचका क्रममा विराटनगर–१५ बाट पक्राउ गरिएको जानकारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले कुन प्रयोजनका उक्त रकम नेपाल ल्याइएको हो भन्ने सम्बन्धमा अनुसन्धानपछि सम्पत्ति सुदृढीकरण वा राजश्व अनुसन्धान विभाग काठमाडौँमा आवश्यक कारवाहीका लागि पठाइने बताउनुभयो । उहाँले उक्त रकम हुण्डी कारोवारको रकम हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।
विश्वभरि बालविवाहमा उल्लेख्य कमी
काठमाडौं, फागुन २२ । संयुक्त राष्ट्रसंघको बालबालिका हेर्ने निकाय युनिसेफले विश्वभर नै बालविवाहको संख्यामा उल्लेख्य कमी आएको जनाएको छ। गएको दशकमा दुई करोड २५ लाख बालबालिकाहरू कम उमेरमै हुने विवाहबाट जोगिएको युनिसेफको अनुमान छ। अहिले पाँच बालिकामध्ये करिब १ जनाको १८ वर्ष भन्दा कम उमेरमै विवाह हुन्छ। एक दशक अघि भने चार बालिकामध्ये १ को १८ वर्ष भन्दा कम उमेरमै विवाह हुने गर्थ्यो। युनिसेफका अनुसार दक्षिण एसियाली देशहरूमा बालविवाहको संख्यामा उल्लेख्य कमी आएको छ। भारतमा बालिकाहरूलाई पढाएकाले र कम उमेरमै विवाह गर्दा त्यसले बालिका, उनको परिवार र समाजलाई पार्ने नकारात्मक असरबारे स्पष्ट सन्देश दिएका कारण बालविवाहमा कमी आउन सकेको युनिसेफले जनाएको छ। अफ्रिकामा यो समस्या निकै भयावह भएको बताइन्छ। तर यसो भनिँदै गर्दा इथियोपियामा भने बालिविवाहको दरमा एकतिहाइले कमी आएको छ। बीबीसी
तालाबन्दी नखुल्दा पठनपाठन प्रभावित
लहान । विद्यार्थीले करीव एक महिनाअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ । नियमित पठनपाठको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दी गरिएकाका कारण करीव चार सय विद्यार्थी अलपत्र छन् । कलेजमा तालाबन्दी गरिए पनि कलेज प्रशासनले कुनै चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुखको पुतला दहन र आगजनीसमेत गरेका थिए । विद्यार्थीले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन र तालाबन्दी जारी रहने बताएका छन् । कलेजको शैक्षिक, आर्थिक र व्यवस्थापकीय सुधारको माग गर्दै लामो समयदेखि विद्यार्थी आन्दोलित हुँदै आएका छन् । क्याम्पस प्रशासनले तालाबन्दी खुलाउन पटक पटक प्रयास गरे पनि सफल हुन नसकेको जनाएको छ । रासस
आठ महिनामा २९ पर्यटक भित्रिए
बाजुरा । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ । चालु आवको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । निकुञ्जमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेका निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालु आको सात महिनामा रु दुई लाखभन्दा बढी राजश्व संकलन भएको छ । आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । । बाह्य पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार ३९० का दरले भ्रमण शुल्क लिने गरिएको छ । खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जनावरसमेत हेर्न सकिन्छ । यहाँ त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । निकुञ्जको संरक्षणका लागि चारवटा ठाउँमा इलाका कार्यालय रहेको छ । खप्तड क्षेत्रमा जेठमा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्छ । जात्रा हेर्नका लागि पर्यटकको घुइँचो लाग्छ । चोरी शिकारी रोकिएन खप्तड राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी शिकारी तथा काठ तस्करी रोकिएको छैन । चोरी निकासीलाई न्यून गर्न खप्तडमा नेपाली सेनाले गस्ती गर्ने गरेको भए पनि वन्यजन्तु र काठ चोरी नरोकिएको सहायक संरक्षण अधिकृत शाहीले बताउनुभयो । चारवटा क्षेत्रमा इलाका कार्यालयमार्फत चोरी निकासी रोकथामको प्रयास गरिँदै आएको छ । निकुञ्जमा सिसी क्यामरासमेत जडान गरिएको छ । निकुञ्जभित्र रहेका जनावरको अवस्था र उनीहरुको अध्ययन तथा अवलोकन गर्नका लागि सिसी क्यामरा निकै सहयोगी बनेको छ । निकुञ्जभित्र रहेका बाघ, चितुवा, मृग, घोरललगायत जनावरको चोरी शिकारी तथा उक्त क्षेत्रमा रहेका काठ तस्करी रोकथामका लागि २४ वटा सिसी क्यामरा जडान गरिएको छ । रासस

