२५ लाखको लट्री परेको भन्दै इमोमा ठगी

अर्घाखाँची, फागुन १९ । भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् ।

यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए ।

रानाले परियारलाई “ २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनुस्”, भन्दै बैंकको खाता नं मागेका थिए ।

सबै कुराकानी भइसकेपछि सोे पैसा प्राप्त गर्न केही कर पठाइदिन भनेपछि परियारले विश्वास गरी आइएमइमार्फत ३६ हजार रुपन्देहीका शैलेन्द्रकुमार बहराईलाई पठाइदिए ।

गत बिहीबार अपराह्न ३ बजेतिर साथी बचत तथा ऋण सहकारी संस्थामार्फत आइएमइ गरेको एक घण्टापछि २५ लाख प्राप्त गर्नका लागि रु ७५ हजार पठाउन भनेपछि परियार दोधारमा परे ।

उनले दाजु रमेशलाई सो कुरा बताएपछि आफू ठगिएको थाहा पाए । उनका दाजुले पैसा नपठाउन आग्रह गरे । पहिला आफू ठगिएको थाहा पाएपछि अर्को दिन आफूले पठाएको ३६ हजार कसरी पाउन सकिन्छ भन्दै दुई भाइ रुपन्देही गए ।

इलाका प्रहरी कार्यालय लुम्बिनीमा शैलेन्द्रकुमारको नाममा ठगीको जाहेरी दर्ता गरेपछि प्रहरीले बहराईलाई पक्राउ गरी रकम असुली गरेको छ ।

जाहेरी दिएको २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक विजय धवालले साधारण पोशाकमा प्रहरी पठाई ठगी गर्ने भनिएका बहराईलाई पक्राउ गरे ।

इलाका प्रहरी कार्यालयमा पक्रिएर ल्याइसकेपछि हिरासतमा राखेर ठगी गरेको ३६ हजार असुल भएकोे छ ।

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौँ, फागुन १९ । विसं २००७ को प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्तीका अवसरमा स्थानीय माइतीघर मण्डलमा शुक्रबार १०९ मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको स्मरण गरिएको छ । रामप्र्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष देवी घिमिरे, महासचिव देवान राई र सल्लाहकार जय छाङ्छाले विसं २००७ को क्रान्तिमा जननायक राईको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै सरकारले उनलाई यथाशीघ्र राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरे । विसं १९६५ फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका राई १५ वर्षकै उमेरमा विसं १९८० मा इष्टइन्डिया कम्पनीमा भर्ना भएका थिए । नौ वर्ष सैन्यसेवामा कार्यरत उनी पाकिस्तानको क्वेटाबाट राजीनामा दिई स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि नेपाली सेनामा प्रवेश गरेका राई पछि राणा विरोधी जनक्रान्तिमा होमिनुभएको थियो । सिंहदरबार विद्रोहपछि राई रहस्यमय ढंगले बेपत्ता पारिएका थिए । दीप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र सल्लाहकार पारुहाङ राई, राष्ट्रपति कार्यालयका अर्थविज्ञ धनहर्क राई, भोजपुरे सेवा समाज काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पा, नेकपा(एमाले) भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष रेजीन श्रेष्ठलगायतको सहभागिता रहेकोे साहित्यकार शशि लुमुम्बुले जानकारी दिइन् ।

भन्सार कर्मचारी-व्यापारी मिलोमतो: दैनिक ३५ करोड राजस्वको हिनामिना

काठमाडौं, फागुन १९ । भन्सारका कर्माचारी र आयातित व्यापारमा संलग्न उद्योगी-व्यापारीबिचको मिलोमतोमा राज्यले दैनिक करोडौं राजस्व गुमाउँदै आएको खुलेको छ। नागरिक दैनिकका लागि बालकृष्ण ज्ञवालीले लेखेका छन्, ‘ चारदिन अघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानामा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौं बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रूपैयाँ राजश्व बढी उठेकाले मिलेमतोमा करोडौं राजश्व गुमिरहेको खुलेको हो।’ मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालायबाट औषतमा ८५ करोड राजश्व उठाउने गरेका थिए। नयाँ अर्थमन्त्रीले कडा निर्देशन दिएकै दिन भने एक अर्व २० करोड रूपयाँ भन्दा बढि राजश्व उठ्यो। अन्य दिनको तुलनामा असुली कम्ती पनि ३५ करोड बढि हो। यो तथ्याङ्कले भन्सार कर्मचारी र व्यापारीको मिलोमतोमा राज्यको दैनिक ३०-३५ करोड रूपैयाँ राजश्वको हिनामिना हुने गरेको आशंका गरिएको छ।

७० लाखमा आधा पिलर ! ठेकेदार फरार

ललितपुर, फागुन १९ । १५ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्कविहीन छन् । चार वर्षअघि ठेकेदार श्यामबहादुर तामाङले त्रिशूली कन्स्ट्रक्सनमार्फत तत्कालीन जिल्ला विकास समिति र स्विस एजेन्सीस“ग वाग्मती गाउँपालिकास्थित ठोस्ने खोलाको पुल निर्माणका लागि सम्झौता गरेका थिए । तिनै ठेकेदार अहिले काम अलपत्र पारेर सम्पर्कविहीन भएको जिल्ला प्राविधिक कार्यालय ललितपुरले जानकारी दिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । वाग्मती गाउँपालिकामा पर्ने (छपेली-भट्टेडाँडा–इकुडोल) सडकअन्तर्गत टुंगुन कोरिडोरमा पर्ने भट्टेडाँडा र इकुडोललाई जोड्ने पुल निर्माण १५ महिनामा सम्पन्न गर्ने सम्झौता थियो । तर काम अघि बढ्न नसकेको प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर रामेश्वर मरहठ्ठाले बताए । स्थानीयले भने दुवै पक्ष दोषी रहेको भन्दै आक्रोश पोखेका छन् । ठेकेदारले काममा ढिलासुस्ती गर्नु भनेको जिल्ला प्राविधिक कार्यालयको कमजोरी भएको कांग्रेसको तत्कालीन जिल्ला सचिव रविन शर्माको भनाइ छ । पुल निर्माणको जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भए पनि मुलुक छाडेर कतै नगएको र उसलाई समात्न सकिने उनले बताए। ‘पिलर सम्पन्न नगरी जिल्ला प्राविधिक कार्यालयले किन यति धेरै पैसा दियो ? ’, उनले प्रश्न गरे। खोलामा पुल नहुँदा बर्खामा बाटो बन्द हुने स्थानीयवासीको भनाइ छ । ‘यसै समस्यालाई दृष्टिगत गरी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयसम्म पुगेर पुलको योजना पारेको थिएँ। तर ठेकेदारका कारण जनताले सास्ती पाए। काम गर्छु भनेपछि पूरा गर्नुपर्छ’, शर्माले भने ।

६० रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च

तेह्रथुम, फागुन १९ । फेदाप गाउँपालिका सिम्लेका महेन्द्रप्रसाद निङ्लेकु विद्युत् महसुल तिर्न हरेक महिना जिरीखिम्ती बजार पुग्छन् । उनको घरमा मासिक ६० रुपैयाँसम्म बिल उठ्छ । तर, पायक स्थानमा महसुल संकलन केन्द्र नहुँदा चर्को भाडा तिरेर जिरीखिम्तीसम्म आउने उपभोक्ता धेरै छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । ‘सिम्लेबाट जिरीखिम्तीसम्म ट्याक्सीले सात सय रुपैयाँसम्म भाडा लिन्छ,’ उनले भने, ‘आउँदा–जाँदा ट्याक्सीलाई एक हजार ४०० सय खर्च हुन्छ । खाजा पनि खानै प¥यो। दुई हजार जति खर्च हुन्छ ।’ जिल्लाको पूर्वी क्षेत्रका फेदाप र आठराई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भइरहेको छ । महसुल लिने केन्द्र नजिकै नहुँदा ६० रुपैयाँ मासिक महसुल बुझाउन दुई हजार रुपैयाँ खर्च गर्न उपभोक्ता बाध्य छन् । दुई गाउँपालिकाका विभिन्न वडाका एक हजारभन्दा बढी उपभोक्तालाई महसुल बुझाउन जिरीखिम्ती आउन एक दिन लाग्छ ।

भाइबरबाट १० लाख ठग्दा..: योजनाकार पाकिस्तानमा

धरान,फागुन १९ । भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । आजकोनयाँ पत्रिकामा खबर छापिएको छ । उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए। लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन् । इलाका प्रहरी कार्यालय धरानले केन्द्रीय अनुसन्धान ब्यूरो (सीअाईबी) को सहयोगमा विराटनगर र काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो । धरानका रमेशकुमार श्रेष्ठको जाहेरीका आधारमा विराटनगर र काठमाडौँबाट पाँचजना पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । पैसा रिसिभ गर्ने पक्राउ परे पनि मुख्य योजनाकार भने भारत या पाकिस्तानमा रहेको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ । पक्राउ पर्नेमा विराटनगरका २३ वर्षीय असिम महत, उनी आमा ४० वर्षीय अनिता महत (राउत), नवलपरासी घर भई काठमाडौँ बस्ने ३० वर्षीय यसकुमार थापा मगर, लमजुङ घर भई काठमाडौँ बस्ने ३७ वर्षीय प्रितम गुरुङ र बाग्लुङ घर भई काठमाडौं बस्ने टीकाराम जैसी छन् । महत आमा छोरालाई गत १० माघमा विराटनगरबाट पक्राउ गरिएको डिएसपी पौडेलले जानकारी दिए । उनीहरूकै बयानका आधारमा १४ फागुनमा थापा र गुरुङ तथा १५ फागुनमा जैसी काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ गरेका असिम महत दिल्लीमा बसेर अध्ययन गरी झण्डै डेढ वर्षअघि नेपाल फर्किएका थिए । यसकुमार भने भारतको केरालामा चौकीदार गर्दै आएका थिए । उनी हाल कीर्तिपुरमा डेरा लिएर संगठित रूपमा ठगीमा लागेको पाइएको प्रहरीले जनाएको छ । गुरुङ भारतीय सेनाका हवल्दार हुन । उनी रिटायर भएपछि काठमाडौं बस्दै आएका थिए । उनीहरूले लिएको केही रकम भारतीय बैंकमा पनि जम्मा गरेको पाइएको डीएसपी पौडेलले बताए। भाइबर गर्ने व्यक्तिले भने पाकिस्तानी नम्बर प्रयोग गरेको देखिन्छ । उनका अनुसार ठगीको गिरोह नेपाल, भारत र पाकिस्तानमा बसेर धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

सात महिनामा तीन अर्बका चेक बाउन्स

काठमाडौं, फागुन १९ । गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ । चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लाग्नुपरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ-महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले चेक बाउन्सका उजुरी छानबिन गर्न परिसर मातहतको ४० प्रतिशत शक्ति लागेको बताए । उनले भने, ‘पछिल्ला दिन चेक बाउन्सका उजुरी बढेका छन् । अनुसन्धानमा प्रहरीको ठूलो शक्ति खर्च भइरहेको छ । यसले गम्भीर प्रकृतिका अपराध अनुसन्धानलाई समेत प्रभावित गरेको छ ।’ प्रहरीको तथ्यांकअनुसार काठमाडौं परिसरमा मात्रै प्रत्येक दिन २० भन्दा धेरै चेक बाउन्सका उजुरी पर्ने गरेका छन् । एक लाखदेखि पाँच करोड रुपैयाँसम्मका चेक बाउन्स भएका उजुरी छन् । दैनिक सरदर एक करोड ५० लाख रुपैयाँका चेक बाउन्स भएको मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा मात्रै दर्ता हुने गरेका छन् । परिसरका मुद्दा शाखा प्रमुख डिएसपी मोहन थापाले प्रत्येक दिन २०–२५ वटा मुद्दा चेक बाउन्सका मात्रै दर्ता हुने गरेको बताए । ‘पछिल्ला दिन परिसरमा दर्ता भएकामध्ये अधिकांश मुद्दा चेक बाउन्सकै छन् । प्रत्येक दिन २०–२५ वटा चेक बाउन्सकै मुद्दा आउँछन् । दैनिक सरदरमा डेढ करोड रुपैयाँको चेक बाउन्सका मुद्दा दर्ता हुने गरेका छन्,’उनले भने । सात महिनामा ३ अर्बको चेक बाउन्स दैनिक सरदर एक करोड ५० लाख रुपैयाँका चेक बाउन्सको मुद्दा पर्दा महिनामा ४५ करोड रुपैयाँको मुद्दा प्रहरी कार्यालयमा आउने गरेको छ । आर्थिक वर्ष ०७४-७५ को माघसम्म महानगरीय प्रहरी परिसर काठमाडौंमा मात्रै चेक बाउन्ससम्बन्धी १ सय ३० मुद्दा दर्ता भएका छन् । यस आधारमा चालू आर्थिक वर्षको पछिल्ला सात महिनामा महानगरीय प्रहरी परिसरमा मात्रै तीन अर्ब १५ करोड रुपैयाँको चेक बाउन्सको उजुरी परेको देखिन्छ । ‘पछिल्ला दिन चेक बाउन्सका उजुरी ह्वात्तै बढेका छन् । अहिलेसम्म कति रुपैयाँको चेक बाउन्स भयो ठ्याक्कै तथ्यांक निकाल्न सकिएको छैन । तर, सरदर हिसाब गर्दा अर्बौँ रुपैयाँ देखिन्छ,’ परिसरका डिएसपी थापाले भने । केही मुद्दा थप कारबाहीका लागि अदालत पुगेका छन् । प्रहरी कार्यालयमा आएका अधिकांश मुद्दा अदालत नपुगी आपसी छलफलमै टुंगिने गरेका छन् । बाउन्सको अवधि वर्ष दिन मात्रै चेक बाउन्ससम्बन्धी मुद्दाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई दिइएपछि बाउन्सको अवधि घटाइएको छ । जसअनुसार पीडितले चेक जारी भएको मितिले वर्ष दिनभित्र बाउन्स गरिसक्नुपर्छ । र, लगत्तै प्रहरी कार्यलयमा उजुरी पेस गरिसक्नुपर्छ । वर्ष दिन नाघेको उजुरी भने प्रहरीलाई हेर्ने अधिकार छैन । त्यसअघि भने चेक बाउन्स अवधि पाँच वर्ष तोकिएको थियो । त्यसवेला सम्बन्धित जिल्ला अदालतले यो मुद्दा हेर्ने गथ्र्यो । एउटै व्यक्तिको ३८ लाख ६० हजारको चेक बाउन्स नेपाल जब प्लेसमेन्टका सञ्चालक रोशन कार्कीले अस्ट्रेलियामा आकर्षक रोजगार मिलाइदिने भन्दै विभिन्न व्यक्तिसँग लाखौँ रकम उठाए । टोवा–५ का २५ वर्षीय रोशनले पवन भण्डारीसँग २० लाख ५० हजार, मिङमार शेर्पासँग २२ लाख ५० हजार, रवीन्द्र श्रेष्ठसँग १८ लाख, राजकुमार मगरसँग २४ लाख, सन्दीप गुरुङसँग २५ लाख, कुमार मगरसँग २५ लाख र ज्ञानकुमार लामासँग १९ लाख रुपैयाँ लिए । भारतको दिल्ली हुँदै अस्ट्रेलिया पठाउँछु भनेका थिए, उनीहरूलाई । दिएको आश्वासनअनुसार उनले सबैलाई दिल्ली पनि पुर्‍याए । तर, अस्ट्रेलिया पठाउन सकेनन् । रन्थनिएका पीडित नेपाल फर्किए । तत्काल प्रहरी कार्यालयमा उजुरी दिए । त्यसपछि रोशनले सबैलाई चेक काटे । तर, चेक कुनै पनि साटिएन । किनभने खातामा रकम नै थिएन । प्रहरीका अनुसार रोशनले रवीन्द्रलाई ८ लाख रुपैयाँको चेक दिएका थिए । पवनलाई २४ लाख ५० हजार तथा मिङमारलाई ४ लाख ४० हजार र १७ लाख रुपैयाँका दुईवटा चेक दिएका थिए । पाँच करोडको एउटै चेक बाउन्स परिसरमा पाँच करोडको एउटै चेक बाउन्सको उजुरी पनि परेको छ । मुद्दा शाखाका प्रमुख डिएसपी मोहन थापाले उजुरीमाथि छानबिन भइरहेको बताए । यो मुद्दामा ठूलै घराना मुछिएको बताउँदै थप खुलाउन चाहेनन् । ‘पाँच करोड रुपैयाँसम्मका चेक बाउन्स भएको उजुरी हामीकहाँ दर्ता भएका छन् । हिजोआज हामीकहाँ दर्ता हुने उजुरी सबैभन्दा धेरै चेक बाउन्सकै छन्,’ उनले भने । यसरी फसे सुकुमान काभ्रे तेमाल–४ का ५० वर्षीय सुकुमान तामाङले काठमाडौं भोटेबहालकी ४५ वर्षीया सोफिन रन्जितलाई विद्यालय सञ्चालनका लागि भन्दै ३७ लाख १० हजार रुपैयाँ क्यास दिए । पछि पैसाको खाँचो परेपछि सोफिनसँग आफ्नो पैसा फिर्ता मागे । तर, सोफिनले आलटाल गरिन् । दबाबपछि सोफिनले १० लाख ६० हजार, ४ लाख, ८ लाख, ७ लाख पचास हजार र सात लाख रुपैयाँका पाँचवटा चेक दिइन् । सुकुमान बैंक पुग्दा खातामा रकम थिएन । रन्थनिएका सुकुमान फेरि सोफिनकहाँ पुगे । तर, सोफिनले वास्ता नगरेपछि १० लाख ६० हजारको चेक बाउन्स गरी महानगरीय प्रहरी परिसरमा उजुरी दिन गए । शुक्रबार परिसरको मुद्दा फाँटमा भेटिएका उनले भने, ‘विश्वासमा ऋण दिएँ । तर, अहिले फन्दामा परेँ । पाँचवटा चेक छन् । कुनै पनि साटिएको छैन ।’ के छ कारबाहीको व्यवस्था ? बैंक खातामा पर्याप्त रकम छैन भन्ने जान्दाजान्दै चेकमा रकम भरेर कसैलाई दिनुलाई नै ‘चेक बाउन्स’ भनिन्छ । बैंकिङ कसुरअन्तर्गत यो मुद्दा पहिला प्रहरीलाई हेर्ने छुट थिएन । सीधै अदालतमा मुद्दा पेस हुन्थ्यो । तर, झन्झटिलो न्याय प्रणालीका कारण निकै कमले मात्र न्याय पाउँथे । १८ असोज ०७३ देखि भने यो मुद्दा प्रहरीलाई हेर्न अनुमति दिइएको छ । उजुरी परेको व्यक्तिलाई प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि मुद्दा अदालतमा पेस हुन्छ । अदालतले दोषी प्रमाणित भएको व्यक्तिलाई बिगो र बिगोबमोजिमको जरिवाना भराई तीन महिनासम्मको जेल सजाय तोक्न सक्छ ।

कर्मचारी र व्यापारी मिलेर लुट्छन् दैनिक ३५ करोड

काठमाडौं, फागुन १९ । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खलेको छ । चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिडवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिव ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो । मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका थिए । आजको नागरिक दैनिकमा खबर छ । नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरूलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको छ । अन्य दिनको तुलनामा शुक्रबार भएको असुली कम्तीमा ३५ करोड रुपैयाँ बढी हो । यो तथ्यांकको आधारमा भन्सारमा व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यले दैनिक ३०–३५ करोड रुपैयाँ राजस्व हिनामिना हुँदै आएको आशंका गरिएको छ । यो तथ्यांकलाई मान्ने हो भने वर्षमा एक खर्ब २२ अर्ब रुपैयाँ राजस्व अपचलन भएको देखिन्छ। एक वर्षमा ३६५ दिन हुने भए पनि भन्सार कार्यालय ३५० दिन खुल्छन्।

पाराग्लाइडिङ खस्दा दुई जना घाइते

पोखरा, फागुन १८ । कास्कीको खपौंदीमा पाराग्लाइडिङ खस्दा दुईजना घाइते भएका छन् । दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाइलट कास्की, खहरेका ३४ वर्षीय राजबहादुर जिसी घाइते भएका हुन् । हावाहुरीका कारण अवतरण गर्नेक्रममा अनियन्त्रित भइ पाराग्लाइडिङ भुइँमा खसेको थियो । घाइतेमध्ये जापानी नागरिकको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । अर्का घाइतेको ढाडमा चोट लागेका कारण फेवासिटी अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै २६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, फागुन १८ । महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै रु २६ लाख ठगी गरेको आरोपमा ४१ वर्षीय छविलाल चौधरी र ४६ वर्षीय सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको छ । अभियुक्त दुवैको स्थायी घर दाङ भई हाल काठमाडौँमा अस्थायी बसोबास गर्दै आएका छन् । अमेरिका जानका लागि पीडितलाई विभिन्न मितिमा फ्लाइट गराइदिन्छु भनी सम्पर्कविहीन उनीहरुलाई सात जनाको उजुरीका आधारमा पक्राउ गरी आजै महाशाखामा पठाइएको प्रहरीले जनाएको छ । रासस

उपत्यकामा हलका वर्षा

काठमाडौं, फागुन १८ । स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकामा शुक्रबार साँझ मेघगर्जनसहित वर्षा भएको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः पूर्वतर्फ सर्दैछ । पूर्वी पहाडी भेगका केही स्थानमा समेत वर्षाको सम्भावना छ । अहिले पश्चिमका केही स्थान तथा मध्य र पूर्वी भेगमा बदली भएको छ । उपत्यकामा हुरी बताससहित वर्षा भइरहेको छ । स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ । पूर्वमनसुनको याम पनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् प्रधानाङ्गले बताउनुभयो । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम २५.८ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ ।

जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष भइ काम गर्न सशस्त्रलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, फागुन १८ । गृहमन्त्री रामबहादुर थापाले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ । गृहमन्त्री थापाले हलचोकस्थित सशस्त्र प्रहरीबल प्रधान कार्यालयको आज निरीक्षणपछि निर्देशन दिने क्रममा सबैले आफ्नो तहगत संरचनाबमोजिमको जिम्मेवारीलाई अक्षरशः पूरा गर्नुपर्ने बताउँदै प्रहरी बललाई आवश्यक पर्ने स्रोतसाधनको उपलब्धताका लागि मन्त्रालयको प्रतिबद्धता जनाउनुभयो । उहाँले देश र जनताको हितमा समर्पित रहँदै उत्कृष्ट कार्य गरी आफूलाई नमूनाका रुपमा प्रस्तुत गर्न बललाई आग्रह गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले प्रहरी बलबाट भएगरेका कामकारबाही तथा संगठनले हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै आफ्नो संगठनलाई भरपर्दो केन्द्रीय सुरक्षा निकायका रुपमा अगाडि बढाई हरपल चलायमान फौजका रुपमा विकास गर्न लागिपरेको उल्लेख गर्नुभयो ।

मधेशी र पहाडी समुदायको एकैठाउँ होली

भद्रपुर, फागुन १८ । झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा आज होली पर्व उल्लासमय वातावरणमा मनाएका छन् । सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । वीरता जेसिज र वीरता लेडी जेसिजले फागु पूर्णिमा पर्वको अवसर पारी बिर्तामोडको अतिथि सदनमा होली मिलन समारोह आयोजना गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड नगरपालिका–१ का अध्यक्ष अग्निप्रसाद पाण्डे, ब्राम्हण समाज झापाका उपाध्यक्ष हरि भण्डारी, मारवाडी सेवा समिति, बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, रौनियार सेवा समाज, झापाकी अध्यक्ष संगीता रौनियार लगायतले सबै समुदायबीच त्यस्तै सद्भाव र मेलमिलाप आजको आवश्यकता रहेको र जेसिजले संयोजन गरेको होलीले त्यही सन्देश दिएको बताउनुभयो । सहभागीले अबिर र रङसँगै उत्सवका साथ सामूहिक नृत्य गरेर होली मनाएका थिए ।

ब्लड बैंकको भवन प्रदर्शनी मार्गमै बन्ने

काठमाडौं, फागुन १८ । रक्तदाता र रगत आवश्यक पर्ने बिरामीका आफन्तलाई सहज पहुँचको स्थान यहाँस्थित प्रदर्शनी मार्गमा नै केन्द्रीय रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण हुने भएको छ । विसं २०२३ देखि सुरक्षित र स्वच्छ रक्तसञ्चार सेवा तथा रगतको अनुसन्धानसमेत गर्दै आएको सो केन्द्रको भवन विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको थियो । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सो केन्द्र हाल अस्थायी रुपमा ललितपुरको ग्वार्कोबाट सञ्चालित हुँदै आएको छ । विश्व स्वास्थ्य संगठनको भवन मापदण्ड एवं केन्द्रका लागि आवश्यक उपकरणका लागि नेपाल रेडक्रसलाई थाइल्याण्ड (थाई) रेडक्रसले करीव रु ४५ करोड आर्थिक सहयोग प्रदान गरेको छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नेपालका लागि थाई राजदूत भागवत तान्स्कुलले संयुक्त रुपमा भवनको आज शिलान्यास गर्नुभयो । सोसाइटीका प्रबन्ध निर्देशक एवं भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालका अनुसार पाँचतले अत्याधुनिक सो भवन १८ महिनाभित्र बन्नेछ । भवनमा रक्त सेवालगायत अनुसन्धान कक्षसमेत रहनेछ । भवन निर्माणको जिम्मा लामा कन्ट्रक्सन कम्पनीले पाएको छ । सर्वोच्च मानवीय संस्था नेपाल रेडक्रसका विभिन्न मानवीय कार्यक्रममध्ये रक्तसञ्चार सेवा उच्च प्राथमिकतामा छ । हाल यसले करीव सबै जिल्लामा रक्तसञ्चार सेवा पु¥याएको छ । केन्द्रीय रक्तसञ्चार केन्द्रमा दैनिक ४०० युनिटभन्दा बढीको रगत माग हुने गरेको र सोही अनुपातमा आपूर्तिसमेत हुने गरेको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । गत वर्ष मात्र केन्द्रले करीव तीन लाख ३७ हजार ३२१ युनिट रगतको सेवा दिएको थियो । कार्यक्रममा सांसद जीपछिरिङ शेर्पाले मापदण्डअनुसारको भवन समयभित्र गुणस्तरीय र सुरक्षित रुपमा बन्ने जानकारी दिनुभयो । कामपाका प्रमुख शाक्यले सामाजिक संघसंस्थाको भवन निर्माण गर्दा नक्शा पासमा करको छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । सोसाइटीका अध्यक्ष थापा र महामन्त्री देवरत्न धाख्वाले रगतको सुरक्षा र स्वच्छतामा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । थाई राजदूत तान्स्कुलले आगामी दिनमा नेपाल रेडक्रसलाई थप सहयोग गरिने जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्रका निर्देशक डा रेखा मानन्धर तथा थाई रेडक्रसका निर्देशक डा उबोनवोन चारुवाङग्रीटले रक्तसञ्चार सेवाको महत्वबारेमा बोल्नुभएको थियो । रासस

टिपर भीरबाट खस्दा एकजनाको मृत्यु, पाँच घाइते

चितवन, फागुन १८ । चितवनको राप्ती नगरपालिका–१ परेवाकोटमा शुक्रबार टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । ना७ख २९८४ नम्बरको टिपर भीरबाट खस्दा मकवानपुर, मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको छ । ग्राभेल झारेर फर्कनेक्रममा टिपर सडकबाट करिब ७० मिटर तल खसेको थियो । रासस

प्रहरी प्रवक्ताको जिम्मा थापालार्इ

काठमाडौं, फागुन १८ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी डिएसपी मोहनकुमार थापालाई दिइएको छ। डिएसपी थापा केही साता अघि मात्र महानगरीय प्रहरी बृत जनसेवाबाट सरुवा भएर प्रहरी परिसर काठमाडौंमा आएका थिए । यसअघि परिसरमा रामदत्त जोशीले प्रहरी प्रवक्ताको रुपमा काम गर्दै आएका थिए।