संघीय संसदको पहिलो बैठक सकियो, अर्काे बैठक भोलि ११ बजे
काठमाडौं, फागुन २१ । ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ पारित गर्दै प्रतिनिधिसभाको पहिलो बैठक सोमबार सकिएको छ ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले संसद सञ्चालनका लागि तयार पारिएको अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको हो ।
बैठकको शुरुमा जेष्ठ सदस्य ठाकुरले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाएका थिए ।
अर्को बैठक मंगलबार (भोलि) बिहान ११ बजे बस्नेछ ।
पहिचान र अस्तित्वसहितको समावेशीता हुनुपर्नेमा जोड
नगरकोट । वरिष्ठ पत्रकारहरुले पहिचान र अस्तित्वसहितको समावेशीता हुनुपर्नेमा जोड दिएका छन् । पत्रकारिता क्षेत्रले पनि यसैलाई आत्मसात् गरेर समाचार उत्पादन, प्रशोधन तथा प्रसारण र प्रकाशनमा ल्याउनुपर्ने उनीहरुको सुझाव छ । नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुरको संयुक्त संयोजनमा भएको तीनदिने तालीमका सहभागीले नेपाली पत्रकारितामा समावेशी विषयको एक अन्तक्र्रियामा समाचार उत्पादनमा समावेशी भए पनि प्रशोधन गर्ने डेस्कमा समावेशी नहुँदा प्रसारण तथा प्रकाशनमा समावेशीताले ठाउँ नपाएको औँल्याए । कार्यक्रमका सहभागीलाई आइतबार प्रमाणपत्र वितरण गर्दै सूचना विभागका महानिर्देशक वीरबहादुर राईले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउन विभागले पहल गर्ने बताउनुभयो । तालीमका प्रमुख सहजकर्ता डा सुरेश आचार्यले समावेशीता एउटा आन्दोलन भएर आएकाले त्यसलाई सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सञ्चार विज्ञहरु डा विजय मिश्र, डा राजेश अहिराज, खिम घले र मीरा राजभण्डारीले नेपाली पत्रकारितालाई समावेशी बनाउन देखिएका समस्या र त्यसको निराकरणका उपायसँगै समावेशी पत्रकारिता के र कसरी गर्ने भन्नेबारे सहजीकरण गर्नुभएको थियो । स्थानीय संयोजनकर्ता नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष ईश्वरकाजी खाइजूले समावेशीताका विषयमा धेरै चर्चा भए पनि सञ्चार क्षेत्रमा यसले प्रवेश नपाएको सन्दर्भमा भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । तीन दिनसम्म चलेको तालीममा भक्तपुरका ४० जना क्रियाशील पत्रकारको सहभागिता थियो । रासस
देवघाट र लोथरमा गोही गणना
चितवन । अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अवस्था पत्ता लगाउन चितवनको देवघाट र लोथर क्षेत्रमा समेत गोही गणना गरिएको छ । करिब एक दशकपछि सो क्षेत्रमा गोहीको गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार २०५५÷५६ सालतिर सो क्षेत्रबाट पनि गोहीको अण्डा संकलन हुन्थ्यो । त्यसपछि विस्तारै गोही हराउँदै गयो । अहिलेको अवस्था पत्ता लगाउन स्थान थप गरेर यस पटक गोहीको गणना गरिएको अर्याल बताउनुहुन्छ । विगतमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती आसपासको क्षेत्रमा गोही गणना गर्ने गरिए पनि यसपालि भने क्षेत्र विस्तार गरेर देवघाट र लोथरमा समेत गणना गरिएको हो । यसअघि फागुन ११, १२ र १३ गते राप्ती र नारायणी नदीको विभिन्न ११ वटा ब्लकमा गोहीको गणना गरिएको थियो । तर अन्य सम्भावित क्षेत्रमा गोहीको अवस्था के छ भनेर पत्ता लगाउन क्षेत्र थप गरी देवघाट र पूर्वी चितवनको लोथरमा यही फागुन १८, १९ र २० गते गोही गणना गरिएको हो । गणनाका लागि नारायणी नदीमा देवघाटदेखि मझुवा सामुदायिक वनको सिख्रौलीघाट र पूर्व राप्ती नदीमा लोथरदेखि जिन्दगानी घाटसम्मको क्षेत्र थपिएको हो । देवघाट र नारायणगढ क्षेत्र गोहीका लागि राम्रो वासस्थान भए पनि मानवीय चापले गोही बस्न सक्ने अवस्था नदेखिएको अनुगमनमा सहभागी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताउनुभयो । नारायणगढबाट केही किलोमिटर तल शिवघाटमा भने एउटा गोही भेटिएको उहाँको भनाइ छ । यता पूर्वी राप्ती नदी क्षेत्रमा भने चार–पाँच वटा गोही फेला परेको जनाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषले जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरसँग मिलेर गोही गणना गरेको हो । आइतबारसम्म गणनाको फिल्डको काम भएकाले आजदेखि डाटा संकलन र व्यवस्थापनको काम शुरु भएको छ । गोही छुट्न सक्ने भएकाले हरेक ब्लकमा तीन दिनसम्म दोहो¥याएर गणकहरु नदीमा खटिएका थिए । चितवनको राप्ती र नारायणी नदीमा कूल १६६ वटा गोही छन् । सन् २०१६ को गणनाअनुसार बर्दियाको बबई नदीमा ३१ र कर्णालीमा एक गरी नेपालमा कूल १९८ गोही छन् । प्राकृतिक वासस्थानमा घडियाल गोही लोप हुँदै गएको छ । रासस
गाडीको ठक्करबाट एकको मुत्यु
दाङ । गाडीको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो । पोखराबाट तुलसीपुरतर्फ आउँदै गरको ना५ख ३१०१ नंको बसले थापालाई ठक्कर दिएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका– १ सुनडबरीमा थापालाई उक्त बसले ठक्कर दिँदा उहाँको मृत्यु भएको हो । थापा तुलसीपुरमा रहेका छोरालाई भेट्न दाङ आउँदै गर्दा दुर्घटनामा परेका थिए । गम्भीर घाइते थापालाई लमही अस्पताल पु¥याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
महाकाली अञ्चल अस्पताल सञ्चालनमा
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा आइतबारदेखि सञ्चालन भएका छन् । शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका–११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको सहमतिपछि अस्पताल सञ्चालन भएको हो । मृतकको शवपरीक्षणका लागि धनगढीबाट चिकित्सक बोलाउने र घटनाको छानबिनका लागि विज्ञ टोली गठन गरी छानबिन गरिदिन प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । एक साताअघि महाकाली अञ्चल अस्पतालमै पाठेघरको शल्यक्रिया गरेकी सार्कीलाई स्वास्थ्यमा समस्या भएपछि शुक्रबार राति अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारमा रहेकी सार्कीको शनिबार बिहान मृत्यु भएपछि मतृकका आफन्त आक्रोशित बनेका थिए । रासस
ओमकुमारी शान्ति कोषलाई जापानबाट रु १२ लाख संकलन
म्याग्दी । म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीले रु १२ लाख सहयोग जुटाएका छन् । विपन्न परिवारका बिरामी व्यक्तिको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको रु एक करोड ५० लाख रकमको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा सो रकम संकलन भएको हो । मोना जापानको आयोजनामा टोकियोमा आइतबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घार घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका ददीलाल खड्काले व्यक्तिगत रुपमा रु दुई लाख १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । जापानमा सफल व्यवसायीका रुपमा चिनिँदै आउनुभएका समाजसेवी खड्काले ओमकुमारी शान्ति कोषले जिल्लामा रहेका आर्थिक विपन्नतामा परेका व्यक्तिको उपचारमा सहयोग पु¥याउन स्थापना गर्न लागेको अक्षयकोषमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो । सो क्रममा मोना जापानका वरिष्ठ उपाध्यक्ष दीपक केसीले समेत अक्षयकोष स्थापनार्थ रु एक लाख ११ हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो भने यसअघि मोना जापानका सल्लाहकार गणेश श्रेष्ठले रु ५२ हजार सहयोग प्रदान गरिसक्नुभएको छ । अक्षयकोष निर्माणका लागि प्रवासमा रहेका म्याग्देलीमार्फत सहयोग जुटाउने अभियान लिएर जापानमा पुग्नुभएका ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानको पहलमा टोकियो र नागोयामा आयोजित कार्यक्रममा प्राप्त सहयोगले उत्साहित बनाएको बताउँदै सहयोगदातालाई आधारसहित धन्यवाद ज्ञापन गर्नुभएको छ । ओमकुमारी शान्ति कोषको अक्षयकोषमा अहिलेसम्म रु ९० लाख बोलिएको रकममध्ये ५२ लाख नगद संकलन भइसकेको कोषले जनाएको छ । रासस
विश्व शान्तिको कामना गर्दै नाला मछिन्द्रनाथ जात्रा सम्पन्न
काभ्रे । विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा आइतबार साबिक उग्रचण्डी नाला (हाल बनेपा नपा–४) मा सम्पन्न भएको छ । हरेक वर्ष नेवार समुदायले यही तिथिका अवसर पारेर जात्रा मनाउने गरेका छन् । सम्पूर्ण भगवान्को सृष्टिकर्ताका रूपमा सृष्टिकान्ता लोकेश्वरलाई लिइने गरेको लोकेश्वरका प्रमुख पुजारी पुन्यराज बज्राचार्यले बताउनुभयो । “यो जात्रा नालामा २०१७ सालदेखि मात्र मनाउन थालिएको हो, तर नेपाली पात्रोमा भने २०२६ सालदेखि भन्ने उल्लेख छ,” बज्राचार्यले भन्नुभयो । पहिले यो मन्दिर काठमाडौँको बुँगमतीमा थियो । पछि तामाङहरू मिलेर मूर्ति चोरी गरी खासा पु¥याउने क्रममा यही बाटो हुँदै गएको र नालामा आइसकेपछि हाराहुरी चलेपछि यही ठाउँमा मूर्ति छोडेर गएको भन्ने भनाइ बज्राचार्यको छ । पछि यस ठाउँमा मन्दिरको स्थापनापछि नेवार समुदायले लोकेश्वरलाई पुज्दै आइरहेका छन् । नाला सृष्टिकान्ता लोकेश्वरको जात्रामा सेतो मछिन्द्रनाथ र रातो मछिन्द्रनाथको मूर्तिलाई नाला बजार परिक्रमा गराइने गरिन्छ । रासस
आगलागीमा परी घाइते भएकी दलित महिलाको मृत्यु
खोटाङ । आफ्नै घरमा भएको आगलागीमा परी गम्भीर घाइते बनेकी रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ । गत फागुन ९ गते भएको आगलागीमा परी गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई तत्कालै काठमाडौँ लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो । आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँमा राखिएको थियो । उपचार सम्भव नभएपछि घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गए राति मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । उपचारमा सुधार नआएपछि बिरामी रत्नमायाले हातको इसारामा घर लान आग्रह गरेपछि घर ल्याउने क्रममा बाटैमा ज्यान गएको भतिजा एकराज सार्कीले बताउनुभयो । सार्कीलाई उपचारका लागि स्थानीय जनप्रतिनिधिको अगुवाइमा तत्कालै रु एक लाख ७० हजार जुटाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको थियो । काठ चिर्ने मेसिनमा पेट्रोल हाल्ने क्रममा नजिकै केटाकेटीले लाइटर बाल्दा शुरु भएको आगलागीमा सार्कीको घर, गरगहना, नगद, अन्नपात, लत्ताकपडालगायत जल्दा रु १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । मृत सार्कीको श्रीमान्, पाँच छोरा र दुई छोरी छन् । रासस
प्रदेश ३ को नाम प्रस्ताव : ‘नेपाल मण्डल’
काठमाडौं, फागुन २१ । प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्न एमालेका एक सांसदले पार्टीभित्र औपचारिक प्रस्ताव पेश गरेका छन् । प्रदेशसभामा एकल बहुमत रहेको र दुई तिहाइ बहुमत प्राप्त वाम गठबन्धनको नेतृत्व गरिरहेको एमाले नेतृत्व पनि नेपाल मण्डल प्रदेश नाम राख्न सकारात्मक देखिएको दावी ती सांसदको छ । काठमाडौं क्षेत्र ९ ‘क’ बाट निर्वाचित एमाले सांसद डा.अजयक्रान्ति शाक्यले प्रदेश ३ को नाम नेपाल मण्डल राख्दा १३ ओटै जिल्लाको पहिचान समेटिने दावी गरेका हुन् । आइतवार साँझ पत्रकार सम्मेलन गरी शाक्यले नेपाल मण्डलको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको बताए । शाक्यले भने- स्वयम्भु पूराणको आधारमा राजाधर्माकरले नियमपूर्वक राज्य चलाएकाले त्यो देशको नाम ‘नेपाल मण्डल’ रहन गएको थियो । ‘नेपाल मण्डल’शब्दको ऐतिहासिकता अध्ययन गर्दा इस्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इस्वीको तेस्रो शताब्दीतिरको मानिने आर्य महामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं.५०२/५०३मा ‘नेपाल मण्डल’ भन्ने शब्द उल्लेख भएको छ । शाक्यले ‘नेपाल मण्डल’ लिच्छवी राजा मानदेवभन्दा अघिदेखि नै उल्लेख भएको तथ्य इतिहास प्रमाणका आधारमा बुझ्न सकिने बताए । यस्तै नेपाल मण्डल शब्द सर्वप्रथम काठमाडौं ज्ञानेश्वरस्थित लिच्छवि राजा जयदेवको ईस्वीको आठौं शताब्दीको अभिलेखमा उल्लेख भएको शाक्यले बताए । शाक्यले भने- ‘नेपाल मण्डल’ नाम नेपालका प्राचीन अभिलेखहरुमा आठौं शताब्दीदेखि निरन्तर प्रयोग हुँदै आएको पाइन्छ । लिच्छविकालको अभिलेखमा उल्लेख भएअनुसार नेपाल मण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोशी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ), उत्तरमा रसुवापारि केरुङ र दक्षिणमा टिस्टुङ (मकवानपुर) सम्म थियो । तसर्थ वर्तमान ३ नं प्रदेश ऐतिहासिक हिसाबले नेपाल मण्डल हो ।’ पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिँदा नेपाल मण्डललाई एक अलग्गै प्रदेश मानेको पनि शाक्यले दावी गरेका छन् । शाक्यले भूगोलको हिसावले पनि प्रदेश नम्बर तीनको नाम नेपाल मण्डल नै उपयुक्त हुने बताए । उनका अनुसार सोह्रौं शताब्दीतिर लेखिएको ‘नेपाल महात्मय’को अध्याय १५ श्लोक ३-५मा उल्लेख भएअनुसार ‘नेपाल मण्डल’को सिमाना पूर्वमा कौशकी (तामाकोशी, रामेछाप), पश्चिममा त्रिशूलगङ्गा (त्रिशूली, धादिङ्ग र नुवाकोट), उत्तरमा शिवलुति (गोसाईकुण्ड क्षेत्र, रसुवा) र दक्षिणमा शीतलोदका नदी (चिसापानी, इन्द्रसरोवर, मकवानपुर) सम्म रहेको पाइन्छ । मल्लकालसम्म आउँदा नेपाल मण्डल भन्नाले पाँचवटा राज्य भएको एउटा देश भन्ने बुझिन्छ । ती पाँचवटा राज्यहरु क्रमशः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा र दोलखा हुन् । शाक्यले भूगोलको आधारमा हेर्दा पनि नेपाल मण्डल भनेको काठमाडौं उपत्यका मात्र नभइ प्रदेश नं. ३ को सम्पूर्ण भूगोल नै पर्ने बताए । काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायलाई समेत आग्रह गर्दै उनले भने- नेपाल मण्डल नाम उपत्यकाबासीको मात्र हो भनेर भ्रम छर्ने प्रयास नगरौँ ।
भोजपुरको पिखुवा खोला जलविद्युत् आयोजनाको काम धमाधम
भोजपुर, फागुन २१ । भोजपुरको गुम्वामा निर्माणाधीन पिखुवा खोला जलविद्युत् आयोजनाको कामले तिव्रता पाएको छ । स्टन हाइड्रोपावर कम्पनीको लगानीमा निर्माणाधीन ५ मेगावाट क्षमताको यो आयोजनाको कामले एक वर्षयता गति लिएको हो । भोजपुर नगरपालिका वडा नम्बर ६ गुम्वामा निर्माण भईरहेको पिखुवा खोला जलविद्युत आयोजनाको काम ६० प्रतिशत सम्पन्न भएको हो । नेपाल सरकारबाट २ दशमलव ५ मेगवाटको अनुमति लिएर २०६६ सालबाट स्टन हाइड्रो पावर कम्पनिले पीखुवा खोला जलविद्युत आयोजनाको काम अगाडी बढाएको थियो । काम थालेको केही समयमा पुन यसको क्षमता थप गर्नका लागी भन्दै निर्माण कार्य अगाडी बढाउन नसकेको कम्पनिले पछिल्लो एक बर्ष अघि बाट ५ मेगवटको स्विकृति प्राप्त गरी निर्माणको कामलाई तिव्रता दिएको हो । कम्पनी र नेपाल सरकारबीच २०७६ मसान्त सम्मको पिपिए सभmौता रहेपनि २०७५ मसान्तसम्ममा सुचारु गर्ने गरी काम भैरहेको आयोजना प्रमुख इन्जिनियर रोषण शाहले बताए । हाल आयोजना स्थलको ईन्टेकमा करिव ४० प्रतिशत ड्यामको काम मात्रै बाँकी रहेको र अन्य सुरुङ निर्माणको काम सम्पन्न भैसकेको छ । यस्तै इन्टेकदेखि फोरवेसम्म तीन किलो मिटर वेसलाइनको काम सकेर पाइपलाईन विस्तारको काम समेत ७० प्रतिशत सकिएको छ । फोरवेदेखी टरमाइन रहने स्थलसम्म वेसलाइनको काम सम्पन्न भैसकेको छ । टरमाइनका लागि फाउन्डेसनको काम भैरहेको र फाउन्डेसन सकिए लगतै टरमाइन जडानका लागि चिनियाँ प्राविधिक टोली आउने आयोजनाका कर्मचारीले जनाएका छन् । हालसम्म कुल ७० प्रतिशतको हाराहारीमा काम सम्पन्न भैसकेको र सरोकारवालाहरुको समेत राम्रो सहयोग रहेकाला पिपिए समय अवधिभन्दा पहिले नै काम सम्पन्न गर्न सकिनेमा ढुक्का रहेको आयोजनाका व्यवस्थापक दिपेन राईको भनाई छ । एक सय चौध करोडको लगानिमा निर्माण भैरहेको आयोजना स्थलमा हाल ४ सयको हाराहारीमा नेपाल र भारतका कामदारहरुले काम गरिरहेका छन् । निजि लगानिमा भोजपुर जिल्लाका लागि यो नै सवैभन्दा ठुलो आयोजना हो ।
पराजुलीलाई डा. केसीको प्रश्न- ‘२०२६ सालमा तपाईं पास कि फेल ?’
काठमाडौं, फागुन २१ । ‘चितवनको शारदा विद्यालयबाट प्रवेशिका अनुत्तीर्ण भएकोमा किन उत्तीर्ण भनी लेखियो र झुक्याउने गरी त्यसैमा किन वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठको सिम्बोल नं. राखियो ?’ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका सम्बन्धमा हालसम्म विवादरहित तथ्य हो, उनले चितवनको शारदा माविबाट हाईस्कुलको परीक्षा दिएका थिए । तर त्यसमा उनी पास भए कि फेल ? परस्पर बाझिने तथ्य फेला परेपछि नागरिक अभियन्ता डा. गोविन्द केसी, उनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र सहयोगी प्रितम सुवेदीले यसबारे प्रस्ट गराइदिन पराजुलीसमक्ष नै आइतबार निवेदन दिएका छन् । पराजुलीले न्याय परिषद्मा पेस गरेको नेपाल ल क्याम्पसको शैक्षिक प्रगति प्रतिवेदनसम्बन्धी अभिलेखमा उनले २०२६ सालमा चितवनको शारदा विद्यालयबाट हाईस्कुल परीक्षा उत्तीर्ण गरेको उल्लेख छ । तर त्यसमा सिम्बोल नम्बर भने वीरगन्जस्थित राष्ट्रिय विद्यापीठको (सिम्बोल नम्बर ११७/एनआरबी) लेखिएको छ । ‘जबकि, सम्माननीयज्यूले विश्वविद्यालयमा भर्ना हुँदा र न्यायाधीशको पदमा नियुक्त हुँदा २०२६ सालमा शारदा हाईस्कुल चितवनबाट प्रवेशिका अनुत्तीर्ण भएको स्थानान्तरण प्रमाणपत्र आफैं पेस गर्नुभएको देखिन्छ,’ पराजुलीलाई केसीको प्रश्न छ, ‘सम्माननीयज्यू स्वयंले पेस गरेको उक्त अभिलेखमा चितवनको शारदा विद्यालयबाट प्रवेशिका अनुत्तीर्ण भएकोमा किन उत्तीर्ण भनी लेखियो र झुक्याउने गरी त्यसैमा किन वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठको सिम्बोल नं. राखियो ? साथै, किन प्रवेशिका उत्तीर्ण गरेको शैक्षिक/चारित्रिक/स्थानान्तरण प्रमाणपत्र पेस नै गरिएन ? भन्ने प्रश्नको जवाफ पाउन सकिएको छैन । यो अभिलेख अनुहारबाटै दूषित देखिन्छ । यो अभिलेखले ठगी तथा किर्तेसम्बन्धी कसुर भएको आशंकालाई नै थप स्थापित गर्छ । यसको कारण के हो जानकारी पाऊँ ।’ यो खबर आजको कान्तिपुरमा छ ।
धनगढी घूस प्रकरण: चार कर्मचारी निलम्बनमा
काठमाडौं, फागुन २१ । घूस बाँडफाँटमा कुरा नमिल्दा कुटपिटमै उत्रेका चार जना कर्मचारी निलम्बनमा परेका छन् । धनगढीस्थित मालपोत र नापी कार्यालयमा कार्यरत ती कर्मचारीलाई विभागले निलम्बनमा राखेर छानबिन थालेको हो । जिल्ला प्रशासनले कार्यालयभित्रै मदिरा सेवन गरेकाले स्थानीय प्रशासन ऐनअनुसार जनही हजार–हजार रुपैयाँ जरिवाना गर्दै घूस प्रकरणको अनुसन्धान गर्न एकजना अधिकृतको नेतृत्वमा टोली नै गठन गरेको छ । मालपोतका निमित्त कार्यालय प्रमुख मनोहर श्रेष्ठले विभागले आफूमातहतका पूर्णानन्द भट्ट र ज्ञानेन्द्र ओझालाई निलम्बन गरेर छानबिन थालेको बताए । नापी कार्यालयका प्रमुख दयानन्द जोशीले पनि दुई जनालाई निलम्बन गरिएको जानकारी दिए । वीरेन्द्र सिंह र महादेव जोशी निलम्बनमा परेका हुन् । यो खबर आजको कान्तिपुरमा छ,नापीका कर्मचारीले केही दिनदेखि मालपोत कर्मचारीलाई सेवाग्राहीबाट लिएको रकमको हिसाब गलत दिँदा गत बिहीबार उनीहरूका बीचमा भनाभन भएको स्रोतले जनाएको छ । मदिराको नशामा विवाद बढेपछि आपसमै कुटाकुट गरेका थिए । दुवै कार्यालयका कर्मचारीको मिलेमतोमा लामो समयदेखि सेवाग्राहीबाट अवैद्य असुली भइरहेको गुनासो थियो । जिल्ला प्रशासनले आपसमा लेनदेन विवाद हुँदा कुटपिटमै उत्रेका कर्मचारीलाई कार्यालयभित्रै मदिरा सेवन गरेको भन्दै हजार–हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ । घूस प्रकरणमा भने कानुन अधिकृतको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । ‘कार्यालयमा मदिरा सेवन गरेको हुँदा स्थानीय प्रशासन ऐनअनुसार १–१ हजार रुपैयाँ जरिवाना गरिएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘थप अनुसन्धानका लागि कानुन अधिकृत लोकमणि पाण्डेको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ ।’
श्रीमती वेश्वावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद
काठमाडौं, फागुन २१ । चितवनमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने एक व्यक्तिलाई अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ। माडी नगरपालिका–६ का राजु काफ्लेले श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै परेको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कैद सजायसँगै काफ्लेसँग ५५ हजार रुपैयाँ जरिवाना असुल गर्न र २५ हजार रुपैयाँ श्रीमतीलाई क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ। श्रीमानले आफूलाई होटलमा राखी यौनसम्पर्क गराउन बाध्य पारेको भन्दै ती महिलाले १७ साउनमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन्। पीडित महिलाको पक्षमा मुद्दा लडेकी अधिकारकर्मी अघिवत्ता फूलमाया रानाभाटले मानव बेचबिखन तथा ओसारपसारऐन २०६४ को दफा ४ (ख) बमोजिम मद्दा दर्ता भई ऐनको दफा १५ (ख) बमोजिम ११ वर्षको कैद सजाए भएको जानकारी दिइन्।
बझाङमा डेढ दिन बिराएर बिजुली
बझाङ, फागुन २१ । एसईई परीक्षा नजिकै आइसक्दा पनि बझाङका विद्यार्थीले बिजुली अभावमा पर्याप्त तयारी गर्न सकेका छैनन् । यहाँ डेढ दिन बिराएर बिजुली आउँछ र त्यो पनि जम्मा एक घन्टा । कान्तिपुर दैनिकका अनुसार जयपृथ्वी नगरपालिका र आसपासका करिब ३ हजार घरधुरीलाई विद्युत्त सेवा उपलब्ध गराइरहेको सुर्मा देवी विद्युत्त प्रालिले एसईईको मुखैमा लोडसेडिङ अवधि बढाएर ३६ घन्टा पुर्याएको छ । विद्युत्तगृहमा पानीको मात्रा घटेर पर्याप्त विद्युत्त उत्पादन हुन नसकेकाले लोडसेडिङ अवधि बढाइएको कम्पनीले जनाएको छ । -कान्तिपुर दैनिकबाट
भरतपुर अस्पतालमा उपचाररत बिरामी झ्यालबाट हाम्फाल्दा मृत्यु
चितवन, फागुन २१ । चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए । भरतपुर अस्पतालको मेडिकल वार्डमा उपचाररत सुब्बाको आइतबार साँझ करिव ५ः३० बजेको समयमा अस्पतालको झ्यालबाट हाम्फालेर मृत्यु भएको ढकालले जानकारी दिए । उनका अनुसार सुब्बाले अस्पतालको शौचालयको झ्यालबाट हाम्फालेका थिए । गम्भीर अवस्थामा भेटिएका उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा युवानिधि बस्यौलाका अनुसार उनको आकस्मिक कक्षमा उपचारकै क्रममा मृत्यु भएको र शवलाई अस्पतालमै राखिएको छ ।
चिठ्ठा थुतेर घर लिए लाप्राकका भूकम्पपीडितले
काठमाडौं, फागुन २१ । १२ वैशाख ०७२ को गोरखा भूकम्पबाट विस्थापित भएका लाप्राकका भूकम्पप्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चिठ्ठा थुतेर घर जिम्मा लगाएको छ । ५७३ वटा घर पुनर्निर्माण गरिरहेको एनआरएनएले निजी आवास पुनर्निर्माणमा सहजता ल्याउन र स्थानीय बासिन्दालाई आफ्नो घरप्रति अपनत्व बढाउन आइतबार चिठ्ठा थुतेर घर जिम्मा दिएको जनता पोस्ट दैनिकमा खबर छ । समाचार अनुसार एनआरएनएले लाप्राकको गुप्सीपाखास्थित भूमे सामुदायिक वनमा लाप्राकीका भूकम्प प्रभावितलाई बसोबासको प्रबन्ध मिलाउन नमूना बस्ती पुनर्निर्माण गर्दैछ । सरकारले यहाँ बस्ती पुनर्निर्माण गर्नका लागि १८.३१ हेक्टर क्षेत्रफलको जग्गा भोगचलनको अधिकारसहित उपलब्ध गराएको थियो । सोही जग्गामा घडेरी सम्याएर एनआरएनएले नमूना बस्ती पुनर्निर्माण गर्दै आएको छ ।

