अनाथ बालबालिकासँग पत्रकारको होली
मोरङ । होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज स्थानीय नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ।
क्लबमा आवद्ध पत्रकारहरुले गृृहमा आश्रित अनाथ बालबालिकासँग होली मनाएका हुन् । क्लबले गृहमा आश्रित ४३ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए ।
सो अवसरमा मोरङ क्षेत्र नंं १ (क) का प्रदेशसभा सदस्य कुशल साम्बाले वाम गठबन्धनको वर्तमान सरकारले मुलुकको समृद्धि अभियानमा लाग्ने बताउनुभयो । रासस
हाेलीकाे दिन ११ सय सवारी साधन प्रहरीको नियन्त्रणमा
काठमाडाैं । होलीको अवसरमा ट्राफिक नियम विपरित चलाउने एक हजार एक सय तीनवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसमध्ये ८३ वटा सवारी साधन मादक पदार्थ सेवन गरेर चलाइएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । नियन्त्रणमा लिइएको सवारी साधनलाई साँझ ६ बजेबाट फिर्ता गर्न थालिएको छ । यस वर्ष होलीमा अप्रिय घटना भने नभएको पनि प्रहरीले जनाएको छ । एक जना गम्भीर घाइते हुनेबाहेक अन्य कुनै अप्रिय घटना नभएको प्रवक्ता मरासिनीले जानकारी दिए । नियन्त्रणमा लिएका सवारी धनीलाई भने यातायात व्यवस्था ऐन अनुसार कारबाही हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेलुका पनि अप्रिय घटना हुनसक्ने भन्दै सवारी साधन चेकजाँचको कामलाई कडाई गरेको छ । बेलुका मादक पदार्थ सेवन गरेर हुन सक्ने दुर्घटनालाई मध्यनजर राखेर चेकजाँचमा कडार्इं गरिएको पनि प्रवक्ता मरासिनीले स्पष्ट पारे । गत वर्ष भन्दा यस वर्ष होलीमा सवारी दुर्घटना कम भएको महाशाखाले जनाएको छ । महाशाखाले होलीमा सवारी दुर्घटना हुन नदिन विहान ६ बजेबाटै देशभर सवारी साधनको चेकजाँचलाई कडा पारेको थियो ।
काँग्रेस सभापति देउवाद्वारा होलीको शुभकामना
काठमाडौं, फागुन १७ । नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले पहाड र तराईमा खेलिने होली पर्वका अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा धार्मिक र सांस्कृतिक होली पर्वले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको उल्लेख छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम् सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटातर्फ लैजान सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
हर्षोल्लासपूर्ण रुपमा होली मनाइयो
काठमाडौं, फागुन १७ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहिआएको छ । तराई÷मधेश क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट अर्थात् भोलि शुक्रबार धुमधामसँग मनाउने गरिन्छ । यसै उपलक्ष्यमा सैनिक मञ्चको अगाडिको खुला क्षेत्रमा सामूहिकरुपमा होली मनाइएको थियो । विशेष गरी युवा÷युवती एकआपसमा रङ आदानप्रदान गर्दै उल्लासपूर्णरुपमा सो कार्यक्रममा सहभागी भएका थिए । पछिल्लो समय उपत्यकाको होली पर्व सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्नेक्रम खासै देखिँदैनथ्यो । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको मानिन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ ।
गल्छी–स्याफ्रुबेंसी सड्क बन्द नहुने
नुवाकोट, फागुन १७ । सडक विस्तारका कारण दैनिक छ घण्टा बन्द हुँदै आएको गल्छी–स्याफ्रुबेंसी सडकखण्डमा ११ दिन सवारी साधन आवतजावत गर्न बन्द नहुने भएको छ । नुवाकोट र धादिङ दुवै जिल्लामा बुधबारदेखि शुरु भएको महोत्सवलाई लक्ष्य गर्दै उक्त सडकखण्ड महोत्सव अवधिभर सञ्चालन हुने योजनाले पक्षले जनाएको छ । महोत्सवमा आउनेहरुलाई सहज आवतजावत गर्न यही फागुन १६ गतेदेखि २६ गतेसम्म यातायात बन्द नगर्ने सहमति भएको छ । सडक स्तरोन्ततिका लागि यही फागुन १ गतेदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यातायात सञ्चालनमा लगाइएकामा हाललाई खुला भएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँंवरले जानकारी दिनुभयोे । विसं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार राष्ट्रिय गौरवका रुपमा शुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम छ महिना थपसहित गरी २७ महिना ९२०७५ फागुन ५० मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । उक्त सडकको कार्यप्रगति गत माघ मसान्तसम्म आर्थिकतर्फ २१।३ र प्राविधिकतर्फ १४।३५ प्रतिशत भएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो ।
कानून अध्ययनमा कोटा, विद्यार्थीद्वारा विरोध
काठमाडौं, फागुन १७ । अब कानून विषय पढ्न चाहनेले प्रवेश परीक्षा दिनुपर्ने भएको छ । कानूनको स्नातक तह पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र भर्ना पाउने भएका हुन् । कानून संकाय डिनको कार्यालयले यो शैक्षिकसत्रदेखि कानून विषय पढाइ हुने क्याम्पसमा निश्चित कोटा तोकी भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ । यसअघि २०६५ सालसम्म प्रवेश परीक्षा दिनुपर्ने भएता पनि कोटा प्रणाली लागू नगरिएकाले जति पनि विद्यार्थीले पढ्न पाउने व्यवस्था गरेको थियो । त्यतिबेला औपचारिक रुपमा मात्र प्रवेश परीक्षा लिने गरिन्थ्यो । अब नेपाल ल क्याम्पससहित नेपालभरिका चार वटा क्याम्पसमा प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र स्नातक तहमा कानून विषय पढ्न पाइने व्यवस्था गरिएको छ । नेपाल ल क्याम्पसमा ५०० जना र उपत्यकाका बाहिर रहेका क्याम्पसमा १५० जनाको कोटा निर्धारिण गरिएको छ । क्याम्पसले यही फागुन १४ देखि चैत १५ सम्म एक महिना अवधिभित्र प्रवेश परीक्षाका लागि फारम भर्न भनेको छ र चैत २५ गते प्रवेश परीक्षाको मिति तोकेको छ । नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डिएन पराजुलीले कानून विषयको शिक्षालाई गुणस्तरीय बनाउन कोटा प्रणाली लागू गरिएको बताउनुभयो । उहाँका अनुसार विगतमा धेरै विद्यार्थी भर्ना गर्दा पढाइ राम्रोसँग सञ्चालन नभएको पाइएका कारण निश्चित विद्यार्थी भर्ना गरी पढाइको गुणस्तर सुधार्न प्रयास थालिएको हो । भौतिक पूर्वाधारको कमीले धेरै विद्यार्थीलाई पढाउने नसक्ने भएपछि कोटा प्रणाली लागू गरिएको बताइन्छ । “विगतमा स्नातक तहमा हजारौँ विद्यार्थी भर्ना हुन्थे,” उहाँले भन्नुभयो – “तर नियमित क्याम्पस आउने भने ३००/४०० मात्र हुन्थे । त्यसैले अहिले विद्यार्थीलाई नियमित कक्षामा उपस्थित हुने वातावरण बनाउन विद्यार्थी संख्या तोकी भर्ना लिन थालिएको हो ।” ल क्याम्पसमा गत वर्ष चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए । उहाँका अनुसार कक्षा कोठा र प्राध्यापकको कमीको कारण क्याम्पसले ५०० भन्दा बढी विद्यार्थी पढाउने क्षमता राख्दैन । यता, विद्यार्थी संगठन भने कोटा प्रणालीको विरोधमा छन् । उनीहरुले विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै विरोध गरेका हुन् । क्याम्पसमा पूर्व स्ववियु सभापति गुणराज आचार्यले विद्यार्थीको पढ्न पाउने अधिकारलाई क्याम्पसले कटौती गर्न थालेकाले विरोध गरेको बताउनुभयो । यसैबीच, अनेरास्ववियु एकाइ कमिटीले कोटा प्रणाली लागू गरिएको भन्दै डिन कार्यालय र ल क्याम्पसमा तालाबन्दी गरेको छ । कमिटीका अध्यक्ष हरि पंगेनीले कोटा प्रणालीको खारेजीको माग गदै डिनको कार्यालय र क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको जानकारी दिनुभयो । नेपाल ल क्याम्पसमा स्नातक तहमा तीन वर्षे एलएलबी र पाँच वर्षे बिएएलएलबी पढाइ हुने गरेको छ । एलएलबी पढ्न कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण हुनुपर्ने भने बिएएलएलबी पढ्न दश जोड दुई उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, यस क्याम्पसमा स्नातकोत्तर तह एलएलएममा बिहान ६ सेमेष्टर र दिउँसो ४ सेमेष्टर पढाइ हुने गरेको छ ।
नियम मिच्ने आठसय सवारी साधन नियन्त्रणमा
काठमाडौं, फागुन १७ । ट्राफिक प्रहरीले होलीको अवसरमा नियम उल्लंघन गरी चलाएका आठ सय छवटा सवारी साधन नियन्त्रणमा लिएको बताएको छ । त्यसैगरी जबर्जस्ती रङ दल्ने र लोला हान्ने दुईसय ७५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। होलीको अवसरमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्नेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। त्यसैगरी, प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लंघन गरी चलाएका सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
धनगढीमा कुकुर शाखा
धनगढी, फागुन १७ । कानून विपरीतका अवाञ्छित एवं आपराधिक काम कसैले गरिरहनुभएको छ भने सावधान रहनुहोला । किनकि अपराधको अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रदेश नं ७ को राजधानी धनगढीमा पहिलो पटक आजबाट तालीम प्राप्त कुकुर शाखा ‘डग केनेल’ सञ्चालनमा ल्याइएको छ । सो शाखामा व्यवस्था गरिएका चारवटा तालीम प्राप्त कुकुर अबदेखि अपराध अनुसन्धानमा प्रयोग गर्न लागिएको छ । संघीय प्रहरी एकाइ कार्यालय धनगढीको परिसरमा सञ्चालनमा आएको नवनिर्मित कुकुर शाखा भवनको आज प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गर्नुभयो । छ वटा कुकुरको बासस्थानसहित नौवटा कोठा रहेको उक्त एक तले कुकुर शाखा भवन रु ५९ लाख २१ हजारको लागतमा निर्माण भएको हो । विष्फोटक पदार्थ कसले र कहाँ राखिएको छ भन्ने पत्ता लगाउन कुकुर शाखामा जर्मन सेफर्ड जातको पोथी कुकुरको व्यवस्था गरिएको छ । यसको बोलाउने नाम ‘झुपा’ राखिएको छ । बोलाउने नाम ‘फुच्चे’ रहेको ल्याकाडोर जातको भाले कुकुर लागूऔषधको अनुसन्धान गर्नमा प्रयोग हुन लागेको छ । यस्तै, बोलाउने नाम ‘तुफान’ रहेको जर्मन सेफर्ड जातको अर्को पोथी कुकुर ‘ट्र्याकर’ (बाटो देखाउने) काममा प्रयोग हुन लागेको छ भने ‘राजा’ बोलाउने नाम दिइएको ल्याब्राडोर जातको भाले कुकुर पनि विष्फोटक पदार्थको अनुसन्धान गर्न प्रयोग हुन लागेको छ । कुकुर शाखामा यी तालीम प्राप्त कुकुरको व्यवस्था भएबाट प्रदेश नं ७ मा बेलाबखत हुने आपराधिक घटनाको अनुसन्धान गरी अपराध नियन्त्रणमा टेवा पुग्ने प्रहरी अधिकारीहरु बताउँछन् । “सल्यानमा दुई वर्षअघि आमाछोरीसहित महिलालाई बलात्कारपछि हत्या गरिएको घटनामा नेपालगञ्जबाट मगाइएको तालीमप्राप्त ‘भुन्टी’ कुकुरले घटनाको दुई दिनपछि अपराधी पत्ता लगाएको थियो,” प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले भन्नुभयो, “लागूऔषधको कारोबारी, चोरी डकैती गर्ने, हत्यारा पत्ता लगाउने, भिआइपीहरुको सुरक्षा प्रबन्धलगायतका कामका लागि तालीमप्राप्त कुकुर निकै सहयोगी देखिएका छन् ।” प्रदेश नं ७ मा अन्य घटनाका तुलनामा लागुऔषध कारोबारीका घटना बढ्दै गएको पाइएको छ । भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै लागुऔषधको कारोबार गर्नेहरु बढ्दै गए पनि यसको कारोबार पूर्णरुपमा रोकथाम हुन सकिरहेको छैन । कुकुर शाखाका प्रमुख प्रहरी सहायक निरीक्षक मदन गुरुङ कुकुरले आफूसँग रहेको सुँघ्न सक्ने र सुन्न सक्ने क्षमताका आधारमा अपराधी पत्ता लगाउने गरेको बताउनुहुन्छ । घरपरिवारको सुरक्षाका लागि निकै आज्ञाकारी मानिने कुकुरको हिन्दू परम्पराअनुसार तिहार पर्वका बेला माला र टीका लगाएर ‘कुकुर तिहार’ समेत मनाइन्छ । विगत १६ वर्षदेखि तालीम प्राप्त कुकुरको प्रयोग गरी अपराध अनुसन्धानमा संलग्न रहँदै आउनुभएका गुरुङले भन्नुभयो, “मानिसको भन्दा कुकुरमा सुँघ्न सक्ने क्षमता ५० गुणा, सुन्न सक्ने क्षमता २० गुणा र देख्न सक्ने क्षमता छ गुण बढी हुने हुँदा तालीमप्राप्त कुकुरको प्रयोगमार्फत अपराधी पत्ता लगाउन सहज हुने गरेको छ ।” यी कुकुरलाई अपराधी पत्ता लगाउने काममा प्रयोग गर्नुअघि शुरुमा ४५ दिने आज्ञाकारी तालीम दिएर दक्ष बनाइन्छ । त्यसपछि विषयगत तालीम दिनुपर्ने हुन्छ । एउटा कुकुरलाई आफ्नो क्षेत्रमा दक्ष बनाउन दुई वर्षभन्दा बढी समय लाग्ने गरेको अनुभव गुरुङले सुनाउनुभयो । ‘ट्र्याकर‘ ९बाटो देखाएर अपराधीसम्म पुग्ने काम०मा प्रयोग गरिने कुकुरलाई तीन महिने तालीम दिनुपर्ने हुन्छ । ‘ब्लड हण्ड’ जातको कुकुरमा अन्य जातका कुकुरको तुलनामा बढी सुँघ्ने र सुन्ने क्षमता हुन्छ । नेपालमा यो जातको कुकुर पहिलो पटक अमेरिकाबाट भित्र्याएर हाल तालीम दिने काम भइरहेको बताइको छ ।
माओवादी नेता टोपबहादुरलाई पितृशोक
काठमाडौं, फागुन १७ । पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ । रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार राति (गएराति) निधन भएको छ । सन्धिखर्क–९, अर्घाको खाडमा रहेको आफ्नै निवासमा रायमाझीको निधन भएको हो । रायमाझीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
सिरिया नरसंहारको विरोधमा र्याली
सप्तरी, फागुन १७ । सिरियामा भएको नरसंहारको विरोधमा बुधबार राजविराजमा ¥याली तथा मैनबत्ती प्रज्वलन गरिएको छ । राजविराज नगर बाल सञ्जाल र सप्तरी युथ नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा बालबालिका तथा युवाले जिल्ला खानेपानी कार्यालयदेखि नगर परिक्रमा गरी स्थानीयवासी गजेन्द्रचौकमा मैनबत्ती प्रज्वलन गरेको छ । बालबालिका मार्न पाइँदैन, हत्याहिंसा बन्द गर, सिरिया हिंसाविरुद्ध आवाज उठाऔँ लगायतका नारा लेखिएका ब्यानर र पोष्टर लिई नगरको परिक्रमा गरिएको थियो । सिरिया आतंकमा ज्यान गुमाएका १५० बालबालिकासहित ५०० भन्दा बढी सिरियाली नागरिकको मृत्यु भएको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो । कार्यक्रममा क्लिन काठमाडौँका संयोजक केपी खनाल, राजविराज नगरपालिकाका उप–प्रमुख साधना झा, राजविराज नगर बाल सञ्जालका अध्यक्ष मो जकाउल्ला र सप्तरी युथ नेपालका विष्णु यादवले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यौन, महिला र रंग लक्षित गीत गाउँदै भक्तपुरमा फागु
भक्तपुर, फागुन १७ । फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसंग बेग्लै रहेको छ । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा भीमसेनको लिंगको प्रतीक तीन हात लामो र तीस इन्च गोलाकारको लिंग आकारको काठ प्रदर्शनसँगै शुरु हुने फागुपर्वलाई विशेषगरी यौनरस युक्त र महिलालाई लक्षित गरी गीत गाउने तथा व्यङ्ग्य गर्ने चाडका रुपमा बेग्लै रौनक र तरिकाले मनाइने गरिन्छ । लिंगसँगै यौन समागमको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिंग प्रवेश गराइएको हुन्छ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रुपमा लिइन्छ । भक्तपुरमा बिहानैदेखि टोलटोलबाट परम्परागत बाँसुरी बाजा, धिमेबाजा बजाउँदैं गीत संगीतसहित महिला–पुरुष एकअर्कालाई जिस्काउँदै नाचगानसहित फागु पर्व मनाउने गर्दछन् । होलीका नेवारी परम्परागत लोकभाका र गीतसंगीत पनि महिला र यौनसँग सम्बन्धित रहेका छन् । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूलहरु फुल्न थालेसँगै मानिसको मन मस्तिष्क समेतमा एक खालको तरंग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्हरुको भनाइ रहेको छ । होलीया मेला, मय्जू मस्युला १ अविर भचाः नः, तये मज्युला १ ‘होलीको बेला मायालाई थाहा छैन र, अबिर अलिकति पनि राख्नु हुन्न र रु’ अर्थको योे गीत नेवारी समाजमा फागु पर्वको चर्चित र सर्वाधिक लोकप्रिय गीत हो । नेवारी समुदायमा लोकप्रिय र प्रख्यात यस गीतले फागु अर्थात् होली पर्व महिला लक्षित चाडका रुपमा व्याख्या गर्दछ । त्यसैगरी झ्या दकंः तुँकंः मा, व हे ल्यासे जित मा, व ल्यासे मदेकः जा हे मनया अर्थात् ‘झ्याल भरी तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न’ भन्ने बोलले पनि होली विशेषगरी महिला लक्षित चाड पर्व भएको पुष्टि हुन्छ । “सत्रौँ शताब्दीदेखी नै कृषि पेशामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौनरसयुक्त संगीत गुञ्जने गरेको हो,” संस्कृतिकर्मी ओम धौभडेल भन्नुहुन्छ । फागुमा यौन भावयुक्त गीत गाउने प्रचलन भए पनि फागु पर्व अश्लील पर्व भने नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “फागुलाई नितान्त सांस्कृतिक, विशुद्ध मनोरञ्जनपूर्ण र जीवन्त संस्कृतिका रुपमा लिनु पर्दछ ।” फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रंगमा रंगिने र सबैले खुशीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको बताउनुभयो । यसैगरी, अर्का संस्कृतिविद् एवम् इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले प्राचीनकालमा समाज पुरुष प्रधानका रुपमा विकास भएसँगै महिलालाई शृंगारको प्रतीकका रुपमा लिने र महिलालाई यौन चाहना पूरा गर्ने साधनका रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिला लक्षित गीतसंगीत गुञ्जने गरेको बताउनुहुन्छ । भक्तपुरको तचपालमा गाडिने चीरसँगै भीमसेन र द्रौपदीको यौन समागमको प्रतीकस्वरुप काठको लिंग र बीचमा प्वाल परेको रातो कपडा प्रदर्शनमा राखिनुले पनि होली महिला र यौन केन्द्रित पर्व भएको पुष्टि हुने श्रेष्ठ बताउनुहुन्छ । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रंगाउने पर्वका रुपमा प्रचलित फागु पर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकआपसमा अबिर दलेर टोल–छिमेक परिक्रमा गर्ने परम्परा समेत रहेको छ । युगौँदेखि मनाइँदै आएको हर्ष र उल्लासको पर्व फागुलाई अहिलेका युवापुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागु पर्व सामाजिक विकृतिका रुपमा देखिन थालेको छ । उमेर, लिंग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रंगी–विरंगी रंग एकआपसमा लगाएर वातावरणलाई नै रंगमय बनाई बडो हर्सोल्लासका साथ मनाइने फागु पर्वलाई युवापिँढीले गर्ने उच्छृंखल क्रियाकलापका कारण यो पर्व त्रासको पर्वका रुपमा परिणत भएको संस्कृतिकर्मी धौभडेलले बताउनुभयो । “मदिरा सेवन गरेर छाडा शब्द प्रयोग गर्ने, जबर्जस्ती अरूलाई अबिर दल्ने र लोला हान्ने प्रवृत्तिले फागु त्रासको पर्वका रुपमा विकास भएको छ,” उहाँले भन्नुभयोे । शास्त्र अनुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रल्हाद असाध्यै विष्णुभक्त थिए । उनको विष्णुभक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रल्हादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछन् । तर प्रल्हादलाई केही हुँदैन । हिरण्यकश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रशन्न भएर अग्निदेवले आगोले छुन नसक्ने वरदान दिएका थिए । यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रल्हादलाई अग्निमा दहन गर्ने योजना बनाउँछन् । सो योजनाअनुसार होलिका प्रल्हादलाई काखमा राखी अग्निमा बस्दछिन् तर प्रल्हादको सच्चा भक्तिले गर्दा होलिकाको जलेर मृत्यु भएको तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको खुशियालीमा होली पर्व मनाउन थालिएको कथन रहेको पाइन्छ । भक्तपुरमा फागु पूर्णिमाका दिन साँझपख सो लिंगलाई एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिंग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुति पनि रहेको पाइन्छ । रासस
मर्यादितरुपमा होली मनाउन चार धर्मगुरुको अपिल
नेपालगन्ज, फागुन १७ यहाँका धर्मगुरुहरुले होली पर्व मर्यादित र शान्तिपूर्णरुपमा मनाउन अपिल गर्नुभएको छ । बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गर्नुभएको हो । आज र भोलि दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँग छलफल गरिएको थियो । प्रजिअ रमेशकुमार केसीको नेतृत्वमा भएको छलफलमा होली पर्वलाई धार्मिक तथा सामाजिक सद्भावयुक्त बनाउने सन्दर्भमा छलफल भएको थियो । बैठकमा विशेषतः बाँके जिल्लामा मनाइने होली पर्व शुक्रबार परेको र शुक्रबार नै मुस्लिम धर्मावलम्बीको नमाज पढ्ने दिन भएकाले उच्च सतर्कता अपनाउनुपर्ने विषयमा छलफल गरिएको थियो । यसैबीच, बुधबार बसेको बाँके जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा अवस्थाको समीक्षासमेत गरेको छ । प्रजिअ केसीको अध्यक्षतामा बसेको बैठकमा आज र भोलि मनाइने होलीमा कुनै व्यवधान आउन नदिन अपनाउनुपर्ने सुरक्षा रणनीति पनि तय गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा जिल्लाका सबै सुरक्षा अंगका प्रमुखको उपस्थिति थियो ।
पोषण संवेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौं, फागुन १७ । सहभागितात्मक कृषि व्यवसाय तथा साना कृषकलाई बजारसँग जोड्ने, कृषि बजारलाई पोषण संवेदनशील बनाउने र पोषण संवेदनशील कृषिसम्बन्धी अभ्यासलाई दिगोपना दिने निष्कर्षसहित पहाडी क्षेत्रमा पोषण संवेदनशील कृषिसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा नेपाल र भारतमा कार्यरत सेवा प्रदायकहरुले पशुमा आधारित कृषि प्रणाली, ग्रामीण सेवा प्रदायकहरुको अन्तर्राष्ट्रिय पहाडी कृषि पारस्थितिकीय प्रणाली कार्यगत सञ्जालमार्फत ग्रामीण क्षेत्रका महिलाको पोषण, स्वास्थ्य तथा आम्दानी अवस्था सुधार गर्न भएका पहलका साथै मानव पोषण सुधारका लागि माटोको अवस्था सुधार्नु पर्ने पक्षका साथै संरक्षित खेतीपातीका बारेमा पनि जोड दिइएको छ । सम्मेलनका सहभागी कार्यपत्र प्रस्तोताहरुले स्वास्थ्य तथा पोषण क्षेत्रमा कार्यरत सेवा प्रदायकले सो कार्यक्रमले गर्दा पोषण र कृषिलाई हेर्ने आफ्नो धारणामा परिवर्तन आएको महसुस भएको विचार व्यक्त गरेका थिए । उनीहरुले ग्रामीण क्षेत्रका जनताको पोषण सुधारका लागि कृषिको भूमिका झन महत्वपूर्ण भएको र आगामी दिनमा पोषण तथा स्वास्थ्य सुधारका लागि कृषिलाई पनि सँगसँगै अगाडि लैजाने धारणा राखेका थिए । पहाडी क्षेत्रका समुदायको पोषण सुधारका लागि माटोका उर्वराशक्ति सुधारमा पनि उत्तिकै ध्यान दिनुपर्ने पक्षमा शत्रमा सहभागी सेवा प्रदायकको भनाइ छ । सम्मेलन समापनका क्रममा पूर्व सचिव आत्माराम पाण्डेले बृहत्स्तरमा प्रभाव ल्याउनका लागि पोषण संवेदनशील कृषि अभ्यासको स्थानीयकरण गरिनुपर्नेमा जोड दिनुभयो । हेल्भेटास स्विस इन्टरकोअपरेशन नेपालका राष्ट्रिय निर्देशक डा भरतकुमार पोखरेलले खाद्य विविधता र पोषण एक अर्कामा सम्बन्धित भएकाले पोषणलाई एकीकृत रुपमा व्याख्या गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । पोषणको अवस्था सुधार गर्नका लागि उक्त क्षेत्रमा कार्यरत सेवा प्रदायकहरु सामूहिक रुपमा समन्वयात्मक ढंगले अगाडि बढ्न सकिने उहाँको भनाइ थियो । सोही संस्थाका अन्तर्राष्ट्रिय कार्यक्रम सल्लाहकर्ता डा जेन कार्टरले स्थानीयस्तरमा ग्रामीण समुदायको पोषण सुधार गर्न स–साना प्रयासको महत्वपूर्ण योगदान हुने र झन प्रभावकारी हुने पक्षमाथि प्रकाश पार्नुभएको थियो । उहाँले पोषण मानव संस्कृतिसँग सम्बन्धित भएको र पोषण संवेदनशील कृषि शहरी कृषि प्रणालीमा पनि समाहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आइफोम अर्गेनिक्स इन्टरनेशनल, जर्मनीका कार्यकारी निर्देशक मार्कस आर्वेञ्जले पहाडी क्षेत्रका ग्रामीण समुदायको कुपोषणको अवस्था सुधार गर्न कृषिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । हेल्भेटास, एफआइबिएल र आइएफओएम अर्गान्स इन्टरनेशनलले आयोजना गरेको दुईदिने सो सम्मेलनमा नेपालसहित पाकिस्तान, भारत, पेरु, इथियोपिया, कीर्गिस्तान, जर्मनी, स्विजरल्याण्ड र हल्याण्डका गरी करिब १५० विज्ञको सभागिता थियो । यसअघि यस किसिमको सम्मेलन सन् २०१६ मा पाकिस्तानमा आयोजना गरिएको थियो ।
आठ वर्षीय बालिका बलात्कृत
पर्सा, फागुन १७ । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् । बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुर्छित अवस्थामा फेला परेपछि घटनाबारे जानकारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । बालिकालाई बुधबारै साँझ उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना गराइएको नायब उपरीक्षक लिम्बूले बताउनुभयो । बालिकाको शरीरको विभिन्न स्थानमा घाउ लागेको तथा उनको गोप्य अंगमा समेत गहिरो घाउ भएको फेला परेपछि आवश्यक प्रमाण संकलन गरी गएराति नै उनको उपक्षेत्रीय अस्पतालमा सल्यक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहनुभएका नायब उपरीक्षक लिम्बूले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली पटेर्वासुगौली गाउँपालिकामा खटाइएको प्रवक्ता लिम्बूले बताउनुभयो । अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यस्थिति गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
मक्का मदिना जाने हजयात्रीलाई विशेष खोप लगाउने तयारी
काठमाडौं, फागुन १६ । सन् २०१८ मा साउदी अरबको मक्का मदिना जाने हजयात्रीलाई सरकारले विशेष खोप लगाइदिने भएको छ । १५ सय हजयात्रीलाई विभिन्न सरुवारोगविरुद्धको खोप दिने भएको हो । आजको नयाँ पत्रिकामा खबर छ । ‘मुस्लिम समुदायबाट विश्वका लाखौँ सहभागी हुने भएकाले विभिन्न रोग संक्रमण हुन सक्छ,’ नेपाल हज समितिका अध्यक्ष मोहमद सोयले भने, ‘जोखिमबाट जोगिन त्यहाँ जाने १५ सय नेपालीलाई सरुवारोगविरुद्धको खोप दिन लागिएको हो ।’ मक्का मदिना हज ५४ दिनसम्म चल्छ । सोयदका अनुसार १६ देखि २२ साउनभित्र अरब पुगिसक्नुपर्नेछ । ४ देखि ९ भदौसम्म मक्का मदिनामा २४सै घन्टा हज गरिने उनले बताए । गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको सचिवालयले हजमा सहभागी हुने १५ सयलाई विशेष खोप दिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । त्यहाँ सरुवारोगको जोखिम भएकाले आफ्ना नागरिकलाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूलाई मेनेन्जाइटिस, पोलियो, भाइरल फ्लु र इन्फ्लुन्जाविरुद्धको खोप लगाइने भएको हो । नेपाल हज समितिले पनि खोपका लागि मन्त्रालयलाई पत्र काटिसकेको छ । ‘संक्रमणको जोखिम न्यूनीकरण गर्न खोप नलगाई जान प्रतिबन्ध छ, उसले पत्रमा भनेको छ, ‘त्यसैले आगामी वर्ष १५ देखि २१ साउनसम्म सबै यात्रीलाई अनिवार्य खोप लगाउन अनुरोध गरिन्छ ।’
मासिक ४० हजारदेखि ४० लाख रुपैयाँसम्म तलव लिएर नेपालमा जागिर खाँदै विदेशीहरु
काठमाडौं, फागुन १६ । पछिल्लो समय ‘रेमिटेन्स’ र ‘वैदेशिक रोजगार’ नेपालको पहिचान बनेको छ । नबनोस् पनि किन ? दैनिक डेढ हजार नेपाली वैदेशिक रोजगारको सिलसिलामा मलेसिया तथा खाडी राष्ट्र पुग्छन् । उनीहरुले पठाएको पैसा (रेमिटेन्स) ले नै देश चलेको छ । तर धेरैलाई थाहा छैन, जसरी नेपाली राजगारीको सिलसिलामा विदेशिन्छन्, त्यसरी नै केही विदेशीलाई नेपालले पनि आकर्षित गर्ने गरेको छ । सुन्दा आश्चर्य लाग्न सक्छ, रोजगारका लागि नेपालीहरु धमाधम विदेशिरहेका बेला रोजगार खोज्दै नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीको संख्या यो वर्ष ह्वात्तै वृद्धि भएको छ । ‘श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशीको संख्या बढ्दो छ,’ श्रम विभागका निर्देशक वरुणकुमार झाले भने, ‘विना श्रम स्वीकृति अवैध तरिकाले कोही विदेशीले पनि यहाँ काम नगरुन् भनेर सबैलाई श्रम कानूनको दायरामा ल्याउने प्रयासमा हामी छौं ।’ श्रम विभागको तथ्यांकअनुसार २०७४ वैशाख १ गतेदेखि माघ मसान्तसम्म २ हजार ३ सय ७० विदेशीले श्रम स्वीकृति लिएका छन् । यो संख्या नेपालमा काम गर्ने भारतीयबाहेक हो । थोरै अवधिमा यतिधेरै विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएको यो पहिलोपटक हो । मासिक २० हजार कमाउन नेपाली युवा मलेसिया तथा खाडी मुलुकमा भौतारिरहँदा नेपालमा काम गर्ने विदेशीले भने मासिक ४० हजार रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् । नेपालमा सबैभन्दा कम तलव बुझ्ने विदेशी कामदारमा जलविद्युत परियोजनामा काम गर्ने चिनियाँ छन् । बढी पारिश्रमिक बुझ्नेमा अमेरिकी तथा युरोपेली छन् । अमेरिकी तथा युरोपेली सहयोगमा नेपालमा सञ्चालित संस्थामा का मगर्ने ती मुलुकका नागरिकले ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् । –नागरिक दैनिकबाट

