कान्तिपुरमाथि लगाइएको मानहानी मुद्दाप्रति चौतारीको आपत्ति

काठमाडौं, फागुन १५ । प्रेस चौतारी नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा प्रकाशित समाचारलाई लिएर कान्तिपुर दैनिकमाथि चलिरेको मानहानीको मुद्दाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

चौतारीका महासचिव राजेश राईले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली आम सञ्चारकर्मी र आम सञ्चार माध्यमको संघर्षको जगमा बनेको नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको हुँदा सञ्चारमाध्यममा कुनै सामग्री प्रकाशन तथा प्रसारण गर्नु उसको सबैधानिक अधिकार भएको उल्लेख छ ।

प्रधानन्यायाधीश पराजुली आफंै मुद्दाको पक्ष भएको मामिलामा समाचार लेख्दा अपहेलनामा कारबाही चलाउनुले प्रतिशोधको भावना लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको हो रु भन्ने प्रश्न स्वतः उठेको विज्ञप्तिमा छ ।

प्रधानन्यायाधीश पराजुलीले आफैंसँग सम्बन्धित मुद्दा आफैंले हेरेपछि सम्मानित अदालतबाट स्वतन्त्र न्यायिक निरोपण हुनेमा स्वभाविक आंशका उत्पन्न भएको चौतारीको ठहर छ, विज्ञप्तिमा भनिएको छ– “जुनसुकै सञ्चारमाध्यमले पनि समाचार प्रकाशन र प्रसारण गर्दा संविधान र प्रेस जगतले अबलम्बन गर्दै आइरहेका नीति, नियम, मूल्य–मान्यता र आर्दशलाई पालना गर्नुपर्छ भन्नेमा चौतारी दृढ रहेको छ ।”

मंगलबार सुन्दरीजलकै सर्वसाधारणले पानी नपाएपछि खानेपानी र वडा कार्यालयमा घेराउ

काठमाडौँ । काठमाडौँ उपत्यकाकै सबभन्दा बढी पानीको स्रोत सुन्दरीजल क्षेत्रकै धारामा डेढ महिनादेखि पानी नझरेपछि स्थानीयवासी महिलाले आज खानेपानी र वडा कार्यालय घेराउ गरेका छन् । यस क्षेत्रका धारामा माघ लागेदेखि नै पानी खसेको छैन । पानीको स्रोत भएका क्षेत्रमै पानी खोज्न हिँड्नुपरेको जनाउँदै स्थानीय महिलाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका सुन्दरीजल प्रशोधन केन्द्र र गोकर्णेश्वर नगरपालिका वडा नं १ कार्यालय घेराउ गरे । पटक पटक खानेपानी कार्यालयमा खबर गर्दा पनि पानीको मुहान क्षेत्रमा खानेपानी नआएपछि घेराउ गर्न बाध्य हुनुपरेको स्थानीयवासी पुष्पा पोखरेलले बताईन्। “अन्तका मानिसले सुन्दरीजलमा त पानीको दुःख नहोला नि भन्छन्, तर यहीँका धारामा डेढ महिनादेखि पानी आएको छैन, प्रत्येक दिन ढुंगेधारामा पानी लिन जानुपर्छ, ढुंगेधारा थोरै भएकाले एक गाग्री पानीका लागि दैनिक तीन घण्टाको लाम बस्न बाध्य हुनुपरेको छ”, उनले भनिन् । पानी प्रशोधन केन्द्र कार्यालय सुन्दरीजलले भने एक दिन बिराएर सुन्दरीजल क्षेत्रमा पानी वितरण गरिएको जिकिर गरेको छ । कार्यालय प्रमुख वसन्त पाल वाग्मतीमा पानी सुके पनि मुहान क्षेत्रमा एक दिन नदिइए अर्को दिन पानी पठाइने गरिएको बताउछन् । “जनघनत्व कम भएका बेला दुई इञ्चको पाइपमा यस क्षेत्रमा पानी वितरण गरिएको थियो, अहिले घर बढेका छन्, पानी वितरण गर्ने पाइप बढाइएको छैन, कार्यालयले एक दिन बिराएर पानी वितरण गर्दा पनि सानो पाइपका कारण कतै पानी जाने र कतै नजाने समस्या छ”, उनले भने। सुन्दरीजल प्रशोधन केन्द्रमा हाल ४५ लाख लि पानी प्रशोधन गरी माथिदेखि नै वितरण हुन्छ । दुई करोड ५५ लाख लि पानी भने सुन्दरीजलबाट महाँकालचौर ल्याई प्रशोधन गरेर वितरण गरिन्छ । वाग्मती नदीको स्रोतबाट हाल दैनिक तीन करोड लि पानी वितरण भइरहेको कार्यालय प्रमुख पालले जानकारी दिए। । वर्षायाममा भने यहाँबाट दैनिक पाँच करोड लि पानी वितरण गरिन्छ । यो उपत्यकामै धेरै पानीको स्रोत भएको क्षेत्र हो । वडाध्यक्ष राम मानन्धर डेढ महिनादेखि मुहान क्षेत्रकै धारामा पानी नआएको समस्या लिएर स्थानीय महिला आएपछि खानेपानी कार्यालयमै लगेर कार्यालय प्रमुखसँग छलफल गरिएको बताउछन् । “सुन्दरीजल क्षेत्रको केही भागका धारामा गोकर्णमा ‘गेटभल्भ’ बन्द नगरी पानी आउँदैन, मुहान क्षेत्रमा २४सै घण्टा पानी आउने गरी व्यवस्था गर्न खानेपानी कार्यालयमा माग गरिएको छ, मेलम्चीको पानी प्रशोधनका लागि पनि यही प्रशोधन केन्द्र निर्माण भएकाले मेलम्चीको पानी यहाँ पनि वितरणको व्यवस्था मिलाउन पत्राचार गरिएको छ”, उनले भने। मुहान क्षेत्रकै धारामा पानी आउने व्यवस्था नगरे मेलम्चीको पानी आएपछि प्रशोधन केन्द्रबाट वितरणमा अवरोध गर्ने चेतावनी स्थानीयवासीले दिँदै आएका छन् । गोकर्णेश्वर नगरपालिकाका वडा नं २, ४, ५, ६, ७, ८ र ९ का धारामा पनि पानी आउँदैन । नगरपालिकाका नयाँपाटी, गोकर्ण, अत्तरखेल, बेसीगाउँ, जोरपाटी र नयाँबस्ती क्षेत्रमा पनि पानी नआएको दुई महिनाभन्दा बढी भएको स्थानीयवासीको गुनासो छ । नगर प्रमुख सन्तोष चालिसे मुहान क्षेत्रका वडामा पानी आउने व्यवस्था नभए मेलम्चीको पानी रोक्न बाध्य हुनुपर्ने चेतावनी सरकारका सम्बन्धित निकायलाई दिइएको बताउछन्। । पानी आउनुभन्दा वर्षौंअघिदेखि गरिएको अनुरोध कार्यान्वयन नभई पानी रोक्दा हुने क्षतिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने उनको भनाइ छ ।

सुर्खेतमा ट्र्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेत, फागुन १५ । सुर्खेतको मालारानीको कोटखोला नजिक मंगलबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । खरिगैरा बजारबाट फलामे छल (सरिया) बोकेर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोला नजिक अनियन्त्रित भई सड्कबाट तल खस्दाँ चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तबहादुर विक, शशीराम विक र नारायण खत्री रहेको प्रहरी जनाएको छ । घाइतेको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लागुऔषध सेवन आएका तीन बालकहरुको उद्धार

दमक । झापा जिल्लाको दमक नगरपालिकामा लामो समयदेखि लागूऔषध सेवन गर्दै आएका तीनजना बालकहरुलाई इलाका प्रहरी कार्यालय दमकले उद्धार गरेको छ । दमक ६ जेसिज चोकनजिकै सवाल नेपाल अनलाइनको कार्यालय अगाडि खाली ठाँउमा दिउसो १२ बजेतिर लागुऔषध प्रयोग गरिरहेका बालकहरु देखिपछि उनीहरुको उद्धारका लागि सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेल र प्रबन्धक केदारबाबु पौड्यालले शुरुवाती पहल गरेका थिए । त्यसमा लायन्स क्लवका अध्यक्ष रुद्र गौतमले साथ दिएका थिए । लागूऔषध प्रयोग गरिरहेका दमक १३ का दुई श्रेष्ठ दाजुभाइको बुबाको केही वर्षअघि मृत्यु भएको र आमा पनि अर्कैसँग विवाह गरेपछि सहाराविहीन भएको पाइएको थियो । अर्का दर्जी बालकको आमा विदेश गएको र बुबा मिस्त्री काम गर्दै गरेको बताएका थिए । उनीहरु लागुऔषधमा लठ्ठिरहेका थिए । लायन्स क्लव अफ माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहलमा उद्धारका लागि दमक नगरपालिका उपप्रमुख गीता अधिकारी उक्त स्थलमा नै आएकी थिइन । त्यो समयमा पनि बालकहरु लागु औषध प्रयोग गरिरहेका थिए । नगर उपप्रमुख अधिकारीले उनीहरुको अवस्था देखेर भावुक बन्दै राख्ने ठाँउको खोजी गरेकी थिइन् । तत्काल लागि राख्न दमकमा नै रहेको हेप्पी नेपाल सुधार केन्द्र तयार भएपछि उठाएर उनीहरुलाइ त्यही लगिएको थियो । उनीहरुको अवस्था अहिले सामान्य रहेको उपप्रमुख अधिकारीले जानकारी दिइन् । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीसमेत उद्धार कार्यमा आएका थिए । दमकमा यस प्रकारका डेढ दर्जनभन्दा बढी बालबालिका रहेको गिरीले जनाए । उपप्रमुख अधिकारीले सबैलाइ ३ महिनाभित्रमा उद्धार गर्न योजनाका साथ लागि पर्ने बताइन् । ३ जनालाइ सुधार गृहमा राखिएको र अरुलाइ पनि सुधार गृहमा राख्नका लागि आफूहरु सहयोग गर्न तयार रहेको लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष गौतमले बताए । उनले अरु सामाजिक संघसंस्थाहरुसंग समन्वय गरेर यस्ता बालबालिकाहरुको उद्धार गरिने उनको भनाइ रहेको थियो । सडकमा रहेका ३ बालकहरुलाइ उद्धार कार्यमा दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर बराल, लायन्सकर्मीहरु चन्द्र गजमेर, मनोज अग्रवाल, बुद्धिशेखर भट्टराईलगायतले तत्काल उद्धारमा सहयोग पर्याएका थिए ।

होली पर्वको अवसरमा भृकुटीमण्डपमा जुत्ता–चप्पलमा ५० प्रतिशत छुट अफर

काठमाडौं । बिहीबारबाट होली पर्वका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता-चप्पल मेलाले नयाँ अफर जारी गरेको छ । उक्त जुत्ता चप्पल मेलामा नेपालीहरुको रंगको पर्व होलीका अवसरमा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको आयोजकले जनाएको छ । मेला संयोजक प्रमोद महतोले प्रदर्शनीमा ५ सयभन्दा बढी नयाँ मोडेलका जुत्ता चप्पलहरु राखेको भन्दै ती सबै जुत्ता चप्पलमा अफर लागु हुने बताए । मेलामा केटिएम सुज, भेनस सुज, प्राइड स्वदेशी जुत्ता, फुट स्टेपस् सुज, हाइलाइफ फुट सुज, क्वालिटी शुज, शुभेक्छा शुज, सिद्धिविनायक फुटवेयर लगायतका ब्राण्डको जुत्ता, चप्पलहरु राखिएको छ । नेपालमा उत्पादित जुत्ताचप्पलको बजार विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा नेपाली जुत्तालाई सर्वसाधारणले अत्याधिक मन पराएको भेनस शुजका संचालक जीवन श्रेष्ठले बताए । दश दिनसम्म सञ्चालन हूने प्रदर्शनीमा अहिलेसम्म हजारौँ अवलोकनकर्ताहरुले अवलोकन गरिसकेको छन् । लाखौ रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । उक्त मेला यही फागुन १९ गतेसम्म चल्ने छ ।

सेवाग्राहीलाई झनै सास्तीः एउटै कोठाभित्र पाँच वडाको काम !

कञ्चनपुर, फागुन १२ । जनप्रतिनिधि आएको लामो समय बितिसक्दासमेत कञ्चनपुरका अधिकांश स्थानीय तहमा वडा कार्यालय स्थापना हुन नसक्दा कर्मचारी र सर्वसाधारणले समस्या झेल्दै आएका छन् । केन्द्रबाट जनतालाई दिने सबै सेवा सुविधा स्थानीय तहमा आएसँगै सेवाग्राहीको चाप बढेको छ । तर, स्थानीय तहमा अझै वडा कार्यालयसमेत स्थापना हुन सकेका छैनन् । कञ्चनपुरमा रहेका ९ स्थानीय तहमध्ये भिमदत्तनगर र बेदकोट नगरपालिका वाहेकका स्थानीय तहमा वडा वडामा कार्यालय स्थापना भएका छैनन । दुई दशक पछि सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि जनताले आफ्ना अधिकार र सेवा सुविधा गाउँमै पाउछु भन्नेमा ढुक्क थिए । तर अहिले भने पहिलेको भन्दा झन् सास्ती भोग्नु परेको भन्दै सेवाग्राही निराश बनेका छन् । कञ्चनपुरको महाकाली नगरपालिकामा समेत भवन अभावका कारण ५ वडा नगरपालिका साविकको दोधारा गाउँ विकास समितिको भवनमा स्थापना गरिएका छन भने ५ वडा साविकको चाँदनी गाविसको भवनमा स्थापना गरेर कार्य संचालन गरिएको छ । भौतिक संरचना र कर्मचारी अभावका कारण बेल्डाडि गाउँपालिकामा रहेका ५ वटै वडा संयुक्त रुपमा गाउँपालिकाको एउटै कोठामा ल्याएर वडा कार्यालय सञ्चालन गर्नुपर्ने वाध्यता रहेको बेल्डाड गाउँपालिकाका प्रशासकिय अधिकृत गणेश दत्त भट्ट बताउँछन् । स्थानीय तहमा कर्मचारी अभावलाई पद पुर्ति गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिले कर्मचारी समायोजनका लागी पहल गर्न ढिलाई गर्दा जिल्लाका अधिकांस स्थानीय तहमा कार्य सञ्चालन र सम्पादन गर्न समस्या विकराल वन्दै गएको छ । ५/५ वडा एक जना सचिवको भरमा चलाउनु परिरहेको र जनतालाई छिटो र दुरुस्त कामकाज दिन नसकिएको बेलौरी नगरपालिका ५ का वडा अध्यक्ष रामप्रकाश वडायक बताउँछन् । स्थानीय तहका जन प्रतिनिधिको अधिकारक्षेत्र भित्र गर्न मिल्ने सामान्य प्रकारका सेवा सुविधा दिन ढिलै भएपनी विषयगत काम कार्वाहीका लागी भने आफुहरुले जनताको काम गर्न नसकेको र यसरी विषय गत कर्मचारी तथा भौतिक संरचनाकोे चरम अभावका कारण वडामा मात्र नभई सवै स्थानिय तहमा अधिकांस कार्य सम्पादन गर्न समस्या भईरहेको बेलौरी नगरपालिका का वडा अध्यक्षद्धय अर्जुन ढकाल र साईतु कुमार चौधरी बताउँछन । जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई मात्रै समन्वय समितिले परिचालन र समायोजन गर्न मिल्ने र केन्द्रवाट समितिले कर्मचारी तान्न नमिल्ने भएकाले जनशक्तिकै अभावकै कारण स्थानीय तहमा विषयगत कर्मचारी पठाउन नसकिएको र केही समस्या सिर्जना भएको जिल्ला समन्यय समिति कञ्चनपुरले जनाएको छ । स्थानीय तहमा चाडो भन्दा चाडो कर्मचारी समायोजन गरी जनतालाई राहत दिनु सरकारको दायित्व भएकाले समस्या समाधान तर्फ सरकारको समयमै ध्यान जानु जरुरी छ ।

बिरामीका लागि निःशुल्क एसी बसको सेवा सुरु

बुटवल, फागुन १२ । रोट्यार्‍क्ट क्लब अफ सेन्ट्रल बुटवलले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि प्रदान गरेको निःशुल्क एसी बसले सेवा सुरु गरेको छ । बस सेवा शुभारम्भ गर्दै प्रदेश सरकारका भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरीले समुदायस्तरबाट सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले नागरिकलाई प्रदान गरेको सेवा अनुकरणीय रहेको बताए । अस्पतालमा सेवा लिन आउने विरामी र विरामीका आफन्तलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले बस सेवा सञ्चालन गरिएको हो । पहिलो चरणमा बुटवलको गोलपार्कदेखि तिलोत्तमा मणिग्रामसम्मका सर्वसाधारणलाई अस्पतालसम्म ल्याउने र अस्पतालदेखि पुनः गोलपार्क हुँदै मणिग्रामसम्म पुर्‍याइने अस्पतालले जनाएको छ ।

प्रदेश–६ को संसद बैठक अाज, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी

सुर्खेत, फागुन १२ । प्रदेश नम्बर–६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ । सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ । शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नम्बर–६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् ।

यसरी पाए समलिंगी जोडीले भिसा

काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतको फैसलापछि एक समलिंगी जोडीले वैवाहिक सम्बन्धका आधारमा गैर पर्यटकीय भिसा पाएका छन् । अध्यागमन विभागले समलिंगी विवाह गरेकी कञ्चनपुर घर भई भक्तपुर अनन्तलिंगेश्वर बस्ने सुमन पन्त र अमेरिकी युवती लेस्ली लुइक मेल्निकलाई शुक्रबार ६ महिनाको गैरपर्यटकीय भिसा दिएको हो । भिसा लिन दुवै जना शुक्रबार अपराह्न अध्यागमन विभाग पुगेका थिए । सुमन र अमेरिकी नागरिक लुइकले २०१५ डिसेम्बर १८ मा अमेरिकाको क्यालिफोर्नियामा ‘कोर्ट म्यारिज’ गरेका थिए । अध्यागमनले भिसा दरखास्त फारममा पति वा पत्नी उल्लेख भएकाले समलिंगी जोडीलाई भिसा दिन नमिल्ने भनेको थियो । त्यसपछि उनीहरू न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका थिए । लेस्लीले नेपालमा सुमनसँगै बस्न गैरपर्यटकीय अन्तर्गतको म्यारिज भिसाका लागि सन् २०१६ डिसेम्बर २९ अध्यागमन विभागमा निवेदन दिएकी थिइन् । भिसा लिने प्रक्रियामा गरिने सनाखतमा पति÷पत्नी शब्द प्रयोग नगरी अंग्रेजी भाषमा ‘स्पाउस’ शब्द प्रयोग गरिएको छ। सर्वोच्चको आदेशबमोजिम नै उनीहरूले भिसा पाएका हुन् । अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले गत कात्तिकको सर्वोच्चको आदेशबमोजिम पन्त र मेल्निकीलाई भिसा दिइएको बताए। निर्देशक निरौलाले अन्नपूर्णसँग भने, ‘उनीहरूलाई पहिलो पटकलाई ६ महिनाको भिसा दिएका छौं ।’ उनीहरूले भिसाका लागि अमेरिकामा दर्ता भएको विवाह प्रमाणपत्र, नेपालस्थित अमेरिकी दूतावासले दिएको प्रमाणपत्रलगायत कागजात पेस गरेका थिए। भिसा पाइसकेपछि उनीहरू निकै हर्षित मुद्रामा देखिन्थे । -अन्नपूर्ण पोस्टमा खबर छ ।

रंगशाला पुनर्निर्माण चीनले गर्ने: फेब्रुअरीभित्र हस्तान्तरण

काठमाडौं, फागुन १२ । भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले चिनियाँ टोली विगतमा आफूले निर्माण गरेका काठमाडौंका संरचनाको अवलोकन गरिरहेको छ । चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स्कोर बोर्ड (पूरै नयाँ), दशरथ स्टेडियमको साउन्ड सिस्टम बनाइदिनेछ । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल मर्मत, सुटिङ रेन्च सिस्टम पनि पूरै परिवर्तन गर्दै छ । काठमाडौंको लैनचौरस्थित कबर्डहलको साउन्ड सिस्टम परिवर्तनलगायत संरचना पुनर्निमाण गर्ने चीनले जनाएको छ । पुनर्निर्माण प्रक्रिया अहिले अध्ययनमै रहेकाले यकिन खर्च टुंगो लागेको छैन । यद्यपि, करिब १ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का वरिष्ठ इन्जिनियर अरुण उपाध्यायले बताए । निर्माण सामग्रीमा कर छुट पुनर्निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च चीनले नै व्यहोर्नेछ । तर, निर्माणमा आवश्यक सामान चीनबाट आयात गर्दा लाग्ने कर भने नेपाल सरकारले छुट दिने सम्झौता भएको छ । संरचना निर्माणका लागि आवश्यक दक्ष जनशक्ति, कन्सल्ट्यान्ट तथा टेन्डर पनि आफैँले गर्ने गरी सम्झौता भएको छ । ६ महिनाभित्र दशरथ रंगशाला पुनर्निर्माण सक्ने योजना छ । त्यसपछि एथलेटिक ट्रयाक निर्माण सुरु हुनेछ । आवश्यक उपकरण तथा सामग्रीमा लाग्ने भन्सार छुटको सम्झौता भएसँगै चीनले पुनर्निर्माण जतिसक्दो चाँडो थाल्ने चीनले जनाएको छ ।

न्यायाधीशको परीक्षामा सबै कानुन व्यवसायी ‘फेल’

काठमाडौं, फागुन १२ । न्यायिक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल भएका छन् । ३० न्यायाधीशका लागि भएको परीक्षामा माग भएको भन्दा आधामात्र परीक्षार्थी सफल भएका हुन् । ३० पदका लागि चार सय २४ जनाले आवेदन दिएका थिए। तीमध्ये तीन सय ७३ परीक्षामा समोल भएका थिए । पहिलोपटक समानुपातिक समावेशी रूपमा लिखित परीक्षाबाट न्यायाधीश छनोट प्रक्रिया अघि बढाइएकामा ३० कोटाका लागि १६ मात्र उत्तीर्ण भएका हुन् । एकभन्दा बढी समूहमा परीक्षा उत्तीर्ण गर्ने १३ जना छन् । आन्तरिक खुलातर्फ मागभन्दा कम संख्या उत्तीर्ण भएका छन् । आन्तरिक खुलामा १५ जना माग गरिएकामा १३ जना मात्र उत्तीर्ण भएका छन् । यस्तै खुलातर्फ भने आठ जनाका लागि १५ जनाले लिखित परीक्षा पास गरेका छन् । महिलाको दुई कोटामा एक जनामात्र उत्तीर्ण भएका छन् । आदिवासी जनजातिका दुई कोटाका लागि दुई जनाले मात्र लिखित पास गरेका छन् । महिलाको दुई र दलितको एक कोटामा कुनै उम्मेदवारले पनि परीक्षा पास गर्न सकेनन् । न्यायसेवा आयोगका सचिव नृपध्वज निरौलाले मागभन्दा आधामात्र परीक्षर्थी उत्तीर्ण भएको बताए। ‘३० कोटाका लागि १६ जना उत्तीर्ण भएका छन्,’ उनले भने, ‘अब अन्तर्वार्तापछि एकमुष्ठ नतिजा न्यायपरिषद्लाई हस्तान्तरण गरिनेछ । -गोरखापत्रमा खबर छ ।

प्रधानमन्त्री केपी ओलीको गृहनगरमा मात्र साढे ३ खर्बको योजना !

झापा, फागुन १२ । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना परेका हुन् । नगरभित्र एक सय करोडभन्दा बढीका ६ योजना परेका छन् । करोडभन्दा माथिका डेढ दर्जन बढी योजना परेको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज दाहालले जानकारी दिए । नगरपालिकाभित्र औद्योगिक पार्क, विश्वकै अग्लो बुद्ध मूर्ति, भ्यु टावर, विज्ञान पार्क, फाल्गुनन्द सभागृह, सपिङ कम्प्लेक्स्, नमुना बजार, रोज गार्डेन पार्क, रिङरोड, संग्रहालय, पुल निर्माण, कालोपत्रे, प्रज्ञा प्रतिष्ठान, पशु बजार निर्माणलगायतका योजना परेका हुन् । दाहालका अनुसार करोडभन्दा साना योजना दर्जनौं सञ्चालित छन् । वडा नम्बर १० मा चीन सरकारको लगानीमा औद्योगिक पार्क बन्ने भएको छ । चीनको वान बेल्ड वान रोड अन्तर्गत २२ सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ । -कान्तिपुर दैनिकबाट

नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं, फागुन १२ । नेपालले अर्को वर्षभित्र आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू–उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो । भू-उपग्रहसम्बन्धी अध्ययन÷अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता गरेको नास्टका उपकुलपति डा.जीवराज पोखरेलले जानकारी दिए । नास्टले यो इन्स्टिच्युटमा भू–उपग्रहसम्बन्धी अध्ययन गर्न दुई वर्षका लागि दुई जना इन्जिनियरलाई जापान पठाउने भएको छ । नास्टले इलेक्ट्रोनिक इन्जिनियर हरेराम श्रेष्ठलाई जापान पठाउन छनोट गरिसकेको छ भने अर्का एक प्राविधिकको छनोट कार्य जारी राखेको छ । नेपालमा भू–उपग्रहबारे जानकार जनशक्ति नभएका कारण अध्ययनका लागि प्राविधिकलाई जापान पठाउन लागिएको हो। दुई जनामध्ये एक जनालाई इन्स्टिच्युटले पूर्ण छात्रवृत्ति दिने भएको छ भने अर्का एक जनाको खर्च सरकारले नै व्यहोर्नु पर्नेछ । नास्टले यसका लागि अर्थ मन्त्रालयसँग करिब १ करोड ८० लाख बजेट माग गरेको छ । तर, अर्थले भने बजेट उपलब्ध गराउने स्वीकृति जनाए पनि अझै उपलब्ध भने भइनसकेको उपकुलपति पोखरेलले जनाए । उनले भने, ‘हामीले तीन महिनाअघि नै बजेट माग गरेका हौं, अर्थले दिन्छु पनि भनेको हो तर अझै हामीले बजेट पाएका छैनौं ।’ विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव सुरेन्द्र सुवेदीले बजेटका लागि अर्थसँग छलफल भइरहेको बताए। उनले भने, ‘भू–उपग्रहका लागि हार्डवेयरतर्फ सहयोग गर्छौं, अध्ययनका लागि करोडभन्दा बढी बजेट विनियोजन गर्न सहज हुँदैन कि भन्ने अर्थको मनसाय देखियो ।’ नास्टकै पहलमा जाइकाजस्ता संस्थासँग छात्रवृत्तिका लागि पहल गर्न अर्थ मन्त्रालयले जोड दिएको छ। यसका लागि अर्थले स्वीकृति दिने जनाएको छ । नास्टले भने अर्थले बजेट विनियोजनमा ढिलाइ गर्दा प्राविधिकलाई अध्ययनका लागि जापान पठाउन ढिलाइ भइरहेको गुनासो गरेको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट

मलेसियामा किन जेल पर्छन नेपाली ? यस्तो छ कारण

काठमाडौं, फागुन १२ । मुआरको एक फर्निचर कम्पनीमा कार्यरत सुजन श्रेष्ठ र होमबहादुर मगरबीच आफूहरु बस्दै आएको होस्टलमै सामान्य भनाबैरी भयो । झगडाले उग्र रुप लियो, अस्पतालमा उपचार गराउँदै गर्दा होमबहादुरको मृत्यु भयो। घटनालगत्तै १९ वर्षीय सुजन पक्राउ परे। २ वर्षअघि भएको उक्त घटनाबारे हालै अदालतले उनलाई २२ वर्षको जेल सजाय सुनाएको छ । उनी जेलको चिसोमा दिन कटाइरहेका छन् । सन् २००१ मा रोजगारीका लागि मलेसिया आएका तत्कालीन बर्सुचेत गाविस–१, नुवाकोटका हरिबहादुर घलेको ३ वर्षे करार सकेर घर फर्कनु केही दिनअघि चिनेजानेका नेपाली साथी गणेश तामाङसित भेट भयो । गणेशले आफू केहीबेरमा आउने बताउँदै एउटा झोला घलेको हातमा थमाए । झोला लिएर गणेशले भने अनुसारै उनी क्वालालम्पुरको एक होटलको कोठामा पुगे। नेपाली दूतावासका अनुसार कोठामा बस्दै गर्दा हरिबहादुर ८ सय ७५ ग्राम लागुपदार्थ (हिरोइन) सहित गत सन् २००३ मे ३० मा पक्राउ परे। गत २००९ नोभेम्बर २६ मा मलेसियाको उच्च अदालतले (हाइकोर्ट) ले उनीमाथि मृत्युदण्ड सजाय दिने फैसला सुनायो । हाल उनी मृत्यु कुर्दै जेलमै दिन बिताइरहेका छन् । रोजगारीका लागि मलेसिया आएकाको आ(आफ्नै कथाव्यथा छ, वर्णन गरिसाध्यै छैन । वैदेशिक रोजगारीभित्र जेलिएका त्यस्ता अनेक कथाव्यथा मध्ये सुजन र हरि दुई भिन्न प्रतिनिधिपात्र हुन् । सुन्दर भविष्यको सपना सजाउँदै आएकामध्ये कयौं राम्रै कमाएर सग्लै फर्किएका छन भने कतिपय अपाङ्ग भएर। त्यस्तै कोही मलेसियामै बेखबर त कयौं सर्वस्व गुमाएर कफिनमा फर्किएका छन् । त्यसबाहेक मलेसियाको मजदुरीका क्रममा कतिपयले भोग्ने गरेको बेग्लै व्यथा हो, जेल सजाय । मलेसियामा महिनैपिच्छे कुनै न कुनै अभियोगमा नेपालीहरु जेल परेका खबर आउने गरेको विषय नौलो रहेन । क्वालालम्पुरस्थित नेपाली दूतावासको पछिल्लो तथ्यांक हेर्ने हो भने हाल १९६ जना नेपाली विभिन्न अभियोगमा मलेसियाका विभिन्न जेलमा सजाय भोगिरहेका छन् । ती बाहेक गतवर्ष मात्र एकहजार ४० जना नेपालीहरु जेल सजाय भुक्तान गरेर स्वदेश फर्कीएका छन् । के कारणहरु जेल पर्छन् ? जेल पर्नुका अनेकन कारण छन्। जेल पर्नेहरुमाथि बिना भिसै काम गरेको, ओभरस्टे बसेको, चोरी डकैती, अपहरणमा संलग्न रहेको, गालीगलौज तथा अभद्र व्यवहार गरेको, लागूऔषध प्रयोगरसेवन, लागूऔषध कारोबार र हत्यासम्म लगायतका गतिविधिमा संलग्न रहेको अभियोग लगाइएको छ । त्यसरी जेल पर्नेमा साथीभाईको लहैलहैमा लागेर अनैतिकरगैरकानुनी गतिविधिमा लाग्नेदेखि रोजगारदाता कम्पनीसँगको सम्झौताअनुसारको तलबसुविधा नपाएपछि कम्पनी छाडी भागेर गैरकानुनी अवस्थामा काम गर्नेसम्मका छन् । त्यतिमात्र कहाँ हो र, कतिपय सामान्य जानकारीको अभावमा समेत भूलवशः जेल पर्ने गरेका उदाहरणहरु पनि नभएका होइनन् । कतिपय गम्भीर अभियोगमा कतिपय वर्षौंदेखि जेल जीवन बिताइरहेका छन् । अधिकांश गैरकानुनी अवस्थामा काम गर्दा पक्राउ परेकाहरु पाइएको छ । -कान्तिपुर दैनिकबाट

को को भए शाखा अधिकृतको प्रथम चरणमा उत्तीर्ण (नामवलीसहित)

काठमाडौं । लोकसेवा आयोगले माघ २९ गते लिएको शाखा अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगद्वारा प्रकाशित सूचना अनुसार विज्ञापन नम्बर १६५३०–१६५३६/२०७४–०७५ खुला तथा समावेशी समूहको अप्राविधिक तर्फको लिखित नतिजा प्रकाशन गरिएको हो । परीक्षामा २१ हजार २ सय २१ जनाले सहभागिता जनाएका थिए । (नतिजा हेर्न यहाँ क्लीक गर्नुहोला ।) अधिकृत परीक्षाको परीक्षाफल

राष्ट्रपतिले मनोनित नगरेका प्रस्तावित राष्ट्रियसभा सदस्यले सर्वाेच्च गुहारे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित नगरेका ३ जनाले आफूलाई मनोनयन गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । केपी ओलीको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका सदस्यहरुलाई सपथ नगराउन पनि रिटमा आदेश मागिएको छ। अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका चाँदनी जोशी, कृष्णप्रसाद पौडेल र गोपाल बस्नेतले आफूलाई मनोनयन गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन्। देउवा सरकारले पठाएको सिफारिस राष्ट्रपतिले अनुमोदन गरिनन् । ओली नेतृत्वको सरकार आएपछि उनीहरूको नाम फिर्ता गरेर रामनारायण विडारी, यूवराज खतिवडा र विमला पौडेललाई सिफारिस गरेको थियो। उक्त सिफारिस राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइन्। राष्ट्रपतिले २ वटा सरकारलाई फरक व्यवहार गरेको कांग्रेको आरोप छ। यसरी आफूले रुचाएको सरकारले गरेको सिफारिस कुरेर बस्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै देउवा सरकारले सिफारिस गरेका तीनै जनाले दिएको रिटमा उल्लेख छ। ‘राष्ट्रपतिले आफूले रुचाएको सरकारको सिफारिस तत्काल कार्यान्वयन गर्ने र आफ्नो रुचि नभएको सरकारको सिफारिस कार्यान्वयन नगरी त्यसै थन्क्याएर राखी निष्फल बनाउने अधिकार छैन,’ रिटमा उल्लेख छ, ‘हामी निवेदकहरूको नाम फिर्ता लिई अरुको नाम सिफारिस गरेको केहि घण्टाभित्रै मनोनयन भएपनि हालसम्म सपथ लिइ नसकेको हुनाले यो मुद्दको अन्तिम टुंगो नलागुञ्जेलसम्म सपथ नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरिपाउँ।’ रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी ओली, मन्त्रिपरिषद् कार्यालयल लगायतलाई विपक्षी बनाइएको छ।