शहीद छोरोको सालिक हेर्ने आमाको सपना अधूरै
कञ्चनपुर, फागुन २६ । गतवर्ष आजकै दिन, आफ्नै भूमिमा कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुर पुनर्वास नगरपालिका–४ का गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएको थियो ।
शहीद गौतमको सम्झनामा आज उहाँकै घर छेउमै रहेको नमूना प्राविमा स्मृतिसभामा सहभागी शहीद गौतमकी आमा हरिदेवी गौतम निराश मुद्रामा देखिनुभयो ।
कार्यक्रममा शहीदको सम्मान र भूमिको रक्षार्थ गौतमले बलिदान दिएको चर्चा भइरहँदा शहीद गौतमकी आमाले भने वर्षदिन वितिसक्दा पनि सरकार र नेताबाट पाएको आश्वासन पूरा नभएकोप्रति दुखः व्यक्त गर्नुभयो ।
‘घटनाका बेला आनन्द बजारमा छोरो९गोविन्द०को सालिक बनाउनेदेखि बुहारीलाई जागिर दिनेसम्मका आश्वान धेरै पाएँ,’ हरिदेवीले भन्नुभयो–“न छोरोको सालिक बन्यो, न त बुहारीले जागिर नै पाइन ।”
आनन्द बजारको मुख्य चोकमा सालिक बनाउन पुनर्वास नगरपालिकाले जग हालेको भए पनि सालिक बनाउने काम शुरु भएको छैन ।
‘सालिक बनाउने ठाउँमा धुलोले पुरिँदैछ,’ उहाँले भन्नुभयो–“ढलेको ठाउँमा छोराको सालिक बनेको भए त्यै हेरेर बस्थेँ ।” घटनापछि सहानुभूति व्यक्त गर्न आउने सबै नेताहरुले आश्वासन बाँडेको उहाँको भनाईछ ।
‘सालिक हेरेर छोरो सम्झिने दिन कहिले आउँला रु’ उहाँले भन्नुभयो–“तीन नातिनीहरुलाई यहाँका स्थानीय स्कुलहरुले भने निःशुल्क पढाएका छन ।” बुहारी लक्ष्मी गौतम ९शहीद पत्नी० लाई तत्कालीन अवस्थामा नगरपालिकामा जागिर दिने भनिए पनि त्यो पनि हालसम्म पूरा हुननसकेको हरिदेवीले बताउनुभयो । ‘नगरपालिकामा पनि अहिले ठाउँ छैन भन्ने गर्छन्,’ उहाँले भन्नुभयो– “छोरो शहीद भएकाले मिलेको सहयोगले औषधि खानेदेखि परिवारको खर्च चलाएका छौं ।”
त्यसैगरी सोही घटनामा सख्त घाइते भएर अपांग जीवन विताइरहेका बेलौरी नगरपालिका–४ शान्तिपुरका टीकाराम चापागाईंले पनि आफ्नो भूमिका लागि लड्दा सरकारी तवरबाट खासै सहयोग नभएको बताउनुभयो ।
‘घाइते भएका बेला सरकारले १९ दिन काठमाडौँमा औषधि उपचार बाहेक केही गरेन,’ उहाँले भन्नुभयो–“श्रीमती जागिर र छोरीहरुलाई पढाइखर्च मागेको भए पनि वास्ता गरिएन ।” अशक्त अवस्थामा रहेका चापागाईंले घटनापछि विभिन्न संस्था र व्यक्तिबाट करिब रु आठ लाख सहयोग मिलेको बताउनुभयो ।
घटनापछि बन्द रहेको आनन्द बजार बसही नाका अझै सुचारु हुनसकेको छैन । घटनास्थल छेउ–छाउबाट भारततर्फ आवतजावत गर्दै सामान्य घरायसी समान किनमेल गर्न थालिए पनि नाका खोल्ने विषयमा पहल भएको देखिएको छैन ।
आनन्द बजार र सीमावर्ती भारतीय बसही बजारका व्यापारी नाका सुचारु गर्न सकरात्मक देखिका छन् । तर सुचारु गर्न पहल गरिदिने कोही नभएको आनन्द बजारका व्यापारी टीकादेवी मगर बताउनुहुन्छ । “नेता आउदा नाका खुल्छ भन्छन,” टीकादेवीले भन्नुभयो–“नाका नखुल्दा दुबै तर्फ व्यापार घाटा भएको छ ।”
शहीदको सम्झनामा स्मृतिसभा
कञ्चनपुरको पुनर्वास नगरपालिका–४ आनन्द बजारमा गतवर्ष भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएका शहीद गोविन्द गौतमको सम्झनामा आज स्मृतिसभाको आयोजना गरिएको छ ।
गत फागुन २६ गते आजकै दिन आनन्द बजारमा रहेको स्थानीय खोलामा अस्थायी कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षकर्मीसितको विवादले उग्ररुप लिँदा गौतमले शहादत प्राप्त गर्नुभएको थियो ।
पुनर्वास नगरपालिका र शहीद गोविन्द गौतम सीमा संघर्ष समितिले संयुक्त रुपमा शहीद गौतमको प्रथम वार्षिक स्मृतिसभा आयोजना गरेका छन् । स्मृतिसभाको उद्घाटन समारोहमा बोल्दै प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा निर्माणमन्त्री पठानसिंह बोहरा नेपाल–भारतबीच हुने सीमा क्षेत्रका समस्याको समाधान दीर्घकालीन रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
‘यहाँको दक्षिण क्षेत्रमा सीमा सम्बन्धी धेरै समस्या छन्,’ मन्त्री बोहराले भन्नुभयो–“दबै छिमेकी मिलेर समस्या समाधान गर्नुपर्छ ।” उहाँले सीमाक्षेत्रको सडक, सिँचाइ, खानेपानी लगायतको पूर्वाधार निर्माणका विषयमा प्रदेश सरकार योजनासहित अघि बढ्ने जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य तारालामा तामाङले शहीद गोविन्द गौतमको नाममा स्मृति प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिदैं ‘शहीद गौतमको नाममा केही न, केही गछौं भन्नुभयो ।’
कार्यक्रममा शहीद गौतमका बुबा खिमलाल गौतम, आमा हरिदेवी गौतम र पत्नी लक्ष्मी गौतमलाई सम्मान गरिएको छ । त्यसैगरी सोही घटनामा गम्भीर घाइते भएका बेलौरी नगरपालिका–४ शान्तिपुरका टीकाराम चापागाईंलाई पनि सम्मान गरिएको थियो ।
पुरिएर बालिकाको मृत्यु
त्यसैगरी आज पुरैनामा सडकको नालीमा पुरिएको दश वर्षीया अर्मिता सार्कीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार निर्माणाधिन सडकको ६ फिट गहिरो नालीमा खेल्ने क्रममा माथिबाट माटो खस्दा सार्कीको मृत्यु भएको हो । मतृक सार्कीसँगै खेलिरहेका स्थानीय १२ वर्षीय सनिदेव चौधरी र सुरत चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रहरीकाअनुसार सार्कीसँगै नालीमा आधा पुरिएको अवस्थामा चौधरीद्वयलाई देखेपछि तत्काल स्थानीयवासीले उद्दार गरेका थिए ।
त्यसैगरी शुक्रबार पुनर्वास नगरपालिका– ५ का ३१ वर्षीया अम्बिका ओझाले आफ्नै तीन महिने छोरी पुष्पा ओझाको सलले बेहेर हत्या गरेकी छिन् । छोरीको हत्या गरी आत्महत्या गरिरहेको अवस्थामा आमालाई स्थानीयवासीले उद्धार गरेका थिए ।
छोरीको हत्यामा संलग्न आमालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिनुभयो ।
थामकोटमा भ्यूटावर निर्माण गरिने
म्याग्दी, फागुन २६ । पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ । रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो । धौलागिरि आइसफल पदमार्गले समेटिएको यो क्षेत्रलाई रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्न रुइसेको थामकोटमा भ्यूटावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । भ्यूटावर निर्माण गर्न गाउँपालिकाले रु १५ लाख र वडा नं २ ले रु एक लाख बजेट विनियोजन गरेका छन् । हालै गाउँपालिकाको पहलमा प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजालगायतको टोलीले स्थलगत निरीक्षण गरी थामकोटमा भ्यूटावर निर्माणका लागि सिफारिश गरेको छ । समुन्द्री सतहदेखि दुई हजार २२० मिटर उचाइमा रहेको थामकोट डिलमा भ्यूटावर बन्ने भएपछि आवश्यक तयारी शुरु गरिएको वडा नं २ का अध्यक्ष रिम कटुवालले बताउनुभयो । थामकोटबा मनोरम हिमशृङ्खला, म्याग्दीका दर्जनौँ गाउँ बस्ती र प्राकृतिक सुन्दरतालाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।
व्यवसायी १० दिनदेखि बेपत्ता
बेनी, म्याग्दी, फागुन २६ । जिल्लाको बेनी नगरपालिका– ४ सिंगा तातोपानीका कपडा व्यवसायी विगत १० दिनदेखि बेपत्ता भएका छन् । गत फागुन १५ गते फेन्सी सामान खरिद गर्न काठमाडौं हिँडेका मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ स्थायी घर भई तातोपानीमा व्यवसाय गर्दै आइरहेका ५० वर्षीय छयोन्तेन गुरूङ बेपत्ता भएका हुन् । घरबाट सामान खरिदका लागि हिँडेकै दिनदेखि नै मोबाइलमा सम्पर्क नभएपछि जिल्लाका विभिन्न स्थानका साथै मुस्ताङ र पोखरामा समेत खोजी कार्य गर्दा नभेटिएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । “उहाँको फोन पनि लाग्दैन, धेरै ठाउँमा खोजी कार्य गरियो”, श्रीमती हिमा लामा गुरूङले भन्नुभयो । श्रीमती गुरुङका अनुसार मोबाइलमा सम्पर्क नभएपछि आफन्तको सहयोगमा खोजी कार्य गरिएको छ । “खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गर्दछु”, लामाको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले भन्नुभयो । उहाँका अनुसार जिल्लाभित्र तस्वीरसहित हुलियाका बारेमा जानकारी भइसकेको छ । विगतमा काठमाडौंमा कपडाको सामान लिने पसल, आफन्त तथा पोखरामा समेत खोजी कार्य भए पनि गुरुङ भेटिएका छैनन् । बेपत्ता गुरूङ गहुँ गोरो, अन्दाजी ५.५ फिट उचाइ, थेप्चो नाक र छाप्रो टोपी र कालो ज्याकेट लगाएको प्रहरीले जनाएको छ । यसैबीच तातोपानीका स्थानीयले समेत गुरूङको खोजी कार्य शुरु गरेका छन् ।
प्रज्ञा-प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छः श्रवण मुकारुङ
काठमाडौं, फागुन २६ । कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । भाषा, साहित्य, संस्कृति, अनुवाद, दर्शनशास्त्रजस्ता ११ विभाग रहेको प्रज्ञा–प्रतिष्ठानले विशेष गरी भाषा र साहित्यसम्बन्धी अनुसन्धान तथा शोधलाई प्राथमिकतामा राखी काम गर्दै आएको छ । प्रज्ञाप्रतिष्ठान मातृभाषा विभागका प्रमुख श्रवण मुकारुङले विविध संस्कृतिको धनी मुलुक नेपालको विकासका लागि सात वटै प्रदेशमा प्रज्ञा–प्रतिष्ठानको स्थापना हुनुपर्ने धारणा व्यक्त गरे । उनले भने “नेपाल भाषा, तामाङ, लिम्बू, मैथली, भोजपुरी, अवधी, गुरुङजस्ता थुप्रै भाषाको विकासका लागि प्रतिष्ठानले पुस्तक, पत्रिका, साहित्यिक पत्रिका नियमित रुपमा प्रकाशन गर्दै आएको छ । ” प्रतिष्ठानबाट नेपाल भाषामा ‘थाय्भु’, लिम्बू भाषामा ‘थप्लङ’, मैथली भाषामा ‘आगन’ आदि पत्रिका प्रकाशन हुँदैआएको छ । प्राज्ञ मुकारुङले हाम्रो मातृभाषा र संस्कृतिको संरक्षण गर्न सरकारले विशेष नीति निर्माण गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने औँल्याउँदै मातृभाषाको भण्डारलाई थप विकास गर्न सरकार, साहित्यप्रेमी तथा सम्बद्ध सरोकारवाला लाग्नुपर्ने बताए । “नेपालमा भएका मातृभाषाको विकास र विस्तार गर्ने वातावरण तयार गर्न सकेमा विभिन्न भाषाभाषीबीच थप सहयोग, सद्भावना र समन्वय अभिवृद्धि हुनेछ”, उनले भने । नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृतिसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न विसं २०१४ मा रोयल नेपाल एकेडेमी स्थापना भएको थियो । ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी लागू गरिएकामा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका नामले सञ्चालित छ । राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न तथा सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता जुटाउन गठित प्रतिष्ठानले अन्तर्राष्ट्रियस्तरमा पनि प्राज्ञिक गतिविधि सञ्चालन गर्दै आएको छ । नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्ने तथा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने उद्देश्य प्रतिष्ठानको रहेको छ । आवश्यकतानुसार विदेशी भाषाबाट नेपाली भाषा र नेपालका भाषाबाट विदेशी भाषामा कृतिको अनुवाद एवं प्रकाशन गर्ने काम पनि हुुँदै आएको छ । यसका लागि हाल उषा ठाकुर प्रमुख रहेको भाषा अनुवाद विभागको छुट्टै व्यवस्था छ ।
राजविराज बजारमा आगलागी, एक करोडको क्षति
राजविराज, फागुन २६ । राजविराज बजारमा शनिबार बिहान भीषण आगलागी हुँदा चार तल्ले पक्की घरसहितको पसल जलेर नष्ट भएको छ। राजविराज नगरपालिका–७ हटियाका जुत्ता, चप्पल व्यवसायी नौसाद खातुनको पसलमा बिहान २ः३० बजे सुरु भएको आगोले ठूलो क्षति भएको छ। आगोले खातुनको भुइतल्लामा रहेको नौसाद शु सेन्दर तथा तेस्रो तल्लासम्म राखिएको गोदामका सम्पूर्ण जुत्ता, चप्पल जलेर नष्ट भएको छ। मालसामानसमेत गरी करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताइन्। आगो नियन्त्रणका लागि राजविराज, शम्भुनाथ, लहान र इनरुवाबाट आएको दमकलले बिहान ६ः३० बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनायो। दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउन सहयोग गरेका थिए। दमकलहरु आइपुगेकाले तथा स्थानीयवासी र प्रहरी जुटेकाले आगोले घनाबस्ती र पसलहरु भएको मुख्य हटियाको अर्को घरमा पुग्न नपाएर थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। आगलागीको कारण नखुले पनि बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। खातुनका श्रीमान नसिब खानले भने परिवारकै आफन्तले रिसइबीले आगो लगाएको बताए। पसलमा आगलागी भएको सुनेर हटिया आएका बेला उनको राजविराज ४ स्थित घरमा समेत आगजनीको प्रयास भएको उनले बताए। राति खातुनको भाईसँग उनीहरुको विवाद हुँदा कुटपिट भएको थियो। श्रीमती र छोराछोरीलाई राति कुटपिट गरेका साला जुबेदले आगजनी गरेको खानले आंशका गरेका छन्। जुबेदले भने आपसमा विवाद भएपनि आगजनी जस्तो जघन्य घटना गराउने कल्पना समेत गर्न नसकिने बताए।
युएईको जेलमा रहेका टोपबहादुरकाे उद्दारका लागि युएईबाटै अभियान शुरु
सुशान आचार्य/ युएई, फागुन २६ । काम गर्न स्थलमा दुर्घटना भै साथिको मृत्यु भएपछी चार वर्ष अघि हत्या अभियोगमा युएई अदालतबाट ब्लड मनि भुक्तानको सजाय सुनाईएका चितवन खैरिनिका टोपबहादुर विश्वकर्माको रिहाइको लागि नेपाल सरकार बाट आर्थिक सहयोग गर्न नमिल्ने वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले जनाएको छ । अदालतको फैसला पछि ब्लड मनि जुटाउनका लागि युएई स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई आर्थिक तथा कानुनी सहयोगको लागि पत्र लेखेको भए पनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कानुनत बिक लाई कुनै आर्थिक सहयोग गर्न नसकिने भन्दै पत्रको जबाफ पठाएको नेपाली दूतावास युएईले बताएको छ । बिगत ४ वर्ष देखि उद्दारको पहल गरिदिन हारगुहार गरिरहेका बिकलाइ बचाउन नेपाली दूतावास युएईले सकारात्मक पहल लिएको भए पनि परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डबाट सहयोग गर्न नमिल्ने बताए पछी युएईमा कार्यरत नेपालीहरु आक्रोशित बनेका छन। उद्दारको लागि युएई बाटै सहयोग अभियान सुरु । लामो समय देखि जेल जीवन बिताउदै आएका विश्वकर्माको उद्दारका लागि एनआरएनए युएईको संयोजकत्व रहने गरि आर्थिक सहयोग सङ्कलन अभियान थालिएको छ । शुक्रबार नेपाली दूतावास युएईमा आयोजना गरिएको सर्वपक्षीय भेलाले युएईमा रहेका नेपाली संघसंस्था र सरोकारवाला सबै सङ हालेमालो गर्दै विश्वकर्माको उद्दारका लागि आवश्यक ब्लड मनि नेपाली करिब ३० लाख रुपैयाँ संकलन गर्न सहयोग संकलन समिति गठन गरेको जानकारी नेपाली जन प्रगतिशील मन्च युएई अबुधाबीका छेत्रीय कोषाध्यक्ष खगेन्द्र सुबेदिले जानकारी दिएका छन । समितिमा नेपाली समाज युएई, नेपाली जनसंपर्क समिति, प्रवाशी नेपाली मंच, नेपाली जनप्रगतिशिल मंच, आदिवासी जनजाती महासंघ, चितवन समाज, विश्वकर्मा समाज रहेका छन भने युएईमा कृयाशिल संपुर्ण नेपाली संघसंस्थालाई समेत सदस्य तोकिएको सुबेदिले बताएका छन । समितिले आगामी साता दूतावासमा संघसंस्थाका प्रमुखहरुको भेला गरेर उपसमिति निर्माण गरि समय सिमा तोकेर आर्थिक सहयोग संकलन अभियान सन्चालन गर्न जानकारी दिएका छन । विश्वकर्माको उद्दारका लागि एनआरएनए आईसिसीले ब्लड मनि रकमको १० प्रतिशत नेपाली दुई लाख ८० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ भने विश्वकर्मा समाज युएईले समेत सहयोग संकलन अभियान संचालन गरेको छ।
तेह्रथुम आगलानी: खरानीमा गहना खोज्दै पीडित
काठमाडौं, फागुन २६ । लालीगुराँस नगरपालिका ८ सोल्मा कालीमाटीका ४२ वर्षीय लक्ष्मी अधिकारीको परिवार आगलागी भएको चार दिनसम्म पनि आफ्नो ३ तोला सुनको गहना खरानीमा खोजिरहेको छ । सम्पतीको नाममा भएको जम्मा ३ तोला सुन पनि जलेपछि यो परिवारको बिजोग भएको छ । उनीहरू खरानी भएको घरको आगनमा थुप्रिएको माटोमा गहना खोजिरहेका छन् । केही वर्षअघि आगलागीमा परेर सर्वस्व गुमाएका लोकनाथ न्यौपानेको पनि सोही आगोले जीवनभर जोहो गरेको सम्पत्ति क्षणभरमै खरानी बनाइदिएको छ । उनीसँग अहिले एक छाक खाने अन्न र एकसरो लगाउने लुगासमेत छैन । ‘आगोले मलाई साह्रै दु:ख दियो,’ जलेको घरको तल्लो कुनामा बसेर टोलाइरहेका न्यौपानेले दु:ख पोखे, ‘आगोले पटक–पटक मलाई मात्र किन दु:ख दिन्छ ?’ अघिल्लो पटकको आगलागीमा परेर सम्पूर्ण सम्पत्ति जलेर विस्तारै तङ्ग्रिँदै गरेका न्यौपानेको सम्पत्तिको नाममा अहिले केही पनि छैन । ‘शरीरमा लगाएको कपडाबाहेक अरू केही पनि वचेन,’ उनले भने । गत मंगलबार भएको आगलागीमा परी अधिकारी र न्यौपानेसहित गोविन्द अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना र गुरुप्रसाद लुइँटेलको सर्वस्व गुमेको छ । आफ्नो नाममा २ रोपनी मात्र जग्गा रहेका लक्ष्मी अधिकारीले अर्काको खेत अधियामा रोपेर यो वर्ष ४० मुरी धान थन्क्याएका थिए । त्यो धान पनि सवै आगोमा जल्यो । ‘मैले योपटक फलाएको धान एक दाना पनि खान पाएको थिइनँ, सबै जल्यो,’ अधिकारीले विलौना गरे ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’
काठमाडौं, फागुन २६ । द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवारिस छ । ८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया तामाङको सिरियामै मृत्यु भयो । दूतावासमा यसको सूचना आए पनि युद्धग्रस्त क्षेत्रबाट तामाङको शव नेपाल पठाउने व्यवस्था दूतावासले अझै मिलाउन सकेको छैन । पछिल्लो समय पञ्चमाया राई र दुर्गा विकले आफूहरू सिरियामा बन्धक बनाइएको भन्दै एजेन्टमार्फत दूतावासमा जानकारी पठाएपछि उनीहरूकोउद्धारको पहल सुरु भएको दूतावासले जनाएको छ । उल्लिखित ३ घटनाले पुष्टि गर्छ– द्वन्द्वग्रस्त सिरियामा थुप्रै संख्यामा नेपाली युवती कामको खोजीमा पुगेका छन् । उनीहरूको संख्या कति छ, कस्तो हालतमा छन् र के गरिरहेका छन् भन्ने विवरण भने कसैसँग छैन । द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीको अवस्थाबारे सरकार बेखबर छ । तेजी र मायाको मृत्युको खबरपछि भने दूतावासले सम्पर्कसूत्रमार्फत सिरियामा रहेका नेपालीबारे खोजी सुरु गरिएको जनाएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली रहेको जानकारी आएपछि थप बुझ्ने प्रयास भइरहेको इजिप्टस्थित राजदूत झविन्द्र अर्यालले कान्तिपुरलाई टेलिफोनमा जानकारी दिए । ‘त्यहाँ सम्पर्क व्यक्ति चयन गरी नेपालीहरूको संख्या यकिन गर्ने काम भइरहेको छ । कति छन् भन्ने सरकारलाई जानकारी छैन,’ उनले भने । सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ । ‘मानव तस्करहरूले अवैध रूपमा विभिन्न बहाना मिलाएर घरेलु कामदार सिरिया पुर्याउने गरेका छन्,’ राजदूत अर्यालले भने, ‘यसलाई रोक्न सरकारले थप प्रयास गर्नु आवश्यक छ ।’ सिरिया मात्र होइन, लेबनान र अन्य अफ्रिकी मुलुकमा समेत नेपाली युवतीहरू घरेलु कामदारका रूपमा पुर्याइएको उनले बताए । ‘घरेलु कामबाहेक अन्य क्षेत्रमा नेपाली छैनन्,’ उनले भने ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
त्रिविको जग्गा हडप्न होडबाजी
काठमाडौं, फागुन २६ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेका ५२५ रोपनी जग्गा विभिन्न निकायले हडपेको भए पनि ती जग्गा फिर्ता लिन त्रिवि असफल भएको छ। सबै सरकारी निकायको आँखा लाग्न पुगेको त्रिविको ती जग्गा एक दर्जनभन्दा बढी निकायले भोगचलन गरिरहेका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ । समाचारमा लेखिएको छ, केही जग्गा त्रिवि आफैंले उपलब्ध गराएको छ भने केही जग्गा विभिन्न निकायले जबर्जस्तीरुपमा भोगचलन गर्दै आएका छन् । त्रिवि परिसरमा तीन हजार ४२ रोपनी जग्गामध्ये कति जग्गा त बाटो विस्तार गर्ने नाममा कीर्तिपुरवासी र त्रिविसँगै जोडिएका बस्तीले हडपिसकेका छन् । त्रिविको सामान्य प्रशासन महाशाखाको सम्पत्ति व्यवस्थापन तथा निर्माण शाखाका अनुसार महानगरीय प्रहरी वृत्त कालीमाटीले एक रोपनी, प्रहरी वृत्त कीर्तिपुरले तीन रोपनी, आयर्वेद क्याम्पस नजिक गणतन्त्र स्तम्भ निर्माण गर्न ६० रोपनी, काठमाडौं उपत्यका खानेपनी लिमिटेडले २४ रोपनी, वागवानी विकास केन्द्रले २८१ रोपनी, आँखा केन्द्रले १० रोपनी, ब्लड बैंकले तीन रोपनी, सत्संगले १३ रोपनी जग्गा भोगचलन गर्दै आएका छन् । तीबाहेक बीपी प्लानेटोरियम, नेपाल बैंक लिमिटडले कति जग्गा भोगचलन गरेको हो भन्ने तथ्यांक छैन ।
छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै तम्सिएपछि…!
काठमाडौं, फागुन २६ । काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन् । ‘आफ्नी छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै अगाडि आएपछि हामी चकित भयौं,’ अनुसन्धानमा संलग्न सप्तरीका एक प्रहरी अधिकृतले भने । बलात्कार र हत्या गरेको आरोपमा पक्राउ गरिएका राजदेवलाई छुटाउन रमिलाले इलाका प्रहरी कार्यालय कल्याणपुर, इलाका इन्चार्ज र जिल्ला अदालतसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेकी थिइन् । मुद्दामा उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश मोहनबहादुर कार्कीले बन्दी र लिखित जवाफसहित बाटोको म्यादबाहेक ४८ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेका थिए । विपक्षी प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जवाफ पेस गरेपछि बसेको अदालतको इजलासले पक्राउ परेका राजदेव मण्डललाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा थुनुवा पुर्जी दिई राखिएको, जिल्ला अदालतबाट म्याद थप गरिएको र अनुसन्धानका लागि मण्डललाई न्यायिक हिरासतमा राखिएको देखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने अवस्था नरहेको आदेश दिएको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
यसकारण बढ्दै छ सम्बन्ध विच्छेद ?
काठमाडौं, फागुन २६ । झापाकी कुमारी सुनार (नाम परिवर्तन) को १७ बर्षको उमेरमा बिहे भयो । पारिवारीक खटपटका कारण केटाले केही समयमै छोड्यो । माइतै बसेर ११ मा पढ्दै गरेकी उनको कानुनी रुपमै सम्बन्ध विच्छद (डिभोर्स) भइसकेको छ । दाङकी २० बर्षकी रवीना बस्नेत(नाम परिवर्तन)को पनि यस्तै अवस्था छ, काठमाडौंमा बीएससी अध्ययनरत उनी भन्छिन्, दुई बर्षअघि १८ बर्षमै भागेर बिहे गरियो, माइतीले नस्विकारेपछि ३ महिनौ सम्बन्ध विच्छेद गर्नुपर्यो । दार्चुलाकी १७ बर्षकी मिना ठगुन्ना ८ कक्षा पढ्दै गर्दा गाउँकै केटासँग प्रेममा फसिन् । कसैले नमान्दा भागेर बिहे गरेकी उनको पनि त्यही हालत भयो । बर्ष दिन नपुग्दै विदेशीएका श्रीमानले विस्तारे बेवास्ता गरे । पछि कानुनी रुपमै सम्बन्ध विच्छेद भयो । काठमाडौंमा बस्दै आएका पाल्पाका सविनको पनि त्यस्तै छ गुनासो । २७ बर्षका सविनले ४ बर्षअघि नै पाल्पाकी केटीसँग बिहे गरे । बिहे दर्ता पनि भयो । तर, सम्पत्तिकै कारण उनले निहुँ खोजेर सम्बन्ध विच्छेद गरिन् । यी प्रसंगहरु प्रतिनिधिमूलक हुन्, आज समाजमा यसरी नै दिनहुँ सम्बन्धविच्छेद बढ्दै गएको पाइएको छ । काठमाडौं जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदको भएको अदालत स्रोत बताउँछ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपाल भन्छन्,, ‘सम्बन्ध विच्छेद सम्बन्धमा दैनिक पाँचदेखि आठवटा मुद्दा दर्ता हुने गरेका छन् ।’ अधिकांश १९ देखि २५ बर्ष उमेर समूहका केटाकेटी सम्बन्ध विच्छेद गर्न अदालत धाउने गरेका छन् । यो क्रम बढ्दो छ । सम्बन्ध विच्छेदका मुख्य कारणहरुः -कुटपिट गर्नु -खान लाउन नदिनु -कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक असमझदारी -वैदेशिक रोजगार गएका श्रीमान वा श्रीमतीबीच बढ्दो अनमेल -महिलाहरु डिपेन्डेन्ट भिसामा उच्च शिक्षा हासिल गर्न विदेश जानु -सम्पत्ति प्राप्तीमा लोभ बाह्य देश जानका लागि बिहेको कागजपत्र बनाएर केही समयपछि सम्बन्ध विच्छेद गर्नेहरु पनि छन् । अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार विवाहलाई सामान्य सम्बन्धको रुपमा लिइँदा सँबन्ध विच्छेद बढेको हो । -नेपाल समाचारपत्र दैनिकबाट
मन्त्री सवार गाडी दूर्घटना
अछाम, फागुन २५ । प्रदेश नम्बर ७ का सामाजिक बिकास मन्त्री दिर्घ सोडारी चढेको गाडी शुक्रबार अछाम दुर्घटनामा परेको छ । मन्त्री चढेको गाडी अछामको पूर्वी चौकी गाउँपालिका बिरसैनीमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ब्रेक फेल भएपछि गाडी दुर्घटनामा परेको हो । ब्रेक फेलभएपछि मन्त्री चढेको गाडी अगाडि स्कर्टिङमा रहेको प्रहरीको भ्यानसँग ठोक्किएको थियो । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।
रानीपोखरी भूकम्पअघि जस्तै बनाइने
काठमाडौं, फागुन २५ । पुरातत्व विभागले रानीपोखरी भूकम्पअघिको जस्तै संरचनामा निर्माण गर्ने भएको छ । पुनःनिर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेश गर्दै पोखरीभित्रको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सल्लाह दिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको रानीपोखरी भूकम्पले भत्कनुअघि जस्तै गरी निर्माण गरिने विभागका प्रवक्ता रामबहादुर कँुवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालगोपालेश्र मन्दिर र समग्र रानीपोखरी नै भूकम्प पहिले जस्तै थियो सोहीअनुरुप निर्माण गरिन्छ, न त काठमाडौँ महानगरपलिकाले भने जस्तो हुन्छ ।” अबको चार महिनामा बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम सम्पन्न हुने बताइएको छ । शुरुमा रानीपोखरीसँगै मन्दिर महानगरपालिकाले बनाउने जिम्मा पाएको थियो तर कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि मन्दिर विभाग आफैँले बनाउँदैछ । मन्दिर भूकम्पअघिको जस्तै ‘गुम्बज शैली’ मा निर्माण भइरहेको छ । कामपाले भने पोखरी निर्माण गर्ने जिम्मा आफ्नो भए पनि विभागले अहिलेसम्म डिजाइन नदिएकाले काम अघि बढ्न नसकेको गुनासो गरेको छ । विज्ञ समूहको सुझावअनुसार पोखरी निर्माण गर्न भन्दै कामपाले विभागसँग डिजाइन मागेको छ । कामपाले बालगोपालेश्वर विभागले निर्माण गरे पनि पोखरीको बाहिरी भाग साजसज्जासहित आकर्षक तरिकाले आफूले निर्माण गर्ने जनाउँदै आएको छ । विभागले पोखरी निर्माणको जिम्मा कामपाकै भए पनि डिजाइनका बारेमा तीव्र छलफल भइरहेको बताएको छ । डिजाइन भूकम्पअघि जस्तै हुने पनि विभागले स्पष्ट पारेको छ । विभागले विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न नसकिने बताएको छ । बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पुरातात्विक मर्मविपरीत भइरहेको भन्दै चौतर्फी विरोध भएपछि भूकम्पअघि जस्तै निर्माण गर्ने तयारी भएको हो । रानीपोखरी पुनःनिर्माणमा कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि काठमाडौँ महानगरपालिकाले विज्ञ समूह बनाएको थियो । समूहले मन्दिर समग्र पोखरी नै मल्लकालीन शैलीमा निर्माण गर्न सिफारिश गरेको थियो । विभागकै पूर्वमहानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूहले मन्दिरलाई ग्रन्थकूट शैलीमा निर्माण गर्न सिफारिश गरेको थियो । मन्दिर पुनःनिर्माणका लागि विभागले रु एक करोड ५० लाखमा ठेक्का लगाएर काम गरिरहेको छ । करीव चार सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ । पोखरीमा स्वदेश र विदेशका विभिन्न नदी, ताल र कुण्डबाट ल्याइएको पानी राखिएको थियो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरुसहितको हात्तीको सेतो मूर्ति छ । पोखरीको चार कुनामा सोह्रहाते गणेश, सरस्वती, महालक्ष्मी र भैरव गरी चार मन्दिर छन् ऐतिहासिक महत्वको ‘विष्णुतीर्थ’को पुनःनिर्माण अब छिट्टै हुने विभागले जनाएको छ ।
कारितास नेपालद्वारा शत्रु जीव व्यवस्थापन पाठशाला समापन कार्यक्रम सम्पन्न
सुनकोशी गाउँपालिकाको १, २ र ३ वडामा भूकम्प पीडितहरुको निजी आवास निर्माण लगायत जीविकोपार्जन तथा विपद् जोखिम न्यूनिकरण, खानेपानी, सरसफाई तथा स्वच्छता र संरक्षण तथा मनोसामाजिक सहयोगको जिम्मा पाएको कारितास नेपालले साविकको कालिकामा २०७४ साउन २७ गतेदेखि माघ ३ गते र ठोकर्पामा २०७४ साउन २४ गतेदेखि माघ १२ गतेसम्म भूकम्प प्रभावित तथा साना किसानहरुका लागि सृजनशील र एकिकृत शत्रु जीव व्यवस्थापन कृषक पाठशाला सञ्चालन गरी मिति २०७४ साल फागुन २३ गते समापन कार्यक्रम सम्पन्न गरेको छ । विश्वव्यापीरुपमा बढिरहेको हानीकारक विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको अवस्थामा कारितासले भूकम्प प्रभावि ततथा साना किसानहरुको मागलाई मध्यनजर गरी जैविक प्रविधि अपनाएर कम जग्गामा धेरै र स्वस्थ बाली उत्पादन गरी राम्रो आम्दानीमा वृद्धि गर्न जीविकोपार्जनमा सहयोग पु¥याउने हेतुले एकिकृत शत्रु जीव व्यवस्थापन आई.पी.एम.पाठशाला तरकारी बाली काउलीमा सञ्चालन गरेको हो । समापन कार्यक्रममा स्थानीय सरोकारवाला, अगुवा कृषक र दुईवटा पाठशालाका ५२ जना कृषक सहभागी गरी १२५ जनाको सहभागिता रहेको र जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । आई.पी.एम. पाठशालाका सहभागीहरुले आफूले हासिल गरेका ज्ञान र सीपको प्रतिवेदन, नाटक र गीतहरुमार्फत आई.पी.एम. तरिकाबाट खेती गर्नाले हुने फाइदा र बेफाइदाबारे सन्देशमूलक प्रस्तुति गरेका थिए । कार्यक्रममा उपस्थित स्थानीय सरोकारवालाहरु मध्य उच्च माविका प्रअ, वडा सदस्यहरुले आफ्नो मन्तव्यको क्रममा यस आई.पी.एम. कार्यक्रमले खाद्य सुुरक्षामा टेवा पुग्ने र किसानहरुको मुख्य मागलाई सम्बोधन गरी एकिकृत शत्रु जीव व्यवस्थापन पाठशाला किसानहरुलाई राहत हुने किसिमको रहेको बताउनुभयो । यसैगरी कार्यक्रमका प्रमुख अतिथि जिल्ला कृषि विकास कार्यलय चौताराका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले नेपाल कृषिप्रधान देश भएकोले कृषि पेशालाई आधुनिकिकरण गर्नको लागि र पर्यावरण संरक्षणका लागि पनि आई.पि.एम.प्रविधि अपनाउनु अत्यन्तै आवश्यक भएको बताउँदै भूकम्पपछिको तत्कालिन अवस्था र हालको अवस्थामा पुनःनिर्माणको कार्यक्रमले आकाश–पातालको फरक भएको बताए र कालिका र ठोकर्पामा कारितासले पुनःनिर्माणको जिम्मा लिई पारदर्शी ढङ्गबाट कार्यक्रमगरिरहेकोले कारितास नेपाललाई मुरीमुरी धन्यवाद दिएका थिए । पुनःनिर्माणको कार्यक्रमलाई प्रकाश पार्दै कारितास नेपालले सुन्दर तथा नमुना बस्ती बनाउने संकल्पका साथ खाद्य सुरक्षामा ध्यान दिई स्वस्थ बाली उत्पादन र वातावरण संरक्षणको लागि भूकम्प पीडित तथा स्थानीयहरुको चहराइरहेको घाउमा मल्हम पट्टी लगाउन प्रयास गरिरहेको र धानबालीमा पनि आईपीएम पाठशाला सञ्चालन गर्ने योजना रहेको कारितास नेपालका जिल्ला कार्यक्रम संयोजक झग्गु चौधरीले बताए ।
मकवानपुर र गोरखामा सालकको सर्वेक्षण
चितवन । राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ । मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि सालकको अध्ययन थालेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो । यसअघि फागुन ९ गतेदेखि चितवनमा शुरु भएको अध्ययन बिहीबार मकवानपुरसँगै गोरखामा समेत थालिएको भट्टराईले जानकारी दिनुभयो । गोरखामा भने मिरकोट सामुदायिक वनमा सर्वेक्षण थालिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले हरियो वन कार्यक्रमको सहयोगमा सालक सर्भेक्षण शुरु गरेको हो । प्रदेश नं ३ का वन सचिव तथा क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले सालक पाइने प्वालमा क्यामेरा जडान गरी सो रानीवन सामुदायिक वनमा बिहीबार सर्वेक्षणको उद्घाटन गर्नुभएको थियो । वाग्लेले विश्वमै दुर्लभ भएकाले नेपाल सरकारले यो प्रजातिलाई संरक्षित सूचीमा राखेको र यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । यसैगरी जिल्ला वन कार्यालय मकवानपुरका वन अधिकृत प्रल्हाद धितालले सालक संरक्षणका लागि जिल्ला वन कार्यालय समुदाय तथा साझेदार संस्थासँग मिलेर अगाडि बढ्ने बताउनुभयो । न्युरेनी, चुच्चेखोला र अशोक सामुदायिक वन गरी मकवानपुरका चारवटा सामुदायिक वनमा अत्याधुनिक खालका ३० वटा क्यामरा राखेर क्यामेरा ट्रयापिङ विधिबाट सर्भे शुरु भएको हो । सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारीले यहाँ विगत १२ वर्षदेखि सालकको संरक्षण गर्दै आएको बताउनुभयो । प्राप्त तथ्यांकले सालकको यथार्थ अवस्था पत्ता लाग्ने उहाँको विश्वास छ । लजालु स्वभावको स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा अवैध व्यापार हुन्छ । यसको नेपालमा खासै अध्ययन भएको छैन । विश्वमा आठ वटा प्रजातिका सालक पाइनेमा नेपालमा भने कालो र तामे सालक पाइन्छ । एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले पारिस्थितिकीय प्रणालीलाई सन्तुलन गर्न ठूलो भूमिका खेल्छ । अध्ययनले कस्तो प्रकृतिको माटोमा बस्छ, कुन दुलो सालकको हो, सालक र अन्य जनावरको दुलोमा के फरक छ र यसको बढी बासस्थान कहाँ रहेछ भनेर यकिन हुने कोषका संरक्षण अधिकृत भट्टराई बताउनुहुन्छ । रासस
महिला दिवस मनाइरहेकै बेला प्रहरी कार्यालयमा रुवाबासी
लिबाङ, रोल्पा । रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो । ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध आमा ३८ वर्षीय छोरी र १ वर्षकी नातिनी काखमा च्यापेर न्यायको ढोका ढक्ढकाउन प्रहरी कार्यालय, रोल्पामा आइपुग्नु भएको थियो । वृद्ध आमाको बिलौना सुन्दा वरपर उभिएका सबैका आँखा रसाएका थिए । “तीन भाइ छोरा थिए सबै मरेर सकिए । करिब तीन वर्ष पहिले श्रीमान्ले पनि छोडेर गए । भएकी यौटी छोरीको पनि जिन्दगी सुखद् हुन सकेन, कस्को सहारामा बाँचुँ” भन्दै वृद्ध आमा निकै भक्कानिनुभयो । “छोरीको पहिलो घर बनेन । पहिलो ज्वाइँले सौता हालेपछि पहिलो श्रीमान् र चार सन्तान छोडेर छोरी माइतीमै बसेकी थिइ । करिब तीन वर्ष पहिले दोस्रो विवाह गरी । दोस्रो ज्वाइँले पनि सौता हाले र विदेशीए । दोस्रो ज्वाइँबाट एक वर्षकी नातिनी छे । उनले पनि निकै दुःख दिएका छन् । यो छोरीको चिन्ताले मर्ने बेला दुःखी बनेकी छु । म मरे यस्को संरक्षण कस्ले गर्ला, कहाँ जाली, के खाली ? लौ हजुर छोरीलाई न्याय दिनुप¥यो ।” उहाँले निकै बिलौना गर्नुभयो । पीडित महिलाका अनुसार उहाँको पहिलो विवाह सफल हुन नसकेका कारण तीन वर्ष पहिले इँटाभट्टामा काम गर्न गएका बेला दोस्रो विवाह गर्नुभएको थियो । बिहेपछि करिब सात महिना सँगै बसेर दुःखसुख गरेका श्रीमान् विदेशिएको केही समयपछि दोस्रो विवाह गरेको खबर आयो । “श्रीमान् धन कमाएर घर फर्केलान् र सुखसँग जीवन काटौँला भन्ने आशा थियो, तर सौता हालेछन् । त्यसपछिका दिनमा फोन उठाउनै छाडे । मेरो वास्ता गरेनन् । यो छोरी जन्मिएपछि जेठाजुले फोनबाट छोडपत्र गराउने भनेका छन् भन्दै देउरानीले गाउँले भेला गरेर श्रीमान् विदेश भएकै बेला हाम्रो सम्बन्धबिच्छेद भएको कागज गराई । पैसा दिएर मलाई छुटाउने भनेर निर्णय गरेजस्तो लाग्छ । तर मैले आजसम्म एक सुक्को पाएकी छैन,” उनी भन्छिन् । “कागज त गरेका छन् तर कागजमा के लेखेको छ त्यो पनि मलाई थाहा छैन । बरु मेरा माइतीले दिएको रु दुई लाख श्रीमान्ले हिनामिना पारे, त्यसको हिसाबकिताब पनि मलाई दिएका छैनन् । म अन्यायमा परेकी छु न्याय पाइन्छ कि भनेर प्रहरीमा आएकी हुँ । प्रहरीमा आउँदा सम्म श्रीमान् सकारात्मक देखिन्छन् तर गाउँ फर्किएपछि उनको उही चाला हुन्छ । आउन जान गाडी भाडा नभएर हैरान हुन्छ । आज त जसरी पनि न्याय दिनुस् । म अन्यायमा परेँ” आँशु बगाउँदै उनले बिलौना गरिन् । दिन फेरिए, विधि विधान फेरिदै गएका छन् तर पनि रोल्पाका केही महिलाको अवस्थामा भने कुनै परिवर्तन आउन सकिरहेको छैन । समाजसेवी खडकबहादुर खत्री ‘तोराबोरा’ का अनुसार यस घटनामा श्रीमान् विदेश भएको बेला श्रीमतीको मञ्जुरी बिना देउरानीले छुटापत्र गराएको बुझिएको छ, यसो हुनु राम्रो होइन । “दुवैको सहमति भएमा कानूनी प्रक्रियाअनुसार अदालत जानुपथ्र्याे । यो गैरकानूनी भयो । यौटी महिला अर्की महिलामाथि जाइलाग्नु दुःखद् पक्ष हो,” उहाँको भनाइ छ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार यही विषय लिएर पीडित महिला पटकपटक प्रहरीमा आएकी छन् । श्रीमान् बाहिर भएका बेला देउरानीसहित आफन्तले अवैधानिक रुपबाट सम्बन्धबिच्छेद गराएको खुल्न आएको उहाँको भनाइ छ। प्रनाउ फुयालका अनुसार रु दुई लाख २५ हजार दिएर सम्बन्धबिच्छेदको कागज गराएको देखिन्छ, तर पीडितको हातमा कुनै किसिमको रकम परेको छैन । सम्बन्धबिच्छेद गराए पनि अदालती प्रक्रियाबाट दुवैको मञ्जुरीमा हुनुपर्नेमा यसो हुन सकेन । अर्काेतर्फ पीडितको दुई श्रीमान् भएको भए पनि दुवैसँग विवाह दर्ता पनि छैन र बच्चाको जन्म दर्ता पनि छैन । आवश्यक कागजात भए काम गर्न अझ सहज हुने उहाँको भनाइ छ । उहाँका अनुसार पीडकलाई हिजोदेखि प्रहरी हिरासतमा राखिएको छ । घटनाका सम्बन्धित सबैलाई छानबिन र थप अनुसन्धानका लागि आज जिप्रका रोल्पामा बोलाइएको छ । पीडित आफैँले यसपछि के गर्ने भन्ने विषयमा निर्णय लिन नसक्दा प्रहरीलाई न्याय सम्पादनमा चुनौती हुने गरेको उहाँले गुनासो गर्नुभयो । महिला दिवसका दिनमात्र प्रहरी कार्यालय रोल्पामा तीनवटा महिला हिंसाका घटना आएको पनि प्रनाउ फँुयालले जानकारी दिनुभयो । जिप्रका रोल्पाअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र, रोल्पामा यस आवमा मात्र सबैभन्दा बढी महिला हिंसाका घटना दर्ता भएका छन् जसअन्तर्गत कूल ७३ वटा घटना दर्ता भएकोमा ती मध्ये पाँचवटा घटना सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत रोल्पामा पठाइएको प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिनुभयो । महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार यस आवमा मात्र महिला तथा बालबालिका कार्यालय रोल्पामा १९ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । यस्तै, रोल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्तीमगरका अनुसार १२ वटा महिला हिंसाका घटना दर्ता भएकोमा आठवटा फैसला भइसकेका छन् भने अन्य फैसला हुन बाँकी छन् । महिला आर्थिक, राजनीतिक र सामाजिक रुपमा अगाडि बढ्न नसकेको हुँदा हिंसाको शिकार बन्नु परेको उहाँको भनाइ छ । कार्यालयमा दर्ता भएकाभन्दा बढी घरेलु हिंसाका घटना मौखिकरुपमा मिलाएर पठाउने गरिएको छ । केही घटना बाहिरी रुपमा मिलेर गए पनि मनैदेखि मिल्न नसक्दा सम्वन्धमा समस्या आउने गरेको अधिकारकर्मी बताउँछन् । रासस

