जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएको छ ।

चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी भएको चोरी मुद्दामा विसं २०१८ साल चैत ६ गते जन्मनुभएका तामाङ विरुद्ध नुवाकोट जिल्ला अदालतको विसं २०१५ साल जेठ १८ को फैसलाले ६ महिना कैद र रु दुई हजार ४२३.५० जरिवाना सुनाएको भन्दै फैसला कार्यान्वयनको क्रममा उनलाई बुधबार जेल चलान गरिएको छ ।

अदालतको फैसलाले दोषी ठहर भएका व्यक्ति खोजी गर्ने क्रममा तामाङलाई बुधबार प्रहरीले भदु्रटारस्थित घरबाट पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएको थियो । उहाँसँग जरिवानाबापतको रकम असुल गरी कैद भुक्तानीका लागि नुवाकोट कारागार चलान गरेको अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले जानकारी दिनुभयो ।

“दोषी ठहर भएका व्यक्ति यहीँ हो भनेर प्रहरीले उपस्थित गरायो” विष्टले भन्नुभयो “उहाँले पनि गल्ती स्वीकार गरेकाले कारागार पठाएका हौं ।” जन्मनु भन्दा तीन वर्ष अघिको मुद्दामा दोषी ठहरिएर जेल गएका सानुवीरेका छोरा प्रेमबहादुर तामाङले निर्दोष बुबालाई जेल पठाएको भन्दै प्रहरी र अदालतमा पुगे पनि न्यायिक प्रक्रियबाट अघि बढ्न सुझाव दिएका छन् ।

“राउतवँेशी गाविस–८ मा जन्मिएका बुबाले विसं २०४४ मा गाउँखर्क गाविस–३ बाट नागरिकता बनाउनुभएको छ ।” प्रेमबहादुरले भन्नुभयो “२०४६ देखि भदु्रटार आएर बसेका हौं । यता नयाँ मान्छे देखेर ‘नौले’ भन्ने गरेका थिए, अहिले नाम मिल्यो भनेर प्रहरीले जेल पठायो ।”

निर्दोष व्यक्ति जेलमा जानु परेको भन्दै परिवारले रिहा गर्न आग्रह गरेपनि प्रहरी र अदालतले बन्दीप्रत्यक्षीकरण रिटमार्फत उच्च अदालतमा जान सुझाव दिएका छन् । कमजोर आर्थिक अवस्था र शिक्षाको ज्ञान नभएको तामाङ परिवार अहिले अन्यौलमा परेका छन् ।

न्यायिक निकायबाट दोषी ठहर भएका तथा अभियुक्त रहेर फरार भएकालाई पक्राउ गर्न नुवाकोट प्रहरीले माघ २८ देखि ‘विशेष अभियान’ चलाइरहेको छ । जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले फरार दोषी तथा अभियुक्तले समातिएपछि बच्न विभिन्न हर्कत अपनाउने गरेको बताउनुभयो ।

सवारी दुर्घटना हुँदा ३० जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा आज भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको पंग्रा (टायर) पड्केर विपरित दिशाबाट आउदै गरेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोकिँएपछि सो दुर्घटना भएको हो । घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अझै घाइते हुनसक्ने अनुमान प्रहरीकोे छ ।

हजुरआमासँगै सुतेकी ४ वर्षीया बालिका बलात्कृत !

काठमाडौं, फागुन १० । पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया किशोरी बलात्कृत भएको ६ दिन नबित्दै फेरि अर्को बलात्कारको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । पुनर्वासमा हजुरआमासँगै सुतेकी बालिकालाई युवकले बाहिर लगेर बलात्कार गरी फेरि सोही ठाउँमा छाडेर गएको प्रहरीले जनाएको छ । श्रीमाललाई प्रहरीले मंगलबार पुनर्वास नगरपालिका–९ (ख) गाउँबाट पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले बताए । ‘घटनाको दोस्रो दिन पीडकले नै पीडितका आफन्तलाई धम्काएपछि घटना बाहिर आएको हो,’ उनले भने, ‘बालिकाका आफन्तले श्रीमाललाई राति घरबाट बाहिर निस्किरहेको अवस्थामा देखेपछि संलग्नता खुलेको हो ।’, कान्तिपुरमा खबर छ ।

सात महिनामा ४३ अर्बको इन्धन आयात

काठमाडौं, फागुन १० । चालु आर्थिक वर्षको सात महिनामा बीरगन्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म बीरगञ्ज नाकाबाट ६ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार नौसय ३९ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात गरिएको छ । आर्थिक वर्ष २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा बीरगन्ज नाका भएर ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख दुई सय ४६ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्राविधिक त्रुटिका कारण जन्ममिति फरक : डा केसी

काठमाडौं, फाल्गुन ९ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डां गोविन्द केसीले आफ्नो जन्म मितिका विषयमा सार्वजनिक भएका समाचारको खण्डन गर्नुभएको छ । राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी डा। केसीले आफ्ना सक्कली प्रमाणपत्र सहित समाचार सत्य नभएको दाबी गर्नुभएको हो । उहाँले एसएलसीको चारित्रिक प्रमाणपत्र बाहेक सबै शैक्षिक प्रमाणपत्रमा आफ्नो जन्म मिति २०१३ साल असोज २७ गते रहेको उल्लेख गर्नुभयो । प्राविधिक त्रुटिले गर्दा एसएलसीको चारित्रिक प्रमाणपत्रमा भने २०१३ साल माघ २४ गते रहेको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । आफ्नो शैक्षिक प्रमाण पत्रमा जन्म मिति र विभिन्न समयमा भरेका आवेदनलाई लिएर विभिन्न सञ्चार माध्यममा भ्रामक समाचार आएको भन्दै सो प्रति ध्यानाकर्षण भएको बताउनुभयो । एसएलसीको चारित्रिक प्रमाणपत्र बाहेक बाँकी सबै शैक्षिक प्रमाण पत्रमा आफ्नो जन्म एउटै रहेकाले आफुसँग एउटा मात्र नागरिकता रहेको उहाँको भनाई थियो । एसएलसीको चारित्रिक प्रमाण पत्रका कारण बढुवाका लागि दिएका आवेदनमा फरक जन्ममिति उल्लेख भएको उहाँले स्वीकार्नुभयो । प्रधानन्यायधीश गोपाल पराजुलीको मिलेमतोमा त्रित्रिमा बुझाइएका आफ्ना कागजपत्रहरु नै गायव गरेर सक्कल कागजात नबुझाएको भनी अफवाह फैलाउने प्रयास भएको डा. केसीको आरोप थियो । प्रधानन्यायाधीश पराजुलीको नागरिकता र जन्म मितिबारे आफुले आवाज उठाएपछि ध्यान मोड्न आफ्नो विषय उछालिएको दाबी गदैं केसीले प्रधानन्यायधीश पराजुलीलाई पनि आफ्नो शैक्षिक प्रमाण पत्र सार्वजनिक गर्न चेतावनी दिनुभयो । पत्रकार सम्मेलनमा डा. केसीले प्रधानन्यायधीशले राजीनामा नदिएसम्म आफू लडिरहने समेत दोहोर्‍याउनु भएको थियो । कान्तिपुरबाट

चीन, भारत र अमेरिकाका सैनिकले पूरा गरे एकैसाथ कमाण्ड एण्ड स्टाफ कोर्ष

काठमाडौं, फागुन ९ । विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ । बंगलादेश, चीन, भारत, मलेसिया, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका १० सहित ५४ सैनिकले आजै मात्र स्टाफ कलेज कोर्ष पूरा गरेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त कलेजमा आयोजित २४ औँ आर्मी कमाण्ड एण्ड स्टाफ कोर्ष ग्र्याजुएसन समारोहमा ५४ सैनिकसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका चार जना नायब उपरीक्षकले पनि आज उक्त कोर्ष पूरा गरेको जानकारी दिइयो । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त तालीम सैनिक संगठनमा माथिल्लो ९जर्नेल० तहमा पुग्न अनिवार्य मानिन्छ । उक्त सैनिक कलेजले नेपाली सेनाको सेनानी तथा अरु सुरक्षा संगठनको नायब उपरीक्षकलाई ५२ साताको उक्त तालीम प्रदान गर्दै आएको छ । सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ जना विदेशीसहित ९२२ जनाले उक्त अध्ययन पूरा गरिसकेको महासेनानी श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकैस्थानमा एउटै कोर्षमा तालीम गरेको घटना विरलै भेटिए पनि आर्मी कमाण्ड एण्ड स्टाफ कलेजले भने उनीहरुलाई एकैसाथ तालीम दिँदै आएको छ । यस कार्यले विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको छ । केही बेलायती सैनिकले पनि उक्त कलेजबाट सफलतापूर्वक तालीम लिइसकेका छन् । आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सन् २०११ देखि विदेशी सैनिकलाई तालीम खुला गरिएकोमा पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको पहिलो रोजाइमा परेको छ । अमेरिकी र बेलायतीजस्ता विश्वका शक्तिशाली देशका सैनिकलाई अरु देशका सैनिकसँग सम्बन्ध विकास र विस्तार गर्ने महत्वपूर्ण अवसर पनि उक्त तालीमले दिएको छ । शान्ति सैनिक परिचालन, विपद् व्यवस्थापन र प्रतिविद्रोहमा नेपाली सेना पोख्त भएकाले उक्त कलेजमा तालीमका लागि जाम्बियालगायतका देशका सेनाबाट पनि माग भइरहेको महासेनानी श्रेष्ठले बताउनुभयो । कलेजले आगामी दिनमा १६ जनासम्म विदेशी सैनिकलाई तालीम प्रदान गर्न स्वीकृति पाइसकेको छ । सैनिक रणनीतिका अतिरिक्त नेतृत्व विकास, सैनिक कूटनीति, विपद् व्यवस्थापन, शान्तिसेना परिचालन र मानवअधिकारको पालनाजस्ता विषयमा अनुभावी र विज्ञबाट व्यावहारिक र सैद्धान्तिक शिक्षण एंव तालीम प्रदान गर्दै आएको उक्त कलेजका कमाण्डेन्ट उपरथी प्रह्लाद थापाले जानकारी दिनुभयो । शिवपुरी वन्यजन्तु निकुञ्जभित्र रहेको उक्त कलेजले प्रशिक्षार्थीलाई अनुसन्धानका लागि निकै प्रेरित गर्दै आएको छ । आगामी चैतदेखि शुरु हुने २५ औँ शृङ्खलाको उक्त तालीममा पहिलो पटक महिलाको प्रवेश हँुदैछ । सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले छिमेकी तथा अन्तर्राष्ट्रिय मुलुकका सैनिकको सहभागिताले तालीमको ओज र गरिमालाई थप उजिल्याएको धारणा व्यक्त गर्नुभयो । विश्वमा आउनसक्ने नयाँ र फरकखाले सुरक्षा चुनौती सामूहिकरुपमा सामना गर्न तालीमबाट सिकेका ज्ञान निकै फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानसेनापति क्षत्रीले समग्र विषयमा उत्कृष्ट हुने सैनिकलाई नगद पुरस्कारका अतिरिक्त अन्य प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमितिकाे अाकस्मिक बैठक

काठमाडौँ, फागुन ९ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार(फागुन १०)गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा नयाँ सरकारले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई संशोधन गरी नयाँ नाम सिफारिस गरेको सम्बन्धमासमेत छलफल हुने बताईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले मंगलबार सिफारिश गरेको निर्णयानुसार नै राष्ट्रियसभा सदस्यमा तीन जनालाई मनोनयन गर्नुभएको थियो ।

मुख्यमन्त्री भट्टका आवास निजी घरमा

कैलाली, फागुन ९ । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका लागि धनगढी उपमहानगरपालिका वडा नं ४ स्थित उत्तरबेहडीमा रहेको निजी घरमा आवास राख्ने निर्णय भएको छ । उत्तरवेहडीस्थित कैलाली मोडल स्कूल नजिक पूर्वप्रहरी नायब उपरीक्षक योगेन्द्र थापाको घरमा मुख्यमन्त्रीको आवास राख्ने निर्णय गरिएको प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रवीन्द्र बोहराले बताउनुभयो । मुख्यमन्त्री भट्टको आवासको टुङ्गो लागिसकेकाले अन्य मन्त्रीका लागि पनि आवासको खोजी भइरहेको बताइएको छ ।

सहलगानीका तीन खानेपानी आयोजना सम्पन्न

काठमाडौँ । खानेपानी तथा ढल निकास विभागअन्तर्गत सञ्चालित सहलगानीका एकाउन्न वटा आयोजनामध्ये तीन वटा आयोजना पुरा भएको छ । रु १० करोडभन्दा बढी लागतमा निर्माण भएका रुपन्देहीस्थित शंकरनगर खानेपानी आयोजना, आनन्दवन शंकरनगर खानेपानी आयोजना तथा चेपेखोला पालुङ्टार खानेपानी आयोजना पुरा भएको हो । विभागका सहसचिव एवं सहलगानी आयोजना शाखाका प्रमुख विद्यानाथ भट्टराईले ती आयोजनामा ७० प्रतिशत सरकार र ३० प्रतिशत उपभोक्ताको लगानी भएको जानकारी दिनुभयो । “अठ्ठाइस जिल्लामा ४८ योजना निर्माण हुने क्रममा रहेकामा २३ वटाको काम हुँदै, १० वटा शुरु हुने क्रममा रहेको र बाँकी १५ वटा अध्ययनको अन्तिमचरणमा छ,”– उहाँले भन्नुभयो । ती आयोजनामध्ये ११ वटा यो वर्षसक्ने विभागले जनाएको छ । आर्थिक वर्ष २०६९÷७० बाट सहलगानीका खानेपानी आयोजना सञ्चालन भएकामा तीन वर्षभित्र सबै आयोजना सम्पन्न हुने गरी काम भइरहेको बताइएको छ । ती आयोजनामा उपभोक्ताले १० प्रतिशत रकम तिनुपर्ने २० प्रतिशत बराबरको जनश्रम ब्यहोर्नुपर्ने भएकाले सो आयोजना भरपर्दो हुँदै गएको विभागले जनाएको छ ।

छुरा प्रहार गर्ने दुई हत्यारा पक्राउ

झापा । अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । मंगलबार राति अर्जुनधारा–११ स्थित बस पार्कको सिर्जना होटल अगाडि आपसी विवादमा संग्रौलामाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट संग्रौलाको दाहिने छातीमा गम्भीर चोट लागेकाले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छुरा प्रहार पछि फरार रहेका उनीहरूलाई आज बिहान पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।

होटल मजदुर हेमरोन मृत अवस्थामा फेला

इलाम । इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्पअगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी आज बिहान करिब ९ बजे मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । झापा गौरीगञ्ज घर भएका हेमरोन एक महिनाअघिदेखि उक्त पसलमा काम गर्दै आएको जिल्ला पहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरी इन्सपेक्टर रामेश्वर पण्डितका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ । हेमरोनको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाम ल्याइने जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा । चालु आव २०७४-७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्यबराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३-७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख २४६ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो । गत वर्षको तुलनामा चालू आवमा रु १० अर्ब १५ करोड ३२ लाख मूल्यको एक लाख २३ हजार १५५ किलोलिटर इन्धन र २२ हजार ६९३ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । भारतको रक्सौल, बरौनी डिपोबाट आयात गरिएको पेट्रोलियम पदार्थ र मथुरा, हल्दियालगायत स्थानबाट आयात गरिएको खाना पकाउने ग्यासबाट भन्सार कार्यालयले चालू आवको सात महिनामा रु नौ अर्ब ५९ करोड १२ लाख राजस्व संकलन गरेको छ ।

पुनःनिर्माणको प्रगति दिन सूचना प्रणाली सार्वजनिक

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा स्थलगत रुपमा खटिने इञ्जिनियरले मोबाइल एपमार्फत् प्रगति विवरण भर्न सक्ने प्रणालीको विकास गरेको छ । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा प्राधिकरणले आयोजना अनुगमन सूचना प्रणाली निर्माण गरी आज सार्वजनिक गरेको हो । यो प्रणालीमा भूकम्प प्रभावित ३२ जिल्लास्थित स्थानीय तहका वडामा पुनःनिर्माणमा लागेका इञ्जिनियरले तथ्यांक राख्न सक्नेछन् । यसका लागि इञ्जिनियरलाई ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराइनेछ । कार्यस्थलबाट इञ्जिनियरले राखेको सूचनालाई सम्पादन भने प्राधिकरणको केन्द्रले मात्र गर्न सक्नेछ । प्रणाली सार्वजनिक गर्नुहुँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा विनियोजन गरिएको खर्चको सदुपयोग कसरी भइरहेको छ र प्रगति कति भएको छ भन्ने थाहा पाउन सहयोग मिल्ने बताउनुभयो । “पुनःनिर्माणलाई पारदर्शी, जवाफदेही र सुशासनयुक्त बनाउन यो प्रणालीले सहयोग गर्नेछ, इञ्जिनियरले कार्यस्थलबाट ‘अपलोड’ गरेको सूचना केन्द्रीय प्रणालीमा आउँछ, यसपछि कहाँको पुनःनिर्माणको अवस्था के छ भनी अनुगमन गरेर सम्बन्धित ठाउँमा आवश्यक सुधार गरिन्छ, यसले पुनःनिर्माण छिटो गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ”–उहाँले भन्नुभयो । यो प्रणालीमा सूचना राख्नका लागि इञ्जिनियरलाई तालीम दिने तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्रणालीमा निजी आवास, सरकारी भवन, पुरातात्विक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थालगायत सबै किसिमका संरचना पुनःनिर्माणको तथ्यांक समावेश गरिनेछ । कार्यक्रममा प्राधिकराणका सचिव मधुसुदन अधिकारीले जिल्ला समन्वय समितिको सचिवालयले जिल्ला भरको खर्च र प्रगति विवरण प्रणालीमा राख्ने जानकारी दिनुभयो । पुनःनिर्माणसम्बन्धी ठेक्का पट्टाको विवरण पनि जिल्ला सचिवालय र केन्द्रले नै राख्नेछन् । प्रणाली सार्वजनिक कार्यक्रममा बैंकका देशीय निर्देशक मुख्तर खामुदखानोभले पुनःनिर्माणको अनुगमनका लागि उपयुक्त विधि भएको बताउनुभयो । “पुनःनिर्माणको प्रगति र अन्य सम्बन्धित सूचना कार्यस्थलबाट छिटो पाउन सकिन्छ, यसले आयोजना कार्यान्वयनमा ठूलो परिवर्तन ल्याउने विश्वास गरिएको छ”–उहाँले भन्नुभयो । यो प्रणालीबाट सूचना आउन थालेपछि सेवा सुविधा थोरै पुगेका स्थानमा बढाउन सकिने जनाइएको छ । प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले प्राधिकरणले प्रगति विवरण बुझाउने सबै निकायमा प्रणालीबाट सूचना दिने व्यवस्था गरिएको बताउनुभयो । “सञ्चारकर्मी र नागरिकले पनि हेर्नसक्ने गरी खुला प्रणालीको पनि विकास गरिने छ, यसको विकास गरेपछि विश्वका जुनसुकै कुनामा बसेका नेपालीले पुनःनिर्माणमा भएको प्रगति र खर्च विवरण थाहा पाउन सक्नेछन्”–उहाँले भन्नुभयो । पुनःनिर्माणमा संलग्न विकास साझेदार, तिनले खर्च गर्ने बजेटलगायत सूचना पनि यो प्रणालीबाट सार्वजनिक हुनेछ । प्राधिकरणको स्थापनासँगै यो प्रणालीको विकास शुरु गरिएको सहायक प्रवक्ता भुसालले सुनाउनुभयो । एक लाख घर बने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि दोस्रो र तेस्रो किस्ता दाबी गर्ने सेवाग्राहीको संख्या बढेको प्राधिकरणले जनाएको छ । हालसम्म एक लाख निजी आवास पुनःनिर्माण भइसकेका छन् । सवा तीन लाख घर पुनःनिर्माण शुरु भएको छ । सात लाख ६७ हजार लाभग्राही प्रमाणीकरण भएकामा एक लाखले अनुदान सम्झौता गरेका छैनन् । आवास पुनःनिर्माणका लागि जग्गा नभएका र अन्यत्र आवास भएका लाभग्राही अनुदान सम्झौता गर्न नआएको उहाँले बताउनुभयो । अर्को निजी आवास भई अनुदान सम्झौता गरेका केही लाभग्राहीले अनुदान रकम फिर्ता गर्न थालेका छन् । बढीमा साढे छ लाख घर बन्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रवक्ता भुसालले बताउनुभयो । दाता सम्मेलनमा पुनःनिर्माणका लागि रु चार खर्ब १० अर्ब सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएकामा हालसम्म रु तीन खर्ब ३६ अर्बको सम्झौता भइसकेको छ । पुनःनिर्माणका लागि आवश्यकपर्ने थप बजेट जुटाउन आगामी आर्थिक वर्षको शुरुमै अर्को दाता सम्मेलन गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

प्रदेश नं ३ लाई जस्तो सुकै सहयोग गर्न अष्ट्रेलियन तयार छ : राजदूत बड

हेटौंडा । केन्द्रीय राजधानीसहितको प्रदेश नम्बर ३ लाई समृद्ध र विकसित बनाउन आवश्यक पर्ने सबै किसिमको सहयोग गर्न अष्ट्रेलियन तयार रहेका नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले जनाएका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा भएको भेटवार्तामा अष्ट्रेलिया र प्रदेश नम्बर ३ बीच सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । मुख्यमन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्दै केन्द्रीय सरकारले देशका प्रत्येक स्थानीय तहमा प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्राविधिक शिक्षालय स्थापना गर्न अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उक्त अवसरमा राजदूत बडले संघीय नेपालको पहिलो मुख्यमन्त्री बन्न सफल भएकोमा पौडेललाई बधाई दिए । भेटमा प्रदेश नम्बर ३ का मुख्य सचिव रेश्मीराज पाण्डेको पनि सहभागिता रहेको थियो ।

दोहनीमा ईपू चार सयदेखि मानव बसोबास पाइयो

कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ । पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो । उत्खननमा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिको वैज्ञानिक परीक्षणका आधारमा चारसय वर्ष अघि यहाँ मानिसको बसोबास भएको अनुमान गरिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाभन्दा करिब चार किलोमिटर पूर्वतर्फ तथा लुम्बिनीबाट करिब २० किलोमिटर पश्चिमतर्फको यस क्षेत्र स्थानीय कुदान, अरौँराकोट तथा तिलौराकोट र लुम्बिनी भ्रमण गर्ने तीर्थालुका साथै कर्मचारी, व्यापारी आवतजावत गर्दा विश्रामस्थलको रुपमा प्रयोग हुँदै आएको छ । विभागको अनुरोधमा सन् २०१६ मा बेलायतको दुरहाम विश्वविद्यालयले भौगोलिक सर्भेक्षण गरी जमिनको सतहभित्र पूर्ण सुरक्षित ५०÷५० मिटरको चारै कोणमा गोलाकार बुर्जा भेटेकोे थियो । अहिले बेलायतको कला र मानविकी अध्ययन परिषद्को आर्थिक सहयोगमा उत्खनन तथा अन्वेषण हुँदै आएको छ । उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको विकास भएको प्रमाण प्राप्त भएपछि पुरातात्विकस्थलको वर्तमान प्रयोग, मूल्य, मान्यता तथा यस क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाबारे स्थानीयलाई जानकारी गराउन परामर्श गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । यस स्थानको उत्खननमा संलग्न समूहले तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत गराउन विभिन्न मुलुकका विज्ञहरूको सहयोगमा थप अनुसन्धान हुँदै आएको छ । यही फागुन ११ गते उक्त समूहले यहाँ गरेको खोज तथा अनुसन्धानका क्रममा थप नयाँ तथ्य बाहिर आउनसक्ने बताइएको छ । सोही समूहले स्थानीय कुदान, निगलिहवा, सिसहनिया, दोहनी, सगरहवा क्षेत्रमा समेत उक्त टोलीले सर्भेक्षण गरिसकेको छ । यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा अनुसन्धान गरी प्राचीन लुम्बिनी ग्रामको नयाँ इतिहासका साथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको पुरातत्वविद् कोशप्रसाद आचार्यले बताउनुभयो । विज्ञ आचार्यका अनुसार त्यहाँ पाइएका तथ्यका आधारमा विश्व परिवेशमा कपिलवस्तुको सभ्यता अगाडि र संस्कृति उत्कृष्ट रहेको बुझ्न सकिन्छ । पाँचाँै शताब्दीमा चिनियाँयात्री फासियान र सातौँ शताब्दीमा ह्वेसाङले यसक्षेत्रमा गरेका यात्रा तथा यात्राका आधारमा तयार भएका विवरणले यहाँको खोज र अनुसन्धानलाई केही सहज बनाएको छ । हाल प्रदेश नं ५ मा पर्ने कपिलवस्तु नेपालको पश्चिमी भेगमा पर्ने एउटा जिल्ला हो । कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले कपिलवस्तु संस्कृतिक तथा पुरातात्विक हिसाबले उत्तिकै महत्वपूर्ण मानिए पनि त्यति प्रचारप्रसार हुन नसकेका कारण ओझेलमा परेको बताउनुभयो ।

नेपाल चीन जोड्ने रेल्वे लाइनको प्रारम्भिक खाका तयार

काठमाडौ‌। चीन–नेपाल जोड्ने रेल्वे लाइनको प्रस्तावको प्रारम्भिक खाका तयार भइसकेको सरकारी अधिकारीहरुले बताएका छन् । चीन नेपाल जोड्ने रेल योजना अगाडि बढाउन चीनले चासो देखाइरहेको बेला उक्त प्रस्तावको प्रारम्भिक खाका बनिसकेको नेपाली अधिकारीहरूले बताएका छन्। केपी ओली यसअघि प्रधानमन्त्री भएको बेला चीनसंग भएको चर्चित पारवहन तथा अन्तरदेशीय रेलवे निर्माण सम्झौताबीचमा ओझेलमा परे पनि त्यसलाई पुनस् ब्युत्याउन लागिएको प्रधानमन्त्री निकट एमालेका नेताले बताएका छन्। केरुङ हुँदै काठमाण्डू, पोखरा र लुम्बिनीसम्म विस्तार गरिने भनिएको उक्त परियोजनाको लागि पौने तीन खर्ब रूपैयाँ लाग्न सक्ने अनुमान चिनियाँ अध्ययनले देखाएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार चीनलाई रेल निर्माणको प्रस्ताव दिन मन्त्रालय प्राविधिक रूपमा तयारी अवस्थामा छ। केरुङबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म पुर्‍याउने भनिएको उक्त परियोजनाको ठोस प्रस्ताव दिन चीनले भनिरहेको बताइएको बेला उक्त परियोजनाको लगानी कसले र कुन विधिमा गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताइएको छ।