प्रमुख जिल्ला अधिकारीहरुले दिए आन्दोलनको चेतावनी
काठमाडौं, फागुन ७ । सघीय संरचनामा जिल्ला प्रशासन कार्यालयबारे अहिलेको संविधानले केही परिकल्पना गरेको छैन ।
संघीय संरचनामा जिल्ला प्रशासन कार्यालय रहने कि नरहने, रहेमा पनि कसको मातहत रहने भन्ने प्रश्न प्रशासन वृत्तमा अहिले निकै चर्चाको विषयम बनेको छ ।
माघको दोस्रो साता प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला प्रशासन कार्यालय प्रदेशको मातहत राखे आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
यसले गर्दा पनि यो बहसले अझ सघन रुप लिएको पाइन्छ । -नेपाल समाचारपत्रमा खबर छ ।
संविधानले संघ, प्रदेश र स्थानीय तहलाई मात्रै सरकार वा प्रशासनिक निकाय मानेको छ ।
साविकका जिल्ला र विषयगत कार्यालयहरुले गर्ने काम संविधानले गाउँपालिका र नगरपालिकालाई दिएको छ ।
जिल्लामा गाउँपालिका, नगरपालिकासँग समन्वय गर्न जिल्ला समन्वय समिति रहने संविधानमा भनिएको छ ।
अधिवक्ता सुनीलरञ्जन सिंहले भने,
-जिल्ला प्रशासन कार्यालयबारे संविधानले स्पष्टरुपमा केही बोलेको छैन ।
-संविधानमा नागरिकता, राहदानी र शान्ति सुरक्षा केन्द्रको मातहत रहने भनेको छ ।
-यही आधारमा अहिलेको जिल्ला प्रशासन कार्यालय रहन्छ कि जस्तो लाग्छ ।
डढेलो नियन्त्रण बाहिर
सल्लेरी । खुम्बु पासाङल्हामु गाउँपालिका–३ को एउटा घरमा आगलागी हुँदा नजिकैको जंगलसम्म फैलिएको छ । जंगलमा फैलिएको आगो अझै नियन्त्रण बाहिर रहेकोे छ । बिहिबार दिउँसो स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी भएको थियो । आगो घरनजिकै रहेको ठाडोकोशी रेडपाण्डा समुदायिक बनमा सल्किएको थियो । उक्त आगो अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा फैलिएको लुक्ला सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो । घरमा लागेको आगो नियन्त्रणमा आए पनि त्यहाँबाट जंगलमा सल्किएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । अहिले स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी तथा पैदलयात्रीले आगो निभाइरहेका छन् । “आगलागीले बस्ती भेट्ने सम्भावना कम भए पनि जंगलमा क्षति पु¥याएको छ,” सेवा केन्द्रका अध्यक्ष शेर्पाले भन्नुभयो । ठाडो कोशीमा लागेको आगो तीन घण्टाको दूरीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको जोर सल्लेसम्म फैलिएको प्रहरी नायब निरीक्षक यादव केसीले बताउनुभयो । उहाँले भन्नुभयो– “नियन्त्रण गर्ने साधन नहुँदा समस्या भएको छ ।” आगलागीबाट शेर्पाको घरमा रहेको सबै सामग्री जलेर नष्ट हुँदा करिब रु डेढ करोड बराबरको क्षति भएको उहाँले बताउनुभयो ।
देउवाले बालुवाटार छोड्दै
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै हुनुहुन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लाग्नुभएका हो । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आउनुभएको थियो । उहाँ आज दिउँसो बूढानीलकण्ठस्थित निजी निवास सर्न लाग्नुभएको उहाँका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
प्रदेश ६ मा मुख्यमन्त्रीको सपथ आज
सुर्खेत, फागुन ४ । प्रदेश ६ का मुख्यमन्त्री महोन्द्रबहादुर शाहीले आज शपथ लिँदैछन्। बिहीबार नियुक्त भएका मुख्यमन्त्री शाहीलाई आज तीन बजे प्रदेश प्रमुख प्रदेशप्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनियताको सपथ खुवाउनेछन्। मुख्यमन्त्रीले शपथ लिएसँगै पहिलो चरणमा मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ। विहीवार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शाही कालिकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद हुन्।
अाेली प्रधानमन्त्री भएपछि नवराज सिलवालकाे ट्वीट – मुलुकले उन्मुक्ति पायो
काठमाडौं, फागुन ४ । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले देशले अधिनायकवादी शासनबाट मुक्ती पाएको बताएका छन् । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अधिनायकवादी भएको बताउँदै सिलवालले अधिनायकवादी शासनबाट मुलुकले उन्मुत्ति पाएको बताएका हुन् । देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको ५ घण्टापछि ट्वीट गर्दै सिलवालले देउवाको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको उल्लेख गरे । उनले लेखेका छन् ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ,’’। उनकाे ट्वीटपछि सामाजीक सञ्जालमा सिलवालले चाँही उन्मुक्ति पाए जस्ता अालाेचना भैरहेकाे छ ।
राष्ट्रकविलाई नसुहाएको ‘फौजी पोशाक’
कुसुम भट्टराई/ सय वर्षको उमेर टेक्नै लागेका राष्ट्रकवि माधव घिमिरेले गतवर्ष एक भेटमा भनेका थिए, ‘मेरो महाकाव्य अब सकिनै लाग्यो ।’ राष्ट्रकविको त्यो महाकाब्य कहिले आउला भनेर व्यग्र प्रतिक्षा भइरहेको थियो, गएको पुसमा जेष्ठ नागरिकहरुले आयोजना गरेको पुनर्मिलन समारोहमा उनले भने, ‘अब म सय वर्ष पुग्नै लागें, सय वर्षको समारोहमा महाकाव्यको विमोचन हुनेछ ।’ वाह सिर्जना शक्ति ! वाह साहित्य शक्ति ! वाह शब्दको शक्ति ! त्यसैले त हो, आजसम्म राष्ट्रकविलाई दीर्घायू बनाएको । राजा महेन्द्रलाई भक्कानिन बाध्य पार्ने ‘गौरी’ शोककाव्य लेखेका कविको अजेय शक्ति भनेकै सिर्जनशीलता हो, जुन नदीझैं अहिले पनि गडगडाएर प्रवाहित भइरहेकै छ । त्यो दिन उनको मुहारमा दिव्य कान्ति, भगवान बुद्धकोजस्तो आनन्दित र स्थितप्रज्ञ मुस्कान अनि लहरे फूलको जस्तो लयात्मक बोली र चाल देख्दा लाग्थ्यो, राष्ट्रकवि ‘इन्लाइटेड’ भइसके । यो आभास मलाई केही वर्षपहिले पनि भइसकेको थियो, जब उनले एउटा उच्च चेतनाको कुरा गरेका थिए । सुरेन्द्र महर्जन ‘अमर’को उपन्यास विमोचनका लागि हामी कपुरधारास्थित निवासमा जाँदा राष्ट्रकविले भनेका थिए, ‘हामी कविहरु यो सारा ब्रम्हाण्ड कृष्ण विवर (ब्ल्याक होल)मा गएर समाप्त हुन्छ भनेर मान्दैनौं । हामी सर्जक हौं, हामी ध्वंशको हैन, सिर्जनाको कुरा गर्छौं, यो सँसारलाई सिंगार्ने कुरा गर्छौं ।’ ‘ब्ल्याक होल थ्यौरी’ सुत्रपात गर्ने महान वैज्ञानिक स्टेफन हकिङले पनि भनिसकेका छन्, ‘ब्ल्याक होलमा छिरिसकेपछि पनि पदार्थको अन्त्य हुँदैन, बरु त्यसबाट फेरि अर्को संसारको सिर्जनाको क्रम आरम्भ हुन्छ ।’ यसैलाई राष्ट्रकविले कवितामा उन्दै लेखे : ‘वैशाखको पहिलो फूल अचम्म हो खाली मेरो कहीँ अन्त्य छैन, आरम्भ हो खाली’ कविताका यी दुई पंक्तिमै सारा दर्शन समेटिएको छ । र, कुनै समबुद्ध पुरुषले मात्र यस्तो कुरा सोच्न सक्छ । यस्तो महान सर्जक, जो स्वयंप्रकाशित, स्वयंसम्मानित अनि स्वयं सुशोभित हुन्छ, उसका सामु कुनै पद या उपाधि भनेको गौण हो । मुर्झाएको मुहार सार्वजनिक मञ्चहरुमा देखिँदा प्रायः आकाश खुलेजस्तो मुस्कान छाडने राष्ट्रकवि माधव घिमिरेको एउटा अस्वाभाविक गाम्भीर्य झल्कने तस्वीर हालै मिडियामा देख्न पाइयो । तस्वीर मलाई अनौठो लाग्यो, जसमा राष्ट्रकवि जंगी पोशाकमा सजिएका छन् । मलाई मात्र हैन, त्यो तस्वीर अरुलाई पनि अनौठै लागेको रहेछ । पत्रकार एवं लेखक केदार शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखिहाले, ‘जुन लुगा लगाउँदा मान्छेको अनुहार उज्यालो हुन्छ, त्यही सुहाउँदिलो हुन्छ । मेरा प्रिय कविवर, त्यस्तो मीठो मुस्कानका मालिक तपाईको अनुहार केको बोझले यस्तो बनायो ?’ उनको स्टाटसमा एउटाले टिप्पणी ठोके, ‘सैनिक अनुशासनको बोझले’ । खासमा प्रश्न पोशाकको पनि थिएन, प्रश्न राष्ट्रकविको मुस्कानको पनि थिएन । प्रश्न थियो, राष्ट्रकविलाई दिइएको उपाधिको, जुन यतिबेला आलोचनाको विषय बनिरहेको छ । राष्ट्रकविलाई नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधि दिइएको घटनाले कला, साहित्य क्षेत्रमा तिब्र प्रतिकृया उत्पन्न भएको छ । राष्ट्रकवि मात्र हैन, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिसमेत भइसकेका जीवित किंवदन्तीलाई ‘एकतारे जर्नेल’ बनाइँदा मान भयो कि अपमान ? राष्ट्रकविलाई सहायक रथी बनाएर महारथीहरुले स्यालुट खान मिल्छ ? यो कस्तो महारथ हासिल गर्न खोजिएको हो ? प्रश्नहरु धरै खडा भएका छन् र यसबारेमा सामाजिक सञ्जालहरुमा कलाकार, साहित्यकार र पत्रकारका तीखा टिप्पणी आइरहेका छन् । पत्रकार केदार खड्काले यसलाई ‘राष्ट्रकविको घटुवा’ भनि टिप्पणी गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘सय वर्ष पुग्नै लागेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाले मानार्थ सहायक रथीको पदवी दिएर सिपाही बनाएछ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत भइसकेका घिमिरेलाई यसरी सेनाले घटुवा दर्जा भिडाउनु कत्ति पनि सुहाएन है । अब सेनाको बर्दी लगाएर सहायक रथी घिमिरेले उहाँभन्दा सिनियर रथीबृन्दलाई कसरी स्यालुट ठोक्नुहुन्छ, हेर्न रमाइलो होला । सेना सुरक्षाका बारेमा कलम चलाउँदै आएका पत्रकार पर्शुराम काफ्लेले पनि यो निर्णयको आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रकविको गरिमा राष्ट्रपति/प्रधानमन्त्री वा यस्ता औपचारिक ओहोदाभन्दा धेरै माथि छ । सेनाको मानार्थ सहायकरथी बनाएर राष्ट्रकविलाई सहसचिवभन्दा कम औपचारिक मर्यादामा सीमित पारिएको छ । सेनाको अनुचित प्रस्ताव मानेर देउवा सरकारले गल्ती गरेको छ ।’ मानभन्दा माथिको मान्छे ०६० सालमा सूर्यबहादुर थापा सरकारले कविवर माधव घिमिरेलाई ‘राष्ट्रकवि’को उपाधि दिएको थियो । तात्कालीन मुख्यसचिव डा. विमल कोइराला आफैं कवि भएकाले उनकै पहलमा त्यो सम्भव भएको थियो । खासमा त्यो नेपाली साहित्य, कला, संस्कृति र सिर्जनाप्रति राज्यको सर्वोच्च सम्मान थियो । जो आफैं आकाश हो, उसलाई एक टुक्रा इन्द्रेणीमा सीमित गर्ने काम नगरेको भए हुन्थ्यो । नेपाली साहित्यका एक महान र दुर्लभ सम्पदालाई आफ्नै मौलिक, स्वाभाविक र प्राकृतिक सौन्दर्यको बान्कीमै रहन दिएको भए हुन्थ्यो राजनीतिमा लागेर कुनै पनि नेपाली सर्वोच्च पद ‘राष्ट्रपति’ बन्न सक्छ । सेनामा भर्ती भएर कोही पनि नागरिक ‘प्रधान सेनापति’ बन्न सक्छ । प्रहरीमा भर्ति हुनेहरुका लागि सर्वोच्च पद भनेको ‘आईजीपी’ हो । ठीक त्यसैगरी एउटा कविले पनि सर्वोच्च पद पायो, राष्ट्रकवि । अझ, साहित्य र कला विधाको समाजमा प्रभाव, लोकप्रियता र गरीमा अन्यविधाभन्दा उच्च भएकाले राष्ट्रकविको स्थान सबैभन्दा माथि छ । घिमिरे जनताको हृदयको राजा भइसकेका छन् । उनलाई त्यसभन्दा तलका झिना मसीना पगरी गुथाउनु जरुरी थियो र ? राष्ट्रकवि घिमिरे जीवित किंवदन्ती झैं भएका छन् । सय वर्ष टेक्नै आँटेका र यो उमेरमा पनि ‘महाकाब्य लेखिरहेको छु’ भन्दै आएका राष्ट्रकवि आफै मान, सम्मान, गरीमा, ख्याती र लोकप्रियताका भण्डार हुन् । जसले बोल्दा पनि गीत र कविताको रस धारा प्रवाहित हुन्छ, त्यस्तो कवि हामीले देख्न पाउनु नै अदभूत घटना हो । जो आफैं आकाश हो, उसलाई एक टुक्रा इन्द्रेणीमा सीमित गर्ने काम नगरेको भए हुन्थ्यो । नेपाली साहित्यका एक महान र दुर्लभ सम्पदालाई आफ्नै मौलिक, स्वाभाविक र प्राकृतिक सौन्दर्यको बान्कीमै रहन दिएको भए हुन्थ्यो । कविवरको उच्च व्यक्तित्वको सजिव र सुन्दर चित्रमा जथाभावी रंग नपोतेको भए हुन्थ्यो । पोतियो, सुन्दर चित्रमा सानो धब्बा लाग्यो । जो आफै सम्मानको सगरमाथा भइसक्यो, उसलाई थप मानको के खाँचो ? जो आफै जन जनको हृदयको राजा भइसक्यो, उसलाई ‘एकतारे जर्नेल’ नदिएको भए हुन्थ्यो । दिइयो, अनि प्रतिक्रिया आयो, ‘राष्ट्रकविको घटुवा भयो ।’ सम्मान गर्नेले कसलाई कस्तो सम्मान गर्ने हो, त्यो जानेन भने त्यो सम्मान असल नियतले गरिएको भए पनि ‘अपमान’ भइदिनसक्छ भन्नेतर्फ सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ ।
धादिङमा दुर्घटना, गम्भीर घाइतेलाई काठमाडौं लगियो
धादिङ, फागुन ४ । गजुरी गाउँपालिका ५ घाटबेँसीमा आज बिहान ५ बजे बा ८१ प ६९८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २४ वर्षीय उपेन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ। गजुरी गाउँपालिका ५ घाटबेँसीमा आज बिहान ५ बजे बा ८१ प ६९८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २४ वर्षीय उपेन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ।
आज ग्याल्बो र सोनाम ल्होछार मनाइँदै, सार्वजनिक विदा
काठमाडौं, फागुन ४ । बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ । सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो । ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिए । तीनकुनेमा विशेष कार्यक्रम, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने यसैबीच राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा तामाङ समुदायमा रौनक छाएको छ । काठमाडौंको तिनकुने शुक्रबार र शनिबार सांस्कृतिक महोत्सव हुँदैछ । महोत्सवको आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने ल्होछार मूल समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए । उनका अनुसार औपचारिक कार्यक्रम शुरु हुनु अघि काठमाडौंको सिनामंगल, नयाँ बानेश्वर र ललितपुरको बालकुमारीबाट साँस्कृतिक झाँकीसहितको र्याली निकालिँदैछ । आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पूजापाठ गर्ने, नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार खाने तथा सामुहिक नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस्तै आफूभन्दा ठूलाबडासँग टीका ग्रहण गरी आशिर्वाद थाप्ने प्रचलन छ । आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटी), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ ।
राजीनामा दिने कर्मचारीको लर्को – ईन्जिनियरदेखि कार्यालय सहयोगीसम्म
काठमाडौं, फागुन ४ । नुवाकोट जिल्लाको आधा दर्जन कर्मचारीले राजीनामाका लागि जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गराएका छन् । ती कर्मचारीमा जिल्ला प्राविधिक कार्यालय प्रमखु ईन्जिनियर सुनीलराज गिरी, कारागार कार्यालयका प्रमुख टंकराज चिमोरिया, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेल, मेघाङ गाउँपालिकामा कार्यरत लेखापाल खगराज ढंगाना, सचिवहरु रामकृष्ण श्रेष्ठ र किरणमणि श्रेष्ठ, प्राविधिक कार्यालयका सहयोगी सौदा तामाङ छन् । यो संख्या अझै बढ्छ होला, निमित्त प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले भने ।, – कान्तिपुरमा खबर छ ।
अाेली प्रधानमन्त्री बने लगत्तै महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिए
काठमाडौं, फागुन ४ । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता भण्डारीलाई गत भदौ २ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए । प्रधानमन्त्रीलाई राजीनामा दिएको छु, भण्डारीले भने । भण्डारीले सहयोगका लागि सबैलाई धन्यवाद दिए । अन्नपूर्ण पोस्टमा खबर छ ।
भारतीय गाडीमा गाउँपालिका प्रमुख !
कपिलवस्तु, फागुन ४ । कपिलवस्तुको यशोधरा गाउँपालिकाले चालु बर्षको माघसम्ममा ८ लाख ४० रुपैयाँ गाडीभाडा तिरेको छ । गाउँपालिका प्रमुख गिरजेशकुमार पाण्डेले भारतीय नम्बर प्लेट युपी ५५ डब्लु ९३६७ नं. को स्कार्पियो गाडी भाडामा लिएर चलाउँदा उक्त रकम भाडा उठेको हो । दैनिक ४ हजार तिर्ने गरी गाडी भाडामा लिएको गाउँपालिकाले जनाएको छ । मासिक १ लाख २० हजार रुपैयाँ भाडावापत तिर्दै आएको छ । तेल खर्च पनि पालिकाले नै ब्याहोर्ने हो । अध्यक्ष पाण्डेले गत साउनदेखि माघसम्म यही गाडी प्रयोग गरेका छन् ।, कान्तिपुरमा खबर छ । पत्रपत्रिकाबाट
यसकारण कार्यकक्षमै थुनिए वडाध्यक्ष
खोटाङ, फागुन ४ । सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाललाई बिहीबार एक समहुले कार्यकक्षमै थुनेको छ । ३० लाखको लागतमा निर्माण हुने बुईपा विजयखर्क वडा कार्यालय हुँदै जोड्ने सडक निर्माणका लागि उपभोक्ता समिति गठनमा असन्तुष्ट जनाउँदै उक्त समहुले वडाध्यक्ष ढकाल कार्यालयभित्र रहेको समयमा ताल्चा लगाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले दिए । प्रहरी चौकी बुईपाबाट गएका सुरक्षाकर्मीले वडा कार्यालयमा लगाईएको ताल्चा केही समयपछि खोलेका थिए । -नागरिक दैनिकमा खबर छ ।
घरजग्गाको मूल्य आकासियो
तेह्रथुम, फागुन ४ । ग्रामिण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले तेह्रथुमका स्थानीय तहको पुनसंरचना गरेपछि घरजग्गाको मूल्य आकासिएको छ । गाउँपालिका केन्द्र तोकिएको स्थान र आसपासका क्षेत्रमा हाल घर घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रुपमा हुन थालेका छन् । फलस्वरुप जग्गा र घडेरीको मूल्य पहिलेको भन्दा दोब्बर तेब्बरले बढेको छ । पुनर्संरचनापछि सदरमुकाम म्याङलुङमा मात्रै केन्द्रित भएको सरकारी सेवा सुविधा गाउँ गाउँमा रहेका बजारसम्म पुगेको छ । केही महिनाअघिसम्म असुविधायुक्त भनिएका बजारहरु नै अहिले सेवाग्राहीको गन्तव्य बनेको खबर आजको कारोबारमा छापिएको छ । केन्द्र तोकिएका बजारमा चहल पहल बढ्दो छ । ती बजारमा घरजग्गाको कारोबारसमेत आकासिएको छ ।
मिर्गौला पीडित गायिका जलजलाको उपचारका लागि संकलित सहयोग रकम हस्तान्तरण
सोलुखुम्बु, माघ २७ । मिर्गौला पीडित गायिका जलजला परियारलाई सोलुखुम्बुका दलित युवाहरुले आर्थिक सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर उपचार गराइरहेकी परियारलाई प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे प्रतिष्ठान र लौरश्वर दलित युवा समाज तिङला सोलुखुम्बुकोे संयुक्त पहलमा सोलुखुम्बुमा सङ्कलन गरिएको ५३ हजार २५० रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । राजधानीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारको उपचारमा थप मद्दत पुगोस् भनेर पीडितका बुबा नारायणबहादुर दर्जीलाई रकम हस्तान्तरण गरिएको दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने विजय घिमिरे विश्वकर्मा र लौरश्वर दलित युवा समाज सोलुखुम्बुका अध्यक्ष नीरकुमार नेपालीले बताए । जलजलाको उपचारमा करिब २५ लाख रुपैयाँ लाग्ने भएकाले सहयोग जुटाउन पहल भइरहेको हो । सानो सहयोगले एउटा कलाकारको ज्यान बचाउन सकिन्छ भनेर रकम सङ्कलन गरी पठाइएको उनीहरुको भनाइ छ । अर्घाखाँची ढाकावाङ–८ निवासी २१ वर्षीया जलजला परियार नेपाली तारा सिजन–३ को उत्कृष्ट ४ सम्म पुगेकी थिइ भने रेडियो नेपालद्वारा आयोजित देशव्यापी गायन प्रतियोगितामा दोस्रो भएकी थिइन् ।
धनगढी विमानस्थलमा भिओर/डिएमई उपकरण जडानका लागि अध्ययन सुरु
कैलाली, माघ २७ । कैलालीको धनगढी विमानस्थलमा भिओर/डिएमई उपकरण जडानका लागि अध्ययन सुरु भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण र निर्माण कम्पनी नेपाल ईको चार्ली (एनईसी)ले अध्ययन सुरु गरेका हुन् । प्राधिकरणका उपनिर्देशक सञ्जिव सिंह कठायतसहित निर्माण कम्पनी एनईसीको प्राविधिक टोलीले धनगढीमा अध्ययन सुरु गरेका हुन् । प्राधिकरणसँग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले दुई वर्षअघि नै धनगढी विमानस्थलमा भिओर/डिएमई र एप्रोच लाईट जडानको सम्झौता गरेको थियो । सम्झौता बमोजिम त्यसको अध्ययनपछि मेसिन जडान गर्ने उद्देश्यका साथ उक्त टोली आएको विमानस्थल प्रमुख छविसिंह ठकुल्लाले बताए । टोलीले विमानस्थल टावर र मेसिन कहाँ, कसरी र कुन ठाउँमा जडान गर्ने भन्नेबारे अध्ययन गर्ने छ । आगामी वर्षको हिउँददेखि धनगढी विमानस्थलमा जहाजको दिशा निर्देश गर्ने उपकरण भिओर, पाइलटलाई विमानस्थल र जहाजको दुरीको निर्देश गर्ने डिएमई र रात्रीकालीन उडानका लागि एप्रोच लाईट जडान कार्य सुरु हुनेछ ।
सिंचाइ सचिव चढेको जीप भेटियो, बेपत्ता तीन जनाको खाेजी जारी
धादिङ, माघ २७ । सिँचाइ मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जीप त्रिशुली नदिमा भेटिएको छ । जीप दुर्घटना स्थलभन्दा करिव २० फिट तल फेला परेको प्रहरीले जनाएको छ । जीप सडकबाट अन्दाजी ९० मिटर तल खसेको छ । जीप निकाल्ने प्रयास भइरहेको घटना स्थलमा रहेका प्रहरी सहायक निरिक्षक पूर्णबहादुर लामाले जानकारी दिए । गाडी पानीबाट बाहिर निकालेपछि मात्र थप भन्ने सकिने उनले बताए । कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्केका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि रहेको बताइएको छ । अर्का एक जनाको नाम खुल्न सकेको छैन । बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जीप पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोलाङबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका सर्लाहीका चालक निरन्जन यादवको काठमाडौंमा उपचार भइरहेको छ ।

