पचास हजार घर पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने

काठमाडौँ । भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ ।

नेपालको भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्यालय (युएनओपिएस) बीच आज साझेदारी सम्झौता– पत्रमा हस्ताक्षर भएको छ।

भारत सरकारले यसअघिको सहयोग सम्झौताअन्तर्गत संयुक्त राष्ट्र संघीय एजेन्सीलाई गोरखा र नुवाकोटमा सुरक्षित पुनःनिर्माणका लागि झण्डै रु एक अर्ब ६२ करोड (१६.२ मिलियन डलर) अनुदान प्रदान गर्नेछ ।

भारत सरकारले उक्त सहयोग युएनडिपी र युएनओपिएससँगको साझेदारीमा गोर्खामा २६ हजार ९१२ भूकम्पपीडित घरधनी र नुवाकोटमा २३ हजार ८८ भूकम्पपीडित घरधनीलाई सामाजिक प्राविधिक सहजीकरणअन्तर्गत क्रमशः प्रदान गर्नेछ ।

युएनडिपी र युएनओपिएसको सामाजिक प्राविधिक समूहले नेपाल सरकारले भूकम्पपीडितका लागि सहयोग गर्न निर्धारण गरेको मापदण्डबमोजिम भूकम्पपीडित घरधनीका घर पुनःनिर्माणमा सहयोग गर्नेछन् । उनीहरुले निरीक्षण र प्रमाणीकरणको प्रक्रियामार्फत विभिन्न तहका निर्माणका साथै घर अनुदानका अंशमा घरधनीलाई योग्य बनाउन र पहुँच पु¥याउन मार्गदर्शक गर्ने बताइएको छ ।

साझेदारी सम्झौतामा नेपालस्थित भारतीय राजदूतावास नियोगका उपप्रमुख डा अजय कुमार, युएनडिपीका देशीय प्रमुख रेनौड मेयेर, युएनओपिएस एशिया क्षेत्रका क्षेत्रीय निर्देशक सञ्जय माथुरले हस्ताक्षर गर्नुभएको थियो ।

हस्ताक्षर समारोहमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल, भारतीय राजदूत मन्जिवसिंह पुरीले उक्त सहयोगले पुनःनिर्माणमा ठूलो राहत पुग्ने विचार व्यक्त गर्नुभएको थियो । रासस

करिब दुई हजार बौद्ध धर्मावलम्वीले अभिषेक लिए

काठमाडौँ । हिमाली भेगका करिब दुई हजार बौद्ध धर्मावलम्बीले ‘सप्तलोचन श्वेततारा’ को अभिषेक (दीक्षा) लिएका छन् । अभिषेक कार्यक्रममा सहभागी भएमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख शान्तिका साथै दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । नेपाल गेलुक संघले बुधबार बौद्धमा आयोजना गरेको अभिषेकमा विशिष्ट लामा गुरु गोसोक रिन्पोछेले सहभागीलाई मनमा हुने चन्चलतालाई नियन्त्रण गरी सत्कर्ममा लाग्न प्रेरणा प्रदान गर्नुभयो । बौद्ध विद्वान् टीका शेर्पाले लोभलालचबाट मुक्त हुने वैराग्य उत्पादनको शिक्षा, अरुको हितका लागि क्रियाशील रहन बोधिचित्तको शिक्षा र कुनै पनि वस्तुको स्वतन्त्र सत्ता हुँदैन भन्ने श्ून्यताको शिक्षा दिनुभएको थियो । बौद्ध साहित्यमा मानव जीवन दुर्लभ मानिने हुँदा संसारभरका जीव, जीवात्मा तथा प्राणी रक्षाका काम गर्नसकेमा मात्र पुण्य सञ्चय हुने विश्वास गरिएको छ । गेलुक सम्प्रदायका संस्थापक प्रमुख लामा चोङखापालाई मानिन्छ । लामा चोङखापालाई मन्जुश्रीको एक अवतारका रुपमा लिइएको छ । उहाँको जन्म सन् १४ औँ शताब्दीमा तिब्बतको खाम चोङखा भन्ने गाउँमा भएको र तीन वर्ष भएपछि उहाँले शाक्य सम्प्रदायका गुरुसँग मध्यम पञ्चशील ग्रहण गरी धर्मको यात्रा शुरु गर्नुभएको विश्वास छ । बुद्धधर्मसम्बन्धी सुत्र, तन्त्रबारे धेरै वर्ष अध्ययन अनुसन्धान गरी आफ्नो अध्ययनपश्चातको आत्मबोध तथा अनुभवलाई नयाँ सम्प्रदायका रुपमा स्थापित गर्न गादेन महाविहार स्थापना गरेको र नयाँ विधि, अनुशासन कायम गर्न गेलुक सम्प्रदायको स्थापना गर्नुभएको बताइएको छ । उहाँले पुरानो बौद्ध शिक्षा तथा ज्ञानमा आधारित भई नयाँ विधि र शासन अपनाउने क्रान्ति शुरुवात गरेको र धेरै धार्मिक कार्यका माध्यमबाट समाजमा सेवा गरेर ६१ वर्षमा महपरिनिर्वाण प्राप्त गर्नुभएको थियो । यस सम्प्रदायले आस्था प्रकट गर्ने ठूलो तीर्थस्थल लाब्राङ गुम्बा चीनको उत्तर पश्चिमी भागमा अवस्थित छ । त्यसमा तिब्बती बौद्ध धर्म मातहतमा छवटा बौद्ध शास्त्र प्रतिष्ठान हुनुका साथै हालसम्म त्यहाँ तिब्बती बौद्ध धर्मको पूर्ण शिक्षा प्रणालीलाई संरक्षित गरिएको संघका अध्यक्ष यान तेनले बताउनुभयो । त्यस गुम्बामा रहेका वास्तुकला, धार्मिक समारोह, बौद्ध धर्मको कला र तिब्बती शास्त्र आदि भएकाले त्यो स्थानीय तिब्बती जातिका नागरिकको सांस्कृतिक र कलाको केन्द्र पनि मानिन्छ । काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायका गुम्बा आबद्ध भएको उक्त संघले केही दिन अगाडि राष्ट्रकल्याणको कामना गर्दै विशेष पूजा सम्पन्न गरेको थियो । रासस

दुर्घटना कम गर्न चालकको आँखा परीक्षण

रोल्पा । जिल्लामा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्दै रोल्पामा सवारी चालक र सहचालकको निःशुल्क आँखा शिविर गरिएको छ। नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा बुधबार भएको सो शिविरमा जिल्लाका लामो तथा छोटो दूरीका सवारी चालक र सहचालकको सहभागीता रहेको थियो । सवारी चालकको कमजोर आँखाका कारण कयौैँ दुर्घटना हुने गरेको तथ्य सार्वजनिक भएसँगै रेडक्रश रोल्पाले यो अभियानको थालनी गरेको बताइएको छ । चालक र सहचालकले अनिवार्यरुपमा आँखा परीक्षण गर्नुका साथै समस्या देखिए चश्मा र औषधि प्रयोगका लागि अभिप्रेरित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिं पुनले भन्नुभयो । शिविरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको सहजीकरणमा ट्राफिक नियमको बारेमा अभिमुखीकरण समेत गरिएको थियो । चालक र सहचालकका लागि ट्राफिक नियमको अभिमुखीकरण तथा आँखा परीक्षण शिविरले जिल्लामा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासनिक प्रमुख यज्ञश्वर आचार्यले प्रतिक्रिया दिनुभएको छ । शिविरको पहिलो चरणमा भएको कार्यक्रममा जिल्लाका ३६ जना चालक र सहचालकले आँखा परीक्षण गरेको सामुदायिक आँखा केन्द्र रोल्पाका इञ्चार्ज रेणुका चौधरीले जानकारी दिनुभयो । सवारी दुर्घटनाको एक कारण चालक र सहचालकको कमजोर आँखा पनि भएकाले यस्ता शिविरले दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक कृष्णबहादुर विकले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लामा आर्थिक वर्ष ०७२÷०७३ मा भएका २० वटा सवारी दुर्घटनामा सात जनाको मृत्यु, १२ जना घाइते र २२ जना समान्य घाइते भएका थिए । यसैगरी आव ०७३÷७४ मा भएका ३६ वटा सवारी दुर्घटनामा पाँचको मृत्यु, २७ जना घाइते र २७ जना सामान्य घाइते भएका थिए । चालू आवको हालसम्म भएका आठवटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुईजना घाइते र १० जना सामान्य घाइते भएका थिए । रासस

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिरामीलाई फलफुल वितरण

ताप्लेजुङ, फागुन २४ । अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अन्तर्राष्ट्रिय हरियाली मञ्च ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङमा रहेका बिरामीलाई फलफुल वितरण गरेको छ । अस्पतालमा उपचार गराइरहेका २४ जना बिरामीलाई फलफुल तथा जुस वितरण गरिएको मञ्चका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिए । बिहीबार बिहान अस्पताल परिसरमा आयोजित एक विशेष कार्यक्रमपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीसहितको टोलीले बिरामीहरुलाई फलफुल वितरण गरेको थियो । फलफुल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी जीसीले बिरामीहरुलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत दिए । मञ्चका सहसचिव ङिमा शेर्पाका अनुसार कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धान विभाग ताप्लेजुङका प्रमुख दुर्गा चापागाई, अस्पतालका प्रमुख डा. सचिन यादव, अन्य सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, मञ्चका पदाधीकारी लगायतको सहभागिता थियो । यसैबीच अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला उद्यमी संघ ताप्लेजुङले सिरिजंघा गाउँपालिकामा र फुङलिङ नगरपालिकाले जिल्ला समन्वय समितिको कार्यालय परिसरमा बिहीबार दिउँसो विभिन्न कार्यक्रम आयोजना गरेका छन् । दिउँसो हुने कार्यक्रममा ज्येष्ठ महिलालाई सम्मान, अन्तरकृया, खेल प्रतियोगिता लगायतका कार्यक्रम हुने जनाईएको छ ।

रुकुमको त्रिवेणीमा खानेपानीको हाहाकार, एक गाग्री पानीको लागी दुई घण्टा लाइनमा

रुकुम, फागुन २४ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । एक गाग्री पानीका लागि यहाँका स्थानीयलाई दुई घण्टा लाइनमा बस्नुपर्ने बाध्यता छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पानीको समस्या देखिएको हो । स्थानीयले पिउनेदेखी कपडा धुने, नुहाउने तथा बस्तुभाउलाई खुवाउने पानी समेत बोकेर खानुपर्ने बाध्यता छ । करिब ६५ घरधुरी रहेको उक्त गाउँमा पानीकै समस्याले घरको एक जनाको काम नै पानी ओसार्ने रहेको छ । पानीको अभावले गर्दा रातीका समयमा भएपनि गाइबस्तु लाई पानी खुवाउने गरिएको छ । बैशाख जेठको समयमा एक घरले एक गाग्री मात्र पानी पाउने नियम बनाइएको स्थानीय भुपालसिंह ओलीले बताए । पुस्तौंदेखी पिउनेपानीको समस्याबाट आफुहरु पीडित भएको स्थानीयको दुखेको छ । यस गाउँमा नै मुख्य रुपमा पानीको समस्या रहेको र त्यसलाई समाधान गर्नको लागी सम्बन्धित निकायले गम्भीर रुपमा चासो नदिएकाले आफुहरुको समस्या उस्तै रहेको स्थानीय मेगराज खड्का बताउँछन् । उता, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमले भने सो क्षेत्रमा खानेपानी व्यवस्था गर्नका लागी कार्यालयबाट आवश्यक सर्भेको काम अगाडी बढाइने बताएको छ । स्थानीयसँग समन्वय गरी खानेपानीको समस्या समाधानाका लागि आफुहरु लागि पर्ने जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालयका नायव सुब्बा पुर्णबहादुर बिष्टले बताए । स्थानीयले जंगलबाट पानी ल्याएपनि वनजंगल मासिदै जानु र जनसंख्या वृद्धि हुँदै जानुले पनि खानेपानीको समस्या देखिएको हो । पेउघाको अति दुर्गममा रहेको उक्त गाउँमा खानेपानीको समयमै व्यवस्थापन हुन सकेन भने वस्ती नै जोखिममा पर्ने गुनासो स्थानीयको छ । सरोकारवाला निकायले समयमै पिउने पानीको व्यवस्थापन गरिदिए स्थानीयहरुलाई दैनिक जीवनयापनमा सहज हुने छ ।

क्रियापुत्री बसेको घर आगलागीले सखाप

ताप्लेजुङ, फागुन २४ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ ऐश्वर्य चौकमा आज विहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय दिवाकर भटट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै ८ लाख मुल्य बराबरको क्षति भएको प्रारम्कि अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बेलुकी करिव ११ बजे खाना खाएर सुतेको र विहान ३ बजे अकस्मान आगलागी भएको आगलागी पिडित उदय भट्टराईले बताए । आगलागीले मानविय क्षति भने नभएको बताईएको छ । आगलागी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सकृयतामा साढे चार बजे नियन्त्रणमा आएको थियो । आगलागी पिडित भट्टराई आफ्नो वुवाको कृयापुत्री समेत रहेको वताईएको छ । आगो विहान साढे चार वजे नियन्त्रणमा आएको थियो ।

लागू औषध कारोबारी हतकडी सहित फरार

कैलाली, फागुन २४ । लागू औषध नियन्त्रण ईकाइ कार्यालय कंचनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएका लागू औषध कारोबारी हतकडी सहित फरार भएका छन । बझाङ जिल्लाको खप्तड(छान्ना गाउँपालिका ३ का २७ बर्षिय नवीन रावल हतकडी सहित फरार भएको सात नम्बर प्रदेश प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव प्रसाद नेपालले जानकार दिए । उनले प्रहरी जवान पदम बिष्टको टोलीले कैलालीको अत्तरिया क्षेत्रबाट चरेश सहित पक्राउ गरेका रावललाइ हतकडी लगाएर मुचुल्का तयार गरि रहेको अवस्थामा फरार भएको बताए । फरार भएका रावलको खोजी कार्य भैरहेको एआइजी नेपालले बताए

क्याम्पसको स्तरोन्नतिका लागि श्रीमद् भागवत सप्ताह

सिन्धुपाल्चोक, फागुन २४ । सिन्धुपाल्चोकको चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन गर्न श्रीमद् भागवत सप्ताह आयोजना गरिएको छ । भागवत धर्म संरक्षण समितिको सहयोगमा मंगलबारबाट सुरु भएको सप्ताहबाट संकलित रकमबाट क्याम्पसमा स्नातकोत्तर तह थप, प्राविधिक शिक्षा, छात्रावासको व्यवस्थालगायतको काम गर्ने बताइएको छ । फागुन ३० गतेसम्म चल्ने सप्ताहबाट संकलित रकमले क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनको पूर्वाधार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले जानकारी दिए । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले चौतारालाई शैक्षिक हबको रुपमा विकास गरिने बताए । क्याम्पसले २०६६ सालमा पनि यस्तै सप्ताह लगाई संकलित रकमबाट जग्गा खरीद गरी आफ्नै भवन बनाइसकेको छ ।

अस्पतालमा बिरामीलाई निःशुल्क खानाको व्यवस्था

लमजुङ, फागुन २४ । लमजुङ सदरमुकाम बेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरेको छ । अस्पतालमा भर्ना भएर बस्ने बिरामीलाई निशुल्क खानाको व्यवस्था गरिएको हो । अस्पतालबाट प्रदान गर्ने सेवा सुविधालाई थप प्रभावकारी बनाउनुका साथै विरामीको उपचारलाई सहज बनाउन निःशुल्क खानाको व्यवस्था गरिएको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए । ६२ शैयाको जिल्ला अस्पतालले बहिरंग तथा अन्तरंग सेवाका साथै आकस्मिक र शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको छ ।

इटहरी डुबाउने शेहरामा तटबन्ध

इटहरी, फागुन २४ । इटहरी उपमहानगरपालिकाले शेहरा खोलामा तटबन्धको काम सुरु गरेको छ। इटहरीमा बाढी नियन्त्रणको लागि खोला मिचेका संरचना हटाउने क्रम चलिरहँदा समस्याको दीर्घकालीन समाधानको काम थालेको हो। शेहरा खोलामा बाढी आउँदा ओभरफ्लो भई टेंग्रा खोलामा पानी पसेर इटहरी डुबाउने गरेको निष्कर्ष निकाल्दै शेहरा खोला नियन्त्रण थालिएको हो। गत साउनमा इटहरीमा बाढी आएर इटहरी चोक डुबानमा परेको र ८ जनाको ज्यान गएको घटनापछि इटहरी बाढी समस्याको दीर्घकालीन समाधानमा केन्द्रित भएको हो। खोलाको करिब ६ किलोमिटर क्षेत्र जोखिमपूर्ण छ। अहिले तीन सय मिटर बाँध दायाँबायाँ बाँध्ने र खोलालाई बीचबाट बगाउन च्यानलाइजको काम भइरहेको छ। त्यसको लागि ५० लाख रुपैयाँ छुट्याइएको छ। आगामी वर्षदेखि थप बजेट विनियोजन गर्ने र प्रदेश सरकारसमेतको सहयोग जुटाएर काम गर्ने योजना रहेको उपमेयर लक्ष्मी गौतमले बताइन्। इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले शेहरा खोला धरान र सुन्दर हरैंचा नगरपालिकासँग समेत सम्बन्धित रहेकोले दुई नगरपालिकासँग पनि कुरा भइरहेको बताए। उपमहानगरपालिका त्यहाँ थुप्रिने बालुवा, गिट्टीलाई निकालेर नगरका बाटोहरू पुर्ने योजनामा छ। शेहरा खोला खहरे खोला हो। जसले चुरेको फेदीदेखिको ढुंगा, गिट्टी तथा बालुवा बोकेर ल्याउँछ। वर्षामा खोलामा थुपार्ने ढुंगा गिट्टीको कारण शेहरा खोलाको सतह वर्षामा वरिपरिको जमिनको सतहभन्दा अग्लो हुने गर्छ। ‘बाँध बाँधेसँगै खोलामा थुप्रिने ढुंगा, गिट्टी र बालुवासमेत नियमित निकाल्नुपर्छ,’ उनले भने, ‘नत्र जति बाँध बाँधे पनि बालुवा, गिट्टी थुप्रिहाल्छ।’ अहिले इटहरी उपमहानगरपालिका त्यहाँ थुप्रिने बालुवा, गिट्टीलाई निकालेर नगरका बाटोहरू पुर्ने योजनामा छ। इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम भन्छिन्, ‘यसो गर्दा डुबानको समस्या पनि नहुने र इटहरीका बाटो मर्मत पनि हुन्छ।’ तर, खोलाबाट गिट्टी झिक्न सजिलो छैन। राष्ट्रपति चुरे संरक्षण क्षेत्र र त्यसमा पनि जंगल भएकाले खोलाजन्य सामग्री झिक्न पाइँदैन। त्यसैले यस पटक आफूहरूले अलि चुनौती लिएरै पनि खोला गहिरो बनाउने काम थालेको गौतम बताउँछिन्। अघिल्ला वर्षसम्म जिल्ला विकास समितिले खोलाको सामग्री निकाल्न ठेक्का लगाउने गरेको थियो। स्थानीय तह स्वायत्त भइसकेपछि पनि जिल्ला समन्वय समितिले आफूहरूलाई सोध्दै नसोधी ठेक्का लगाएको उनको गुनासो छ। तर, अर्को वर्षदेखि आफूहरूले नै वातावरणलाई हानि नपुग्ने गरी कन्सल्टेन्टको सहयोगमा काम थाल्ने उनले बताइन्। शेहरा खोलाको दुवैतर्फ तटबन्ध बाँधियो भने शेहरामा आएको बाढी टेंग्रामा पस्न पाउँदैन। तर, सबै पानी बुढी खोलामा मिसिन्छ। त्यसैले बुढी खोलामा भने अघिल्लो वर्षको भन्दा ठूलो बाढी आउने सम्भावना छ। गएको साउनमा बाढीका कारण मृत्यु हुनेमध्ये ७ जना बुढी खोला किनारमा बसोबास गर्नेहरू थिए। ‘बाढी आइसकेपछि कुनै न कुनै ठाउँबाट पानी बग्छ,’ उपमेयर गौतम भन्छिन्, ‘तर हामी क्रमशः काम गर्दै छौं।’ पञ्चायतकालमा थियो तटबन्ध शेहरा खोलामा यसअघि पञ्चायतकालमा तटबन्ध गरिएको थियो। तत्कालीन प्रधानपञ्च रामकुमार सुब्बाले शेहरा खोलामा तटबन्ध लगाएका थिए। तर, त्यो तटबन्ध धेरै समय भने टिकेन। ‘चोर र तस्करहरूले तटबन्धबाट ढुंगासँगै तारजालीसमेत चोरेर लगिदिए,’ सुब्बा अझै सम्झन्छन्, ‘त्यसपछि कसैले पनि तटबन्ध गर्न सकेको छैन।’ अहिलेको तटबन्धका तारजाली र ढुंगा भने चोरी हुन नसक्ने इन्जिनियर दाहाल बताउँछन्। ‘त्यसबेला राजनीतिक अस्थिरताको फाइदा उठाएर चोरिएको थियो,’ उनले भने, ‘अब त स्थानीय सरकार छ, राजनीतिक स्थिरता पनि छ, त्यस्तो हुँदैन।’

फेसबुकबाट साथीलाई हटाएपछि ज्यान गयो !

काठमाडौं, फागुन २४ । एक महिना अघि कुटपिटबाट मृत्यु भएका नुवाकोट सूर्यगढी गाउँपालिकाका १६ वर्षीय कुमार सूचीकारको उनकै साथीको कुटपिटबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो। बालाजु फूलबारीमा अचेत अवस्थामा माघ २७ गते नालीमा फेला परेका सूचीकारको उपचारका क्रममा गत माघ २९ गते ट्रमा सेन्टरमा मृत्यु भएको थियो । तर, सूचीकारको परिवारबाट सोमबार मात्र सनाखत (पहिचान) भएको हो। अाजको अन्नपूर्णमा खबर छ-महानगरीय प्रहरी वृत्त बालालुले घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ गरेको छ। फेसबुक ग्रुपबाट हटाएको निउँमा सूचीकारलाई उनकै साथीले कुटपिटगरी हत्या गरेको जानकारी बालाजु वृत्तका प्रमुख डीएसपी विश्वराज खड्काले दिए। गोंगबुस्थित गणेश हिमाल बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत सूचीकारलाई कुटपिट गरेको आरोपमा प्रहरीले तार्केश्वर नगरपालिका समिर मर्हजन, सोही ठाँउका सुजन महर्जन, विशाल पुतुवार, विक्की पुतुवार, दिनेश नगरकोटी, निर्मल मर्हजन, नुवाकोटका आई सिंह तामाङ, सोलखुम्बुका राजन मगर र दोलखाका पेमा गेल्जे शेर्पालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सूचीकार लगायतका साथीले ‘गुहेश्वरी’ नामको फेसबुक ग्रुप बनाएका थिए। वृत्तका प्रमुख डीएसपी खड्काले भने,‘प्रहरीको प्रारम्भीक अनुसन्धानमा सूचीकारले आफूले बनाएको ग्रुपबाट साथीहलाई हटाएपछिको विवादमा उनीमाथि कुटपिट भएको र उनी अचेत भएपछि साथीहरु भागेको पाइएको छ।’ फेसबुक ग्रुपमै रहेकी एक युवतीले बोलाएपछि सूचीकार फूलबारी पुगेका थिए। पक्राउ परेकाले प्रहरीमा बयान दिए अनुसार सूचीकारले नसोधी ग्रुपबाट हटाएपछि उनीमाथि कुटपिट गरिएको थियो। सूचीकार अचेत भएपछि उनलाई नालीमा फालेर साथीहरु भागेका थिए। ‘सूचीकारको पहिला परिचय नै खुलेन। हामीले प्रहरीकै फेसबुक पेजमा समेत उनको फोटो राख्यौं। मृतकको आफन्त र परिचय नखुलेपछि शवको जाँच मुचुल्का गरेर फोरेन्सिक मेडिसिन विभाग टिचिङमा पोष्टमार्टम गरी शवघरमा सुरक्षित राखेका थियौं,’ डीएसपी खड्काले भने,‘ सोमबार मात्रै आमा (राधिका) छोरा हरायो भन्दै आएपछि शवको फोटो देखाएपछि कुमार छोरा भएको पुष्टि गरिन्।’ प्रहरीले सूचीकारले प्रयोग गर्ने मोबाईल र सीमकाट विक्की पुतुवारबाट फेला पारेपछि अनुसन्धान गरी थप व्यक्ति पक्राउ गरेको हो।

आज नारी दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, फागुन २४ । आज अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभरका श्रमिक महिलाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । सन् १९१० को मार्च ८ बाट मनाउँन सुरु गरिएको अन्तर्राष्ट्रिय नारी दिवस १०८ औं वर्षमा प्रवेश गरेको छ । यो दिवस नेपालमा सन् १९७५ बाट मात्रै मनाउँन सुरु गरिएको हो । यस वर्षमा ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रमिक महिलाहरुलाई आफ्नो अधिकारको लागि संगठित रुपमा आवाज उठाउन कोपनहेगन सम्मेलनमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गरेको हो । तर, आज भोली यो फेसन भएको छ । सम्भ्रन्त परिवारका महिलाहरुले यो दिवस मनाउन थालेका छन् । महिलामाथि उत्पीडन गर्ने महिलाहरु नै नारी दिवसको नारा लगाउँने अवस्थाका कारण बास्तविक श्रमिक महिलाका मुद्दा ओझेलमा परेका छन् । सन् १९०९ मा पहिलो पटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाहरुले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समय भयो भनेर सडकमा आन्दोलन गरेका थिए । त्यही अान्दोलनलाई महिला अधिकारको उद्‍गम मानिदै अाएको छ ।

राजा महेन्द्रमाथिको अपमानले जन्माएको अड्डा खारेज गरिँदै

काठमाडौं, फागुन २४ । मुलुक संघीय संरचनामा जाँदा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने क्रममा दर्जनौं विभाग, प्रतिष्ठान तथा सरकारले गठन गरेका आयोगहरू खारेज गरिँदै छ । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा खबर छापिएको छ । यही सन्दर्भमा सरकारले दुर्गम क्षेत्रमा तत्कालीन राजा महेन्द्रले तिब्बती सिमानाका नेपालीलाई नेपाली बजारसँग जोड्ने लक्ष्य लिएर स्थापना गरेको दुर्गम क्षेत्र विकास समिति पनि खारेज गर्दै छ । खारेजीमा पर्ने दर्जनौं निकायमध्ये यो समितिको भने महत्व विशेष मानिएको छ । यही समिति हो, जसले धेरै हदसम्म भौगोलिक विकटताका कारण नेपाली बजारसँगको व्यापारमा जोडिन नसकेका धेरै व्यापारीलाई नेपाली बजारसँग जोड्न योगदान पु¥याएको छ । समितिका सदस्यसचिव टेकराज निरौलाले अन्य समितिसँगै यसको पनि खारेजी २८ चैतदेखि हुने तयारी भइरहेको जानकारी दिए । यद्यपि यस विषयमा आधिकारिक जानकारी भने आइसकेको छैन । तर, तत्कालीन समयमा शक्तिशाली रहेका राजा महेन्द्रलाई तिब्बती सिमानामा पुग्दा भएको अपमानपछि राजाको विशेष पहलमा सुरु भएको यो अड्डा गणतन्त्र आएपछि अन्त्य हुन लाग्नुलाई पनि महŒवका साथ हेरिएको हो । तत्कालीन राजा महेन्द्र २०२२ सालतिर मुलुक बुझ्नका लागि भन्दै उत्तरी सीमा हुम्लाको यारी नाकामा पुगेका थिए । नेपालभर जतासुकै पुग्दा पनि सम्मान नै सम्मान पाउने राजा महेन्द्रले यारी नाकामा पुग्दा भने राजाको जस्तो सम्मान पाउन सकेनन् । नेपालको राजा त्यहाँ पुग्दा पनि त्यहाँका स्थानीयको ध्यान भने तिब्बततिरै थियो । यारीमा त्यतिबेला माटो नेपालको थियो तर सबै जीवनशैली र जीवन गुजाराको आधार भने तिब्बतसँग जोडिएकाले उनीहरूले नेपाललाई भन्दा पनि तिब्बती शासकलाई नै आफ्नो सम्झिन थालिसकेका थिए । त्यही डरलाग्दो स्थिति देखेका महेन्द्रले काठमाडौं फर्किएलगत्तै दुर्गम क्षेत्रको विकासको खाका तयार पार्न सरोकारवाला निकायलाई तत्कालै निर्देशन दिएका थिए । यो कहानी ३४ वर्षअघिदेखि यही समितिमा रहेर काम गरिरहेका इन्जिनियर विजयराज खनालले सुनाएका हुन् । महेन्द्रसँगै हुम्ला नाका पुगेका सहयोगीलाई उद्धृत गर्दै खनालले भने, ‘नेपालको हुम्ला नाकामा पुग्दा त्यहाँका स्थानीयले राजालाई गर्नुसम्मको अपमान गरे । उनीहरूलाई नेपालमा आफूहरू बसोबास गर्ने गरेको भन्ने थाहा भए पनि उनीहरूको सबै रोजीरोटीको स्रोत तिब्बतसँग नै थियो । उनीहरूले ‘तिमी राजा रैछौ, खाना खाएर जाऊ’ भनेर अपमानजनक व्यवहार गरेपछि महेन्द्र लज्जा महसुस गर्दै फर्किएका थिए ।

छ लेनको सडकमा एम्बुलेन्स नै पर्छ जाममा

काठमाडौं, फागुन २४ । तीनकुनेदेखि सूर्यविनायकसम्म ६ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो । तर, भक्तपुरबाट कोटेश्वरसम्म आउने एक मात्र सडकमा अत्याधिक जाम हुँदा एम्बुलेन्स समेत जाममा पर्ने गरेका छन् । जडिबुटीदेखि कोटेश्वरसम्मको जाम छिचोल्न एम्बुलेन्सलाई समेत सास्ती हुने गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ । एम्बुलेन्स साइरन बजाउँदा समेत ट्राफिक जामको कारणले बिरामीलाई समयमा अस्पताल पुर्याउन नसक्ने अवस्था जडिबुटी कोटेश्वर सडकमा देखिएको छ । तीनकुने सूर्यविनायक सडक छ लेनको भए पनि सडक लेनअनुसार सवारी साधन चल्दैनन् । कोटेश्वरबाट चक्रपथ जानुपर्ने सवारी साधन जडिबुटीमै रोकिन्छन् ।

कारागारमा रहेका रेशम चौधरीसहित २४ कैदीको जीवनरक्षाका लागि आयोगको आग्रह

काठमाडौं, फागुन २४ । राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको धनगढी कारागारमा रहेका २४ जना कैदीबन्दीको मागको सम्बोधन गरी जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न मागहरू राखी आमरण अनशनमा बसेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मागको सम्बोधन गर्न आग्रह गरेको उल्लेख छ । आयोगका सदस्य प्रकाश शर्मा वस्तीसहितको टोलीले बुधबार अनुगमन गरी सो मागका बारेमा सम्बोधन गर्न सरकारलाई पत्राचारसमेत गरेको छ । आफ्ना माग पूरा गर्ने सन्दर्भमा आमरण अनशनजस्तो संवेदनशील बाटो नरोज्न एवं आमरण अनशन स्थगन गरी विरोधको अन्य बाटो अवलम्बन गर्न आयोगले अनशनरत पक्षलाई आग्रह गरेको छ ।

रोल्पामा तीन सरकार ! विप्लवकाे जनसरकार र कांग्रेसको छायाँ सरकार पनि

रोल्पा, फागुन २४ । स्थानीय तह निर्वाचनसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरकार घोषणा गरेको रोल्पामा नेपाली कांग्रेसले पनि छायाँ सरकार गठन गरेको छ । विकास तथा आयोजना निर्माण र बजेट अनुगमनका लागि छायाँ सरकार गठन गरिएको कांग्रेस रोल्पाले जनाएको छ । आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो समाचार छापिएको छ । ‘कांग्रेसको नेतृत्वमा स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्क सम्पन्न भई संविधानबमोजिम सत्ता हस्तान्तरण भइसकेकाले आफ्नो प्रतिपक्षीय भूमिका सशक्त बनाउन पार्टीले छायाँ सरकार गठन गरेको हो ।’ कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले भने ।